हुथी आक्रमणको एक वर्षमा इजिप्ट र इजरायलको अर्थतन्त्रमा के असर पर्‍यो?

स्वेज नहर हुँदै गरिने आवागमनमा ढिलाइ भएको छ, जसले सामानहरूको मूल्यलाई बढाएको छ र यी दुई देशको अर्थतन्त्रलाई प्रभाव पारेको छ!

स्वेज नहरमा मालवाहक जहाज र बोटमा देखिएको इजिप्टको झण्डा

जब फ्रान्सेली फर्डिनान्ड दे लेसेप्सले रातो सागर र भूमध्यसागरलाई स्वेज नहर बनाई जोड्ने सुझाव दिए, उनको विचार स्पष्ट थियो: एसिया र युरोपबीच छोटो व्यापारिक मार्ग र पारवहन शुल्कबाट आयको स्रोत बढाउने।

यो विचारलाई इजिप्टका खेडिभ, इस्माइल पाशाले स्वागत गरे, र स्वेज नहर सन् १८६९ मा खोलियो। तबदेखि, यो संसारको सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक बनेको छ।

नोभेम्बर १९ मा, इजरायलको गाजामाथि युद्ध सुरु भएको करिब छ हप्ता पछि, यमनका हुथीहरूले रातो सागर हुँदै स्वेजतर्फ जाने क्रममा इजरायलसँग सम्बन्धित भनिएका जहाजहरूलाई आक्रमण गर्न थाले।

इजरायलले गाजामा आफ्नो युद्ध अन्त्य नगरेसम्म उनीहरूको कारबाही जारी रहने हुथीहरूले बताएका थिए ।

हुथी आक्रमणका कारण सयौं जहाजहरूलाई तिनका सञ्चालक र बीमाकर्ताहरूले दक्षिणतर्फ जान बाध्य पारेर, रातो सागरलाई छोड्दै अफ्रिकाको केप अफ गुड होप घुम्न लगाइयो।

अनिश्चित समुद्र

स्वेज नहर हुँदै संसारको करिब १२ प्रतिशत व्यापार हुने गर्छ । त्यसमा एसिया-युरोपको करिब ४० प्रतिशत व्यापार समावेश छ।

ऊर्जा र यातायात अर्थशास्त्रका विशेषज्ञ मामदोह सलामाका अनुसार यति धेरै यातायातलाई लामो मार्गमा मोड्दा यसले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।

“जहाजहरूले केप अफ गुड होप मार्ग लिँदा … यात्राको समयमा करिब १४ दिन थपिन्छ, जसले सामान ढुवानीको लागत बढाउनुका साथै जहाजहरूले सामना गर्ने जोखिमहरूका कारण बीमा लागत पनि बढाउँछ,” उनले स्पष्ट पारे।
केही विश्लेषणहरू अनुसार ढुवानी लागत तीन गुणा बढिसकेको छ।

राजनीतिक अर्थशास्त्री र अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व सल्लाहकार जियान जावानेहका अनुसार रातो सागरमा हुथीहरूको कारबाहीको कहिले टुङ्गिन्छ भन्ने मिति प्रष्ट नहुँदा जहाज कम्पनीहरूका लागि अवस्था झनै खराब बनाइरहेको छ।

स्वेज नहरको तुलनामा कुनै उपयुक्त विकल्प छैन, यद्यपि विभिन्न समाधानहरू प्रस्तुत भइरहेको रिपोर्टहरू आएका छन्। केही रिपोर्टहरूले भनेका छन् कि जहाजहरूले संयुक्त अरब इमिरेट्समा सामान उतार्दैछन् र सामानलाई भूमध्यसागरसम्म स्थलमार्ग हुँदै ढुवानी गरिँदैछ।

 इजरायलको नेशनल एसेम्बली पार्टीका प्रमुख र इजरायली संसदका पूर्व सदस्य सामी अबु शहादेहले पुष्टि गरे, “यथार्थमा केही सामानहरू इजरायली बजारमा संयुक्त अरब इमिरेट्सबाट आइपुगेका छन्, तर यसको प्रभाव सीमित छ,” उनको भनाइमा यसले स्वेज नहर हुँदै ठूला जहाजहरूले ढुवानी गर्ने सामानको पूर्ति गर्न सक्दैन। अझै, यूएई मार्गको लागत निकै बढी छ।
“स्वेज नहर एसिया र युरोप बीचको सबैभन्दा छोटो, छिटो र कम खर्चिलो मार्ग हो । यो एउटा तथ्य हो, जसलाई अस्वीकार गर्न सकिँदैन,” सलामाले भने।

इजिप्ट कसरी अगाडि बढ्यो ?

