नेपालमा टेक्नो-फासीवादको विनिर्माण
मानव सभ्यताको महाविपत्ति: प्रविधि, सत्ता र साइकोप्याथिक मानसिकताको गठजोड
फासीवाद उन्मुख नेपाली समाज
अहिले हाम्रो नेपाली समाज मात्र नभएर समग्र विश्व राजनीति नै एउटा ठूलो सङ्कटबाट गुज्रिरहेको छ । धेरै विश्लेषकहरूले भनेजस्तै यो मानव इतिहासकै सबैभन्दा ठूलो अस्तित्ववादी सङ्कटको चरण हो, जहाँ हामी एकैपटक आर्थिक, राजनीतिक, मनोवैज्ञानिक र आध्यात्मिक सङ्कट बेहोरिरहेका छौँ । जसरी प्रकृतिमा तापक्रम बढेर वाष्पीकरण भएपछि मनसुन आउने वा सुनामी आउने एउटा निश्चित मौसमी चक्र हुन्छ, त्यसैगरी राजनीति र समाजमा पनि निश्चित सामाजिक–राजनीतिक प्याटर्नहरू देखा पर्छन् । यही प्रवृत्तिका आधारमा नेपाल पनि विगत पाँच वर्षदेखि निरन्तर रूपमा एउटा विशिष्ट राजनीतिक दिशातर्फ अर्थात् फासीवादतर्फ उन्मुख भइरहेको आभास मिल्छ ।
हाम्रो समाजलाई सबै क्षेत्रबाट नेतृत्व दिनुपर्ने राजनीतिक दल, विभिन्न संस्थाहरू र हामीले नायक मानेका पात्रहरू पूर्ण रूपमा असफल सावित भएका छन् । वर्तमान नेतृत्वले आम जनताका भावना र आवश्यकतालाई सम्बोधन गर्न नसक्दा यी संस्थाहरूको तीव्र क्षयीकरण भइरहेको छ । जब मानिसहरूमा राज्य र नेतृत्वप्रति कुनै भरोसा रहँदैन, तब उनीहरूले तार्किक वा विवेकपूर्ण ढङ्गले संसारलाई बुझ्न छाड्छन् । यसले समाजमा एक किसिमको अर्थहीनता र सुन्यवाद (निहिलिजम) को अवस्था सिर्जना गर्छ र मानिसहरूलाई अन्ध–परम्परा वा अनुदारवादी सोचतर्फ धकेल्छ । वर्तमान सरकार, बालेन वा रास्वपा जस्ता नयाँ राजनीतिक शक्तिहरुको उदय हुनुमा पनि ठ्याक्कै यही परिस्थितिको सूत्र र प्रवृत्ति प्रयोग भइरहेको देखिन्छ ।
जब मानिसहरूमा राज्य र नेतृत्वप्रति कुनै भरोसा रहँदैन, तब उनीहरूले तार्किक वा विवेकपूर्ण ढङ्गले संसारलाई बुझ्न छाड्छन् । यसले समाजमा एक किसिमको अर्थहीनता र सुन्यवाद (निहिलिजम) को अवस्था सिर्जना गर्छ र मानिसहरूलाई अन्ध–परम्परा वा अनुदारवादी सोचतर्फ धकेल्छ ।
विगतका केही घटनाक्रम, विशेष गरी सेप्टेम्बर ८–९ को घटना र त्यस वरपर भएका युवाहरूको हत्या तथा विद्रोहको परिस्थितिपछि हामी त्यतैतिर गइरहेका छौँ भन्ने कुरा अझ प्रस्ट भएको थियो । यद्यपि, त्यतिबेला पर्याप्त प्रमाणहरू नभएकाले धेरै कुरा केवल अनुमानमा आधारित थिए । त्यस्तो संवेदनशील समयमा कतिपय कुराहरू व्यक्त गर्दा आन्दोलन र विद्रोहको मूल मर्ममाथि प्रहार हुने, जनताको आवाज दबिने र परिवर्तनका लागि बगेको युवाहरूको रगतको अवमूल्यन हुने जोखिम रहन्थ्यो । त्यसैले निर्वाचन हुनुभन्दा अगाडि मैले एल्गोरिदम म्यानिपुलेसन (प्रविधिमार्फत जनमत प्रभावित पार्ने खेल) जस्ता विषयहरूमा प्रस्ट रूपमा नबोली आफैँलाई एक प्रकारको स्वेच्छिक सेन्सरसिपमा राखेको थिएँ । निर्वाचन अगाडि नै यी विषयमा धेरै बोल्दा विरोधका लागि मात्र विरोध गरेको जस्तो देखिने सम्भावना पनि थियो ।
