फ्रान्समा ‘सम्पूर्ण हडताल’ को समय आएको छ
जनता विद्रोहमा उत्रिएका छन्, र सम्पूर्ण सामाजिक व्यवस्था भत्किँदै गइरहेको छ।
यो कुनै सडक दुर्घटनाजस्तै हो; मृत्युलाई निम्त्याउने चोक, एउटा मृत्यु। म्याक्रोनवाद त्यही चोकमा मर्दै छ, जहाँ पुग्नु उसको नियति नै थियो; पुँजी र जनता को दोबाटोमा। यहाँ पुँजी आफ्नो सबैभन्दा शुद्ध रूपमा देखा परेको छ– बीचमा कुनै मध्यस्थता नभई पैसाले पैसा कमाउने रूप, अर्थात् वित्तीय पुँजी। र त्यसको ठीक विपरीत छ; आगो। फाइनान्सियल टाइम्स ले सुरुमै एउटा शीर्षक प्रकाशित गरेको थियो : ‘फ्रान्स ऋणपत्र बजार र सडकका अवरोधबीच फस्यो।’ हो, समस्या ठीक यहीँनेर छ; यसको जरोसम्मै पुग्दा।
म्याक्रोनवाद जनताको सार्वभौमसत्ताका विरुद्ध वित्तीय बजारको सार्वभौमसत्ताको पक्षमा उभिएको शक्ति हो: ‘फ्रान्स रोज्नुहोस्, बजारलाई फकाउनुहोस्’– अनि बाँकी रहेका अरू कुराका लागि: दङ्गा नियन्त्रक प्रहरी, आँखा फुटाउने दमन र अङ्गभङ्ग।
चार दशकको नवउदारवादी सडन अहिले आफ्नो अन्तिम सङ्कटको बिन्दुमा पुगेर विस्फोटनको अवस्थामा आइपुगेको छ– यो त्यस्तो मोड हो, जहाँ सार्वभौमसत्ताका दुई परस्पर विरोधी सिद्धान्तहरू एकआपसमा ठोक्किन्छन्। एकातिर वित्तीय बजारहरूको सार्वभौमसत्ताको दाबी छ, जसले सम्पूर्ण सार्वजनिक नीतिहरूलाई नियन्त्रण गर्न, आफ्नो इच्छाअनुसार तिनलाई ढाल्न र आफूलाई मन नपर्ने नीतिको अङ्कुरणमै हत्या गर्न खोज्छ भने, अर्कातिर जनताको सार्वभौमसत्ता खडा छ। म्याक्रोनवाद जनताको सार्वभौमसत्ताका विरुद्ध वित्तीय बजारको सार्वभौमसत्ताको पक्षमा उभिएको शक्ति हो: ‘फ्रान्स रोज्नुहोस्, बजारलाई फकाउनुहोस्’– अनि बाँकी रहेका अरू कुराका लागि: दङ्गा नियन्त्रक प्रहरी, आँखा फुटाउने दमन र अङ्गभङ्ग।
पुँजीले आफ्नै वर्गको एक व्यक्तिलाई सत्तामा निर्वाचित गराउन सन् २०१७ सम्म कुर्नुपर्यो। त्यसअघि काममा ढिलासुस्ती, असहज संकोच, अनिर्णय र कहिलेकाहीँ त पछि हट्ने प्रवृत्तिसमेत देखिन्थ्यो। तर म्याक्रोनको आगमनसँगै सबै कुरा स्पष्ट भएको छ। सार्वभौम ऋणको संकट र राजनीतिक संकट एकै समयमा विस्फोट हुनु संयोग होइन (अब यसलाई ‘सामाजिक’ संकट भन्न छाडौँ)। यी विनाशतर्फ उन्मुख विश्वव्यवस्थाका विशिष्ट लक्षण हुन्। जब यसका सबै आन्तरिक प्रक्रियाहरू एकै समयमा तालमेल मिलाएर अघि बढ्न थाल्छन्, तब त्यसले सम्पूर्ण व्यवस्थाको आधारभूत संरचना भित्रका अन्तर्विरोधहरू निर्णायक मोडमा पुगेको सङ्केत गर्छ। यो संरचनाले आफैँ आफ्नो गतिरोध सिर्जना गरेको छ– पूर्ण गतिरोध।
संकटको समय
