अपराजिता, ब्लिडिङ हार्ट र चाइना क्याप

तिमीलाई थाहा छ मलाई फूलमा सोख थिएन, छैन । मलाई त गमलामा पनि लसुनप्याज उमार्न मन लाग्छ । यस्तै कुरा सुन्दा त हो नि थाहा दर्शनका प्रतिपादक रूपचन्द्र विष्टले 'कस्ती नीरस स्वास्नीमानिस' भन्ने खिताप भिराएका थिए र मेरा बोसकी श्रीमतीले ‘Of course you don't eat flowers' भनेकी थिइन् । विगतमा फूलमा पानी हाल्नु, पातहरू टलक्क पारेर पुछ्नु, सबै तिम्रो निम्ति हुन्थ्यो । तर तिमीजस्तै फूलमा सोख राख्ने हाम्री कान्छी बहिनीको घरधन्दाबाहेक अरू कुनै संसार छ भने त्यो केवल फूलको संसार हो । फूलहरू कस्ता फुले, कुन फूल नयाँ हो, गमलामा एउटा मात्रै गोदावरी फुल्न दिए धेरै ठूलो हुन्छ- सारा जानकारी राख्दै तिमीलाई विवरण दिने उसको नियमित रुटिन म अझ सम्झन्छु । ऊ नै त हो नयाँ, नौलो तथा राम्रो फूल भेटाए तिमीकहाँ एउटा पिस ल्याइहाल्ने । यो आदत अझ छुटेको छैन उसको । आजभोलि मलाई अवगत गराउन थालेकी छ- मेरो नीरस हृदय सरस बनाउँदै सायद तिम्रो झझल्कोको छटपटी बोध हुँदो हो ।

तिहारको केही दिनअघिको कुरो हो । दुई किसिमको फूल देखाउँदै ऊ मेरो कोठामा पसी, “सुकन, हेर ब्लिडिङ हार्ट र चाइना क्याप ।” नामले मुटु छोयो, उत्सुकता जाग्यो । मनमनै नामहरू नेपालीमा अनुवाद गरें, 'रगत बगिरहेको मुटु' र 'चिनियाँ टोपी' । फूलका बनोट हेरें, ठीक नाम सुहाउँदो । ब्लिडिङ हार्ट- केही सेतो सेतो, केही प्याजी- प्याजी पत्रदलहरूबीच रगतको वेग थाम्नै नसके रगतै रङको अर्को फूल बाहिर आएको, मुटुबाट रगतै बगिरहेको भान गराउँदै। चाइना क्याप - चिनियाँ मुलुक र चिनियाँ ओरिजिनका समूहलाई मात्र सुहाउने पातलो टोपीलाई प्रतिबिम्बित गर्थ्यो- रङचाहिँ कलेजी रातो ।

त्यसो त तिमी फूलहरू पुस्तकमा च्यापेर राख्ने गर्थ्यो र मलाई बारम्बार ती च्यापिएका तर आकारमा चुस्त दुरुस्त फूलहरूका 'ग्रिटिङ कार्डहरू' बनाउन प्रोत्साहित गर्थ्यो, जुन मैले कामको व्यस्तताले हुन सक्छ अथवा फूलप्रति सोख नभएर हुन सक्छ, बनाउने जमर्को नै गरिनँ । आज पनि तिम्रा पुस्तकका पानाहरू पल्टाउँदा ठाउँठाउँमा तिमीले मेरो निम्ति च्यापेर राखिदिएका फूलहरू फाटफुट खस्ने गरेका छन् ।

