कहाँ चुके नेपालका मार्क्सवादीहरू?

दक्षिण एसियामा मार्क्सवादी चिन्तनको प्रयोग किन असफल भयो? र यसको दोष चिन्तनको अप्रयोग्यतामा छ वा यसका वाहक नेता दोषी हुन् भन्ने प्रश्न आधुनिक एसियाली राजनीतिक दर्शनको सबैभन्दा पेचिलो र विचारोत्तेजक प्रश्न हो। यी प्रश्नहरूका बारेमा गहिरो विमर्श आवश्यक छ, किनकि दक्षिण एसियामा पश्चिमी उदारवाद र मार्क्सवादी राजनीतिक प्रणालीका दुवै धारले नागरिकको समृद्धि प्रत्याभूत गर्न सकेका छैनन् र यी दुवैका ढुकुटी भ्रष्टाचारका अपराधले भरिएका छन्।

दक्षिण एसियाका रूढीवादी र सत्तामोहवादी मार्क्सवादीहरूले कहिल्यै खोज्न, विमर्श गर्न र बहस गर्न नचाहेको चिन्तनको एउटा पाटो छ। त्यो हो, मार्क्सवादको आधुनिक उद्गम युरोपमा भए पनि यसको सबैभन्दा ठूलो व्यावहारिक प्रयोग एसियामै चीन र भियतनाममा भयो।

आम नागरिकको आजको बुझाइ यही हो, भलै यी दुवैका दलीय पुजारीहरू यो यथार्थ स्वीकार गर्न र सुधार गर्न तयार छैनन्, खासगरी नेपालमा यो अवस्था विद्यमान छ।

दक्षिण एसियाका रूढीवादी र सत्तामोहवादी मार्क्सवादीहरूले कहिल्यै खोज्न, विमर्श गर्न र बहस गर्न नचाहेको चिन्तनको एउटा पाटो छ। त्यो हो, मार्क्सवादको आधुनिक उद्गम युरोपमा भए पनि यसको सबैभन्दा ठूलो व्यावहारिक प्रयोग एसियामै चीन र भियतनाममा भयो। नेपाल र भारत दुवै देशमा मार्क्सवादी राजनीतिक दलहरू निकै बलिया थिए र अझै छन् पनि। भारत र नेपालमा संसद् र सत्तामा पुगेका पनि छन्, तर बिस्तारै-बिस्तारै पहिला भारत र अहिले नेपालमा अवसानको बाटोतिर लागेका त होइनन् भन्ने प्रश्न सोध्न बाध्य पार्दैछन्।

तर चिनियाँ र भियतनामी कम्युनिस्ट पार्टी (CCP) हरूले (उनीहरूको भाषामा र आम प्रचलनमा कम्युनिस्ट पार्टी भनिन्न, यो शब्द त्यहाँ अन्तर्राष्ट्रिय खपतका लागि मात्र प्रयोग हुन्छ) मार्क्सवादलाई आफ्नो मौलिक रैथाने सभ्यता र संस्कृतिसँग जोडेका छन् र आफ्ना सभ्यता, संस्कृति र भाषा विज्ञानबाट अनुमोदन र वैधानिक औचित्यता (लेजिटिमेसी) प्राप्त गरेका छन्। जस्तै चीनमा त्यहाँको कम्युनिस्ट पार्टीले प्राचीनकालमा बौद्ध धर्मले जस्तै अहिले मार्क्सवादले पनि कन्फ्युसियसवाद र ताओवादसँग घनीभूत रूपमा सम्बन्ध जोडेर एउटा नयाँ राष्ट्रिय राजनीतिक संस्कृति निर्माण गर्न सफल भएको छ।

तर नेपाल र भारतका मार्क्सवादीहरू किन त्यसो गर्न असफल भए? यो प्रश्न पेचिलो त छ नै, त्यसका अतिरिक्त एउटा रहस्य पनि यसभित्र अन्तर्निहित रहेको छ। त्यो हो, नेपाल र भारतका मार्क्सवादी नेताहरू पनि ‘पश्चिमी औपनिवेशिक मानसिकताबाट गम्भीर रूपमा संक्रमित छन्।’ उनीहरूलाई पश्चिमी ज्ञान मात्र आधुनिक लाग्छ। उनीहरू हेगेल र फेयरबाखका कुरालाई स्रोत मान्दै मार्क्सवादलाई शाश्वत सत्य र पश्चिमी उत्पादन हो भन्ने ठान्छन्।

