सन्दर्भ ओलम्पिकको, प्रसङ्ग इजरायलले लिएको बदलाको
खेलकुदको विश्व स्तरीय महाकुम्भ ओलम्पिकमा गएका आफ्ना खेलाडी माथि आतङकबादी हमला हुन्छ । उनीहरू मारिन्छन् । त्यसपछिको दुई दशक भित्रमा सो आक्रमणका अभियुक्तहरूलाई संसारका विभिन्न सहरमा उनीहरू कै अर्पाटमेन्टमा छिरेर हत्या गर्छ, उक्त देशले । ती सन्दिग्ध व्यक्तिहरूको हत्या गर्नु अघि नै उनीहरूको घरमा आफन्तको नाममा समवेदना पत्र पुग्छ । सबै घटना यति सहज ढगले हुन्छ की कुनै एक्सन थ्रिलर सिनेमामा झैँ त्यो सबै काम तमाम गर्न कुनै पनि देशको नियम, कानुन र अन्य व्यवस्थाले उनीहरूलाई रोक्दैन।
सुन्दा बलिउड फिल्मको स्क्रिप्ट जस्तो लाग्ने यो कथा कुनै आख्यानको सारांश होइन बरु आफ्ना खेलाडीको हत्याको बदला लिन इजरायलले संचालन गरेको ‘अपरेसन वर्थ अफ गड’ को सार हो । इजरायली गुप्तचर संस्था मोसादले सन् १९७२ को अगस्टमा म्युनिख ओलम्पिक दौरान आफ्ना खेलाडी माथि भएको आतङ्कवादी हमलाको बदलास्वरुप दुई दशकसम्म सो खुफिया कारबाही संचालन गरेको थियो ।
फ्रान्सको पेरिसमा जुलाई २६ मा सुरु भएर आज अगस्ट ११ मा गृष्मकालीन ओलम्पिक खेलको समापन भइरहँदा त्यो इतिहासको स्मरण गरिएको हो । जुन घटनालाई यसरी छोटकरीमा प्रस्तुत गर्न सकिन्छ ।
घटना सन् १९७२ को हो। विश्वभरका खेलाडीको स्वागत र आतिथ्यमा जर्मनीको प्रख्यात सहर म्युनिख व्यस्त थियो । जहाँ खेलकुदको महाकुम्भ ओलम्पिक आयोजना हुँदै थियो। यो विशेष थियो किनकि हिटलर युगको अन्त्यपछि पहिलो पटक त्यहाँ ओलम्पिक खेल हुँदै थियो।
अन्य मुलुक झैँ इजरायलको प्रतिनिधित्व गर्दै केही खेलाडीहरू म्युनिख पुगेका थिए। खेल भव्यताका साथ चलिरहेको थियो। खेल सुरु भएको हप्ता दिन पार गर्दै गर्दा सेप्टेम्बर ५ को दिन म्युनिख सहर एक यस्तो घटनाको साक्षी बन्यो जुन ओलम्पिकको इतिहास मै कालो दिनका रुपमा दर्ज भयो । इजरायली खेलाडी बसेको होटलमा अचानक ८ जना व्यक्तिहरू देखिए । उनीहरू खेलाडी कै पहिरनमा थिए। खेलाडी जस्तो देखिने उनीहरू प्यालेस्टाइनी उग्रबादी सङ्गठन ब्ल्याक सेप्टेम्बरका सदस्यहरू थिए। होटेलमा प्रवेश गरेर उनीहरूले ११ जना इजरायली खेलाडीलाई बन्धक बनाए । सो क्रममा दुई खेलाडीको मृत्यु भयो।
भोलिपल्ट यो खबर विश्वभर फैलियो। यद्यपि दुई खेलाडीको मृत्यु भइसकेको बारे भने बन्धक बनाइएका खेलाडी र बन्धक बनाउने प्यालेस्टाइनी बाहेक बाहिरी संसार अनभिज्ञ नै थियो। हतियारधारीले ११ इजरायली खेलाडीको रिहाइको बदलामा इजरायली जेलमा रहेका २३४ प्यालेस्टिनीहरूलाई रिहा गर्न माग गरे । तर, तत्कालीन इजरायली प्रधानमन्त्री गोल्डा मिरले आक्रमणकारीसँग कुनै सम्झौता गर्ने कुरालाई चासो नै दिइनन् । उनलाई यो ओलम्पिक खेलका क्रममा भएको घटना हुनाले अन्तर्राष्ट्रिय समुदायले आफ्ना खेलाडीको रिहाइको लागी पहल गर्ने छ भन्ने आशा थियो।
