बुद्ध दर्शनमा द्वन्दवाद र भौतिकवाद

ईशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मनु भएका सिद्धार्थ गौतम बुद्ध नेपालले विश्वसमक्ष प्रस्तुत गरेर गौरव गर्न सक्ने प्राचीन समयका महानतम चिन्तक हुनुहुन्थ्यो । ईशापूर्व ३८४ मा ग्रीसमा जन्मेका अरिस्टोटललाई कार्ल मार्क्सले 'प्राचीन समयका सबैभन्दा महान चिन्तक' को संज्ञा दिनुभएको छ । मार्क्सले बुद्धलाई राम्ररी पढ्न पाउनुभएको भए सायद् उहाँको यो धारणा तुरून्तै बदलिन्थ्यो होला । उहाँ संभवतः यो संज्ञा बुद्धलाई दिन ज्यादा रूचाउनुहुन्थ्यो होला । सारा पश्चिमेलीहरू ग्रीसका अर्का ठूला दार्शनिक हेराक्लिट्सलाई प्राचीन समयका महानतम् द्वन्दवादी चिन्तक भनेर प्रचार गरिरहेछन् । परन्तु सत्य के हो भने, बुद्ध हेराक्लिटसभन्दा पनि अगाडिका र १९ वर्षले जेठा- विश्वकै महानतम प्रारम्भिक द्वन्दवादी विचारक हुनुहुन्थ्यो ।

तथापि, बुद्ध सही अर्थमा दार्शनिकभन्दा ज्यादा नैतिक गुरू हुनुहुन्थ्यो । अरू दार्शनिकहरूझैं अस्तित्व र चेतना, पदार्थ र आत्माको प्राथमिकता र सम्बन्धको सम्बन्धमा तर्क र बहस गर्नुमा उहाँको कुनै रूचि नै थिएन । उहाँको निम्ति मानव जातिलाई दुःखबाट मुक्ति दिलाउनुसिवाय अर्को महत्वपूर्ण र जरूरी कामै थिएन । संसारमा आत्मा भन्ने कुरा अस्तित्वमा छ कि छैन ? प्रकृति प्राथमिक हो कि आत्मा ? के संसार चिरस्थायी छ ? के संसारमा ईश्वर भन्ने कुरा छ ? यी र यस्ता प्रश्नहरू र तिनीहरूमा केन्द्रित बहसलाई बुद्ध बुद्धिविलास र बेकारमा समय खेर फाल्ने धन्दा ठान्नुहुन्थ्यो । यस्ता प्रश्नमा तर्क-वितर्क गरेर न त संसारमा व्याप्त दुःख हट्छ, न दुःखी मानव जातिले त्यसबाट तुरून्तै त्राण पाउँछ भन्ने उहाँको विचार थियो । बुद्धको भनाइ थियो- “एउटा मान्छेलाई विषयुक्त बाण लाग्यो र त्यसले गर्दा ऊ पीडाग्रस्त भएर छटपटिदैछ भने हामीले उसलाई गर्नुपर्ने पहिलो कुरो भनेको तुरून्तै उसको शरीरबाट बाण झिकीदिनु र घाउको उपचार गर्नु हो, न कि त्यो बाण कहाँबाट आयो, कसले हान्यो र किन हान्यो र बाणको प्रकृति कस्तो थियो भनेर बहस छलफल गरिराख्नु । (हेर्नुहोस्- मज्झिम निकाय - ६३)

संसारमा आत्मा भन्ने कुरा अस्तित्वमा छ कि छैन ? प्रकृति प्राथमिक हो कि आत्मा ? के संसार चिरस्थायी छ ? के संसारमा ईश्वर भन्ने कुरा छ ? यी र यस्ता प्रश्नहरू र तिनीहरूमा केन्द्रित बहसलाई बुद्ध बुद्धिविलास र बेकारमा समय खेर फाल्ने धन्दा ठान्नुहुन्थ्यो ।