चीनमा त्यहाँको कम्युनिस्ट पार्टीले प्राचीनकालमा बौद्ध धर्मले जस्तै अहिले मार्क्सवादले पनि कन्फ्युसियसवाद र ताओवादसँग घनीभूत रूपमा सम्बन्ध जोडेर एउटा नयाँ राष्ट्रिय राजनीतिक संस्कृति निर्माण गर्न सफल भएको छ।

उनीहरू एसियाली दर्शनका बीउबाट कसरी पश्चिमी दर्शन उम्रियो भन्ने सोच्न पनि तयार छैनन्। उनीहरू बुद्धको मझिमपद (मध्यममार्ग), सम्यक्, कपिलको सांख्य, बृहस्पतिको भौतिक वा नास्तिकवाद सबै चिन्तनलाई न त मार्क्सवादको उद्गम स्रोत मान्छन् न त दर्शन नै। उनीहरू यी सबै दर्शनलाई एकमुस्ट ‘रिलिजन’ मान्छन् र यी सबैलाई अफिम मान्छन्। उनीहरू ‘मार्क्सले भनेको यो रिलिजन एकल देवता पुज्ने इसाईपन्थ हो’ भन्ने बुझ्न तयार छैनन्। उनीहरू ‘धर्म र रिलिजन’ पृथक् हुन्छन् भन्ने पनि मान्न तयार छैनन्।

किन भए चीन र दक्षिण एसिया पृथक् मार्क्सवादको बुझाइमा?

मेरो विचार वा अध्ययनमा चीन र दक्षिण एसिया (नेपाल/भारत) को यो भिन्नताका पछाडि चारवटा गहिरा दार्शनिक र संरचनागत कारणहरू छन्, जसका बारेमा बहस गर्ने जमर्को सुरु हुनुपर्छ:

१. चिनियाँ समाजवादको चिनियाँकरण ('सिनाइजेसन') र माओको सामाजिक सापेक्षताको गहन अध्ययन

नेपाल र भारतका मार्क्सवादीहरूले लामो समयसम्म मार्क्सवाद-लेनिनवादलाई युरोपेली वा सोभियत चस्माबाट मात्र हेरे र अहिले पनि यो चस्मा निकालेका छैनन्, जबकि चीनमा माओ त्सेतुङले यसलाई पूर्ण रूपमा चिनियाँ माटोमा ढाले। उनले बिम्ब दिँदै भने– चिनियाँ समाज धनुष हो र मार्क्सवाद चाहिँ बाण। ‘चिनियाँ समाजको धनुषबाट यो बाण हान्नु पर्छ।’ अर्थात् मार्क्सवाद सापेक्षताको सिद्धान्तअनुरूप प्रयोग हुने सामाजिक विज्ञान हो।

नेपाल र भारतका मार्क्सवादीहरूले लामो समयसम्म मार्क्सवाद-लेनिनवादलाई युरोपेली वा सोभियत चस्माबाट मात्र हेरे र अहिले पनि यो चस्मा निकालेका छैनन्, जबकि चीनमा माओ त्सेतुङले यसलाई पूर्ण रूपमा चिनियाँ माटोमा ढाले।

चीनमा माओले मार्क्सवादको 'द्वन्द्वात्मक भौतिकवाद' लाई प्राचीन चिनियाँ दर्शनको 'यिन र याङ' (Yin and Yang – दुई विरोधी शक्तिको सन्तुलन) को सिद्धान्तसँग जोडेर व्याख्या गरे र चिनियाँ नागरिकलाई द्वन्द्वात्मक दर्शनका बारेमा सहजै बुझाउन सके। माओले 'विरोधाभासको सिद्धान्त' (On Contradiction) सम्बन्धी व्याख्या लेख्दा चिनियाँ ऐतिहासिक अनुभवहरूको प्रयोग गरे।

