राजा र जनताको संग्राम !!??

"नेपालले श्रीलङ्का र बङ्गलादेशी विद्रोहको बाटो समात्यो वा समात्ने भो" भन्छन् मान्छेहरुले ! त्यस्तो अनुमान गर्नेहरु ती देशको वास्तविकता नबुझ्नेहरु हुन् जस्तो लाग्छ ।

बुझ्नुपर्ने कुरा के हो भने ती दुबै देशमा जनविद्रोह भएको हो । तर कुनै राजनीतिक दल, राजा वा व्यक्तिविशेषको नेतृत्वमा जनता उठेका होइनन् । ती आन्दोलनहरु व्यवस्था परिवर्तनका लागि थिएनन् । व्यक्ति वा संस्थाको पुनस्थाना पुनरावृत्तिको लागि पनि थिएन ।

जनताको असन्तुष्टि लामो समय सत्ता सञ्चालन गरेर असफल भएका नेताहरुप्रतिको थियो । ती आन्दोलनले न सत्ता परिवर्तन गर्‍यो न व्यवस्था ! मुठ्ठीभर नेताहरुलाई सत्ताबाट हटायो । बस् !

यतिखेर सडकमा उत्रिएका नेपालीहरुको उद्देश्य सरकार विस्थापन होइन । ओली सरकार हटाउने  मात्र पनि होइन । एक मात्र लक्ष्य राजसंस्था पुनस्थापना रहेको देखिन्छ । अर्थात २०६२/६३ को जनआन्दोलनबाट स्थापित व्यवस्था उल्ट्याउने मनसाय रहेको देखिन्छ ।

सम्भव छ त ?!

राजनीतिमा असम्भव केही हुँदैन भनिन्छ । तर जुनसुकै परिणाम देखिनका लागि त्यसका केही पूर्व शर्तहरु (कारणहरु) हुन्छन् । विनाकारणको परिणामको अपेक्षा स्वैरकल्पना मात्र हुन्छ ।

भैगो अब एकछिनलाई कारण छ भनेर मानौ र  एउटा कल्पना गरौं । नेपालमा राजसंस्था आउने भयो रे ! पुनस्थापना आवश्यक भैसकेकोछ रहेछ रे ! त्यस्तो अवस्थामा राजसंस्था कुन बाटो आउन सक्छ त ?! अर्थात् कुन परिस्थितिको निर्माण भयो भने राजसंस्था पुनस्थापना हुन सक्छ त ?

१) सहमति

आम मान्छेको बुझाइ जेसुकै होस् यतिखेर आन्दोलनको नेतृत्व गर्छौ भनेर अघिसर्नेहरुको अपेक्षा सहमतिको देखिन्छ । त्यस्तो सहमति जुट्ने सम्भावना शून्य बराबर छ । ६/७ दशकको कठिन संघर्षबाट प्राप्त गरेको जनाधिकार गुमाउन नेपाली जनता तयार हुन सक्दैनन् । जनताको ठूलो दवाव नपरेसम्म काँग्रेस, एमाले, माओवादी लगायतका दलहरुलाई त्यस्तो प्रस्ताव स्वीकार्य हुनै सक्दैन ।

२) संविधान संशोधन

संसदको दुई तिहाई बहुमतबाट संविधानमा जस्तोसुकै परिवर्तन गर्न सकिन्छ । राजसंस्थाका पक्षधर शक्तिहरुले संसदमा दुई तिहाइ त के साधारण बहुमत प्राप्त गर्ने सम्भावना देखिँदैन ।

३) जनविद्रोह

 नेपालको राजसंस्थाको इतिहास उति उज्यालो छैन । जापान वा बेलायतको जस्तो लोकप्रिय पनि होइन । लोकतन्त्रभित्र अटाउने स्वभावको पनि छैन । देशको उन्नतिप्रगतिमा होइन, जेठ १९ को दरबार हत्याकाण्डपछि देश लुट्ने धन्दामा लिप्त  रहने इतिहास बोकेका राजपरिवारका सदस्य मात्र बाँकी भएकोले आम नागरिकको विश्वास प्राप्त गर्ने सम्भावना छैन ।

४) सैनिक विद्रोह

संसारको इतिहास हेर्दा सेनाले सत्ता हातमा लिएका फाट्ट्फुट्ट घटना देखिन्छन् । सैन्य विद्रोहबाट राजशाही पुनस्थापना भएको इतिहास छैन । सैन्य विद्रोहबाट व्यवस्था परिवर्तन भएको अवस्थामा सैन्य जनरलहरुले सत्ता आफ्नै हातमा लिन्छन् अथवा सत्तामा कठपुतली राखेर सत्ता चलाउँछन् । आफै निरङ्कुश हुनसक्ने व्यक्ति वा संस्था स्थापनामा सैन्य जनरलहरुको कुनै स्वार्थ रहदैन ।

यी ४ बाहेक नेपालमा राजसंस्था पुनस्थापनाको पाँचौ बाटो देखिदैन । सामान्यत: उल्लेखित ४ मध्ये सैनिक विद्रोह एक मात्र व्यवस्था परिवर्तनको कारक बन्न सक्छ तर त्यसले पनि राजसंस्था स्थापना गर्दैन ।

मानौं संसारमा आजसम्म देखिएको परम्परा र इतिहास विपरीत नेपाली सेनाले राजशाही पुनस्थाना गरेछ भने त्यसपछि के हुन्छ ?!!

क)सैन्यबलमा आएको व्यवस्थाले देशहित गरेको संसारमा एउटै उदाहरण छैन । त्यस्तो भयो भने देशको झन ठूलो दुर्गति निम्तन्छ ।

 ख) नागरिक सर्वोच्चताको उपभोग गरिसकेको जनताले निरङ्कुशतन्त्र लामो समय मानेर बस्दैन । समय लाग्ला, जनताले निरङ्कुशतन्त्रको दोहोलो गर्छन् गर्छन् ।

ग) बन्दुकको शासन धेरै समय टिक्दैन । बन्दुकबाट जनता डराउँदैन । जनता फेरि उठ्नुपर्‍यो भने थप निर्मम बन्छ । अर्थात २०६२/६२ को जन आन्दोलनले राजाको गद्दी मात्रै खोसेको थियो । त्यसबेला जन आक्रोश  ६३ को भन्दा भयावह हुनेछ । अकल्पनीय हुनसक्छ ।

घ) त्यस्तो अवस्थामा जनताको आक्रोशले सेनाको इतिहास पनि मेट्नेछ ।

हरेक ऐतिहासिक घटनाहरुले सुनौला भविष्य बोकेर आउँछन् भनिन्छ । नेपालमा त्यति ठूलो घटना होला जस्तो देखिदैन । कथम आइलागिहालेछ भने पनि सुदूर भविष्य अन्धकार रहने छैन ।

अर्थात जनाधिकार खण्डित गर्ने, नागरिक सर्वोच्चता कुल्चिने, जनतामा दासता लाद्ने, निरङ्कुशता थोपर्ने सारा सम्भावनाहरु सदाका लागि समाप्त हुनेछन् । फेरि फेरि यस्तो किचकिच जनताले सुमर्नु पर्ने छैन ।

राजा र जनता बीचको युद्धमा जनता पराजित भएको इतिहास उदाहरण छैन ।

साभार: बानियाको फेसबुकबाट