इजिप्टले स्वेज नहरलाई आम्दानीको स्रोतको रूपमा हेरेको थियो । स्वेज नहरलाई उसले बढाउन सक्थ्यो, र ठूला र बढी जहाजहरू छिटो आवतजावत गर्न सकून् भनेर यसलाई दुईतर्फी बनाउन ८ अर्ब अमेरिकी डलर लगानी गरेको थियो ।
यसको लागि पूँजी उठाउन इजिप्टले सन् २०१४ मा लगभग १२ प्रतिशत ब्याज दरका साथ सरकारी बन्ड जारी गर्‍यो, जुन त्यस समयमा बजारमा सबैभन्दा उच्च थियो।
काम सन् २०१४ मा सुरु भयो र त्यो केवल एक वर्षमा सम्पन्न भयो । इजिप्ट सरकारले छिटो राजस्व प्राप्त गर्न र मेगा परियोजना पूरा गरेर मनोबल उच्च राख्न चाहन्थ्यो।

जब यो परियोजना अगस्ट २०१५ मा उद्घाटन भयो, त्यसबेला स्वेज नहर प्राधिकरणका प्रमुख मोहाब ममिशले वार्षिक आम्दानीलाई $१०० अर्ब पुर्‍याउने वाचा गरेका थिए।

तर ती अपेक्षाहरू पूरा भएनन्, किनभने विश्वव्यापी व्यापारले आशा गरिएजति छिटो वृद्धि गरेन र कोभिड– १९ महामारीको समयमा ठूलो घाटा बेहोरेको थियो।
जुलाई १८ मा, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल माइकल कुरिल्लाले स्वेज नहर प्राधिकरणका प्रमुख उसामा रबिइसँग भेट गरी स्थिति बारे छलफल गरे।
रबिइले कुरिल्लालाई नहरको राजस्व सन् २०२२-२०२३ मा ९.४ अर्ब अमेरिकी डलरबाट घटेर सन् २०२३-२०२४ मा ७.२ अर्ब अमेरिकी डलरमा झरेको जानकारी गराए। रबिइले भने अनुसार ९.४ अर्ब अमेरिकी डलरको आँकडा नहरको इतिहासमा सबैभन्दा उच्च थियो।

जियान जावानेहले इजिप्टले भोगेका घाटाहरूलाई उत्तर तटमा रहेको रास एल-हेकमामा बहुउद्देश्यीय मेगा-सिटी विकास गर्न यूएईसँग ३५ अर्ब अमेरिकी डलरको साझेदारी सम्झौता गरेको तथ्यसँग जोड्छन्।

इजरायल कसरी अगाडि बढ्यो?

अबु शहादेहका अनुसार हुथी आक्रमणहरूले इजरायली अर्थतन्त्रमा गम्भीर असर पारेको छ। "इजरायलसँग प्राकृतिक स्रोतहरू छैनन् र विभिन्न आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर गर्दछ," उनले भने।

अबु शहादेहका अनुसार इजरायलको रातो सागरको इलात बन्दरगाह ठप्पप्रायः भएको हुँदा सामानलाई भूमध्यसागरका हाइफा र अश्दोद बन्दरगाहसम्म पुर्‍याउने लागत अत्यधिक बढेको छ, जसले उपभोक्ताहरूका लागि लागत बढाएको छ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार गत अगस्टमा, इजरायलको उपभोक्ता मूल्य सूचकांक अक्टोबर २०२३ पछि सबैभन्दा उच्च स्तरमा पुगेको थियो ।
इजरायलले हवाई यातायात वा जोर्डन हुँदै स्थलमार्गबाट ट्रकिङ जस्ता विकल्पहरू खोज्ने प्रयास गरेको छ, तर कुनै पनि विकल्प "समस्या नियन्त्रण गर्न पर्याप्त थिएन," अबु शहादेह भन्छन् ।

इजरायलले आफ्नो ठूला ट्यांकरहरूलाई बन्दरगाहसम्म पुर्‍याउन गाह्रो र महँगो भएकाले, द्रवीकृत प्राकृतिक ग्यास उत्पादन र निर्यातको लागि क्षेत्रीय केन्द्र बन्ने आफ्नो सपना गुमाइरहेको छ।

यस वर्ष, इजरायलले केही महिना लगातार बजेट घाटा ६.६ प्रतिशत भन्दा माथि देखेको छ, जुन सकल घरेलु उत्पादनको सिमा सरकारले कायम राख्न खोजेको थियो।
अबु शहादेहका भनाइमा उनले इजरायली समाजमा परिवर्तन देखे, किनभने सरकारले आफ्नो युद्धलाई लामो र विस्तारित बनाउँदै लग्यो। जनतामा बढ्दो दबाबका कारण, उनले भने, "हजारौं मध्यम वर्गका इजरायलीहरू (प्रवासी भएका छन्), ... जसमा सीपयुक्त कामदारहरू पनि छन्, र यो युद्धको अर्को लागत हो।"

https://www.aljazeera.com बाट अनुदित