घातक विषालु तर जापानमा लोकप्रिय परिकार बन्ने पफरफिस

पानीभित्रको दुम्सी जसले शरीर फुलाएर शिकारीलाई भगाउँछ !

समुद्रमा विचित्रका माछाहरु पाइने गर्छ । त्यस्तै एउटा विचित्रको माछा हो पफर फिस । यस माछालाई ब्लोफिस, स्वेलफिस, ग्लोबफिस पनि भन्ने गरिन्छ । यसको शरीरमा काँडा हुने भएकोले यसलाई पानीभित्रको दुम्सी पनि भन्ने गरिन्छ ।

उष्णकटीबन्धीय तथा समशीतोष्ण क्षेत्रमा पाइने यो माछा सामान्यतः हिन्द महासागर, प्रशान्त महासागर र लाल सागरमा बढी पाइने गर्छ । यो विभिन्न आकार, रंगहरुमा पाइन्छ । तर यी सबैका चरित्रहरु प्रायः समान हुने गर्छ ।

प्रायः सबै पफरफिसका छालाको सतहमा ससाना काँडाहरु हुने गर्छन् । यस माछाको मुखमा चारवाटा बलिया दाँतहरु हुने गर्छन् । ती दाँतहरु एकापसमा मिलेर चुच्चो जस्तो बनेको हुन्छ । ती दाँतहरुको मद्दतले पफरफिसले गंगटा तथा अन्य खपटा भएका जीवहरुको खपटा तोड्ने र शिकार पक्रने गर्छ ।

पफरफिसमा साना पेक्टोरल फिनहरु तथा पुच्छरको छेउमा एउटा सानो फिन हुन्छ । सामान्यतः तैरनका लागि यस माछाले आफ्नो पुच्छरमा भएको फिनको प्रयोग गर्ने गर्छ ।

सुरक्षा प्रणाली

यो माछाको विचित्रको विशेषता भनेको यसको सुरक्षा प्रणाली हो । जब यस माछाले आफूलाई खतरा महसूस गर्छ, आफ्नो शरीरमा पानी वा हावा भरेर आफूलाई भकुण्डोजस्तो फुलाउँछ । त्यसबेला यसको छालामा भएका काँडाहरु पनि ठाडा हुनेगर्छ । फलतः यो भयानक डरलाग्दो देखिन्छ । यसको यो आकृति र विशाल आकार समेत देखेर शिकार गर्न आएका प्राणी आफैं भयभीत भएर भाग्ने गर्छ । फलतः शत्रु जीवले यस माछालाई कुनै नोक्सानी पुर्याउन सक्दैन ।

खतरा टरेपछि यस माछाले आफ्नो शरीरलाई फुलाउन छोड्छ । फलतः यसको ठडिएको काँडा र शरीर पनि पुनः पहिलेकै अवस्थामा फर्कन्छ ।

खाना

पफरफिस मांसहारी हुने गर्छ  । यसको मुख्य आहारमा गंगटा, शंखेकीरा लगायत अन्न ससाना समुद्री जीवहरु हुने गर्छन् । यसका बलिया दाँतले कडाभन्दा कडा खपेटाहरुलाई पनि तोडिदिन सक्छ । केही प्रजातिका पफरफिसले त समुद्री लेउ र घाँसहरु पनि खाने गर्छन् ।

घातक विषालु

पफरफिसको आन्तरिक अंगहरुमा कलेजो, आन्द्रा, आमाशयहरु पनि हुने गर्छन् । सबैभन्दा खतरनाक कुरा के हो भने यसका आन्तरिक अङ्गहरुमा टट्रोडोटोक्सिन (tetrodotoxin) नामक शक्तिशाली न्यूरोटक्सिन हुने गर्छ । यो अत्यन्तै घातक हुने गर्छ ।  यसको सानो अंशले मात्रै पनि मानिसलाई मारिदिन्छ । कतिसम्म भनिन्छ भने, पफरफिशको विष संसारकै सबैभन्दा घातक विष मानिने साइनाइडभन्दा पनि १२०० गुना घातक हुने गर्छ । यस माछाको विषको प्रतिविष अहिलेसम्म बन्न सकेको छैन ।

लोकप्रिय परिकार

त्यो त यो माछाको आन्तरिक अंगहरु मात्रै विषालु हुने गर्छ, यसको मासु भने विषालु हुँदैन । जापानमा पफरफिसको परिकार निक्कै लोकप्रिय छ । फुगु –(Fugu) भनिने त्यो परिकार बनाउन जापानका विशेष तालिमप्राप्त दक्ष कुकहरुले मात्रै सक्छ । यो माछाको परिकार बनाउन विशेष सीप र ज्ञानको जरुरत पर्ने भएकोले यसको परकार निक्कै महंगो हुने गर्छ ।

 

 

 

 

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।