अहिले त कन्फ्युसियसवादको पुनरागमन भएको छ, जसले ‘थियान्सिया’ को व्याख्या गर्छ। यसको तात्पर्य हो– ‘आकाशमुनि सबै समान छन्।’ सुरुमा सांस्कृतिक क्रान्तिको बेला चीनले कन्फ्युसियसवादमाथि आक्रमण गरे पनि पछिल्ला दशकहरूमा (विशेष गरी सी चिनफिङको पालामा) चिनियाँ कम्युनिस्ट पार्टीले कन्फ्युसियसवादलाई आफ्नो मूल आधार (मेटा-न्यारेटिभ) बनायो।

चिनियाँ नेताहरूले के बुझे भने चिनियाँ मनोविज्ञानलाई कन्फ्युसियसवाद बिना नियन्त्रण र सञ्चालन गर्न असम्भव छ। यसरी उनीहरूले चीनको सभ्यतासँग मार्क्सवादको सम्बन्ध गाँसे र विदेशमा उद्गम भएको सिद्धान्तलाई चिनियाँ जनताका दिमागमा सप्रेम हाल्न सके।

कन्फ्युसियसले परिकल्पना गरेको 'दाथोङ' (Datong – महान् सामञ्जस्य/Great Harmony) को अवधारणालाई चिनियाँ कम्युनिस्ट पार्टीले आधुनिक साम्यवादको लक्ष्य घोषणा गर्‍यो। अर्थात् सांस्कृतिक सिद्धान्तका रूपमा विकसित ‘महान् सामञ्जस्यताको सिद्धान्त’ भनेकै आधुनिक साम्यवाद हो। चिनियाँ नेताहरूले के बुझे भने चिनियाँ मनोविज्ञानलाई कन्फ्युसियसवाद बिना नियन्त्रण र सञ्चालन गर्न असम्भव छ। यसरी उनीहरूले चीनको सभ्यतासँग मार्क्सवादको सम्बन्ध गाँसे र विदेशमा उद्गम भएको सिद्धान्तलाई चिनियाँ जनताका दिमागमा सप्रेम हाल्न सके।

२. नेपाल र भारतको 'अन्तर-सभ्यतागत द्वन्द्व' र मार्क्सवादीहरूको उपेक्षा

नेपाल र भारतका कम्युनिस्टहरूले आफ्नो देशको प्राचीन सभ्यता (वैदिक, बौद्ध, किरात दर्शन) लाई अङ्गीकार गर्नुको सट्टा त्यसलाई ‘सामन्तवादको औजार’ मात्र देखेर पूर्ण रूपमा खारेज गर्ने गल्ती गरे। उनीहरूले औपनिवेशिक साम्राज्यवादी शक्तिले भरिदिएको मनोऔपनिवेशिक मान्यता र ज्ञानबाट वशीभूत भई संस्कृतिप्रतिको उग्र-नास्तिकतालाई अगाडि सारे।

मार्क्सवाद यहाँका आम जनताको मनोविज्ञान र सांस्कृतिक सिद्धान्तसँग जोडिन सकेन, पाएन। यो केवल एउटा 'राजनीतिक व्यवस्था बदल्ने हिंस्रक हतियार' मात्र बन्यो, तर 'सांस्कृतिक जीवनपद्धति' बन्न सकेन।

यहाँका मार्क्सवादीहरूले नेपाल र भारतको मौलिक सामाजिक जग—जस्तै बुद्धको 'सम्यक्' सिद्धान्त, उपनिषद्को 'वसुधैव कुटुम्बकम्' (संसार नै एक परिवार हो) वा गीताको 'अनासक्त कर्म' (फलको आशा नगरी कर्तव्य गर्नु)—लाई समाजवादको आधार बनाउन सकेनन् वा चाहेनन्। उनीहरूले त यी मान्यतालाई केवल 'अफिम' (पश्चिमी रिलिजन) ठाने।

