विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण

अभाव भनेको चुनौती दिनुपर्ने 'राजनीतिक छनोट' नभई स्वीकार गर्नुपर्ने 'यथार्थ' हो भन्ने मान्यताले देशहरू र विश्वव्यापी संस्थाहरूको आफूले सामना गरिरहेका स्वास्थ्य समस्याहरू समाधान गर्ने क्षमतालाई नै मौलिक रूपमा सीमित बनाइदिन्छ।

विश्वव्यापी जनस्वास्थ्यको विकासमा साम्राज्यवादी शक्तिहरूको ठूलो भूमिका रहेको छ। ग्लोबल साउथका भूमि, श्रम र स्रोत-साधनको दोहन गर्ने क्षमतामा बाधा पुर्‍याउने रोगहरूलाई सम्बोधन गर्दै आफ्ना उपनिवेशहरूको उत्पादकत्व बढाउने उनीहरूको चाहना नै यसको मुख्य आधार थियो। प्रारम्भिक अन्तर्राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरूमध्ये रकफेलर फाउन्डेसनले सुरु गरेको अंकुशे जुका (Hookworm) उपचार अभियान पनि एक थियो।  जुन पहिले दक्षिणी संयुक्त राज्य अमेरिकामा र पछि ल्याटिन अमेरिका तथा एशियामा सञ्चालन गरिएको थियो। यी कार्यक्रमहरूका दुई मुख्य उद्देश्य थिए: पहिलोयी क्षेत्रका देशहरूको उत्पादकत्व वृद्धि गर्नु र दोश्रो थियो - अमेरिकी प्रभावको सिर्जना र प्रवर्द्धन गर्नु। यस प्राथमिकताको अर्थ युरोपेली उपनिवेशवादी बसोबासकर्ताहरू र उपनिवेशका आदिवासी जनसमुदायबीच स्वास्थ्य सेवामा पहुँचका हिसाबले गम्भीर असमानता थियो।

मूलतः, स्वतन्त्रतापछि पनि पूर्व-उपनिवेशहरूको विश्व प्रणालीसँगको संरचनात्मक आबद्धतामा कुनै परिवर्तन आएन, र यी देशहरूमा रोग तथा अल्पविकासलाई प्रश्रय दिने परिस्थितिहरू यथावत नै रहे। जनस्वास्थ्यका समस्याहरू उत्पन्न गराउने संरचनात्मक कारणहरूलाई सम्बोधन नगरी केवल प्राविधिक दृष्टिकोणमा सीमित हुनाले, विश्वव्यापी जनस्वास्थ्यले स्वास्थ्य सेवामा रहेको असमान पहुँचको उपनिवेशवादी विरासतलाई अझै पनि निरन्तरता दिइरहेको छ।

स्वास्थ्य समस्यासम्बन्धी यो व्यवस्थापकीय  बुझाइ सीमित स्रोत-साधनलाई प्रभावकारी र कुशल रूपमा प्रयोग गर्न सकियो भने स्वास्थ्य समस्याहरू समाधान हुन सक्छन् भन्ने तर्कमा आधारित छ । तर यस बुझाइले स्वास्थ्य समस्याहरू उत्पन्न हुने राजनीतिक-आर्थिक सन्दर्भलाई अलग गराउँछ र तिनलाई केवल प्राविधिक समाधान खोजिने प्राविधिक समस्याका रूपमा मात्र हेर्छ। यो स्रोत-साधन किन अपर्याप्त छन् भनेर कहिल्यै प्रश्न नगर्ने, बरु अभावलाई नै विश्वव्यापी जनस्वास्थ्यको एउटा परिवर्तन गर्न नसकिने स्थायी विशेषताको रूपमा स्वीकार गर्ने दृष्टिकोण हो ।

रिचार्डसनले सन् २०१३ देखि २०१९ को बीचमा पश्चिम तथा मध्य अफ्रिकामा फैलिएको इबोला महामारीप्रतिको विश्वव्यापी प्रतिक्रियाबारे गरेको अध्ययनमा पनि भविष्यका विश्वव्यापी स्वास्थ्य व्यवसायीहरूलाई कसरी अभावअनुकूल समाजीकरण (socialised for scarcity) गरिन्छ भन्ने कुराको चर्चा गरेका छन्। अभाव भनेको चुनौती दिनुपर्ने 'राजनीतिक छनोट' नभई स्वीकार गर्नुपर्ने 'यथार्थ' हो भन्ने मान्यताले देशहरू र विश्वव्यापी संस्थाहरूको आफूले सामना गरिरहेका स्वास्थ्य समस्याहरू समाधान गर्ने क्षमतालाई नै मौलिक रूपमा सीमित बनाइदिन्छ।