तर निर्वाचन सम्पन्न भई परिणाम आइसकेपछि परिदृश्य बदलिएको छ । समाजमा व्याप्त फासीवादी उन्मादले मलाई पनि भावनात्मक रूपमा निकै उद्वेलित बनाएको थियो । तर मैले रणनीतिक रूपमा नै आफ्ना धारणाहरू निरन्तर व्यक्त गर्दै आएको छु । फासीवादले समाजमा जुन भ्रमपूर्ण मूर्ति वा संरचना खडा गर्छ, चाहे त्यो वर्तमान प्रधानमन्त्रीको सन्दर्भमा होस् वा बालेनजीको संरचनाको सन्दर्भमा, त्यसलाई विखण्डन (डिकन्स्ट्रक्ट) गर्नु अपरिहार्य भइसकेको छ । मैले यही दायित्वबोध र विश्लेषणका आधारमा आफ्ना विचारहरू स्पष्ट रूपमा राख्दै आएको हुँ ।
नेपालको एउटा प्रवृत्ति के देखिन्छ भने, यहाँ कुनै पनि कुरा ढिलो गरी भित्रिन्छ । जसरी कुनै भाइरसको महामारी फैलँदा यसको उतारचढाव (एसेन्डिङ र डिसेन्डिङ फेज) हुन्छ, त्यसैगरी विश्व राजनीतिमा आउने विभिन्न वाद वा विचारधाराहरू नेपाल आइपुग्दा ती कमजोर वा मत्थर भइसकेका (डिफेन्सिभ फेजमा) हुन्छन् । त्यसैले नेपालमा यस्ता विचारधारा र राजनीतिक परिदृश्यहरू निकै तीव्र गतिमा परिवर्तन भइरहन्छन् ।
मेरो मूल्याङ्कनमा, संसारभरि नै फासीवादका मुख्य दुईवटा तह हुन्छन्– एउटा शक्तिको तह (पावर लेयर) र अर्को भाष्य वा चेतनाको तह (डिस्कोर्स वा कन्सियसनेस लेयर) । शक्तिको तहमा यसको प्रभाव जस्तोसुकै रहे पनि, अहिले वैश्विक रूपमै फासीवादको भाष्य विरुद्ध एउटा बलियो प्रतिरोधी भाष्य खडा भइसकेको छ र यो शब्द आफैँमा स्थापित भइसकेको छ । साथै, एउटा सचेत वर्ग (क्रिटिकल मास) ले यसको खतराबारे महसुस गर्न थालिसकेको छ ।
शक्तिको तहमा यसको प्रभाव जस्तोसुकै रहे पनि, अहिले वैश्विक रूपमै फासीवादको भाष्य विरुद्ध एउटा बलियो प्रतिरोधी भाष्य खडा भइसकेको छ र यो शब्द आफैँमा स्थापित भइसकेको छ ।
नेपालको सन्दर्भमा पनि स्थिति यस्तै देखिन्छ । यद्यपि, कहिलेकाहीँ हामी आफ्नै निश्चित घेरा र विचार मिल्ने साथीभाइहरूको सानो समूह (इको च्याम्बर वा बबल) मा मात्र सीमित भएका त छैनौँ भन्ने संशय रहन सक्छ, जसले हामीलाई एक प्रकारको ढाडस र भरोसा त दिन्छ, तर त्यसले बृहत् समाजको प्रतिनिधित्व नगर्न पनि सक्छ । शक्ति राजनीतिको मैदानमा हाम्रो सङ्घर्षको बाटो अझै निकै लामो र चुनौतीपूर्ण भए तापनि वैचारिक र मनोवैज्ञानिक स्तरमा भने नेपालको एउटा सचेत तप्काले यो परिस्थितिलाई गम्भीरतापूर्वक महसुस गरिसकेको छ । अरू देशको तुलनामा नेपालमा यो चेतना आउन धेरै समय लागेन; मात्र एक–दुई महिनाको अवधिमा नै धेरै मानिसले यस प्रवृत्तिको गहिराइलाई बुझिसकेका छन् भन्ने मेरो व्यक्तिगत ठम्याइ हो ।
म प्रविधि क्षेत्रकै पृष्ठभूमिबाट आएकाले सुरुमै प्रविधिका विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्न चाहन्छु। प्रविधिलाई मैले मुख्यतया दुई तरिकाले बुझ्ने गर्दछु। पहिलो, प्रविधि मानव स्वभाव र प्रवृत्तिको एउटा अभिन्न अङ्ग हो। जसरी हामी भाषाको प्रयोग गर्छौँ, सञ्चार गर्छौँ वा हाँस्छौँ, त्यसैगरी नयाँ औजारहरू बनाउनु र नयाँ कुराहरूको खोजी गर्नु मानव जातिको एउटा आधारभूत र नैसर्गिक गुण हो। यस अर्थमा प्रविधि मानवताको मर्मसँग जोडिएको छ।
तर अर्कोतर्फ, इतिहासदेखि अहिलेसम्मको विकासक्रमलाई हेर्ने हो भने प्रविधि सधैँ शक्ति, पुँजी र सत्तासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ। प्रविधिको विकास र विस्तारका लागि ठूलो स्रोतसाधन र विशिष्ट ज्ञानको आवश्यकता पर्दछ। कुनै जमानामा कला (आर्ट) लाई जसरी पुँजी र सत्ताले आफ्नो स्वार्थका लागि एउटा औजारका रूपमा प्रयोग गर्यो, प्रविधिलाई पनि त्यसरी नै प्रयोग गर्दै आइएको छ। त्यसैले यसमा प्रविधिको आफ्नै दोष भन्दा पनि यसलाई नियन्त्रण गर्ने सत्ताको भूमिका प्रमुख हुन्छ।
विशेष गरी दोस्रो विश्वयुद्धपछि, जहाँ अमेरिकाले परमाणु बमको प्रयोग गरेर प्रविधिको चरम सर्वोच्चता प्रदर्शन गर्दै जित हासिल गर्यो, त्यसपछि यो प्रवृत्ति झन् संस्थागत भएर गयो। त्यसयता कायम भएको अमेरिकी प्रभुत्व (हेजेमोनी), उसको पहिचान र प्रचारतन्त्र (प्रोपगाण्डा) को एउटा अभिन्न र कसिलो अङ्गका रूपमा प्रविधि स्थापित हुन पुगेको छ।
अहिले हामीले प्रयोग गर्ने डिजिटल प्रविधि, सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का ठूला प्लेटफर्महरू सबै अमेरिकी सिलिकन भ्यालीकै उत्पादन हुन्। सुरुका दिनहरूमा अमेरिकाले यस प्रविधिलाई आफ्नो बलियो 'सफ्ट पावर' (सचेत सांस्कृतिक प्रभाव) का रूपमा संसारभर फैलायो। जसरी कुनै समय माइकल ज्याक्सन, पेप्सी, एमटिभी र पप कल्चरमार्फत अमेरिकी प्रभाव विस्तार गरिएको थियो, त्यसरी नै बाराक ओबामाको पालासम्म आइपुग्दा प्रविधिलाई लोकतान्त्रिकरणको एउटा सुन्दर औजारका रूपमा व्याख्या गरियो। हामी सबैले पनि प्रविधिलाई जनताको हातमा शक्ति दिने माध्यमकै रूपमा बुझ्यौँ र यसले सुरुवाती चरणमा केही हदसम्म लोकतान्त्रिकरणको काम पनि गर्यो।
अहिलेको प्रविधि लोकतान्त्रिकरणको माध्यम नभएर चरम वर्चस्व (सुप्रिमेसी) कायम गर्ने र मानिसलाई नै मेसिनमा रूपान्तरण गर्न खोज्ने 'ट्रान्स-ह्युमनिजम' को दिशातिर अघि बढिरहेको छ।