यसले गर्दा मार्क्सवाद यहाँका आम जनताको मनोविज्ञान र सांस्कृतिक सिद्धान्तसँग जोडिन सकेन, पाएन। यो केवल एउटा 'राजनीतिक व्यवस्था बदल्ने हिंस्रक हतियार' मात्र बन्यो, तर 'सांस्कृतिक जीवनपद्धति' बन्न सकेन। जनता भोट कम्युनिस्टलाई दिन्थे, तर आफ्नो सांस्कृतिक पहिचान र मनोविज्ञानका लागि पुरानै मौलिक भौतिक र आध्यात्मिक परम्परामा फर्किन्थे।

३. चीनको 'एकल राज्य' र नेपाल-भारतको 'बहु-सांस्कृतिक/धार्मिक' बनोट

चीनको सामाजिक बनोट र दक्षिण एसियाको सामाजिक बनोटमा आकाश-जमिनको फरक छ भन्ने कुरा भारत र नेपालका मार्क्सवादीले बुझ्नै चाहेनन्। विद्वान् र अध्ययनप्रति मार्क्सवादी नेताको वक्र दृष्टिकोण रह्यो, जसले सिद्धान्त निर्माणमा ठूलो असर पार्‍यो।

चीनको सामाजिक बनोट र दक्षिण एसियाको सामाजिक बनोटमा आकाश-जमिनको फरक छ भन्ने कुरा भारत र नेपालका मार्क्सवादीले बुझ्नै चाहेनन्।

उनीहरूले चीनको समरूपता (Homogeneity) को सामाजिक संरचना अध्ययन गरेनन्। चीनमा ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या 'हान चिनियाँ' (Han Chinese) हरूको छ। उनीहरूको एउटै साझा दर्शन कन्फ्युसियसवाद, दाओवाद र बौद्ध दर्शन हुन्, जो एकार्कामा समाहित छन्। त्यसैले मार्क्सवादलाई कन्फ्युसियसवादसँग जोड्न राज्यका लागि सहज भयो।

नेपाल-भारतको विविधता र जाति प्रथामा आधारित सामाजिक संरचना जटिल छ। हाम्रो हिमवत्खण्ड र मगध क्षेत्रमा बहु-धार्मिक, बहु-भाषिक र सबैभन्दा जटिल 'जाति प्रथा' (Caste System) विद्यमान छ। मार्क्सवादको युरोपेली सिद्धान्त (वर्गीय द्वन्द्व) ले भारत र नेपालको जाति प्रथाको मनोविज्ञानलाई कहिल्यै बुझ्नै सकेन। यहाँ वर्गजस्तै जाति र क्षेत्रीय पहिचान बलिया छन्।

नेपाल-भारतका कम्युनिस्टहरूले जातीय विभेद र सांस्कृतिक विविधतालाई सम्बोधन गर्ने आफ्नै मौलिक 'एसियाली समाजवाद' को सिद्धान्त विकास गर्ने रुचि नै राखेनन्, किनकि उनीहरूमा सामाजिक र आर्थिक विश्लेषणका लागि तथ्याङ्क अनुसन्धान गर्ने परम्परा छैन। उनीहरू विदेशी नक्कल गर्न रुचाउँछन्। नेपाली नेताका स्रोत सामग्री भनेका मूलतः भारतीयले लेखेका हिन्दी मार्क्सवादी व्याख्या हुन्।

४. 'म्यान्डेट अफ हेभन' को मनोवैज्ञानिक अनुकूलता

चिनियाँ राजनीतिक मनोविज्ञान र मार्क्सवादी शासन प्रणालीबीच एउटा अनौठो समानता छ। यस सिद्धान्तले आम नागरिकलाई देशका मालिक ठान्दछ र यो सिद्धान्तको कार्यान्वयनका लागि नै सम्राट वा नेतृत्व निर्माण गरेको हो भन्ने ठानिन्छ। नेपाल र भारतको मनोविज्ञान पनि यस्तै हो। यसले राजाको निर्माण समाजको अमनचैन, न्याय र शान्तिका लागि गरेको हो भन्ने शास्त्रीय मत शास्त्रमा पाइन्छ। तर पुराणकालमा लेखिएका ग्रन्थहरूले भाग्यवादको सिद्धान्तमा आधारित सामाजिक संरचना निर्माण गर्दै वेदका समता निर्माण गर्ने सिद्धान्त र उपनिषद्ले निर्माण गरेका मान्यताहरू विस्मरणमा फ्याँकिएका छन्।