हामी यहाँसम्म कसरी आइपुग्यौँ? १) वित्तीय बजारलाई पवित्र ठानियो, अर्थतन्त्रमाथि त्यसको पूर्ण नियन्त्रणको प्रशंसा गरियो र नवउदारवादी व्यवस्थाको पहरेदारका रूपमा त्यसको भूमिकाको उत्सव मनाइयो। टाढा रहेको, अमूर्त, बुझ्नै कठिन र कुनै पनि विरोध आन्दोलनको पहुँचबाहिर रहेको शक्ति– उत्तम! २) करसम्बन्धी कानुन लागू गरियो, जसअन्तर्गत धनीहरू र पुँजी दुवैलाई कर तिर्नबाट उन्मुक्ति दिइयो। ३) त्यसपछि घाटा अपरिहार्य रूपमा बढ्दै गएको र ऋणको पहाड चुलिँदै गएको तमासा हेरियो। ४) अनि आफैँले सिर्जना गरेको ‘ऋण’ र जानाजानी सर्वोच्च स्थानमा स्थापित गरिएको ‘बजार’ को दुहाइ दिँदै विध्वंसकारी अभियान सुरु गरियो– कटौती गर, गरिबी बढाऊ, निजीकरण गर र हरेक वस्तु तथा सेवालाई किनबेचको मालमा बदल। ५) विरोधमा उत्रिएका जनतालाई शत्रु घोषणा गरियो र युद्धमा प्रयोग हुने हतियारद्वारा तिनलाई दबाइयो। तर अन्ततः त्यो दिन आइपुग्यो, जब जनताले भने– अब हुँदैन। अब पुग्यो! त्यसपछि धनीहरूले आफ्ना लागि बनाएको सुरक्षित बङ्कर नै उनीहरूविरुद्ध फर्कियो। यही हो– सम्पूर्ण व्यवस्थाको अन्तिम विस्फोट।
विरोधमा उत्रिएका जनतालाई शत्रु घोषणा गरियो र युद्धमा प्रयोग हुने हतियारद्वारा तिनलाई दबाइयो। तर अन्ततः त्यो दिन आइपुग्यो, जब जनताले भने– अब हुँदैन। अब पुग्यो! त्यसपछि धनीहरूले आफ्ना लागि बनाएको सुरक्षित बङ्कर नै उनीहरूविरुद्ध फर्कियो।
धनी वर्गले आफ्नो सम्पूर्ण दाउ लगाएको अन्तिम समायोजनकारी तत्व– स्वेच्छाले दासत्व स्वीकार गर्ने प्रवृत्ति– अब भत्किएको छ। पुँजीपति वर्गको मुखपत्र ले मोंद (Le Monde) नै ‘संकटहरूको चाङ’ देखेर ‘विचलित’ भएको छ। यी मानिसहरू किन निराश छन् भन्ने बुझ्न गाह्रो छैन। उनीहरू बकबकेहरूको शासन (ब्लाबोक्रेसी) र मूर्खहरूको शासन (मोरोक्रेसी) को दोबाटोमा उभिएका छन्। उनीहरूलाई केही बुझ्नै सक्दैनन्, जबसम्म उनीहरू सबै कुरा ध्वस्त पारिरहेका हुँदैनन्। उनीहरूको गतिरोध पूर्ण छ। उनीहरूको समीकरणको कुनै समाधान छैन; उम्कने बाटो कतै छैन। जनताले आफूलाई कस्ने साँघुरो घेराबाट मुक्ति पाएका छन् र प्रधानमन्त्री लेकोर्नुलाई त्यही घेराभित्र धकेलेका छन्। यी अभागी प्रधानमन्त्रीलाई वित्तीय पुनरुत्थान योजना घोषणा गर्ने आदेश दिइएको छ, ठीक त्यही बेला जब सिंगो देश उठेर उनलाई भनिरहेको छ; होइन, यसपटक हुँदैन।
पुँजी र बजारको हडपकारी सार्वभौमसत्ताले अस्वीकार गर्दै आएको जनताको आदिम सार्वभौमसत्ता जब विद्रोहमा उत्रिन्छ, तब यस्तो हुन्छ। यो महायुद्ध एक दिन अवश्यंभावी थियो। अब त्यो दिन आएको छ।
