बुद्धिको शक्ति
विश्वका महानतम दार्शनिकमध्ये एक सुकरात एकपटक आफ्ना शिष्यहरूसँग छलफल गरिरहेका थिए। त्यत्तिकैमा त्यहाँ एकजना ज्योतिषी आए।
उपस्थित मानिसहरुको ध्यान आफूतिर आकर्षित गर्दै ज्योतिषीले भने, “म ज्योतिष विज्ञानको ज्ञाता हुँ, म कसैको अनुहार हेरेर उसको चरित्र बताउन सक्छु। भन, तिमीमध्ये कोही मेरो यो ज्ञानको परीक्षा लिन चाहन्छौ?”
सबै शिष्यहरूले सुकराततिर हेरे। सुकरातले ती ज्योतिषीलाई आफ्नो बारे बताउन आग्रह गरे।
ज्ञानको घमण्डले चूर त्यो ज्योतिषीले सुकरातलाई ध्यानपूर्वक नियाले । सुकरात अत्यन्तै ज्ञानी थिए, तर बाहिरी रूपमा निकै सामान्य देखिन्थे; एकहदसम्म कुरुप पनि ।
ज्योतिषी केहीबेर उनलाई नियालेर भन्यो, “तिम्रो अनुहारको बनावटले देखाउँछ कि तिमी सत्ता विरोधी छौ, तिमीभित्र विद्रोहको भावना प्रबल छ। तिम्रा आँखाहरूको बीचको रेखाले देखाउँ५ तिमीलाई अत्यन्त क्रोधी पनि छौ...।”
ज्योतिषीले यति मात्र के भनेको थियो कि त्यहाँ रहेका शिष्यहरू रिसले चूर बने । उनीहरुले ज्योतिषीलाई तुरुन्तै त्यहाँबाट जान भन्न थाले। तर सुकरातले शिष्यहरूलाई रोक्दै ज्योतिषीलाई आफ्नो कुरा पूरा गर्न अनुरोध गरे ।
ज्योतिषीले फेरि भन्यो, “तिम्रो असंगठित टाउको र निधारले देखाउँछ कि तिमी लोभी छौ, र तिम्रो चिउँडोको बनावटले तिमी सनकी रहेको सङ्केत गर्छ।”
यो कुरा सुनेर शिष्यहरू अझै क्रोधित भए, तर यसको उल्टो, सुकरात भने खुशी भए । उनले ज्योतिषीलाई इनाम दिएर बिदा गरे। शिष्यहरू सुकरातको यो व्यवहारबाट चकित भए र सोधे, “गुरूजी, तपाईँले त्यो ज्योतिषीलाई इनाम किन दिनुभयो, जबकि उसले जे भने, सबै गलत थियो?”
“होइन, बाबुहरू, ज्योतिषीले जे भने, सबै सत्य थियो। उसले बताएका सबै दोषहरू ममा छन् - ममा लोभ छ, क्रोध छ, र उसले भनेजस्तो सबै थोकहरु नै छन्। तर उसले त्यति धेरै कुराहरु देख्दा देख्दै एउटा कुरा चाहिँ देख्न छुटायो । उसले मेरो शरीरका केवल बाहिरी कुराहरू मात्र देख्यो, तर मेरो भित्री विवेकलाई देख्न सकेन, त्यसको मूल्याङ्कन गर्न सकेन । उसले के थाहा पाउने सकेन भने उनले भनेका सबै खराबीहरुलाइ म त्यही भित्री विवेकको बलमा नियन्त्रणमा राखिरहेको छु।’’ सुकरातले शिष्यहरुको रिस र कौतुहलतालाई शान्त पार्दै भने ।
उनले थप अगाडि भने, ‘‘ज्ञानको घमण्डमा ती ज्योतिषीले मेरो रुप रङको आधारमा खराब कुराहरु त भने तर मभित्रको असल कुरा चाहिँ देख्नै सकेन । हो, यहीँ ऊ चुकेको हो । वास्तवमा उसले मेरो बुद्धिको शक्ति बुझ्न र देख्न नै सकेन!”
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया