उडिरहेको चराको छायाँ किन जमीनमा पर्दैन ?

हामी घाममा हिँड्दा हाम्रो शरीरको छायाँ जमीनमा परेको देखिन्छ । तर माथि आकाशमा उडिरहेको चराको छायाँ भने जमीनमा देखिँदैन । यस्तो किन हुन्छ ?

प्रकाशको बाटोमा पर्ने वस्तुको प्रतिबिम्ब नै छायाँ हो । तर यो छायाँ एउटा निश्चित दूरीसम्म मात्रै बन्छ । अर्थात्, त्यो निश्चित दूरीभित्र कुनै ठोस अथवा अपारदर्शी वस्तु छ भने मात्रै त्यो प्रकाशको बाटोमा पर्ने वस्तुको छायाँ त्यस बस्तुमा देखिन्छ । त्यो निश्चित दूरीलाई फोकस बिन्दु भनिन्छ ।

तर त्यो फोकस बिन्दुभन्दा पर कुनै वस्तु छ भने त्यसको छायाँ धमिलो हुन्छ र जति जति दूरी बढ्दै जान्छ, उतिउति नै त्यो छायाँ झन् धमिलो हुँदै जान्छ । यो दूरी झन् बढ्दै गएपछि एउटा बिन्दुमा आइपुगेपछि त्यो धमिलो छायाँ पनि देखिन छोड्छ । अर्थात्, त्यो छायाँ ठोस सतहबाट माथि खाली स्थानमा बन्न थाल्छ । त्यसरी खाली स्थानमा बनेको छायाँ देखिँदैन ।

चरा पनि आकाशमा माथि उडिरहेको हुन्छ । चरा उडेको स्थान र तल पृथ्वीबीचमा निक्कै लामो दूरी हुन्छ । त्यो दूरीको बीचमा कुनै ठोस सतह हुँदैन । फलतः चराको शरीरले छेकेको प्रकाशको भागको कारण उत्पन्न हुने छायाँ पनि फोकसबिन्दुबाट निक्कै टाढा हुन पुग्छ । यही कारणले गर्दा नै उडिरहेको चराको छायाँ जमीनमा देखिँदैन ।

तर यदि चरा पृथ्वीको सतहको नजिक वा अग्लो घरहरुको माथिबाट नजिकको दूरीमा उडिरहेको छ भने त्यस अवस्थामा चाहिँ त्यो चराको छायाँ जमीनमा वा घरको सतहमा देखिने गर्छ । त्यसैले पृथ्वीको सतहबाट निश्चित दूरीमाथि उडिरहेको चराको छायाँ मात्र हामीले देख्दैनौं ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।