तर, समयक्रममा जब यो प्रविधिमा विश्वका अन्य शक्ति र समुदायहरूको पनि पहुँच र दखल बढ्न थाल्यो, तब यसको स्वरूप बदलिएको छ। अहिलेको प्रविधि लोकतान्त्रिकरणको माध्यम नभएर चरम वर्चस्व (सुप्रिमेसी) कायम गर्ने र मानिसलाई नै मेसिनमा रूपान्तरण गर्न खोज्ने 'ट्रान्स-ह्युमनिजम' को दिशातिर अघि बढिरहेको छ। वास्तवमा प्रविधि, व्यापारिक स्वार्थ र अमेरिकी युद्ध यन्त्र (वार मेसिन) पहिलेदेखि नै आन्तरिक रूपमा सँगैसँगै थिए। अहिले झनै केन्द्रीकत भएको छ ।
अहिले मुख्य समस्या के भइदियो भने, परम्परागत रूपमा सत्ता र शक्ति भोग्दै आएको वर्ग आफ्नो वर्चस्व गुम्ने डरले चरम रूपमा त्रसित बनेको छ। जसरी पुरुषहरू महिलाको सशक्तीकरणबाट डराउँछन् वा गोरा जातिहरू रैथाने तथा अश्वेत (ब्राउन) समुदायको प्रगतिबाट भयभीत हुन्छन्, ठ्याक्कै त्यसैगरी यो शक्तिशाली तप्का आफ्नो एकाधिकार गुम्ने डरले अत्तालिएको छ। यही डरका कारण उनीहरूले प्रविधिलाई अझ बढी नियन्त्रणमुखी र केन्द्रीकृत बनाउँदै लगेका छन्, ताकि आफ्नो वैश्विक प्रभुत्वलाई हरहालतमा जोगाइराख्न सकियोस्।
जसरी पुरुषहरू महिलाको सशक्तीकरणबाट डराउँछन् वा गोरा जातिहरू रैथाने तथा अश्वेत (ब्राउन) समुदायको प्रगतिबाट भयभीत हुन्छन्, ठ्याक्कै त्यसैगरी यो शक्तिशाली तप्का आफ्नो एकाधिकार गुम्ने डरले अत्तालिएको छ।
प्रविधिको विकास र व्यवस्थापन अहिले जुन दिशामा गइरहेको छ, त्यसको पछाडि एउटा विशिष्ट मनोवैज्ञानिक र बौद्धिक (कग्निटिभ) चरित्रले काम गरेको देखिन्छ । प्रविधि क्षेत्रको माथिल्लो तहमा अक्सर यस्ता मानिसहरू छन्, जसलाई सामान्य मानवीय सञ्चार, भावना र सम्बन्धहरूमा खासै रुचि हुँदैन । कतिपय त एउटा विशिष्ट मानसिक अवस्था (स्पेक्ट्रम) मा समेत हुन सक्छन्, जो मानिसहरूसँग भन्दा मेसिन र रोबोटहरूसँग बढी खुसी हुन्छन् । उनीहरूको मूल प्रवृत्ति नै हरेक कुरालाई आफ्नो नियन्त्रण (कन्ट्रोल) मा राख्नु र सोहीअनुसार सञ्चालन गर्नु हुन्छ । यो प्रवृत्ति ‘साइकोप्याथिक पर्सनालिटी’सँग खप्टिन पुग्दा एकदमै घातक सम्मिश्रण बन्न पुग्छ ।
अहिलेको डिजिटल युगमा मानिसभन्दा मेसिनलाई बढी रुचाउने र नियन्त्रणमुखी सोच भएका यस्ता पात्रहरूको चरम उदय भएको छ । इलन मस्क, स्याम अल्टम्यान र मार्क जुकरबर्ग जस्ता प्रविधि क्षेत्रका नायकहरू यसका प्रतिनिधि उदाहरण हुन् । प्रविधि उद्योगभित्र एक प्रकारको चरम बौद्धिक व्यक्तित्व विकार (एक्स्ट्रिम कग्निटिभ पर्सनालिटी डिसअर्डर) भएका यस्ता सीमित व्यक्तिहरूको हातमा आज अभूतपूर्व शक्ति र पुँजी केन्द्रित हुन पुगेको छ ।
सबैभन्दा डरलाग्दो कुरा त, प्रविधिलाई डोऱ्याइरहेका यी पात्रहरूलाई अब 'मानिस' मात्र भएर बस्नु छैन । उनीहरू मानव सीमाभन्दा माथि उठेर एउटा प्राविधिक ईश्वरत्व प्राप्त गर्ने 'ट्रान्स-ह्युमन' महत्वाकांक्षा बोकिरहेका छन् ।