संसारभरिका मान्छेहरू दुखको बाणले पीडाग्रस्त छन् । तिनीहरूको त्यो पीडाको तुरुन्त उपचार गर्नु नै जागृत मान्छेको मुख्य काम हुनुपर्छ भन्ने बुद्धको विचार थियो । यही हुनाले बुद्धलाई दार्शनिकभन्दा ज्यादा सांसारिक दुःखको 'महावैद्य' भन्ने गरिन्छ । त्यसो भन्नुको तात्पर्य बुद्धसित कुनै उन्नत दर्शन नै थिएन भन्ने होइन । बुद्धसित यो संसार र त्यसका यथार्थ र समस्याहरूलाई हेर्ने एउटा निश्चित ढंग थियो र जातीय छुवाछूत, ब्राम्हणवाद र पुरोहितवादले ग्रस्त तत्कालीन सामन्ती समाजको समय र परिवेशमा बुद्धको शिक्षा र दृष्टिकोण निक्कै प्रगतिशील, क्रान्तिकारी र वैज्ञानिक थियो । यथार्थमा बुद्धको शिक्षा तत्कालीन जातीय छूवाछूत, ब्राम्हणवाद वा पुरोहितवादले त्यतिखेरको मानव समाजमा सर्वसाधारण मान्छेले पैदागरेको अतिशय दुःख र उत्पीडनका विरूद्ध मुक्तिदायी विद्रोह थियो । यही हुनाले धेरै उत्पीडित जनसमुदायहरू र पछौटे जातहरू बुद्धको शिक्षाबाट प्रभावित भएका थिए । बुद्धको संघमा जात, जाति, लिङ्ग र वर्णको सवाललाई लिएर कुनै भेदभाव थिएन । तत्कालीन समयमा उत्पीडनकारी यथास्थितिवादी सोचका विरूद्ध यो ज्यादै ठूलो विद्रोह थियो । र यो विद्रोहमा बुद्धसित एउटा निश्चित उन्नत अघोषित दर्शन थियो ।

बुद्धको शिक्षा तत्कालीन जातीय छूवाछूत, ब्राम्हणवाद वा पुरोहितवादले त्यतिखेरको मानव समाजमा सर्वसाधारण मान्छेले पैदागरेको अतिशय दुःख र उत्पीडनका विरूद्ध मुक्तिदायी विद्रोह थियो ।

अहिलेसम्म आइपुग्दा विश्वमा बौद्ध दर्शनका अनेकौं चिन्तनधारा र मतहरू पैदाभएका छन् । म शुरूमै के प्रष्ट पार्न चाहन्छु भने म यहाँ ती धाराहरू र मतहरूका बारेमा छलफल गर्न लागेको छुइनँ । म यहाँ केवल प्रारम्भिक बुद्ध दर्शनका बारेमा मात्र चर्चा गर्न गइरहेको छु, जसलाई 'बुद्ध' भइसकेपछिका सिद्धार्थ गौतम स्वयंले प्रतिपादन गर्नुभएको थियो । मेरो लेखको यो सीमा हो ।

चार आर्य सत्यहरूमा भौतिकवाद र द्वन्दवाद

बुद्धको शिक्षामा 'चार आर्यसत्य'को महत्वपूर्ण स्थान छ । बुद्धले आफ्नो साधनाको उपलब्धिका रूपमा यी सवालहरूलाई चार आर्यसत्यका रूपमा प्रस्तुत गर्नुभएको छ :

१.      जीवन दुःख हो

२.      दुःखको कारण छ

३.      दुःख विनाश गर्न संभव छ

४.      दुःख विनाशको उपाय छ

यद्यपि बुद्ध दर्शन भौतिकवादी दर्शन होइन, परन्तु बुद्धले पत्ता लगाएको 'चार आर्यसत्य' मा भौतिकवादको अंश भेटिन्छ । 'आर्यसत्य'मा बुद्ध के धारणा अघि सार्नुहुन्छ भने संसारमा दुःख छ र दुःखको कारण छ । बुद्धका अनुसार पुरोहितहरूले प्रचार गरेझैं भाग्यले गर्दा, परमात्माले गर्दा दुःख आइलागेको होइन । दुःखको त निश्चित ठोस कारण छ र मान्छेले कोशिस गर्यो भने त्यो कारण थाहा पाउन संभव छ । थाहा पाएर दुःखको कारण नै खत्तम पारियो भने दुःख नाश गर्न सकिन्छ । बुद्धका यी विचारहरूमा वस्तु अकारण पैदा हुँदैन, भाग्य वा आत्माले त्यो पैदा गर्दैन, निश्चित ठोस कारणले कुनै वस्तु वा घटना पैदा हुन्छ भन्ने कार्य-कारण सम्बन्धसम्बन्धी प्रस्थापनालाई स्वीकारिएको भेटिन्छ र यो प्रस्थापना सारमा भौतिकवादी प्रस्थापना हो । बुद्ध, आदर्शवादीहरूभन्दा ठीक विपरीत, दुःखको कारणलाई ज्ञेय अर्थात मान्छेले कोशिस गर्यो भने थाहा पाउन सकिने ठान्नुहुन्छ । ज्ञेयवाद पनि भौतिकवादी चिन्तनकै अंश हो । आदर्शवाद सारमा अज्ञेयवादी हुन्छ, किनभने संसार र समस्यालाई कोशिस गरे पनि बुझ्न सकिन्न, थाहा पाउन सकिन्न भन्ने त्यसको धारणा हुन्छ । त्यसको उल्टो, भौतिकवादचाहिँ ज्ञेयवादी हुन्छ, अर्थात् प्रयत्न गर्यो भने संसारलाई र हरेक समस्यालाई बुझ्न, थाहा पाउन सकिन्छ भन्ने त्यसको धारणा हुन्छ । यस अर्थमा बुद्ध ज्ञानको सवालमा ज्ञेयवादीको कोटीमा आउनुहुन्छ ।

बुद्ध, आदर्शवादीहरूभन्दा ठीक विपरीत, दुःखको कारणलाई ज्ञेय अर्थात मान्छेले कोशिस गर्यो भने थाहा पाउन सकिने ठान्नुहुन्छ । ज्ञेयवाद पनि भौतिकवादी चिन्तनकै अंश हो ।

बुद्धको विचारमा जीवन दुःखले भरिपूर्ण छ ।'जुन समयदेखि संसार चल्दैछ, त्यसबेलादेखि यति आँशु बहेको छ कि त्यसको तुलनामा सम्पूर्ण समुद्रको पानीको राशी पनि कम हुन्छ' बुद्धको भनाइ छ । (हेर्नुहोस्- ओल्डेनवर्गको 'बुद्ध' पृष्ठ २१६-१७) दुःखको परिभाषा दिँदै बुद्ध भन्नुहुन्छ- "जन्म पनि दुःख हो, बूढेसकाल पनि दुःख हो । मरण, शोक, रोदन-मनको खिन्नता, हैरानी पनि दुःख हो । मन नपर्नेसित संयोग, मनपर्नेसित वियोग पनि दुःख हो, इच्छा गरेर कुनै कुरा नपाउनु पनि दुख हो ।' (हेर्नुहोस्- महासतिपट्टानसुत्त –दीर्घ-निकाय, २/९) यसप्रकार बुद्ध शारीरिक र मानसिक दुवै खालको पीडालाई दुःख ठहऱ्याउनुहुन्छ ।

 महत्वपूर्ण कुरो के देखिन्छ भने बुद्धको दुःखवादी विचारमा संसारमा स्थायी भन्ने कुनै कुरा छैन, हरेक वस्तु अनित्य अथवा अस्थायी छ, अनित्यता अथवा अस्थायित्व नै जीवन र निर्जिव सम्पूर्ण वस्तुको आधारभूत विशेषता हो । यदि हामीले चारैतिर नियाल्यौं भने सबै वस्तु लगातार बदलिरहेको भेटिन्छ । मान्छेभित्र पनि र मान्छेबाहिर पनि कुनै पनि वस्तु चिरस्थायी भेटिंदैन । बुद्धका अनुसार यो बदलाहट, यो अनित्यता र यो अस्थायित्व नै सम्पूर्ण दुःखको जग हो । दुःखलाई बुद्धले यसरी अनित्यता अर्थात् अस्थायित्वको आँखाबाट हेरेको देखिन्छ । (हेर्नुहोस्- आर, पुलीगंड्लाद्वारा लिखित् 'Budhism', Fundamentals of Indian Philosophy, Newyork, 1975, पृष्ठ ५४ ) । बुद्धको यो अनित्यताको विचार विल्कुलै द्वन्दवादी देखिन्छ, किनकि द्वन्दवादले पनि ब्रम्हाण्डका प्रत्येक वस्तुलाई निरन्तर रूपमा गतिशील अथवा परिवर्तनशील ठान्दछ । बुद्धका अनुसार कुनै पनि प्यारो वस्तु, सुख, सुविधा, जीवन, वाल्यावस्था, युवावस्था, रमाइलो क्षण, प्रियासितको मिलन स्थायी नहुनाले नै, त्यो नाशवान वा अनित्य हुनाले नै मान्छे दुःखी हुन्छ । यदि मान्छेले यी सबै नाशवान छन्, अस्थायी वा अनित्य छन् भनेर आफ्नै अनुभव अनुभूतिले दिलैदेखि बोध गर्यो भने मान्छे दुःखबाट मुक्त हुनसक्छ ।

