धर्म डिप्रेसन हो

भनिन्छ नि

 ईश्वर  रक्षक हुन भनेर

हो तिनै ईश्वरको बारेमा

एकदिन सानो नानीले सोधिन्

गुरुआमा  ईश्वरको घर कहाँ छ भनेर ?

मैले सानो नानुलाई भने

 ईश्वरको घर तिम्रो हृदय हो भनेर

हो त्यही सानो नानी एकदिन बलात्कृत भइन्

हो  त्यही दिनदेखि हो

मैले ईश्वर नहुनुको प्रमाणपत्र बोकेको।

लालपुर्जाले बोक्ने धर्म अवसाद हो। अर्थात धर्म डिप्रेसन हो।जब मान्छेलाई डिप्रेसन हुन्छ नि! विवेक हराउँछ।मान्छेलाई थाहा नै हुँदैन। के गलत हो? के सही हो?  के नैतिकता हो ? के अनैतिकता हो। म के गरिरहेको छु भन्ने नै थाहा हुँदैन।त्यसैले लालपुर्जावादीले बोकेको धर्म पनि डिप्रेसन हो। वर्गसत्ता पनि डिप्रेसन हो।रङ्सत्ता पनि डिप्रेसन हो।जात व्यवस्था पनि डिप्रेसन हो। लालपुर्जाले उत्पादन गरेका धर्मसत्ता रङसत्ता, जातसत्ता, वर्गसत्ता डिप्रेसन नभई के हुन त ?

 धर्मसत्ताको आडमा मान्छेले मान्छेलाई तँ अछुत म छुत भनेको छ। छुइछिट्टो गरेको छ । किराले छुएको घर मन्दिर अछुत नहुने। भ्यागुतोले छुएको कुवाको पानी अछुत नहुने। भ्यागुतोले छुएको नदीको पानी अछुत नहुने जल हुने। अनि मान्छेले मान्छेलाई तँ अछुत भन्दै घर मन्दिर र पानी छुए अछुत हुने , हुन्छ कतै ? अनि लालपुर्जाले बोकेको धर्म डिप्रेसन नभई के हो त ?

 रङसत्तावादीले पनि ईश्वरको नाममा, धर्मको आडमा ईश्वरले हामीलाई गोरा बनाए तिमीलाई काला बनाए भन्दै कालाजातीलाई नेल लगाइ हाट लगी बेचे। अनि लालपुर्जावादीले बोकेको रंगसत्तावादीको घर्म र ईश्वर डिप्रेसन नभई के हो त?

धर्म, ईश्वर र सत्ता को आडमा मान्छेले मान्छेलाई धनी र गरीब बनाउने।थोरै  सत्ताधारी वर्गले जल जङ्गल जमीन खनिज  र दौलत कब्जा गरेर धेरै मान्छेमाथि उत्पीडन लाद्ने। होइन हो यो धर्ती कसको मुखबाट फ्वात्त झरेको रहेछ? अब प्रचण्ड कम्पनी अर्थात छविलालाल कम्पनीका नातीनातीनतिनाले पनि केही वर्षपछि भन्ने छन्– यो मेरो पुर्खेउली सम्पत्ति हो भनेर। पुर्खेउलीको सत्ताधारी भाष्य के रहेछ  बुझियो नि !

धर्मको आडमा सतीप्रथा इन्कियुजिसन प्रथा  मालिक प्रथा के रहेछ ? सत्ताको छ्लछाम र षड्यन्त्र त बुझिन्छ नि ! लालपुर्जावादी सत्ताको छ्लछाम र षड्यन्त्र नबुझदासम्म मान्छे मान्छे जस्तै भएर बाच्न नसक्ने नै हुन्छ। मान्छेले मान्छेलाई कमारो नै बनाउछ। चाहे त्यो लोकतन्त्र प्रजातन्त्रको नाममा किन नहोस्।

सूर्योदय

जुनदिन मान्छेलाई थाहा हुन्छ नि

म भित्र सुतिरहेको  आगो नै ज्वालामुखी हो भनेर

हो त्यो दिन मान्छेभित्र सूर्योदय हुन्छ ।

 

बीउ

जब जब अन्धकार छाउँछ नि

सोच्नु

म धर्तीभित्रको बीउ हुँ

म फुट्ने छु

म फूल्ने छु

मेरा जराहरु यति गहिरा हुनेछन् कि

म आँधीहरुका विरुद्ध जुध्ने सतीसाल हुने छु

म प्राणवायु हुनेछु।

 

आगो

धर्तीभित्रको अन्धकारमा  सुतिरहेको आगोलाई थाहै हुँदैन

म नै ज्वालामुखी हुँ भनेर

तर सत्य यही हो

धर्तीभित्रको अन्धकारमा सुतिरहेको आगो नै ज्वालामुखी हो

त्यो बिस्फोट हुन्छ।

 

नोट-  अछामी भाषामा एउटा प्राकृतिक भाष्यमा गीत छ । उसो त यस्ता धेरै गीत छन् -

नाउल्या तेरो धर्म रला मु पारी तराएइ

बग्दै गरेइ जीवनगंगा काइ जन लगाएइ।

अर्थात्

माझी तिमीले मलाई पार लाउनु यो तिम्रो धर्म हो। यहाँ धर्म भनेको कर्तव्य हो।

जीवनगंगाको  धर्म पनि बग्नु र काइ नलगाउनु हो। अर्थात जीवन नदीको कर्तव्य बगी रहनु हो । बग्नु नै जीवनमा काइ नलाग्नु हो।