पोलेको ठाउँमा किन पानीफोको उठ्छ ?
पानीफोका फुटाउनु ठीक कि बेठीक ?
आगोले पोलेको ठाउँमा पानीको फोका (Blister) उठ्नु हाम्रो शरीरको एक रक्षात्मक प्रक्रिया हो। जब छाला आगोको तातोले जल्छ, तब छालाको माथिल्लो सतह (Epidermis) र तल्लो सतह (Dermis) को बीचको तन्तुहरू क्षतिग्रस्त हुन्छन्। यस प्रक्रियामा शरीरले जलेको भागभन्दा भित्रको तन्तुलाई थप क्षति हुन तथा संक्रमणबाट बचाउन र निको पार्नका लागि 'प्लाज्मा' वा 'सीरम' नामक तरल पदार्थ त्यहाँ पैदा गर्छ। त्यस क्रममा पोलेको क्षेत्रको छालामा पानी फोका उठ्छ ।
त्यो फोकाको माथिल्लो छालाले आगोले पोलेको ठाउँमा एउटा प्राकृतिक 'ब्यान्डेज' को काम गर्छ । त्यसले बाहिरका जीवाणुहरूलाई घाउभित्र पस्नबाट रोक्छ र घाउलाई ओसिलो राखेर छिटो निको हुन मद्दत गर्छ।
पानीको फोका फुटाउनु ठीक कि नफुटाउनु?
चिकित्सकीय दृष्टिकोणले पानीको फोकालाई कहिल्यै पनि आफैँ फुटाउनु हुँदैन। फोका फुटाउँदा छालाको सुरक्षात्मक तह हट्छ, जसले गर्दा ब्याक्टेरियाहरू सीधै घाउभित्र पस्न सक्छन् र घाउ पाक्ने (Infection) जोखिम अत्यधिक बढ्छ।
त्यसबाहेक पानी फोको फुटाइयो भने त्यसले घाउ निको हुने प्रक्रिया पनि ढिलो हुन जान्छ । खासगरी, फोकाभित्रको तरल पदार्थले घाउलाई निको पार्ने कोषिकाहरूलाई सक्रिय राख्छ। यसलाई फुटाउँदा घाउ सुक्खा हुन्छ र निको हुन समय लाग्छ।
त्यसैले पोलेको ठाउँमा उठेको पानी फोकालाई फुटाउनु हुँदैन । त्यस फोकालाई सफा राख्नुहोस्। यदि फोका सानो छ भने, यो शरीरले आफैँ केही दिनमा सोसेर सुकाउँछ।
फोका फुटेर संक्रमण नहोस् भन्नका लागि सफा र पातलो ब्यान्डेजले हल्कासँग पट्टी बाँध्दा राम्रो हुन्छ ।
केही गरी उक्त पानीफोका आफैँ फुटेको खण्डमा, त्यो छालालाई काट्ने, च्यात्ने वा तान्ने काम गर्नु हुन्न । फोका फुटेको क्षेत्रलाई सफा पानीले वा एन्टीसेप्टिक झोलले सफा गर्नुपर्छ । उक्त क्षेत्रमा एन्टिबायोटिक मलम लगाएर सफा पट्टीले छोप्नुपर्छ । त्यसो गर्दा घाउ निको पार्न सजिलो हुन्छ ।
ससानो पोलेको घाउहरुलाई घरमै उपचार गर्न सकिन्छ । तर अलि धेरै नै पोलेको छ, सानै भए पनि पोलेको ठाउँबाट पीप बगिरहेको छ, अत्यधिक रातो भएको छ, धेरै दुखेको छ वा ज्वरो आएको छ भने, यो संक्रमणको लक्षण हुन सक्छ। यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।
कतिपयले घरेलु उपचारको रुपमा पोलेको ठाउँमा मह वा अन्य खानेकुरा लगाउने गर्छन् । तर यसो गर्नु ठीक हुन्न । यसले संक्रमण बढाउन सक्छ। धेरै जलेको छ भने तुरुन्त अस्पताल जानु नै सबैभन्दा राम्रो हुन्छ।
विश्व स्वास्थ्य संगठनद्वारा इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा
प्याज: मसला मात्रै हैन, स्वास्थ्य फाइदाको खानी नै खानी !
उखरमाउलो गर्मीको सितल साथी: खरबुजा खानुका फाइदाहरु
पानी पिउने सही समयहरू
'रेप एकेडेमी' ले देखाउँछ: किन धेरै महिलाहरू पुरुषहरूसँग डराउनु सही छ !
पृथ्वीको धान्ने क्षमताभन्दा बढी जनसङ्ख्या
तिहारका लागि यसरी रोप्न र हुर्काउन सकिन्छ सयपत्री फूल
प्रतिक्रिया