नीति, सूक्ति सुभाषित

नीतिको अर्थ तरिका, बाटो र उपाय पनि हो । राज्य चलाउने नीतिलाई राजनीति भन्छन् । सामान्य जीवनमा लागु हुने नीतिलाई सामान्य नीति भन्ने पनि चलन छ । संस्कृत भाषाका ग्रन्थहरुमा नीति वचनहरु थुप्रै छन् ।

पुराण, महाकाव्य र अन्य ग्रन्थहरुमा पनि नीति वचनहरु छन् । नीति भनेको सोच्ने काम गर्ने तरिका हो भने तरिका बेला बेला फेरिन पनि सक्छ । कुनै कुनै तरिका सधैं काम लाग्ने खालको हुन पनि सक्छ । पुरानो बेलामा लेखिएको भए तापनि छान्न सकियो भने अहिले पनि काम लाग्ने नीति वचनहरु संस्कृत भाषाका पुराण काव्य महाकाव्य र अरु ग्रन्थहरुमा पनि छन् । यी ग्रन्थहरुबाट यस्ता नीति सूक्ति र मीठामीठा कविता जम्मा गरेर बनेका बेग्लै पुस्तक पनि संस्कृत भाषामा पढ्न पाइन्छ । सूभाषित र सुक्तिको अर्थ असल भनाइ हो । नीति पनि तरिका मिलाएर भन्न सकियो भने सुक्ति बन्छ । नीति बाहेक अरु कुराको पनि सूक्ति हुन सक्छ, सुभाषित हुन सक्छ । यसैले नीति र सूक्ति एउटै चाहिँ होइन । नीति मानिसको मीठो टुक्रा हो । सूक्तिले आनन्द दिन्छ, नीतिले बेलामा बाटो दिन्छ । सोच्ने, काम गर्ने तरिका सिकाउँछ ।

परोऽपि हितवान् बन्धुः बन्धुरप्यहितः परः।

अहितो देहजो व्याधिः हितमारण्यमौषधम्॥

आफ्नो हित गर्छ भने टाढाको र नातै नपर्ने मान्छे पनि वन्धु हो, दाइभाइ जस्तै हो । हित गर्दैन भने, दुःख दिन्छ भने वन्धु पनि आफ्नै दाज्युभाई पनि पर हो, टाढाको हो । जस्तै हित नगर्ने भएकोले आफ्नै शरीरमा उब्जको भए पनि रोग आफन्त होइन, हितगर्ने भएकोले टाढा टाढा जंगलमा उब्जने भएपनि औषधि मुलो बनस्पति मित्र हो ।

मित्रस्वजनबन्धूनां बुद्धेर्धैर्यस्य चात्मनः ।

आपन्निकषपाषाणे नरो जानाति सारताम् ॥

साथी आफन्त, दाज्यूभाई, र आफ्नै बुद्धि र धैर्यको पनि आपत् विपदको बेला जाँच हुन्छ । आपत् भनेको यी सबैलाई जाँच्ने कसी ढुंगा जस्तै हो । जसरी कसीमा दल्दा सुन नम्बरी हो कि नक्कली हो त्यो थाहा पाइन्छ त्यस्तै नै आपत् विपदका बेला साथी भाइ, आफन्त बन्धु बान्धव र आफ्नै बुद्धि र धैर्यको पनि जाँच हुन्छ । वास्तविकता के हो त्यो थाहा पाइन्छ ।

यी नीतिका कुराहरु हुन् । संस्कृत काव्यग्रन्थहरुमा नीति उपदेशका रुपमा, बयान बर्णनका रुपमा र सूक्तिका रुपमा पनि यस्ता कुरा पढ्न पाइन्छन् ।

आकण्ठ जलमग्नोपि श्वा लिहत्येव जिह्वया

घाँटी सम्म पानीमा डुवे पनि कुकुरले पानी जिभ्राले नै चाट्छ तत्तनी पिउन सक्दैन । यो एउटा सूक्ति हो । यसमा लोभीहरुको प्रवृत्तिको बयान गर्न खोजिएको छ यसको वर्णन शैली उखानजस्तो पनि छ ।

विपदि धैर्यमथाभ्युदये क्षमा

सदसि वाक्पटुता युधि विक्रमः।

यशसि चाभिरुचिव्र्यसनं श्रुतौ

प्रकृतिसिद्धमियं हि महात्मनाम्॥

असल मानिस आपत् विपत् पर्दा आत्तिँदैन, सम्पत्ति हुँदा मात्तिँदैन, समयमा राम्रोसित आफ्नो कुरा राख्न सक्छ, न्याय र सत्यका पक्षमा परिआउँदा कस्सिएर लडभीड गर्न र जित्न सक्छ, कीर्ति कमानउने काम कुरा मन पराउँछ, पढ्ने लेख्ने र धेरैभन्दा धेरै जान्ने बुझ्ने कुरामा समय खर्च गर्छ । यिनै गुणहरुले मानिस असल हुने हो । जीवनमा असल र महान् बन्न चाहने मानिसले यस्ता गुणहरुलाई आफ्नो स्वभाव बनाएको हुन्छ ।

यो सूक्ति हो । सुभाषित हो । यसले असल मानिसका स्वभावको बयान गरेको छ । यो पढ्दा मानिसले असल बन्ने प्रेरणा लिन सक्छ । बाटो लिन सक्छ । यसरी हेर्दा यो नीति पनि हो । यसले आफ्नो र अरु मानिसको मूल्याङ्कन गर्न पनि सिकाएको छ । कुरा सिक्ने सिकाउने यो एउटा तरिका पनि हो ।

यी संस्कृत भाषामा पाइने नीति र सूक्तिका एकाध उदाहरणहरु हुन् ।