तर यसपालि त ब्लिडिङ हार्ट र चाइना क्यापले यो मरुभूमिजस्तो मनलाई तानिहाल्यो । तिम्रो फूलप्रतिको अनुराग बिजुली भएर चम्क्यो । आँखाहरू स्वत: वन्द भए । विगतका दिनहरू उर्लिंदै आए । जस्ताको छानामुनिको तिम्रो दक्षिणपूर्व फर्केको कोठा । दक्षिणतिर दुईखण्डे झ्याल र पूर्वतिर तीनखण्डे झ्याल । ती झ्यालहरूलाई तिमी ‘मेरो टिभी, भिडियो' भन्ने गर्थ्यो । यिनै झ्यालका ऐनाहरूमा तिमी तिम्रा कोठामा आउने पाहुनाहरूलाई पहिले नै देख्थ्यौ । अँ त दुईखण्डे झ्यालमा तिम्रा पुस्तक पत्रिकाहरू हुन्थे र तीनखण्डे ज्यालमा फूलका गमलाहरू । सम्झना छ त्यसमध्ये एउटा गमलाका बोटलाई तिमी ‘जयन्ती फूल' भन्ने गर्थ्यो । मदन मेमोरियल स्कुलमा अध्यापन गर्दा तिम्री छात्रा रहेकी जयन्ती राणाले ल्याइदिएको फूल थियो । जयन्ती आफैँ फूलको अति सोखिन । अहिले आएर मैले त्यस बोटको नेपाली नाम थाहा पाएँ। ‘कुर्सीमल' भन्दा रहेछन् । अर्को गमलामा भएको फूलको नाम तिमीले ‘स्पाइडर मम' भन्थ्यौ । त्यस फूलमा पानी हाल्दा तिमी मलाई बारम्बार 'एक मुठी मात्र है' भन्ने गर्थ्यो । लामा लामा पातहरूमा लम्बाइतिर तानिएका धर्साहरू हेर्दा माकुराका खुट्टाहरूझैं देखिने बनोट । ओहो ! बेस्कन माटो समात्न सक्ने क्षमता राख्दा रहेछन् यसका जराहरू । अर्का फूल, फूल के भनौं पातैपात, सेता डोराहरूसहितको, जसलाई हामी 'चार्ली फूल' भन्ने गथ्यौं किनकि सो फूल हामीले हाम्रा दिवङ्गत धर्मभाइ चार्लीको घरबाट ल्याएका थियौँ । अहिले कुर्सीमल माथि बार्दलीमा ल्याएर राखेकी छु । धेरै ठूलो हुने प्रकृति देखेर ठूलो गमलामा सारेकी छु । उसका कतिपय कटिङहरू धेरै ठाउँ पठाइसकियो । स्पाइडर ममचाहिँ तिम्रो प्रतिमा भएको एरियामा लगाएकी छु, धेरै सरिसकेको छ । लौ तिम्रो प्रतिमाको कुरा उठ्यो । प्रतिमा एरियामा सानो बगैंचा बनाइएको छ । गुलाफ, गोदावरी, लालुपाते, अरू धेरै नाम नआउने फूलहरू र अँ प्रतिमाको ठीक पछिपट्टि पारिजात रूख ठूलो भइसकेको छ र भदौको अन्त र कार्तिकको सुरुसुरुसम्म फुलिरहन्छ । तिम्रो प्रतिमाभरि फूल झरेका हुन्छन् । मेरो । सपना भनौँ अथवा रहर - तिम्रो प्रतिमामा बिहानीको शीतले भिजेका पारिजातका फूलहरू झरेका हेर्ने । चार्ली फूल त मासिएछ । अपराजिता, म चितवनमा निर्मललाई स्याहार्न गएको बखत के भयो कुन्नि, फर्केर आउँदा सो फूल थिएन ।

अँ त हगि, तिम्रो नाम पारिजात भए पनि तिम्रो मनपर्ने फूल लालीगुराँस हो । लालीगुराँस हाम्रो राष्ट्रिय फूल हो । यसको स्थान जडीबुटीमा पनि आउँछ । घाँटीमा माछाको काँडा अड्के गुराँसको फूलले काँडालाई गलाएर घाँटी साफ गर्छ । भनाइ छ घाँटीमा काँडा अड्केको बखत ‘गुराँस’ मात्र उच्चारणले घाँटी साफ हुन्छ रे । गुराँस, फूल मात्र होइन, जडीबुटी मात्र होइन 'सलिड डाइट' हो 'डाइट' ।