इजरायलको तर्फबाट कुनै प्रतिक्रिया नआए पश्चात् आक्रमणकारीहरूले पहिले नै मृत्यु भइसकेका दुई खेलाडीको शव होटलको ढोकाबाट बाहिर फालिदिए । उनीहरू आफ्नो माग पुरा नभएको खण्डमा अरू खेलाडीलाई पनि त्यस्तै गरिनेछ भन्ने सन्देश दिन चाहन्थे तर गोल्डा मिरको निर्णय परिवर्तन भएन ।
यसैबिच उनीहरूले अर्को नयाँ माग राखे । आफूहरूलाई जर्मन प्रहरीले होटलबाट सुरक्षित बाहिर जान दिनु पर्ने उनीहरूको माग थियो । जर्मन सरकारले सो माग स्वीकार गर्यो । जर्मनको रणनीति थियो, आक्रमणकारी र खेलाडीहरू बाहिर निस्कने वातावरण मिलाउने र विमानस्थलमा प्यालेस्टाइनीहरूको हत्या (इन्काउन्टर) गर्ने । योजना अनुसार ती आक्रमणकारीहरूलाई विमानस्थलसम्म जान एउटा बस उपलब्ध गराइयो ।
सारा संसारले टिभी स्क्रिनमा यो दृश्य प्रत्यक्ष हेरिरहेको थियो। खेलाडीहरूलाई बसबाट उतारेर हेलिकप्टरमा चढाइन लाग्दा त्यहाँ जर्मन आर्मी र प्यालेष्टाइनी विद्रोही बिच मुडभेढ भयो। आफुहरु चारैतिरबाट सेनाले घेरिएको देखेर हतियारधारी प्यालेष्टाइनीले निःशस्त्र इजरायली खेलाडीमाथि गोली चलाउन थाले । सो क्रममा पहिलो दिनको घटनामा बाँच्न सफल सबै ९ जना नै इजरायली खेलाडीहरू मारिए । सो दोहोरो मुठभेडको दौरान ब्ल्याक सेप्टेम्बरका आठ जना मध्ये पाँच जनाको पनि मृत्यु भयो । बाँकी तीन जना समातिए।
म्युनिख हत्याकाण्डको खबरले इजरायलमा सनसनी मच्चियो । यद्यपि गोल्डा मिर जर्मनीको प्रतिक्रियाको प्रतीक्षामा थिइन । उनीलाई समातिएका तिन हमलावरलाई जर्मन सरकारले मृत्युदण्ड दिन्छ भन्ने आशा थियो। तर, म्युनिख घटनाको केही महिना पश्चात् ब्ल्याक सेप्टेम्बरले दमास्कसबाट जर्मनी उड्दै गरेको विमान अपहरण गरी आफ्ना तीन साथीको रिहाइको माग राख्यो। जर्मन सरकारले सो मागलाई स्वीकार गर्यो। रिहाइ पश्चात् ती तीनै जनालाई गद्दाफीले लिबिया बोलाई सम्मान गरेका थिए।
सबै घटना पश्चात् सोही वर्ष सेप्टेम्बरमा जेरूसेलममा गोल्डा मिरले एक गोप्य बैठकको आयोजना गरिन। उनले मोसाद प्रमुख जामिर, पुर्व आर्मी प्रमुख एरोन यारीभ तथा आर्मी प्रमुख एरीयर सेरोनलाई उक्त गोप्य मिटिङमा समावेश गरिन । सो बैठकले म्युनिख हत्याकाण्डमा संलग्नहरू र ब्ल्याक सेप्टेम्बरको सफाया गर्न गोल्डा मिरले माइकल हरारेको नेतृत्वमा एक गोप्य मिसन अपरेसन ‘र्याथ अफ गड’को उद्घोष गरीन ।