यहीँ ठाउँमा मार्क्सवादी दर्शनको बाटो धमिलो रहेको छ, किनकि यसको प्रयोग जातको वर्गीय विश्लेषण गर्ने उद्देश्यका लागि मार्क्सवादी नेताले कतै प्रयोग गरेनन्। मार्क्सवादको 'सर्वहारा वर्गको अधिनायकत्व' वा कम्युनिस्ट पार्टीको एकाधिकार चिनियाँ इतिहासको त्यही 'केन्द्रीय सम्राट' को आधुनिक रूप जस्तै बन्यो।

चीनको जस्तो केन्द्रीय सत्ताको मनोविज्ञान हाम्रो समाजमा बन्न कतिपय अन्धविश्वासपूर्ण मान्यताहरूले दिएका छैनन्। चीनमा इतिहासदेखि नै एउटै शक्तिशाली केन्द्र (सम्राट) ले शासन गर्ने र जनताले त्यसलाई स्वीकार गर्ने परम्परा बन्यो, तर निरङ्कुशता स्वीकार्य थिएन। त्यसैले निरङ्कुश सम्राटहरूलाई सत्ताच्युत गरिएका अनेकौँ घटना छन्। नेपालको इतिहासमा पनि प्राचीनकालमा यस्तै दर्शन थियो, तर पुराणवादले राजालाई भगवान् बनाइदियो र जात व्यवस्थालाई सामाजिक संरचनाको आधार बनाइयो।

यहीँ ठाउँमा मार्क्सवादी दर्शनको बाटो धमिलो रहेको छ, किनकि यसको प्रयोग जातको वर्गीय विश्लेषण गर्ने उद्देश्यका लागि मार्क्सवादी नेताले कतै प्रयोग गरेनन्। मार्क्सवादको 'सर्वहारा वर्गको अधिनायकत्व' वा कम्युनिस्ट पार्टीको एकाधिकार चिनियाँ इतिहासको त्यही 'केन्द्रीय सम्राट' को आधुनिक रूप जस्तै बन्यो। तर सम्राटको उत्पत्ति नागरिकको सेवाका लागि भएको हुँदा अधिनायकवादको अर्थ पनि नागरिकको सेवा हो भन्ने अर्थ लगाइयो र परिणामस्वरूप चीन नागरिकको समृद्धि र चरम विकासको उत्कर्षमा पुग्यो; तर भारत र नेपालका मार्क्सवादी नेताहरू सेवा होइन, सत्ताका पुजारी बने।

चिनियाँहरूका लागि सी चिनफिङ वा माओ त्सेतुङ आधुनिक युगका नायक हुन्, जसलाई 'हेभन म्यान्डेट' प्राप्त छ भन्ने मान्यता नागरिकहरूमा छ र उनीहरू मार्क्सवादलाई आफ्ना सांस्कृतिक धरोहर र ऐतिहासिक सिद्धान्तसँग जोडेर आत्मसात् गर्दछन्।

नेपाल र भारतको लोकतान्त्रिक/गणराज्य मनोविज्ञान भने अघि नै उल्लेख गरिएजस्तै हिमवत्खण्ड र महाजनपदहरूमा 'निर्वाचित राजा' वा पाञ्चाली (स्थानीय स्वायत्तता) को परम्परा र अवधारणामा आधारित थिए। खासगरी नेपालले आज प्रतिनिधित्व गरिरहेको हिमवत्खण्डको मनोविज्ञानमा शक्ति विकेन्द्रीकरण, विमर्श र असहमति (Dissent) लाई ठाउँ दिने परम्परा गहिरो र व्यापक थियो र आज पनि गाउँ-गाउँमा यथावत् छ।