बाल्यकालमा हामी हरदम गुराँसका पत्रदलहरू चपाइरहेका हुन्थ्यो । जडीबुटी खाँदा रहेछौं । जडीबुटी बूढो ओखती, हरकट्टा, भोटे पान- यी पनि त हुन् हामीले हरदम चपाइरहने जडीबुटी । हरकट्टा उखेल्न धेरै गाह्रो, फूल नहुने उसका लामालामा पात छुराजस्तै धारिला । अलिकति यताउति भयो कि सम्झ हात काटियो । त्यसैले त हामीले त्यसलाई हात काट्ने झार पनि भन्ने गर्थ्यो । अझ भएन आँखा तेजिलो होस् भनेर बिहानीपख एक प्रकारको झार उखेलेर त्यसमा खसेका शीतका थोपा आँखामा हाल्ने गथ्यौं, जसलाई हामी आँखा देवी भन्थ्यौँ । । म त तिम्रो मन पर्ने फूल गुराँसको कुरा गर्दैछु । गुराँस हाम्रो खाजा किनकि बिदाका दिनहरूमा अधिकांश समय वन-जङ्गलमा बित्ने हाम्रो दिनचर्या । त्यसो त नक्खु कारागारबाट सुरुङ खनेर निस्कने सीपी मैनालीज्यू, प्रदीप नेपाल र उनीहरूका अरू साथीहरूले पनि बाटाका खाना पक्कै गुराँस नै बनाए । उनीहरूको यात्रा पक्कै गुराँस फुल्ने सिजनमा भएको हुँदो हो । तिमीले नै त भनेकी हौ यात्राका दौरान उनीहरूका झोलाभरि गुराँसैगुराँस थिए रे । तिमीलाई कसले भन्यो कुन्नि । हुन सक्छ, होला पनि, उनीहरू पहाडी वनजङ्गलमा हुर्केका हुन् । हाम्रो राष्ट्रिय फूल गुराँसको अघि लाली अनिवार्य छ क्यारे । नेपालमा गुराँसको रङ रातो मात्र हुँदो हो क्यारे, थाहा छैन । हामीले त बचपनमा सेतो-नीलो, गुलाफी र पहेँलो गुराँस पनि देखेका हौं ।

बेगनबेली, पिटुनियाँ, डिउडप, मर्निङ ग्लोरी, अफ्रिकन भायोलेट, रजनीगन्धा, बेली, चमेली, नलिनी, चितुचाँगे, भगर काँजे यस्तै धेरै फूलको नाम तिमी उच्चारण गरिरहन्थ्यौ । कबोल गर्छु अपराजिता, मैले गमलामा फूलैफूल होइन, पातैपात मात्र मन पराउने गरेकी हुँ । त्यसमा पनि उन्यूका प्रजाति - रानीसिन्का । मन पराउने तर जाँगर नचलाउने मेरो प्रवृत्ति देखेर होला सम्भवतः, कान्छी बहिनीले एक गमला रानीसिन्काको बोट मेरो बार्दलीमा राखिदिएकी छ । जुन अद्यापि छँदै छ । उन्यू, रानीसिन्का र हाम्रो बचपन - कहालिन मन लाग्छ, खोल्सा र डाँडाकाँडा थर्काउँदै । मलाई कुनै फूलले अलिकति आकर्षित गरे भने ती हुन् आधा फक्रेका पहेँला गुलाफ । तर टोटलाको फूलले मेरो उत्सुकता जगाउँछ । हाम्रो तामाङसमूहमा टोटलाको फूललाई पवित्र मान्दा रहेछन् । धार्मिक अनुष्ठान तथा सामाजिक काममा यसको महत्त्वपूर्ण भूमिका हुँदो रहेछ । धनुष आकारको ठूलो । पेटीभित्र सानो बन्द कोठामा जस्तै यसको अस्तित्व । हरियोमा कस्ता हुँदा हुन् थाहा छैन तर यसको महत्त्व र प्रयोग सुनिसकेपछि सेतो रङ्ग लिएपछि हुने रहेछ । सबभन्दा पहिलो पटक हाम्रो एक मात्र दाइको मृत्यु हुँदा हाम्री ठूली आमाले काजक्रियामा चाहिन्छ भनेर एक धनुष पेटी ल्याएको देखेकी थिएँ ।
“मेरो टेबलमा सधैँ ताजा फूल राखिदिने गर, खुब भाव आउँछ ।” यसै भन्थ्यौ तिमी । हरिया भुइँमा कालो फूलबुट्टा भएको प्लास्टिकको गिलास, त्यसमुनि सिसाको फूलको भेट्नु आकारको मोटो कचौरा । सम्भवत: फूलको भार प्लास्टिकले थाम्दैन भनेर होला गह्रौँ कचौराको सपोर्ट दिएकी । अहिले त प्लास्टिकको गिलास मात्र छ, सिसाको कचौरा कसले लग्यो अथवा फुटायो, थाहा पाउन सकिनँ । यो प्रकरण पनि कत्ति सिम्बोलिक । म फूलको भार थाम्न नसक्ने प्लास्टिकको गिलास, तिमी सपोर्ट दिने सिसाको कचौरा । भैगो, किन गर्ने यस्तो आँखा रसाउने कुरा । मोडौँ मनलाई रमाइलोतिर ।