एउटा भयङ्कर प्रतिशोधी शक्ति– अब यो पारकुरसुप (Parcoursup -विश्वविद्यालय भर्ना प्रणाली), निवृत्तिभरणको रकमलाई मुद्रास्फीतिअनुसार समायोजन नगर्ने नीति वा आवास सहायताको विषय मात्र रहेन; यो त सबै कुराको प्रश्न हो। जब हरेक कुरा प्रश्नको घेरामा आउँछ, तब कुनै पनि सत्ताले आफ्नो प्राधिकार पुनःस्थापित गर्न सक्दैन। अर्थात्, पुँजी र बजारको हडपकारी सार्वभौमसत्ताले अस्वीकार गर्दै आएको जनताको आदिम सार्वभौमसत्ता जब विद्रोहमा उत्रिन्छ, तब यस्तो हुन्छ। यो महायुद्ध एक दिन अवश्यंभावी थियो। अब त्यो दिन आएको छ।
ला तोताल (सम्पूर्ण संकट)
तर बिचरा लेकोर्नुले अझै केही देख्न बाँकी नै छ। सञ्चारमाध्यमका मूर्ख शासकहरूजस्तै उनलाई पनि वास्तविक वित्तीय चक्रवात अझै आइसकेको छैन भन्ने थाहा छैन। निजी ऋण, एआई, निजी कर्जा, निजी इक्विटी र घरपरिवारको ऋणसँग सम्बन्धित त्यो चक्रवात अहिले पनि शक्ति सञ्चय गरिरहेको छ। यसले अमेरिकी वित्तीय प्रणाली र त्यससँगै सम्पूर्ण नवउदारवादी विश्वव्यवस्थालाई तहसनहस पार्नेछ। बैंक र बीमा कम्पनीहरू धराशायी हुनेछन् र तिनलाई सरकारी उद्धार दिनुपर्नेछ। फेरि पनि। सार्वजनिक पैसाबाट। त्यसपछि आउने आर्थिक मन्दी विनाशकारी हुनेछ। बजेट घाटा आकाशिनेछ। किन? किनभने यो सबै कुराको संकट हो: ‘ला तोताल’ अर्थात् सम्पूर्ण संकट।
आन्दोलनको अगुवाइ गरिरहेका माध्यमिक विद्यालयका विद्यार्थीहरूको पछाडि अब विशाल जनसमूहका थप पङ्क्तिहरू पनि असन्तुष्ट हुँदै जाग्न थालेका छन्। म्याक्रोनवादको घातक भूल यही हो : किनभने यसले सबै कुरालाई भ्रष्ट बनाउँछ, त्यसैले सबै कुरा यसलाई सत्ताच्युत गर्ने दिशामा परिचालित हुन सक्छन्।
तर ‘ला तोताल’ एउटा ऐतिहासिक अवसर पनि हो। युवाको आवरणमा– हरेक दृष्टिले चकित पार्ने युवाशक्तिका रूपमा जनताको सार्वभौमसत्ता अघि बढिरहेको छ। पुँजीपति व्यवस्थासँग यसको जवाफमा आतंक सिर्जना गर्नेबाहेक अर्को उपाय छैन भन्ने हामीलाई थाहा छ। तर यस्ता ‘समाधान’ अस्थायी मात्र हुन्छन्। तिनको प्रभाव सीमित हुन्छ। असह्य बनेका सबै कुराहरूको समष्टि– माध्यमिक विद्यालय, कलेज, डिजेल, खाद्यान्न, ज्याला, अग्निनियन्त्रक, स्वास्थ्य सेवा, सार्वजनिक सेवा र निवृत्तिभरण– अब असह्य अवस्थालाई थप सहन नसक्ने सबै मानिसहरूको समष्टिसँग ठोक्किएको छ। आन्दोलनको अगुवाइ गरिरहेका माध्यमिक विद्यालयका विद्यार्थीहरूको पछाडि अब विशाल जनसमूहका थप पङ्क्तिहरू पनि असन्तुष्ट हुँदै जाग्न थालेका छन्। म्याक्रोनवादको घातक भूल यही हो : किनभने यसले सबै कुरालाई भ्रष्ट बनाउँछ, त्यसैले सबै कुरा यसलाई सत्ताच्युत गर्ने दिशामा परिचालित हुन सक्छन्।