सबैभन्दा पहिले मोसादले म्युनिख घटनासँग सम्बन्धित व्यक्तिहरूको सूची बनायो। यसपछि मोसादले यस्ता एजेन्टहरूको खोजी गर्यो जो आफ्नो परिचय लुकाएर ‘अपरेसन र्याथ अफ गड’ मा सहभागी हुन तयार भए। यी एजेन्टहरूलाई वर्षौँसम्म आफ्नो परिवारबाट टाढा बस्न भनिएको थियो। उनीहरूलाई गोप्य मिसनबारे आफ्नो परिवारलाई पनि बताउन वर्जित गरिएको थियो। अपरेसनको दौरान समातिए इजरायलले तिनीहरूलाई चिन्न अस्वीकार गर्ने सर्त थियो।
मोसादले अपरेसनको सुरुवात प्यालेस्टाइन बुद्धिजीवी एवं इटालीका लागि पिएलओको प्रतिनिधि वेल ज्वेटरबाट गर्यो l अक्टोबर १६, १९७२ ज्वेटर रोमको कुनै होटलमा खाना खाएर आफ्नो अपार्टमेन्ट फर्किँदै गर्दा अपार्टमेन्ट नजिक रहेको ग्रोसरीमा पसे। ग्रोसरीबाट दुई मोसादका सदस्यहरूले उनीलाई पच्छ्याए र अपार्टमेन्ट नजिकै पुगेपछि सो समुहले उनको हत्या गर्यो ।
जनवरी २४, १९७३ मा मोसादले ब्ल्याक सेप्टेम्बरका अर्का एक सदस्य हुसैन अल बशिरलाई साइप्रसमा निशानामा पार्यो। बशिरको हत्या गर्न मोसादले बशिर बस्दै गरेको साइप्रसको ओलम्पिक होटलमा उसको कोठा देखिने गरि कोठा बुक गरेर निगरानी गरेको थियो । बशिरका क्रियाकलापको निरीक्षण गरिरहेको सो समुहले २४ जनवरीमा उनी अपार्टमेन्टमा नभएको बेला त्यहाँ बम राखेर उनी फर्किएपछि पुरा अपार्टमेन्ट नै ध्वस्त पारिदियो ।
मोसादले ‘र्याथ अफ गड’ अपरेसन दौरान सबैभन्दा बढी पच्छ्याएको व्यक्ति हसन सालमेह थिए। रेड प्रिन्स नामले प्रख्यात म्युनिख हत्याकाण्डका मास्टर माइन्ड हसन सालमेहलाई पाँचौपटकको प्रयासमा हत्या गरेको थियो। सन् १९७३ मा नर्वेमा , १९७४ मा स्विजरल्याण्ड र स्पेनमा मोसाद असफल भएको थियो । अन्ततः : २२ जनवरी १९७९ मा लेबनानको राजधानी बेरुतमा कार बम विस्फोट गराई उनको हत्या गरेको थियो । यो बाहेक मोसादले पेरिस, इटाली, ग्रिस, साइप्रस लगायत विश्वभरि छरिएका ब्ल्याक सेप्टेम्बरका सदस्यहरूलाई खोजी - खोजी हत्या गरेको थियो।
मोसादका एजेन्टहरू संसारभरि छरिएर म्युनिख आक्रमणका दोषीहरू र ब्ल्याक सेप्टेम्बरका नेताहरूलाई मृत्युदण्ड दिँदै घुमिरहेका थिए । बदलाको आगोमा जलिरहेको इजरायल र मोसाद उसले बनाएको हिट लिस्टमा समावेश सबै व्यक्तिको हत्या नगरी अपरेसन र्याथ अफ गडलाई विश्राम दिने पक्षमा थिएन। त्यसैले २० वर्ष लगाएर भए पनि म्युनिख आक्रमणसँग जोडिएका सबैलाई जहाँ पुगेका भए पनि त्यहीँ गएर हत्या गर्यो। अपरेसन र्याथ अफ गड मिसनमा कुल ३५ ब्ल्याक सेप्टेम्बरका नेताहरूको मोसादले हत्या गरेको थियो । हत्या गर्नु पुर्व हत्या हुन लागेका व्यक्तिको घरमा मोसादले समवेदना पत्र पठाउँथ्यो । जसमा लेखिएको हुन्थ्यो "वी नाइदर फर्गेट, नर फर्रगिभ " (हामी न बिर्सन्छौँ, न माफ गर्छौँ ) ।त्यसको केही दिनमा त्यो परिवारको सदस्यको हत्या हुन्थ्यो ।
प्रतिक्रिया