जीवन दुःखपूर्ण छ भन्ने बुद्धको पहिलो आर्यसत्यबाट कैयनलाई लाग्नसक्छ बुद्ध निराशावादी छन्, बुद्ध वस्तुको अँध्यारो पक्षमात्र हेर्छन् । तर वास्तविकता भने त्यस्तो देखिंदैन । बुद्ध हरेक वस्तुको विपरीत पक्ष हेर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ ।

त्यसैले बुद्धका अनुसार अनित्यताबारेको अज्ञानता नै सारा दुःखको जग हो, अनित्यताको ज्ञान नै सारा दुःखबाट मुक्तिको बाटो हो । जीवन दुःखपूर्ण छ भन्ने बुद्धको पहिलो आर्यसत्यबाट कैयनलाई लाग्नसक्छ बुद्ध निराशावादी छन्, बुद्ध वस्तुको अँध्यारो पक्षमात्र हेर्छन् । तर वास्तविकता भने त्यस्तो देखिंदैन । बुद्ध हरेक वस्तुको विपरीत पक्ष हेर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । जस्तो- जहाँ जीवन हुन्छ, त्यहाँ मृत्यु अवश्य हुन्छ, जहाँ शुरू हुन्छ, त्यहाँ अन्त्य अवश्य हुन्छ, जहाँ मिलन हुन्छ त्यहाँ वियोग हुन्छ हुन्छ नै, जहाँ पाउने कुरा हुन्छ, त्यहाँ गुमाउने कुरा पनि अवश्य हुन्छ, जहाँ विजय हुन्छ, त्यहाँ पराजय छेवैमा विद्यमान भइरहेकै हुन्छ । त्यसैले सुखको कुनै पनि क्षणलाई चिरस्थायी ठान्नु अदूरदर्शिता हो, मूर्खता हो, सुखको हरेक क्षणसँगै दुःखको बीउ साथसाथै विद्यमान हुन्छ । यही अर्थमा बुद्धले जीवन दुःखपूर्ण छ भन्नुभएको देखिन्छ । अनि बुद्धले जीवन दुःखपूर्ण छ मात्रै कहिल्यै भन्नुभएको देखिन्न, दुःखबाट मुक्त हुने उपाय छ भनेर पनि साथसाथै भनिरहनुभएको देखिन्छ । यसप्रकार पहिलो आर्यसत्यमा दुःखलाई जोड दिए पनि बुद्धको विचार निराशावादी र अन्धकारवादी देखिन्न । हरेक वस्तुको विपरीत पक्ष हेर्ने, हरेक सकारात्मक कुरो कुनै पनि क्षण नकारात्मकमा बदल्न सक्ने संभावना देख्ने बुद्धको दृष्टिकोण द्वन्दवादी देखिन्छ ।

बुद्धको शिक्षामध्ये दोस्रो आर्यसत्य हो दुःखको कारण छ । यसबारे थोरै ब्याख्या त हामीले गरिसक्यौं । परन्तु यसबारे अझ गहिराइमा जाने हो भने बुद्धका विचारहरू निक्कै गहन र विचारणीय देखिन्छन् ।

पहिलो आर्यसत्यमा दुःखलाई जोड दिए पनि बुद्धको विचार निराशावादी र अन्धकारवादी देखिन्न । हरेक वस्तुको विपरीत पक्ष हेर्ने, हरेक सकारात्मक कुरो कुनै पनि क्षण नकारात्मकमा बदल्न सक्ने संभावना देख्ने बुद्धको दृष्टिकोण द्वन्दवादी देखिन्छ ।

बुद्धको ठम्याइमा दुःख संयोगबाट पैदा हुँदैन, न त यो कसैको लहडबाट पैदा हुन्छ । यो त निश्चित कारण र स्थितिहरूबाट पैदा हुन्छ, जुन अस्तित्वको एउटा अभिन्न अंग हो । यदि दुःखको कारण नहुँदो हो त यसको निदान र अन्त्य पनि संभव हुने थिएन । हरेक घटना, संवेदना, अनुभूति, संवेग, विमारी, बृद्धावस्था, मृत्यु सबैको कारण हुन्छ । सम्पूर्ण अस्तित्व नै कारणहरूको संजाल हो । (हेर्नुहोस् आर. पुलिगंड्लाद्वारा लिखित "Buddhism" Fundamentals of Indian Philosophy को पृष्ठ- ५४) । हरेक घटना र वस्तुको कारण खोज्ने सिलसिलामा बुद्धले 'प्रतीत्यसमुत्पाद'को नयाँ मौलिक सिद्धान्त प्रस्तुत गर्नुभएको छ ।

