केही रोचक रमाइला जानकारीहरु– २

झिंगा

– मानिसको संवेदनशील अंगहरुमध्ये एउटा प्रमुख अंग जिब्रो हो । मानिसको जिब्रोजस्तै झिंगाको संवेदनशील अंग चाहिँ खुट्टा हो । तर झिंगाको खुट्टा मानिसको जिब्रोभन्दा १ करोड गुना बढी संवेदनशील हुन्छ ।

– तपाईंले याद गर्नुभएको छ– कुनै पनि खानेकुरामाथि बसेको झिंगाले आफ्नो खुट्टा एकआपसमा रगडिरहेको हुन्छ । झिंगाले त्यसो गर्नुको खास कारण छ । वास्तवमा, झिंगाले तरल खानेकुरा मात्रै खान सक्छ । त्यसैले त्यसले खानेकुराहरुलाई टुक्र्याएर तरल वा गिलो बनाउनको लागि त्यसरी खुट्टा रगडिरहेको हुन्छ ।

– संसारकै सबैभन्दा खतरनाक कीरा कुन होला ? कसैले तपाईंलाई यस्तो प्रश्न गर्‍यो भने सायद अनेकथरि कुराबारे सोच्न थाल्नुहुन्छ होला । तर तपाईंले त्यसरी सोच्नु जरुरी छैन किनभने संसारकै सबैभन्दा खतरनाक कीरा हामीले देखिरहेको झिंगा नै हो । वैज्ञानिकहरुका अनुसार झिंगा मात्रै एउटा त्यस्तो कीरा हो, जसले संसारका कुनै पनि अरु जीवले भन्दा बढी रोगहरु बोक्ने र सार्ने काम गर्छ ।

बिच्छी

– बिच्छीका आँखाहरु १२ वटासम्म हुन्छन् ।

– हरेक वर्ष हजारभन्दा बढी मेक्सिकोवासीहरुको मृत्यु बिच्छीले टोकेको कारण हुने गर्छ ।

– अहिलेसम्म बिच्छीका १३०० जति प्रजातिहरु फेला परिसकेका छन् । तर तीमध्ये करीब २५ प्रजातिका बिच्छीहरु मात्रै मानिसको प्राण लिन सक्ने घातक विष भएका हुन्छन् ।

कमिला

– संसारमा मानिसको तुलनामा कमिलाको संख्या अति बेसी छ । यदि भागबण्डा गर्ने हो भने संसारभरिका प्रत्येक मानिसको भागमा १० लाख कमिला पर्न जान्छन् ।

– कमिलाका विभिन्न प्रजातिहरु हुन्छन् । ती प्रजातिहरुमध्ये एक प्रजाति सिकर्मी कमिला (Carpenter ants) पनि हो । रमाइलो के छ भने यो कमिलाको उपयोग शल्यचिकित्सा विज्ञानमा पनि हुने गर्छ ।  आजभन्दा करीब ३ हजार वर्षपहिलेदेखि नै भारत, एशिया र दक्षिण अमेरिकामा घाउहरु सिलाउनको लागि यो कमिलाको उपयोग हुँदै आइएको छ ।

– गन्ध थाहा पाउने कुरा गर्दा हामी कुकुर सम्झिहाल्छौं । तर कमिलाको पनि गन्ध थाहा पाउने शक्ति कुकुरकै जत्ति हुन्छ । यही कारण नै हो– खानेकुरा पोखिएको छ भने केही समयमा नै तपाईं त्यहाँ कमिला झुम्मिइसकेको देख्नु हुन्छ ।

– कमिलाको मस्तिष्कमा २,५०,००० मस्तिष्ककोषहरु हुन्छन् ।

– कमिलाको औसत आयु ९० दिनसम्म हुनेगर्छ जब कि लामखुट्टेको औसत आयु  दुई हप्ता मात्रै हुने गर्छ र उता, जुनकीरीको जीवन जम्माजम्मी सात दिनमात्र हुने गर्छ ।

सांग्लेकीरा

​​​​​​​​​​​​​​

– सांग्लेकीराको खुट्टा भाँच्चियो र टुट्यो भने त्यसको ठाउँमा नयाँ खुट्टा पलाएर आउँछ । 

– सांग्लेकीराको एउटा प्रजाति जर्मन सांग्लेकीरा (German cockroaches) खाना नखाइकन १ महिना र पानी नखाइकन दुई हप्तासम्म बाँच्न सक्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।