हाँच्छ्यु किन आउँछ ?

हाँच्छ्यु आउने प्रक्रिया हाम्रो नियन्त्रण बिना नै हुने गर्छ । कहिलेकाहीँ तपाइँलाई हाँच्छ्यु आउन लागेको थाहा हुन्छ । यसलाई तपाईं नाक बन्द गरेर रोक्न सक्नु हुन्छ । तर आफैंले चाहेर तपाईं हाँच्छ्यु गर्न सक्नु हुँदैन ।

कहिलेकाही हाम्रो नाकभित्र धुलो र अन्य केही स–साना वस्तुहरु छिर्ने गर्छन् । यसले गर्दा हाम्रो नाकको भित्री भाग चिलाउने गर्छ । त्यसरी नाकभित्र चिलाउने धुलोका कणहरुलाई हटाउन शरीरले आफ्नै विशेष व्यवस्था गरेको हुन्छ । त्यो व्यवस्था नै हाँच्छ्यु हो ।

जब कुनै पनि बाहिरी वस्तु नाकभित्र पसेर कुतकुती लाग्छ, त्यो सन्देश हाम्रो मस्तिष्कको विशेष भाग (Sneeze Center) मा पुग्छ । मस्तिष्कको त्यो भागले हाँच्छ्यु आउनका लागि आवश्यक पर्ने शरीरका सबै मांसपेशीहरुलाई तुरुन्तै बाहिरीबस्तु नाकभित्र घुसेको र त्यसलाई हटाउनका लागि आवश्यक कदम चाल्न निर्देशन दिने गर्छ ।

हाँच्छ्यु आउँदा विशेष गरेर हाम्रो शरीरका पेट र छातीका मांसपेसीहरु अनि डायफ्रम (सास फेर्नका लागि मद्दत गर्ने फोक्सोमुनि रहेका ठला मांसपेसी), हाम्रो स्वरयन्त्रलाई नियन्त्रण गर्ने मांसपेसी र घाँटीपछाडिका मांसपेसीहरु क्रियाशील भएका हुन्छन् । रमाइलो कुरा त के छ भने, यस कार्यमा हाम्रो आँखाको ढकनी (Eyelid) को मांसपेसी पनि सहभागी भएको हुन्छ । त्यसैले त जहिले पनि हाँच्छ्यु आउँदा हाम्रो आँखा बन्द हुने गर्छ ।

यी माथिका मांसपेशीहरुको संयुक्त कार्यान्वयनमा हामीलाई हाँच्छ्यु आउने गर्छ । यो सबै प्रक्रिया अति चाँडो सम्पन्न भइसक्छ । फलतः नाकभित्र घुसेको त्यो बाहिरी वस्तुलाई फ्याक्नका लागि हामीलाई हाँच्छ्यु आउने गर्छ । रमाइलो कुरा के छ भने, हाँच्छ्यु आउँदा नाकभित्र घुसेका मसिना पदार्थहरु १०० माइल प्रतिघण्टासम्मको गतिले बाहिर उछिट्टने गर्छन् ।

खुसार्नी, मरिच आदि जस्ता वस्तुहरुमा पनि नाक चिलाउने रसायनहरु हुन्छन् । तिनीहरु नाकमा पुग्नासाथ चिलाउने गर्छ । हाम्रो नाकले तिनीहरुलाई पनि हटाउन खोज्छ । त्यही भएर तिनीहरु सुँघ्ने बित्तिकै हामीलाई हाँच्छ्यु आउँछ ।

त्यसो त चिसो सर्दीको कारण रुघा लाग्दा पनि हामीलाई हाँच्छ्यु आउने गर्छ । यसो हुनुको कारण चाहिँ भाइरसले गर्दा हो । रुघालाग्दा भाइरसले नाकभित्र सुन्निने र चिलाउने गर्छ । फलतः हामीलाई हाँच्छ्यु आउने गर्छ । त्यसैगरी, कतिपय मानिसलाई विभिन्न वस्तुहरुले एलर्जी हुने गर्छ र त्यही कारण पनि हाँच्छ्यिु आउने गर्छ । कतिपय मानिसलाई चाहिँ घामको प्रकाशको कारण पनि हाँच्छ्यिु आउने गर्छ । यस्ता मानिसलाई photic sneezers भनिन्छ र यो वंशानुगत समस्याको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा पनि सर्ने गर्छ ।