जब सबै कुरा एकैसाथ आन्दोलनमा होमिन्छन्, तब शक्ति सन्तुलन बदलिन्छ। अहिलेको आन्दोलनले आफ्नो ठूलो हिस्सा विरासतका रूपमा लिएको नाहेल विद्रोहका बेला प्रहरी लगभग धराशायी हुने अवस्थामा पुगेको थियो। आन्तरिक मामिला मन्त्रालयको सङ्कटकक्षमा रहेको ‘ठूलो बोर्ड’ मा धेरैवटा रातो बत्ती बलिरहेका थिए। देशका धेरै ठाउँमा एकैसाथ तनावका केन्द्रहरू पैदा भएका थिए, जसलाई निगरानी गर्न असम्भवजस्तै भएको थियो। त्यसपछि प्रहरीका विशेष दस्ता, रेड (RAID) र बीआरआई (BRI) परिचालन गरिए। यो त्यस्तो शासनको उन्माद थियो, जुन पहिल्यै धराशायी हुने सँघारमा पुगिसकेको थियो।
म्याक्रोनवादले नैतिक वैधता मात्र गुमाएको छैन, प्रतीकात्मक रूपमा पनि पराजय भोगिसकेको छ। सन् १९६८ को मे महिनापछि फ्रान्समा भएको कुनै पनि आन्दोलनले यति धेरै अर्थपूर्ण दृश्यहरू सिर्जना गरेको थिएन।
अब हामी केवल श्रमिक वर्ग आफ्ना बलिया आधारक्षेत्रबाट उठेर आन्दोलनको मञ्चमा उत्रिने प्रतीक्षामा छौँ– तेल प्रशोधन केन्द्रका मजदुर, सार्वजनिक यातायातका श्रमिक र सरसफाइ मजदुरहरू। जताततै धर्ना र अवरोध, जताततै नाकाबन्दी– सम्पूर्ण हडताल, तर यसपटक हाम्रो। एउटा सम्पूर्ण हडतालबाट अर्को सम्पूर्ण हडतालतर्फ : विद्रोहको सम्पूर्ण हडताल र पुँजीपति वर्गको सङ्कटले निम्त्याएको सम्पूर्ण हडतालबीचको टक्कर। प्रहरी दबाबमा थिचिएको छ र चरम दमनमा उत्रिरहेको छ। यसले प्रहरीप्रतिको घृणालाई झन् चर्काउनेछ, यहाँसम्म कि भय प्रतिशोधको चाहनामा बदलिनेछ।
इतिहासका लागि दृश्यहरू
अब यहाँबाट जे भए पनि यो शासन पराजित भइसकेको छ। दस वर्षको अवधिमा म्याक्रोनवादले देशलाई साँच्चिकै तहसनहस पारेको छ र अन्ततः लज्जा तथा घृणामा डुबेको छ। हामीले यसलाई यसको कृत्यको हिसाब बुझाउने क्षण लामो समयदेखि पर्खिरहेका थियौँ। त्यो क्षण अब आएको छ। म्याक्रोनवादले नैतिक वैधता मात्र गुमाएको छैन, प्रतीकात्मक रूपमा पनि पराजय भोगिसकेको छ। सन् १९६८ को मे महिनापछि फ्रान्समा भएको कुनै पनि आन्दोलनले यति धेरै अर्थपूर्ण दृश्यहरू सिर्जना गरेको थिएन। टिकटक जीवन्तता, नवीनता र सिर्जनशीलताको माध्यम बनेको छ। प्रहरी हिंसाका भिडियो हेर्दा हामी क्रोधले काँपिरहेका हुँदैनौँ भने हाँस्दाहाँस्दै आँसु झारिरहेका हुन्छौँ वा दृश्य यति सुन्दर भएकाले भावुक भएर रोइरहेका हुन्छौँ। कसले सोचेको थियो र– टिकटकमा सिमोन वेलले भनेको ‘शुद्ध आनन्द’ को पुनरागमन हुनेछ भनेर!