विश्वव्यापी जनस्वास्थ्यप्रतिको यो प्राविधिक केन्द्रित दृष्टिकोणले आफ्ना स्वास्थ्य प्रणाली सञ्चालन गर्न वैदेशिक सहायतामा निर्भर निम्न तथा मध्यम आय भएका देशहरूमा गहिरो जोखिम पैदा गर्दछ। कोभिड-१९ महामारीको प्रतिकार्यका क्रममा यी जोखिमहरू स्पष्ट रूपमा उजागर भएका थिए। उदाहरणका लागि, बुयुम (Büyüm) र उनका साथीहरूले विश्वका सीमान्तकृत समुदायहरूमा कोभिड-१९ को असमान प्रभावबारे चर्चा गरेका छन्, र यसलाई स्वास्थ्यको निर्धारक तत्वका रूपमा रहेको संरचनात्मक हिंसालाई सम्बोधन गर्न विश्वव्यापी स्वास्थ्य प्रणाली अक्षम हुनुसँग जोडेका छन्। उनीहरू तर्क गर्छन् कि विश्वव्यापी स्वास्थ्यलाई पुनः राजनीतिकरण गर्न र यसलाई स्वास्थ्य न्यायको ढाँचामा स्थापित गर्न जनस्वास्थ्यमा व्यापक सोचगत परिवर्तन आवश्यक छ; जसले औपनिवेशिकता, नस्लवाद, लिङ्गभेद र पुँजीवादले विश्वव्यापी स्वास्थ्य समताका लागि कसरी ठूलो खतरा निम्त्याउँछन् भन्ने कुरालाई स्वीकार गर्छ।

स्वास्थ्यको मानव अधिकारलाई साकार पार्दै

स्वास्थ्यको मानव अधिकारलाई साकार पार्न प्राविधिक रूपमा केन्द्रित हस्तक्षेपहरूभन्दा माथि उठेर विश्वव्यापी स्वास्थ्य असमानताहरू विश्व प्रणालीको राजनीतिक-आर्थिक सन्दर्भमा गहिरोसँग जरा गाडिएका छन् भन्ने कुरालाई स्वीकार गर्नु आवश्यक छ। मौलिक स्तरमा, यो परिवर्तनका लागि विश्वव्यापी प्रणालीभित्र स्रोत-साधनको अभाव हुनु भनेको औपनिवेशिकता र साम्राज्यवादको विरासतद्वारा निर्मित एक राजनीतिक छनोट  हो भन्ने बुझाइ आवश्यक पर्छ। यो अभावलाई सम्बोधन गर्न र सबै मानिसहरूका लागि स्वास्थ्यको अधिकार साकार पार्न विश्व अर्थतन्त्रको संरचनात्मक रूपान्तरण आवश्यक हुनेछ। हिकेल र सुलिभानले देखाएअनुसार, गरिबीको अन्त्य गर्ने र सन् २०५० सम्म प्रक्षेपित ८.५ अर्ब जनसङ्ख्याका लागि आवश्यक वस्तु तथा सेवाहरू (स्वास्थ्य सेवासहित) को पूर्ण दायरासहित सबैका लागि मर्यादित जीवनस्तर सुनिश्चित गर्ने काम हाल विद्यमान विश्वव्यापी उत्पादक क्षमताको लगभग ३० प्रतिशतले मात्र पनि पूरा गर्न सकिन्छ।

मृत्यु र रोगको असमान वितरण विश्वव्यापी स्वास्थ्य प्रणालीको विद्यमान संरचनाको एक अपरिहार्य परिणाम हो। विश्वव्यापी स्वास्थ्यलाई सहारा दिन वैदेशिक सहायतामाथिको निर्भरताले यस्तो स्थिति सिर्जना गरेको छ जहाँ ग्लोबल नर्थका देशहरूले आफ्ना सहायता बजेटमा कटौती गरेर मात्रै पनि प्रतिवर्ष थप ३ लाख ५० हजार मानिसको ज्यान जाने गरी आम हत्या सरहको स्थिति उत्पन्न गराउन सक्छन्। ती देशका नेताहरूमा यस्ता निर्णयहरूको प्रभावप्रति देखिने निर्मम बेवास्ताले  सबै मानिसका लागि स्वास्थ्यको अधिकार साकार पार्न विश्वव्यापी स्वास्थ्य प्रणालीको रूपान्तरण कत्तिको अत्यावश्यक छ भन्ने कुरालाई उजागर गर्छ।

Source: https://countercurrents.org

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/

 

जेफ्री जोब्सन

जेफ्री जोब्सन दक्षिण अफ्रिकी शोधकर्ता हुन् । उनको अनुसन्धान एचआईभी, स्वास्थ्य प्रणाली र सीमान्तकृत जनसङ्ख्यामा संरचनात्मक हिंसाले पार्ने स्वास्थ्य प्रभावहरूमा केन्द्रित छ ।