प्रतीत्यसमुत्पादको सिद्धान्त

प्रतीत्यसमुत्पादको अर्थ हो - हरेक वस्तु अर्को वस्तुको कारणले पैदा हुन्छ, यो घटना अर्को घटनामा आधारित छ, कुनै पनि वस्तु निरपेक्ष र निराधार रूपमा पैदा हुँदैन र अस्तित्वमा रहँदैन । अर्को शब्दमा यसलाई वस्तुको उत्पत्तिको निर्भरताको सिद्धान्त भने पनि हुन्छ । बुद्ध दर्शनमा यो सिद्धान्तको ठूलो महत्व छ । बुद्ध दर्शनको सबै शाखा र धारहरूले यो सिद्धान्तलाई स्वीकार गर्छन् । यो सिद्धान्तको सार द्वन्दवादी र भौतिकवादी दुवै देखिन्छ । किनभने यसले हरेक वस्तुको उत्पत्तिको कारण खोज्छ । विनाआधार कुनै पनि वस्तु पैदा नहुने कुरालाई यसले स्वीकार गर्छ । वस्तुको उत्पत्ति अर्को वस्तुबाट हुन्छ भन्ने यसको सिद्धान्तले वस्तुको उत्पत्तिमा आत्मा वा ईश्वरको भूमिकाको निम्ति कुनै ठाउँ नै छोड्दैन । बुद्ध यही सिद्धान्तका आधारमा अनिश्वरवादी अर्थात् ईश्वर छ भन्ने कुरा नमान्ने हुनुभएको देखिन्छ । सिद्धान्तको सार द्वन्दवादी पनि देखिन्छ किनकि यसले संसारलाई कारण- कार्यको सिक्रीको रूपमा बुझ्छ । अर्थात् यो वस्तुको कारणले त्यो वस्तु पैदा भयो, त्यो वस्तुको कारणले अर्को वस्तु पैदा भयो, अर्को वस्तुको पनि कारणले भिन्नै नयाँ वस्तु पैदा भयो भन्ने कुरालाई यसले स्वीकार्छ । यसले निरपेक्ष र अलगथलग रूपमा कुनै पनि वस्तु पैदा नहुने कुरालाई स्वीकार्छ । आजभन्दा २,५०० वर्षअघि बुद्धको चिन्तनमा यस्तो वैज्ञानिकता र क्रान्तिकारिता देखापर्नु अद्भुत कुरो हो ।

वस्तुको उत्पत्ति अर्को वस्तुबाट हुन्छ भन्ने यसको सिद्धान्तले वस्तुको उत्पत्तिमा आत्मा वा ईश्वरको भूमिकाको निम्ति कुनै ठाउँ नै छोड्दैन । बुद्ध यही सिद्धान्तका आधारमा अनिश्वरवादी अर्थात् ईश्वर छ भन्ने कुरा नमान्ने हुनुभएको देखिन्छ ।

प्रतीत्यसमुत्पादको सिद्धान्तमुताबिक बुद्ध के निचोडमा पुग्नुभएको देखिन्छ भने हरेक वस्तुको झैं दुःखको पनि कारण छ । दुःख निश्चित स्थितिहरूमा आधारित भएर पैदा हुन्छ । अकारण र विनाआधार दुःख सृजना हुँदैन । दुःखको जरो कारण मान्छेले बुझ्न, थाहा पाउन सक्यो भने दुःखको अन्त्य गर्नु संभव छ ।
दुःख जुन कारणले पैदा हुन्छ, त्यसको जरो पत्ता लगाउने सिलसिलामा बुद्धले १२ वटा कारण-कार्यको सिक्रीको उल्लेख गर्नुभएको भेटिन्छ । यही १२ वटा कारण–कार्यको सिक्रीलाई अर्को शब्दमा प्रतीत्यसमुत्पादको नाम दिइएको छ । बुद्धका अनुसार दुःख उत्पत्तिको जरो कारण सम्बन्धमा १२ वटा कारण-कार्य सम्बन्ध यस्ता छन् :