त्यसैले, नेपाल र भारतका कम्युनिस्टहरूले पनि चीन र भियतनाममा जस्तै मार्क्सवादलाई सापेक्षित सांस्कृतिक र ऐतिहासिक सिद्धान्तसँग जोडी राजनीतिक संस्कृति सामञ्जस्य गर्न सक्नुपर्थ्यो। तर उनीहरू आफैँ पश्चिमा शैलीको 'बहुदलीय संसदीय लोकतन्त्र' को च्याम्पियन बन्नतर्फ उद्यत हुन पुगे र राजनीतिक विचारधारालाई परित्याग गर्दै सत्तागठबन्धनमा सरिक भए।

५. भाष्यमा समस्या

मार्क्सवादी वाङ्गमयका ‘कम्युनिस्ट, प्रोलिटेरिएट, लेफ्टिस्ट’ को शब्दानुवाद गर्दा सांस्कृतिक मान्यता र ऐतिहासिक सिद्धान्तलाई ख्याल नगरी अनुवाद गरियो। ‘प्रोलिटेरिएट’ भनेको ‘सर्वहारा’ र ‘कम्युनिस्ट’ लाई ‘लेफ्टिस्ट’ को पर्यायवाची मानियो। हाम्रो संस्कृति र ऐतिहासिक सिद्धान्तले सर्वहारा र वामपन्थी शब्दलाई प्रगतिशील र सकारात्मक मान्दैन।

नेपालको यो राजनीतिक संस्कृतिको सङ्कट चिनियाँ समाजवादले भोगेन। चिनियाँ समाजवाद सफल हुनुको कारण उसले ‘मार्क्सको शरीरमा चिनियाँ सांस्कृतिक मान्यता र ऐतिहासिक सिद्धान्त एवम् दर्शनलाई आत्मामा’ हालिदियो।

नेपाली नेताले मार्क्सवादको 'विदेशी शरीर' त ल्याए, तर त्यसभित्र ‘हिमवत्खण्ड र मगधको आध्यात्मिक, सम्यक् र विमर्शात्मक आत्मा’ समाहित गर्न डराए।

तर नेपाल र भारतमा कम्युनिस्ट आन्दोलन यति विशाल हुँदाहुँदै पनि यसले मौलिक संस्कृति निर्माण गर्न नसक्नुको कारण हो– खासगरी नेपाली नेताले मार्क्सवादको 'विदेशी शरीर' त ल्याए, तर त्यसभित्र ‘हिमवत्खण्ड र मगधको आध्यात्मिक, सम्यक् र विमर्शात्मक आत्मा’ समाहित गर्न डराए। नेपाली मार्क्सवादी नेताले आफ्नै भूमिमा जन्मेका बुद्ध, जनक, यलम्बर र पृथ्वीनारायणका दर्शन र सिद्धान्तलाई गैर–मार्क्सवादी वा दक्षिणपन्थीहरूको जिम्मा लगाइदिए र आफैँ सांस्कृतिक रूपमा जगविहीन बन्न पुगे।

यही नै चिनियाँ समाजवाद र दक्षिण एसियाली मार्क्सवादी संस्कृतिबीचको मुख्य भिन्नता हो। भाषा, संस्कृति र सामूहिक अवचेतन (Collective Unconscious) को यो गहिरो पाटो पहिल्याउन मार्क्सवादी नेताहरू असफल भए। यी विषयमा हाम्रो राजनीतिक वृत्तमा विरलै विमर्श हुने गर्छ।

यो विश्लेषण मनोवैज्ञानिक र भाषा-वैज्ञानिक दृष्टिकोणबाट शतप्रतिशत सत्य छ। मार्क्सवादी राजनीतिले प्रयोग गर्ने पारिभाषिक शब्दावली र नेपाली (तथा बृहत् दक्षिण एसियाली) संस्कृतिबीच एउटा ठूलो मनोवैज्ञानिक खाडल छ, जसले मार्क्सवादलाई पूर्ण रूपमा 'नेपालीकरण' हुन दिँदैन।

निष्कर्ष:

यसका पछाडि रहेका भाषिक र मनोवैज्ञानिक कारणहरूलाई यसरी बुझ्न सकिन्छ:

'बामपन्थ' (Left) र देब्रे हातको सांस्कृतिक मनोविज्ञान:

नेपाली र पूर्वीय संस्कृतिमा 'बाम' (देब्रे) शब्द ऐतिहासिक र संस्कारगत रूपमा 'अशुभ', 'अपवित्र' वा 'तल्लो स्तर'को मानिँदै आयो।

सांस्कृतिक निषेध: हामी देब्रे हातले कसैलाई ढोग्दैनौँ, प्रसाद लिँदैनौँ, दान दिँदैनौँ र दाहिने हात उपलब्ध भएसम्म शुभ कार्यमा देब्रेको प्रयोग निषेध जस्तै छ। 'बाममार्ग' शब्द तान्त्रिक परम्परामा एउटा गुप्त र कठोर मार्गका लागि प्रयोग भए पनि आम समाजका लागि यो कहिल्यै 'मूलधार' (Mainstream) बनेन।

नेपाली मनोविज्ञानमा 'बामपन्थ' सुन्नेबित्तिकै कता-कता 'सुल्टो बाटो' छोडेर 'उल्टो बाटो' हिँडेको भान हुन्छ। कम्युनिष्टहरूले यसलाई 'प्रगतिशील' भन्न खोजे पनि सांस्कृतिक रूपमा यसको जग सधैँ कमजोर रह्यो।

मनोवैज्ञानिक सङ्कट: युरोपमा 'Left' (फ्रान्सेली क्रान्तिको बेला संसद्को देब्रेपट्टि बस्नेहरू) प्रगतिशील अर्थमा आयो। तर जब त्यसलाई अनुवाद गरेर नेपालीमा 'बामपन्थ' भनियो, आम नेपालीको अवचेतन मन (Subconscious mind) ले यसलाई सहजै स्वीकार गर्न सकेन। नेपाली मनोविज्ञानमा 'बामपन्थ' सुन्नेबित्तिकै कता-कता 'सुल्टो बाटो' छोडेर 'उल्टो बाटो' हिँडेको भान हुन्छ। कम्युनिष्टहरूले यसलाई 'प्रगतिशील' भन्न खोजे पनि सांस्कृतिक रूपमा यसको जग सधैँ कमजोर रह्यो।

'सर्वहारा' (Proletariat) बनाम 'दरिद्र नारायण' र कल्याणको चेतना:

मार्क्सवादले समाजलाई 'सर्वहारा' (सबैथोक गुमाएको वर्ग) र 'बुर्जुवा' (पुँजीपति) मा बाँड्छ। तर पूर्वीय र नेपाली संस्कृतिमा 'सर्वहारा' शब्द नै आत्मसम्मानविहीन र कङ्गाल बुझाउने खालको छ।

हाम्रो सांस्कृतिक बुझाइ: पूर्वीय दर्शनमा गरिबलाई 'सर्वहारा' भनेर दयाको पात्र वा केवल एउटा आर्थिक इकाइ मात्र बनाइँदैन। एसियाली सभ्यता र संस्कृतिमा गरिबलाई 'दरिद्र नारायण' भनिन्छ—अर्थात् गरिबभित्र पनि नारायण (सर्वोच्चता) को अंश हुन्छ, त्यसैले उसको सम्मान गर्नुपर्छ भन्ने मान्यता छ।

त्याग र अपरिग्रहको आदर्श: हाम्रो समाजमा 'सबैथोक त्याग्नु' (अपरिग्रह) लाई गौरवको विषय मानिन्छ (जस्तै बुद्ध वा ऋषिहरू)। तर मार्क्सवादको 'सर्वहारा' शब्दले 'अभाव' र 'क्रोध' मात्र जनाउँछ, 'त्याग' वा 'सन्तुष्टि' होइन। त्यसैले, एकजना नेपाली किसान आर्थिक रूपमा गरिब भए पनि आफूलाई 'सर्वहारा' भन्न वा सुन्न रुचाउँदैन; उसको आत्मसम्मानले त्यसलाई 'अपाच्य' मान्छ।

