पुराना नीति सूक्ति र मानवीय आदर्श

हिंतं मनोहारि च दुर्लभं वच

अर्थात् व्यवहारमा हित पनि गर्ने र सुन्दा मीठो पनि लाग्ने सल्लाह सुझाव प्रायः पाउन गाह्रो हुन्छ ।

सुलभाः पुरुष लोके सततं प्रिय वादिनः

अप्रियस्य च पश्यस्य वक्ता स्रोता च दुर्लभः

अर्थात् सधैं प्यारो मीठो र प्रशंसाका बोली बोल्ने र ठिक्क पारेर आफ्नो काम पट्याउने मानिस व्यवहारमा जताततै भेट्न सकिन्छ । सुन्दा मिठो नलाग्ने तर व्यवहारमा भलो गर्ने किसिमका सल्लाह साउती दिने मान्छे र त्यस्तो सल्लाह साउती उचित मानेर सुन्ने मान्छे पनि व्यवहारमा भेटिन प्रायः गाह्रो हुन्छ ।

स किं सखा साधु न शास्ति यो धिपम् ?

हितान्न यः संश्रृणुते स किं प्रभुः ?

अर्थात् आफ्नो मान्छेलाई मौकामा जसले सही सल्लाह दिंदैन त्यो मान्छे के आफ्नो मान्छे ? के असल मान्छे ? जसले आफ्नो हितैषीले दिएको सही सल्लाह लिँदैन त्यस्तो मान्छे के राम्रो मान्छे के आफ्नो मान्छे ? त्यस्ता मान्छे त खराब मान्छे विवेकहीन मान्छे ।

संस्कृत भाषामा रहेका हाम्रा पुराना नीति र सूक्तिहरुमा छान्न जानियो भने अहिले पनि काम लग्ने खालका विचार र स्थापनाहरु प्रशस्त पाइन्छन् । हाम्रो परम्परागत संस्कृतिमा आधारभूत रुपमै परिवर्तन ल्याउने कुरा पनि छन् । संसार र मानवमात्रको भविष्य राम्रो पार्न सघाउने कुरा पनि छन् । गलत कुरा छँदैछैन भन्ने होइन । गलतलाई केलाउनुपर्छ, हटाउनुपर्छ । जसरी हामी भात पकाउनुअघि चामल केलाउँछौ, ढुंगा बालुवा, बियाँ टिप्छौं–फ्याक्छौं । जसरी हामी तरकारी केलाउछौं, खान नमिल्ने, खान नहुने जति फ्याँकेर पकाउन तैयार पार्छौं, पकाउँछौं, त्यसरी नै हाम्रा पुराना नीति र सूक्तिहरुलाई केलाउनुपर्छ र उपयोगी लिनुपर्छ, बाँकी फ्याँकिदिनुपर्छ । यसै त शिक्षाको अर्थ नै राम्रो लिनु र नराम्रो फ्याँक्नु हो ।

जस्तै, उदाहरणका लागि हामी हाम्रो नीति सूक्तिहरुमा रहेको बालबालिकासम्बन्धी कुराहरुलाई लिऊँ । “बालानाम् रोदनम् बलम्” अर्थात् बालबालिका रुन्छन्, तिनीहरुको बल त्यही हो भन्ने जस्ता बालबालिकालाई वेवास्ता गर्ने कुरा पनि त्यहाँ छन् । अर्को श्लोक छ– “बालादपि सुभाषितम्” । “बालबालिकाले नै भनेको भए पनि राम्रा कुरा लिनु” भन्ने जस्ता बालबालिकालाई हेप्ने र तिनका पनि राम्रा कुरालाई चाहिँ लिने उपदेशका करा पनि छन् ।

त्यस्तै “लालयेत् पन्चवर्षाणि दश वर्षाणि ताडयेत्ः प्राप्रेतु षोडशे वर्षे पुत्रं मित्र वदा चरेत्” भन्ने पनि पुराना नीति र सूक्तिहरुमा पाइन्छन् । यस श्लोकको अर्थ छोरालाई पाँच वर्ष उमेर नपुग्दासम्मलाई माया गर्नु, त्यसपछि १० वर्ष गोदेर तह लाउनु , १६ वर्षका भएपछि मित्रलाई जस्तै व्यवहार गर्नु भन्नेजस्ता विवादास्पद कुरा पनि छन् । १० वर्षदेखि १६ वर्ष बालबालिकालाई पिटेर हप्काएरै तह लाउनुपर्छ भन्ने कुरा अहिलेसम्म अध्ययन भएको बाल मनोविज्ञान अनुसार मिल्दैन । बाल मनोविज्ञानको अध्ययनअनुसार त बालबालिकालाई माया गरेर, हौसला दिएर हुर्काउनुपर्छ, त्यसो गर्दा मात्र उनीहरुको राम्ररी व्यक्तित्व विकास हुनसक्छ । माथिको नीति श्लोकमा १६ वर्ष उमेर पुगेपछि छोरासँग मित्रसँग जस्तै व्यवहार गर्नु भन्ने अंशचाहिँ राम्रो छ । यसले छोरालाई मर्यादा र सम्मान दिएको छ । यो दिनैपर्ने कुरा हो ।

अर्को श्लोक “माता शत्रुः पिता वैरी येन बालो नपाठितः” लाई हेरौं । यसको अर्थ आफ्ना बालक छोराछोरीलाई उचित शिक्षा दीक्षा नदिने, नपढाउने आमाबाबु शत्रुबराबर हुन् भन्ने हुन्छ । छोराछोरीलाई समयमा पढाउनु बाबु आमाको दायित्व नै हो, जसले दायित्व पूरा गर्दैन त्यो दोषी हुन्छ । सजाय भागी हुन्छ । यस श्लोकमा यो कुराको झलक छ ।

अर्को एउटा नीति–श्लोक आधुनिकभन्दा पनि आधुनिक मनोवैज्ञानिक चिन्तन भेटिने खालको छ । जस्तै “अन्य जय मन्विच्छेत् पुत्रात् शिष्यात् पराजयम्” अर्थात् असल विवेशील मानिसले आफ्नो सिद्धान्त र उद्देश्यअनुसार चल्दा यत्रतत्र सर्वत्र सफलताको कामना गर्नू, विजयको कामना गर्नू, जीतिछाड्ने इच्छा राख्नू तर बहसमा सिपमा र पराक्रममा जहिले पनि आफ्ना छोराछोरी र शिष्यलाई आफूभन्दा ज्ञानवान् र सक्षम बनाएर हुर्काउनु पर्छ र तिनीहरुलाई जित्ने होइन, तिनीहरुबाट आफू हार्ने सोच राख्नुपर्छ । हार्नुपर्छ – यो आदर्श सोच हो ।

नीतिले सङ्केत गरेको हारजीतको यो चिन्तनपक्ष साँच्चिकै नयाँ खालको छैन त ?