      संसारमा दुःख छ, बिमारी, बृद्धाअवस्था र मृत्यु छ ।

      यदि मान्छे जन्मन्नथ्यो भने दुःख पाउनु पर्ने थिएन, उसले बिमारी, बृद्ध अवस्था र मृत्युको सामना गर्नुपर्ने थिएन । त्यसैले दुःख, बिमारी, बृद्ध अवस्था र मृत्यु (बुद्धको शब्दमा जरा मरण) को कारण जन्म (बुद्धको शब्दमा जती) हो । यदि यो संसारमा आवागमन गर्ने वा जन्मने इच्छा (बुद्धको शब्दमा भव) हुन्नथ्यो भने जन्म हुने थिएन । त्यसैले संसारमा आवागमन गर्ने वा जन्मने इच्छा नै जन्मको कारण हो ।

      कुनै वस्तुप्रति वा कुनै वस्तुको भोगप्रति शारीरिक र मानसिक रूपमा आसक्ति ( बुद्धको शब्दमा उपादान) भएर नै यो संसारमा आवागमन गर्ने वा जन्मने इच्छा पैदा हुन्छ । त्यसैले शारीरिक-मानसिक आशक्ति नै जन्मने इच्छाको कारण हो । बुद्धको भाषामा उपादन नै भवको कारण हो ।

      कुनै वस्तुको तृष्णा नहुँदो हो त शारीरिक-मानसिक आसक्ति पैदा हुने थिएन । बुद्धको शब्दमा, तृष्णा नहुँदो हो त उपादान पैदा हुने थिएन । त्यसैले, तृष्णा नै आसक्ति वा उपादानको कारण हो । परन्तु इन्द्रियजन्य संवेदना (बुद्धको शब्दमा दिना) नहुँदो हो त वस्तुप्रतिको तृष्णा पनि हुने थिएन । तसर्थ, इन्द्रियजन्य संवेदना नै तृष्णाको कारण हो । बुद्धको भाषामा 'वेदना' नै तृष्णाको कारण हो । पाँचवटा इन्द्रियहरू र मन (बुद्धको शब्दमा षट् आयतन) नहुँदो हो त वस्तुहरूसित इन्द्रियहरूको स्पर्श पनि हुनसक्ने थिएन । त्यसैले पाँच इन्द्रियहरू र मन नै स्पर्शको कारण हो । अर्थात् षडायतन नै यसको कारण हो ।

      संवेदनाको अनुभूति तब नै हुन्छ, जब इन्द्रियहरूको वस्तुहरूसित स्पर्श (बुद्धको शब्दमा यस्स) हुन्छ । स्पर्श नहुँदो हो त संवेदना पैदा नै हुने थिएन । त्यसैले स्पर्श संवेदनाको कारण हो ।

      पाँच इन्द्रियहरू र मन (बुद्धको शब्दमा षट् आयतन) नहुँदो हो त स्पर्शबाट इन्द्रियजन्य संवेदना हुने थिएन । त्यसैले, षट् आयतन स्पर्शको कारण हो ।

      शारीरिक-मानसिक गठन अथवा शरीर र मन (बुद्धको भाषामा नाम रूप) नहुँदो हो त इन्द्रियहरू हुने थिएनन् । शरीर र मन छ र त इन्द्रियहरू छन् । त्यसैले शारीरिक-मानसिक गठन अर्थात् शरीर र मन इन्द्रियहरूका कारण हुन् । बुद्धको शब्दमा “नाम-रूप" षट् आयतनका कारण हुन् ।

      शरीर र मन अर्थात् नाम रूप चेतना, बुद्धको शब्दमा विज्ञानमा आधारित छ । चेतना नहुँदो हो त शारीरिक-मानसिक जीवन हुने थिएन । तसर्थ, चेतना (अर्थात विज्ञान) नै शरीर र मनको (नाम-रूपको) कारण हो ।
विगत अस्तित्वका प्रभावहरू (बुद्धको शब्दमा संस्कार ) नभएको भए चेतना
हुने थिएन । त्यसैले, संस्कार अथवा विगत अस्तित्वका प्रभावहरू नै चेतनाको कारण हो ।