चरम सङ्कटको समयमा मात्र यस्ता दृश्यहरू देखिन्छन्– यति असङ्गत, तर यति आनन्दमय। प्रतीकात्मक विनाश पूर्ण छ। यी दृश्यहरू एकै ठाउँमा अभिसरण भएपछि त्यसबाट फर्कने कुनै बाटो छैन।
निरङ्कुश शासनले यस्तो आन्दोलनलाई पराजित गर्न सक्दैन। यहाँ, माध्यमिक विद्यालयका विद्यार्थीहरू घामको उज्यालोमा अज्नाभुरको ‘एमेने-म्वा’ (Emmenez-moi) गीत गाउँछन्; त्यहाँ, दमनकारीहरूकै नाकमुनि ऊर्जाको विस्फोट हुन्छ। हाम्रो ध्यान कता लगाउने भन्ने नै थाहा हुँदैन। एउटा रेडियो प्रसारण प्रसिद्ध सम्भ्रान्त निजी विद्यालय ‘एकोल अल्सासिएन’ (École Alsacienne) को अवरोधस्थलबाट आउँछ। त्यहाँ विद्यार्थी आन्दोलनबारे आफ्नो विचार राख्न भनिएकी एउटी ‘फरकोट लगाएकी महिला’ भन्छिन्, ‘म उनीहरूको समर्थन गर्छु।’ पृष्ठभूमिमा प्रदर्शनकारीहरूले इन्टरनेसनल गीतका अन्तिम हरफहरू पूरै शक्तिका साथ गाइरहेको सुनिन्छ। चरम सङ्कटको समयमा मात्र यस्ता दृश्यहरू देखिन्छन्– यति असङ्गत, तर यति आनन्दमय। प्रतीकात्मक विनाश पूर्ण छ। यी दृश्यहरू एकै ठाउँमा अभिसरण भएपछि त्यसबाट फर्कने कुनै बाटो छैन।
‘ला तोताल’ (सम्पूर्ण संकट) ले लामो समयदेखि क्षितिजमा देखा पर्दै आएको पुँजीवादी राज्यको एउटा चरम अवस्थालाई सङ्केत गर्छ। त्यो यस्तो राज्य हो, जुन दुईवटा मन्त्रालयमा सीमित हुन्छ– अर्थ मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय। अथवा अर्को शब्दमा भन्दा, मित्रहरूको मन्त्रालय (बजार) र शत्रुहरूको मन्त्रालय (जनता)। पहिलो मन्त्रालय नवउदारवादको आर्थिक गतिरोधसँग जुधिरहेको बेला दोस्रो मन्त्रालयको हातमा सम्पूर्ण शक्ति केन्द्रित हुन पुग्छ। यस व्यवस्थाको हरेक तहमा दुःखी र क्रूर दमनकारीहरूको जमघटबाहेक केही बाँकी रहँदैन। म्याक्रोनवादको नवीनता वास्तवमा यही हो।
प्रहरी हिरासतमा हुने यौन हिंसाको स्तर भयावह छ। प्रहरी पतितहरूको जमातबाट बनेको एउटा पतित शक्ति मात्र बनेको छ। हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ प्रहरीले प्रदर्शनकारीका प्लेकार्डसमेत जाँच्न थालेको छ। कुन प्लेकार्ड राख्न दिने र कुन नदिने भन्ने निर्णय गर्दा प्रहरी अधिकारीको दिमागभित्र कुन सानो घण्टी बज्छ? यस्ता निर्देशन कसले दिन्छ?
पास्का, पान्द्रो, सार्कोजी र होर्तेफ्यूजस्ता पुराना शासकहरूलाई समेत कहाँनेर रोकिनुपर्छ भन्ने थाहा थियो। तर नयाँ शासकहरूलाई त्यो थाहा छैन। उनीहरू मानिसहरूलाई कुट्न, आँखाको ज्योति खोस्न, अङ्गभङ्ग गर्न, युवतीहरूको घाँटी थिच्न वा उनीहरूलाई अश्लील ढङ्गले छुन पाउँदा आनन्द मान्छन्। प्रहरी हिरासतमा हुने यौन हिंसाको स्तर भयावह छ। प्रहरी पतितहरूको जमातबाट बनेको एउटा पतित शक्ति मात्र बनेको छ। हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ प्रहरीले प्रदर्शनकारीका प्लेकार्डसमेत जाँच्न थालेको छ। कुन प्लेकार्ड राख्न दिने र कुन नदिने भन्ने निर्णय गर्दा प्रहरी अधिकारीको दिमागभित्र कुन सानो घण्टी बज्छ? यस्ता निर्देशन कसले दिन्छ? हामीलाई बारम्बार भनिएझैँ, देशमा कानुन नचल्ने क्षेत्रहरू अवश्य छन्। ती क्षेत्रहरू हुन्– ‘आन्तरिक मामिला मन्त्रालय’ र ‘प्रहरी चौकी’।
