"धेरै अघिको कुरा हो, ऊ बेला समुद्रमा ज्वार चलेको 'थ्यो ।' एउटा मानिस अर्कोलाई भन्दै थियो, ' मैले लौराको टुप्पाले समुद्र किनारको बालुवामा एक पंक्ति लेखेको थिएँ । त्यहाँ पुग्ने जो कोही अहिले पनि त्यसलाई पढ्न त्यहाँ टक्क रोकिन्छन् । कतै त्यो मेटिएला कि भनेर बडो ध्यान पनि दिन्छन् ।'

'मैले पनि एक हरप लेखेको थिएँ ।' अर्को मानिसले पनि आफ्नो कुरा सुनायो । 'तर त्यतिखेर ज्वार उतारमा थियो र त्यसले मैले लेखेको हरपलाई छुन मात्रै भ्यायो र फर्कि हाल्यो । तर तिमीले के लेखेका थियौ ?!'

'म नै ईश्वर हुँ ।' पहिलो मानिसले जवाफ दियो । अनि 'तिमीले चाहिँ के लेखेका थियौ ?!'

'मैले चाहिँ के लेखेको थिएँ भने, म यस समुद्रको एक थोपासिवाय केही हुइनँ ।' अर्को मानिसले जवाफ फर्कायो ।

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार