‘नख्खु जेल ब्रेकर’ कम्युनिस्ट नेता घनेन्द्र बस्नेत रहेनन् !

कम्युनिस्ट आन्दोलनका अग्रज योद्धा तथा २०३३ सालको बहुचर्चित नख्खु जेल ब्रेकका प्रमुख पात्र घनेन्द्र बस्नेतको ७१ वर्षको उमेरमा निधन भएको छ। फोक्सो र घाँटीको क्यान्सरबाट पीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो।

पछिल्लो ६-७ महिनादेखि क्यान्सरसँग जुधिरहेका बस्नेतको भारतमा समेत उपचार गरिएको थियो। स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आर्थिक संकट उत्पन्न भएपछि केही समयअघि 'घनेन्द्र बस्नेत जीवन रक्षा अभियान' समेत सञ्चालन गरिएको थियो।

२००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत २०२७-२८ को ऐतिहासिक झापा किसान विद्रोहबाट राजनीतिमा होमिएका थिए। उक्त विद्रोह भारतीय नक्सलवादी आन्दोलनबाट प्रभावित युवाहरुले थालेको कम्युनिष्ट विद्रोह थियो । तथापि पछि उक्त विद्रोहलाई उग्र वामपन्थी भड्काव भनी कम्युनिष्ट वृत्तमै पनि व्यापक आलोचना भएको थियो र विद्रोहमा संलग्नहरुले समेत त्यसलाई स्वीकारेका थिए ।  २१ वर्षको उमेरमा पहिलोपटक पक्राउ परेका उनले पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा जीवनको झन्डै १६ वर्षभन्दा बढी समय जेलमै बिताए।

बस्नेतको राजनीतिक यात्रामा २०३३ चैत १२ गतेको नख्खु जेल ब्रेक घटना विशेष रूपमा स्मरणीय मानिन्छ। झापा आन्दोलनका १५ जना राजनीतिक बन्दीहरूले नख्खु जेल सुरुङ खनेर तोडेका थिए, जसमा बस्नेत प्रमुख भूमिकामा थिए। जेलबाट भागेका १० जना उम्कन सफल भए भने बस्नेतसहित ५ जना पछि पक्राउ परेका थिए। जेल ब्रेकको चार दिनपछि बाराको पथलैया जंगलबाट पुन: पक्राउ परेका थिए । त्यसपछि उनले आफ्ना अन्य सहयोद्धाहरुले जस्तै निरन्तर लामो समय हिरासत र जेल जीवन बिताएका थिए। २०४६ को जनआन्दोलनको पूर्वसन्ध्यामा अन्य झापा विद्रोहका योद्धाहरूसँगै उनलाई पञ्चायती शासन व्यवस्थाले पुस महिनामा रिहा गरेको थियो ।