गणतन्त्र ?

बडाहजुर !

तमी  गणतान्त्रिक   चिलगाडी चढेर

नदी तर्दै भोट माग्न आउँदा

मेरा छोराछोरी  गणतान्त्रिक   तुइनमा झुण्डीएर

नदी तर्दै  तमकनी  भोट हाल्न जादा

बडाहजुर यसो गणतन्त्रको सिंदुरे उत्सव

हजुरै मनाइ बक्सेला !

 

बडाहजुर !

तमकनी  जरा आया

गणतान्त्रिक चिलगाडी चढी

बिदेश दवाइ हर्न जादा

मेरा छोराछोरी जरा आया

सिटामोल नपाई गणतान्त्रिक चिहान जादा

बडाहजुर यसो गणतन्त्रको फूलमाला

हजुरै लगाइ बक्सेला।

 

बडाहजुर !

तमी गणतान्त्रिक सरकार बनाइ

देश लूट्याको पैसा भर्न विदेश जादा

बडाहजुर!

जसका  रगतपसिनाले गणतन्त्र ल्यायो

उनीहरु शरीरभरी गणतान्त्रिक छर्रा बोकी

खाडी मुलुक उट चराउन जादा ।

 

बडाहजुर

यसो जोकरनाच  गणतन्त्र

यसो गोटीनाच गणतन्त्र

हजुरकाई रातागादी राखीबक्सेला ।

 

बडाहजुर

हामीलाई मोड होइन

बाटो बदल्नु छ ।

(नोट:- जरा = ज्वरो )