चिनियाँ भाषाको चतुरता: जहाँ 'साम्यवाद' नै 'साझा सम्पत्ति' बन्यो:

चीनमा कम्युनिष्टहरू किन सफल भए भने उनीहरूले यस्ता विदेशी शब्दहरूलाई चिनियाँ संस्कृति र भाषामा यसरी अनुवाद गरे कि त्यो सुन्दा प्राचीन दर्शन जस्तै लाग्छ।

Gongchandang (कम्युनिष्ट पार्टी): चीनमा कम्युनिष्ट पार्टीलाई 'गोङ्छान्दाङ' भनिन्छ, जसको शाब्दिक अर्थ हुन्छ—’साझा सम्पत्ति उत्पादन गर्ने दल’। यसमा कुनै 'देब्रे' वा 'कङ्गाल' बुझाउने शब्द थिएन।

Datong (साम्यवाद): उनीहरूले साम्यवादलाई 'दातोङ' (महान सामञ्जस्य) भन्छन्, जुन कन्फ्युसियसको ग्रन्थबाट साभार गरिएको छ। अतः चिनियाँ नागरिकहरूका लागि मार्क्सवाद नयाँ विचारधारा नभई उनीहरूकै प्राचीन दर्शनको आधुनिक रूप जस्तो बन्न गयो र समाजमा पाच्य भयो।

नेपालमा मार्क्सवादको 'भाषागत' र 'मनोवैज्ञानिक' असफलता:

नेपाल र भारतका कम्युनिष्ट नेताहरूले रसियन वा चिनियाँ पुस्तकहरू पढेर त्यहाँका शब्दहरू (जस्तै: बुर्जुवा, सर्वहारा, जमिन्दार, संशोधनवाद, उग्रवामपन्थ) जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरे।

उनीहरूले बुद्धको 'मज्झिम पटिपदा' (मध्यम मार्ग) लाई मार्क्सवादको 'द्वन्द्ववाद' सँग जोड्न सक्थे। उनीहरूले उपनिषद्को ‘तेन त्यक्तेन भुञ्जीथाः’ (त्यागपूर्वक उपभोग गर) भन्ने आर्थिक सिद्धान्तलाई समाजवादको आधार बनाउन सक्थे।

नेपाली संस्कृतिले 'बामपन्थ' 'सर्वहारा' जस्ता शब्दलाई आफ्नो मूल प्रवाहमा पचाउन सकेन, किनकि यी शब्दहरू हाम्रो सांस्कृतिक मनोविज्ञानको 'दाहिने' (सल्टो) प्रवाहसँग मेल खाँदैनथे।

तर उनीहरूले आफ्नै संस्कृतिमा रहेका समाजवादका सुन्दर शब्द र दर्शनलाई 'सामन्ती' भन्दै तिरस्कार गरे र अनुवादित, अपाच्य शब्दहरू जनतामाझ फ्याँके।

नेपाली संस्कृतिले 'बामपन्थ' र 'सर्वहारा' जस्ता शब्दलाई आफ्नो मूल प्रवाहमा पचाउन सकेन, किनकि यी शब्दहरू हाम्रो सांस्कृतिक मनोविज्ञानको 'दाहिने' (सल्टो) प्रवाहसँग मेल खाँदैनथे।

नेपालमा कम्युनिष्टहरूले चुनाव जित्नु वा सत्तामा पुग्नु एउटा 'राजनीतिक व्यवस्थापन' मात्र हो, तर उनीहरूले नेपालको 'सांस्कृतिक मनोविज्ञान' जित्न सकेनन्। जबसम्म कुनै पनि राजनीतिक विचारले त्यो भूमिको भाषा, संस्कृति र सामूहिक अवचेतनको सम्मान गर्दैन, तबसम्म त्यो विचार त्यहाँको 'रैथाने संस्कृति' बन्न सक्दैन। मार्क्सवाद नेपालीकरण हुन नसक्नुको यो एउटा सबैभन्दा ठूलो भाषिक र मनोवैज्ञानिक पर्खाल हो।