यो खतरा केवल यी निश्चित व्यक्तिहरूमा मात्र सीमित छैन; उनीहरूको यो मानसिकता पछाडि अमेरिकी युद्ध यन्त्र (वार मेसिन) र त्यहाँको प्रभुत्ववादी धार्मिक-सांस्कृतिक सोचको बलियो साथ छ । यी सबैको गठजोडका कारण अहिले प्रविधिको अत्यधिक केन्द्रीकरण भइरहेको छ । सबैभन्दा डरलाग्दो कुरा त, प्रविधिलाई डोऱ्याइरहेका यी पात्रहरूलाई अब 'मानिस' मात्र भएर बस्नु छैन । उनीहरू मानव सीमाभन्दा माथि उठेर एउटा प्राविधिक ईश्वरत्व प्राप्त गर्ने 'ट्रान्स-ह्युमन' महत्वाकांक्षा बोकिरहेका छन् । समग्रमा भन्नुपर्दा, आजको प्रविधिलाई एउटा अत्यन्तै विकृत, अमानवीय र कृत्रिम मनोविज्ञानले निर्देशित गरिरहेको छ, जसले मानव सभ्यतालाई नै जोखिममा पार्न सक्छ ।
नेपालमा फासीवादको प्रयोग
अहिले समाजमा मानिसहरूका धारणाहरू निर्माण गर्न र उनीहरूलाई कुनै एक दिशामा डोऱ्याउन वा एकढिक्का बनाउन प्रविधिको प्रयोग कसरी भइरहेको छ भन्ने कुरा हामी सबैले प्रत्यक्ष देखिरहेका छौँ। वर्तमान समयमा शक्तिशाली प्रविधि र तुलनात्मक रूपमा कमजोर सामाजिक चेतना वा संरचनाको सम्मिश्रण भइदिँदा यसले समाजमा गहिरो प्रभाव पारिरहेको छ।
यही असन्तुलनका कारण आज हाम्रो समाजमा सामाजिक विघटनको स्थिति सिर्जना भइरहेको छ। प्रविधिको यो तीव्र विकास र समाजको कमजोर अवस्था एकापसमा टकराउँदा यसले एउटा अत्यन्तै विस्फोटक रूप लिइरहेको छ, जसको प्रत्यक्ष असर सामाजिक एकता र सद्भावमा परिरहेको देखिन्छ।
अहिलेको प्रविधिले मानिसका भावना र इन्द्रियहरूलाई ठ्याक्कै बुझेर 'अकुपञ्चर'ले जस्तै निश्चित संवेदनशील विन्दुहरूमा प्रहार गरिरहेको छ। अचम्मको कुरा त के छ भने, हाम्रा कमजोरी र रुचिहरू कहाँ छन् भनी हामी आफैँले विभिन्न माध्यमबाट ती मसिन वा प्रविधिलाई निरन्तर जानकारी दिइरहेका छौँ र उनीहरूलाई अझ बढी अन्तर्दृष्टि प्रदान गरिरहेका छौँ। अर्कोतर्फ, तीव्र रूपमा भइरहेको निष्कृय बसाइँसराइ र सामूहिक सांस्कृतिक भावनाको ह्रासका कारण हाम्रो समाज निरन्तर खण्डित भइरहेको छ। मानव स्वभाव नै कसै न कसैसँग जोडिन चाहने भएकाले, यस रिक्तताका बीच मानिसहरू भर्चुअल संसारमा उपलब्ध विभिन्न तत्त्वहरू जस्तै– कुनै सेलिब्रेटीको फ्यान क्लब, कुनै समुदाय वा राजनीतिक व्यक्तित्वसँग अन्धभक्त भई जोडिन पुग्छन्। यसले उनीहरूमा एकप्रकारको भर्चुअल अहम् पहिचान निर्माण गरिरहेको छ।
अहिलेको प्रविधिले मानिसका भावना र इन्द्रियहरूलाई ठ्याक्कै बुझेर 'अकुपञ्चर'ले जस्तै निश्चित संवेदनशील विन्दुहरूमा प्रहार गरिरहेको छ। अचम्मको कुरा त के छ भने, हाम्रा कमजोरी र रुचिहरू कहाँ छन् भनी हामी आफैँले विभिन्न माध्यमबाट ती मसिन वा प्रविधिलाई निरन्तर जानकारी दिइरहेका छौँ र उनीहरूलाई अझ बढी अन्तर्दृष्टि प्रदान गरिरहेका छौँ।