शक्तिको क्षय हुँदै जाँदा त्यसले देखाउने कुरूप छटपटी यही हो। म्याक्रोन एक छद्म शासक हुन्– चारैतिरबाट आफूलाई घेरिरहेका र आफूले नियन्त्रण गर्न नसक्ने ऐतिहासिक शक्तिहरूका कठपुतली। उनी नवउदारवाद कार्यान्वयन गर्न सत्तामा आएका थिए– अर्थात्, अन्ततः त्यसलाई समाप्तिको बिन्दुमा पुर्याउन। अहिले उनलाई सत्ताबाट ढालिएको छ। र, कसले ढाल्यो? केटाकेटीहरूले! ऐतिहासिक असफलतामाथि थपिएको घोर अपमान।
आन्दोलनमा सहभागी एउटी किशोरीले यस परिस्थितिको सार यसरी प्रस्तुत गरेकी छन् : ‘उनीहरू हामीलाई विद्रोह नगर्न किन भन्छन्, मैले बुझ्न सकेकी छैनँ,’ उनी भन्छिन्, ‘जबकि हाम्रो पाठ्यक्रम नै विद्रोह गर्ने व्यक्तिहरूले भरिएको छ– आर्थर र्याम्बो, ला बोएसी र ओलिम्प द गुज।’ अचानक, चौबीसै घण्टा प्रसारण हुने समाचार च्यानलका मूर्ख विश्लेषकहरू– वृद्ध, गोरा र पुँजीपति वर्गका प्रतिनिधिहरू उपहासका पात्र बनेका छन्। आफूले पढ्ने, देख्ने र श्रद्धा गरेको दाबी गर्ने कुराप्रति कुनै वास्ता नगर्ने पुँजीवादी संस्कृतिको अथाह पाखण्ड उदाङ्गिएको छ। यो संस्कृतिले विद्रोही विचार र व्यक्तित्वको उत्सव मनाउँछ, तर तिनलाई केवल स्मारकमा सीमित गरेर निष्प्रभावी बनाउनका लागि। त्यसको वास्तविक अर्थ र शक्ति फेरि पत्ता लगाउन सक्ने सामर्थ्य केवल युवाहरूमा छ, किनभने उनीहरू आफ्नो अन्तरात्माको गहिराइबाट त्यसलाई आत्मसात् गर्छन्।
तस्बिरको फ्रेमभित्र सबै कुरा अँध्यारो छ– सडक, प्रहरीको गाडी र विशेषगरी हेल्मेट लगाएका प्रहरीहरू। तर त्यही अँध्यारोबीच प्रकाशको एउटा टुक्रा चम्किरहेको छ, तस्बिरबाट बाहिरै उफ्रिएझैँ देखिन्छ क्यामेरातिर सीधै हेरिरहेको त्यो बालकको अनुहार। त्यो रेम्ब्राँको चित्रजत्तिकै सुन्दर छ।
इतिहासमा दर्ज हुने निश्चितजस्तै तस्बिरहरूको बाढीबीच एउटा तस्बिर निश्चय नै विशेष रूपमा उभिनेछ। त्यसमा एउटा बालक प्रहरीको भ्यानको छेउमा भुइँमा बसेको छ, उसका हातमा हतकडी लगाइएको छ र उसलाई पक्राउ गर्ने दुई जना दमनकारी प्रहरीमाथि उभिएका छन्। तस्बिरको फ्रेमभित्र सबै कुरा अँध्यारो छ– सडक, प्रहरीको गाडी र विशेषगरी हेल्मेट लगाएका प्रहरीहरू। तर त्यही अँध्यारोबीच प्रकाशको एउटा टुक्रा चम्किरहेको छ, तस्बिरबाट बाहिरै उफ्रिएझैँ देखिन्छ क्यामेरातिर सीधै हेरिरहेको त्यो बालकको अनुहार। त्यो रेम्ब्राँको चित्रजत्तिकै सुन्दर छ।
समग्र समय नै नाटकीय बनेको छ, जहाँ रेम्ब्राँदेखि भिक्टर ह्युगोसम्म भन्न मिल्ने गरी तीव्र विरोधाभासहरू आमनेसामने उभिएका छन्। तर यी सबै विरोधाभासलाई समेट्ने एउटा मूलभूत द्वन्द्व छ। एकातिर सङ्घर्ष छ, जुन जीवन हो; अर्कोतिर पुँजीपति वर्ग छ, जुन मृत्यु हो।
Source: https://tribunemag.co.uk
अनुवाद एवं प्रस्तुति: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
नवफासीवादको विशिष्टता
विज्ञान प्रविधि र उत्पादक शक्तिको प्रश्न
कम्युनिस्ट आन्दोलनको पुनर्गठन, अब कहाँबाट प्रस्थान गर्ने?
जातीय समूह, जनसमुदाय र राष्ट्र
वैश्विक यथा हाल
आधा कुरा बुझेर वा कुरै नबुझी विवाद चलाउनेहरु
सर्वेक्षणहरु अनुसार, अमेरिकीहरू समाजवादलाई निकै रुचाउँछन्
प्रतिक्रिया