भित्ते फूल, पाउडर फूल, बिख फूल, रत्न्यौला, चरीअमिलो तथा बनभाँडेको फूल- हरे ! त्यसैत्यसै बचपन फिरेर आउँछ । अमिलो । स्वाद भएको रत्न्यौलाको गुलाबी फूल मुठीभरि जम्मा गरेर चिउराजस्तै बुकाउने गथ्यौँ । बुकीफूल क्या बुकीफूल, पहेँलो र सेतो। मेरी मितिनीका बुबाले बुकीफूल घाममा सुकाएर दुईवटा सिरानी बनाएका होइनन् ? गुलाफका कलिला डाँठ सागका डुकुसरह छिलेर खाँदाको
स्वाद, अर्कै अनुभव । कालीगेडी, असारे फूलको दाना, हाम्रो मुख खाली हुनै पाउँदैनथ्यो । कसमस, यहाँ पहाडतिर यसलाई जन्ती फूल र सहरमा पुतली फूल भन्दा रहेछन्, छ्यासछ्यासती नै हुन्थ्यो । त्यस फूलका मसिना केस्रालाई नङले छुट्टयाएर त्यसभित्रका केश जत्रा मात्रै हुने गुदी खाने गर्थ्यो । फूलबारीकी क्रिस्तान मिमले पालेका केटाकेटीहरू, मेरी, फूलमती, जेम्स, पिटरहरू अझ सम्झिन्छु; स्कुलका बगैँचामा दिनभरि त्यही गुदी कोट्टयाइरहेका देखिन्थे । हरे त्यतिका साना गुदीहरूले के पेट भर्दा हुन् ? साथीहरू भन्ने गर्थे, 'भोकभोकै राख्छिन् ती मिमले ।' ओहो ! चाँप त बिर्सिछु । अग्लाअग्ला रूखमा फुल्ने कुखुराका चल्लाजस्तै नरम सेता र गुलाफी चाँप - कत्ति सुन्दर । कैलाश कोठीको बगलमा भएको गुलाफी चाँपको रूख यस पटक खोजें- रहेनछ । ओक्टेनको कम्पाउन्डभित्र पनि सेतो चाँपको रूख भएको जस्तो लाग्छ । तिमीलाई सम्झना छ ? पाउडर फूलको पाउडर, बनभाँडेको अमिलो डाँठ चपाएर टुप्पामा आउने रातो तरलको टीका, हरकट्टाको सुपारी राखेर चपाएको भोटे पानको हल्का लाली ओठमा हाम्रो उस बखतको `शृङ्गार | अहा चरीअमिलो ! चरीले मन पराउने भएर चरीअमिलो भनेको हो कि ? यसको स्वाद त जिब्रोमा अझ डाक्कै छ । चारपाते झारको हरियो फाँट- नाम चारपाते तर पातहरू केवल तीन । तीनपातेको अथाह सागरमाझ एक मात्र चारपाते भेट्टाउने र बुद्धिमान् कहलिने होडबाजी लगाउँदै हाम्रा औँलाहरू फाँटमा सलबलाइरहन्थे । वन, पाखा र बारीका कान्लाहरूमा बागमुखे थैलीजस्तै पहेँलपुर टिकटिके फूल । पचासौँको तादातमा कसले धेरै फुटाउने भन्दै फुटाएको सम्झना । छातीभित्र ढकढक मुक्का हान्ने यी कस्ता दुख्ने तर मीठा अनुभवहरू ।
तिम्रो सन्दर्भ र फूलको कथा, सिद्धिदैन अपराजिता, सिनिँदैन, कमभन्दा कम यो लेखमा त सम्भव नै छैन । तथापि अहिले अङ्कुरित हुँदै आएको फूलप्रतिको मेरो उत्सुकता तिम्रै देन हो । यसो गमेर हेर्दा यस्तो लाग्छ– बेलीबिस्तार लाउँथें होला, आँखामा राखिदिन्थेँ होला, ओठमा स्पर्श गराउँथेँ होला, कपालमा सिउरिदिन्थें होला र तिम्रो हरियो प्लास्टिकको गिलासमा भरिदिन्थेँ होला तिम्रो भावना जगाउन- ब्लिडिङ हार्ट र चाइना क्याप ।

तिम्री सुकन

‘अनुभव पारिजातको कलम सुकन्याको’ बाट साभार