यस्तो अवस्थामा सामाजिक सञ्जालहरूले एउटा 'डिजे' जस्तै भूमिका खेलिरहेका छन्, जसले प्रत्येक व्यक्तिको रुचि अनुसारको कस्टमाइज्ड संगीत बजाइदिन्छन्। दुःखद कुरा त के हो भने, यदि हाम्रो समाज स्वस्थ र सुरक्षित हुन्थ्यो भने सायद यसले अर्कै खालको सुमधुर संगीत रुचाउँथ्यो होला। तर, वर्तमान समयमा हाम्रो समाज नै एकप्रकारले विकृत र रोगी बन्दै गइरहेको छ। फलस्वरुप, मानिसहरूको सौन्दर्य चेत र छनोट नै धमिलिएको छ, जसका कारण सामाजिक सञ्जालको मञ्चमा अहिले एउटा कुरुप र विकृत अर्केस्ट्रा (वाद्यवादन) चलिरहेको भान हुन्छ।
कसरी लड्ने टेक्नो फासीवादविरुद्ध ?
वर्तमान पुँजी र प्रविधिको जुन विशाल संरचना छ, त्यसलाई एउटा ठूलो ह्वेल माछाको रूपकका रूपमा बुझ्न सकिन्छ। हामी सबै अहिले त्यही ह्वेलको भुँडीभित्र थुनिएका छौँ, जुन भित्रभित्रै कुहिएर फतफत झर्दैछ। विडम्बना, हामी त्यहीँ भित्र रुमल्लिएर सामान्य टिप्पणी र आलोचनामै अल्झिरहेका छौँ। यो स्थितिबाट मुक्त हुनका लागि हामीलाई एउटा ठूलो वैचारिक फड्को (प्याराडाइम सिफ्ट) को आवश्यकता छ। यद्यपि म आफैँ समाजवाद र राजनीतिक दर्शनहरूमा विश्वास गर्छु, तर अहिलेको यो संकटलाई केवल परम्परागत समाजवादी चिन्तनले मात्र समाधान गर्न सक्ने देखिँदैन। प्रत्येक पुस्ताले मानव सभ्यताको अन्त्य वा महाविपत्ति (अपोकलिप्स) लाई एकप्रकारको रोमान्चकताका रूपमा हेर्ने पुस्तागत अहम् वा संकुचित सोचको एउटा पासो त छँदैछ, तर त्यसलाई थाती राखेर हेर्दा पनि वर्तमान समय मानव सभ्यताकै लागि एउटा महाचुनौतीपूर्ण कालखण्ड हो।
अब परम्परागत राजनीतिक भाष्यले मात्र पुग्दैन, बरु हामीलाई नयाँ मनोवैज्ञानिक र आध्यात्मिक (साइको-स्पिरिचुअल) भाष्यको खाँचो पर्छ।
यस्तो जटिल परिस्थितिमा अब परम्परागत राजनीतिक भाष्यले मात्र पुग्दैन, बरु हामीलाई नयाँ मनोवैज्ञानिक र आध्यात्मिक (साइको-स्पिरिचुअल) भाष्यको खाँचो पर्छ। वास्तवमा, समाजमा देखिने फासीवाद पनि एकप्रकारको गहिरो मनोरोगकै प्रकटीकरण हो। यो एउटा बहुआयामिक र अन्तरसम्बन्धित समस्या भएकाले यसलाई पुरानो लिनियर (एकरेखीय) वा केवल द्वन्द्वात्मक भौतिकवादी ढर्राबाट मात्र सोचेर पुग्दैन। हाम्रा सामुन्ने आइलागेका चुनौतीहरू तीव्र र ज्यामितीय (एक्सपोनेन्सियल) रूपमा बदलिइरहेका छन्। यो अनवरत परिवर्तनशील जटिलतालाई चिर्नका लागि हामीले मानव सभ्यताले आर्जन गरेका पुराना ज्ञान, नयाँ प्रविधि, मनोविज्ञान र राजनीतिक चेत लगायत उपलब्ध सम्पूर्ण स्रोत र सामर्थ्यको एकीकृत प्रयोग गर्नुपर्छ।
यदि हामीले यसरी बिल्कुलै नयाँ ढंगले सोचेनौँ भने हामी त्यही ह्वेलको भुँडीभित्रै एकआपसमा ठोकिएर र कसिङ्गर जस्तै कुहिएर सकिनेछौँ। त्यहाँबाट बाहिर निस्कने बाटो सहज पक्कै छैन। त्यसैले, यो संकटबाट पार पाउन कुनै एउटा नयाँ नेता, नयाँ राजनीतिक दल वा कुनै एउटा नयाँ पुस्ताको आगमन मात्र पर्याप्त हुँदैन; बरु यसका लागि सिंगो समाजमा एउटा बृहत् सांस्कृतिक लहर र गहिरो रूपान्तरणको चेतना अपरिहार्य भइसकेको छ।
प्रतिरोधविहीनताको स्थिति: गरिनुपर्ने कामहरु
वर्तमान समयमा मलाई सबैभन्दा बढी दुःख र डर लागेको विषय नै यही हो। इतिहास र समाजमा जुनसुकै कालखण्डमा पनि राणाशाही वा फासीवादी प्रवृत्तिका कुण्ठित पात्रहरू सधैँ विद्यमान हुन्थे, जसले सत्ता र शक्तिलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गर्थे। तर, अहिले देखिएका लक्षणहरूको आकार र गहिराइलाई हेर्दा कुनै एक वा दुईवटा पात्र मात्र खराब नभएर हाम्रो समग्र सामाजिक प्रणाली नै सङ्क्रमित भइसकेको जस्तो देखिन्छ। अहिलेको सबैभन्दा डरलाग्दो र भयावह स्थिति के हो भने, समाज आफैँले नै कता कता त्यस्ता निरङ्कुश, तानाशाह वा राणाशाही प्रवृत्तिका पात्रहरू खोजिरहेको र रुचााइरहेको भान हुन्छ।
वर्तमान परिवेशकै कुरा गर्दा, सुकुम्बासी समस्यालाई लिएर समाजमा 'सुकुम्बासी र हुकुम्बासी' जस्तो एउटा नियोजित भाष्य निर्माण गरियो। यसभित्र कसैको आफ्नै जग्गा हडपिएको व्यक्तिगत इतिहास वा वास्तविक समस्या पनि होला, तर अलिकति मात्र चेतना, सामान्य विवेक र मनमा मानवता भएका मानिसले यसको संवेदनशीलतालाई सहजै बुझ्न सक्नुपर्ने हो। उदाहरणका लागि, थापथली क्षेत्रबाट आवतजावत गर्दा विगत तीन–चार वर्षयता मात्र केही व्यवस्थापन भएको हो; त्योभन्दा अगाडि त्यहाँको अवस्था कति कष्टकर थियो र मानिसहरू कसरी नाक थुनेर हिँड्न बाध्य थिए भन्ने कुरा सामान्य चेत भएका जोसुकैले महसुस गर्न सक्छन्। तर, आज आम मानिसले आफ्नो विवेकलाई बन्धक बनाए झैँ लाग्छ। कहिलेकाहीँ हामी 'आम मानिस' वा 'जनता' भनेर उनीहरूलाई आवश्यकताभन्दा बढी सहुलियत (बेनिफिट अफ डाउट) दिइरहेका त छैनौँ भन्ने प्रश्न उठ्छ। "आम मानिसले नै जिताएर पठाएका हुन्, उनीहरूले यस्तै रुचाउँछन्, त्यसैले अब लेख्न–पढ्न छोडेर टिकटक बनाएरै बस्नुपर्छ" भन्ने खालको भाष्य अत्यन्तै खतरनाक छ। परिस्थिति जस्तोसुकै भए पनि आम नागरिकको आफ्नो समाज र देशप्रति एउटा निश्चित जिम्मेवारी हुन्छ।
आज आम मानिसले आफ्नो विवेकलाई बन्धक बनाए झैँ लाग्छ। कहिलेकाहीँ हामी 'आम मानिस' वा 'जनता' भनेर उनीहरूलाई आवश्यकताभन्दा बढी सहुलियत (बेनिफिट अफ डाउट) दिइरहेका त छैनौँ भन्ने प्रश्न उठ्छ। "आम मानिसले नै जिताएर पठाएका हुन्, उनीहरूले यस्तै रुचाउँछन्, त्यसैले अब लेख्न–पढ्न छोडेर टिकटक बनाएरै बस्नुपर्छ" भन्ने खालको भाष्य अत्यन्तै खतरनाक छ।
यो सत्य हो कि जो मानिस दैनिक अस्तित्वको लडाइँ (सर्भाइभल) मा छ, उसलाई मानसिक राहतका लागि क्षणिक मनोरञ्जन चाहिन्छ र उससँग जटिल विषयहरूमा घोत्लिने समय हुँदैन। कोही व्यक्ति चरम मानसिक तनाव, आघात वा अभावमा छ भने उसले मन भुलाउने बाटो खोज्नु स्वाभाविक हो। तर, समाजको एउटा ठूलो मध्यमवर्गीय हिस्सा, जससँग न्यूनतम चेत र सुविधा छ, उनीहरू भने नागरिक हुनुको आधारभूत कर्तव्यबाट च्युत भई वैचारिक रूपमा अल्छी बन्दै गइरहेका छन्। उनीहरू सामाजिक सञ्जालमा जे देख्यो त्यही पत्याइदिने र बहकिने गरिरहेका छन्। पत्रपत्रिका र सञ्चारमाध्यमहरूले सुकुम्बासी काण्ड जस्ता गम्भीर विषयका यथार्थ विवरणहरू ल्याइरहँदा पनि आम मानिसले आफ्नो विवेक प्रयोग गरेर त्यसलाई किन केलाउँदैनन्? आफ्नो अगाडि आगो लाग्दा वा कतै बालकमाथि अन्याय हुँदा मूकदर्शक बनेर टिकटक हेरेर बस्नु नागरिक दायित्व होइन; त्यहाँ हस्तक्षेप गर्नु र आवाज उठाउनु एउटा मानिसको आधारभूत कर्तव्य हो।
त्यसैले, अब हामीले केवल नेताहरूलाई मात्र झकझकाउने र दोष दिने होइन, आम जनतालाई नै झकझकाउनु पर्ने बेला आएको छ। यसको अर्थ उनीहरूलाई लज्जित तुल्याउने (सेम गर्ने) भनिएको होइन, तर जसरी सार्वजनिक ठाउँमा कसैले फोहोर फ्याँक्दा हामी प्रश्न गर्छौँ, त्यसैगरी राष्ट्रिय संकटका विषयमा पनि आम नागरिक जिम्मेवार बन्नैपर्छ। आज देश जुन संकटको भुमरीमा फस्दैछ, भोलि त्यसको प्रत्यक्ष असर हाम्रै सन्तति र समग्र समाजले भोग्नुपर्नेछ। तसर्थ, 'आम मानिस' भनेर सधैँ उनीहरूका गल्ती र अकर्मण्यतालाई पुल्पुल्याउने वा आँखा चिम्लने परिपाटीको अन्त्य गरी नागरिक उत्तरदायित्वको नयाँ भाष्य सुरु गर्न अपरिहार्य भइसकेको छ।
(राजेन्द्र महर्जनद्वारा लिखित ‘उन्माद: फासीवाद मन्थन’ पुस्तकको लोकार्पण कार्यक्रममा व्यक्त विचारहरुको संश्लेषित/सम्पादित प्रस्तुति । कथ्यलाई लेख्यमा रुपान्तरण गर्दा वक्ताको मूल वाक्य संरचनालाई यथासक्य यथावत राखिएको छ ।)
|
सपनाको मृत्यु र फासीवादी उन्माद फासीवादको विनिर्माण: अधिनायकवादी प्रवृत्तिको समाजशास्त्र: सीके लाल |
|
लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले अगुवाइ गर्ने मध्यमवर्गीय सामाजिक आन्दोलन हो फासीवाद |
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
पढाइको राजनीति
इलोन मस्कको स्टारलिंक नेपालमा सञ्चालन गर्ने चाहना र यसको भूराजनीतिक असरहरूको…
नेपालमा पीडाको पुस्तान्तरणको चक्र
दुई चरणको समाजवादी कार्यदिशा
मुक्तिको मतलब
प्रतिक्रिया