      अज्ञानता (बुद्धको शब्दमा अविद्या) ले नै प्रभावहरू (अर्थात् संस्कार) पैदा गर्छ । तसर्थ, अज्ञानता नै संस्कार वा प्रभावहरूको कारण हो ।

यी १२ वटा कारण कार्य सम्बन्धहरूलाई सजिलोको निम्ति छोटोमा उतार्ने हो भने यसरी सूचिबद्ध गर्न सकिन्छ :

१.      अविद्या (अज्ञानता)

२.      संस्कार ( प्रभावहरू)

३.      विज्ञान (चेतना)

४.      नाम-रूप ( शरीर र मन)

५.      षट् आयतन ( पाँच इन्द्रियहरू र मन)

६.      स्पर्श

७.      वेदना (संवेदना)

८.      तृष्णा

९.      उपादान (आसक्ति)

१०.    भव (जन्मने इच्छा)

११.    जति (जन्म वा पुनर्जन्म)

१२.    जरा-मरण (विमारी-बूढेसकाल-मृत्यु-दुःख)

अज्ञानतालाई उन्मूलन गरियो भने दुःखबाट हरेक मान्छेको अहिले र यहीं मुक्ति सम्भव छ । दुःखबाट मुक्तिको लागि कुनै ईश्वरको वा स्वर्गको आवश्यकता छैन । यहीं व्यक्ति स्वयंले आफ्नो अज्ञानता हटाए पुग्छ, ज्ञान प्राप्त गरे पुग्छ, दुःखको कारण थाहा पाए पुग्छ । व्यक्तिको मुक्ति व्यक्तिकै हातमा छ ।

बुद्धको दृष्टिमा दुःखको जरो कारण अज्ञानता अथवा अविद्या हो, किनभने अज्ञानताको कारण छैन । अज्ञानताको कारण अज्ञानता नै हो । अज्ञानतालाई उन्मूलन गरियो भने दुःखबाट हरेक मान्छेको अहिले र यहीं मुक्ति सम्भव छ । दुःखबाट मुक्तिको लागि कुनै ईश्वरको वा स्वर्गको आवश्यकता छैन । यहीं
व्यक्ति स्वयंले आफ्नो अज्ञानता हटाए पुग्छ, ज्ञान प्राप्त गरे पुग्छ, दुःखको कारण थाहा पाए पुग्छ । व्यक्तिको मुक्ति व्यक्तिकै हातमा छ । बुद्धको यो विचार पुरोहितवादले फणा उठाएको आफ्नो समयको उथलपुथलकारी विचार थियो । यो क्रान्तिकारी विचार थियो ।

बुद्वको प्रतीत्यसमुत्पादको सिद्धान्त तर्कशास्त्रका हिसाबले पनि निक्कै उल्लेखनीय देखिन्छ । बुद्ध यहाँ हरेक घटना वा वस्तुको उत्पत्तिको कारण ईश्वर वा परमात्मामा खोज्ने तर्कपद्धतिको तीव्र विरोधमा खडा हुनुभएको छ । हरेक बस्तु त्यो बाहेकको अर्को बस्तुबाट उब्जिन्छ र हरेक घटना अर्को घटनाबाट पैदा हुन्छ भन्ने उहाँको अनिश्वरवादी तर्कपद्धति अझै पनि सान्दर्भिक र वैज्ञानिक देखिन्छ र यसको सार भौतिकवादी छ । बुद्धको प्रतीत्यसमुत्पादको नियमको सार नै यही हो कि यदि त्यो बस्तु छ भने यो बस्तु छ, त्यो बस्तुको उत्पत्तिबाट यो बस्तुको उत्पत्ति हुन्छ, यो वस्तु अस्तित्वबाट लोप हुन्छ, त्यो वस्तुको पनि लोप हुन्छ । अर्को शब्दमा, यो नियमले त्यही अर्थ बुझाउँछ, जुन द्वन्दवादमा अन्तर्संबन्धको सिद्धान्तले बुझाउँछ: कुनै पनि बस्तु निराधार रूपमा अथवा एक्लो वा अलगथलग रूपमा अस्तित्वमा रहँदैन, कुनै पनि वस्तु निरपेक्ष रूपमा अस्तित्वमा रहँदैन । अन्तर्सम्बन्ध वा अन्तर्निर्भरतामा मात्र कुनै पनि घटना वा बस्तुको उत्पत्ति र अस्तित्व हुन्छ । वुद्धको प्रतीत्यसमुत्पादको नियमको यो तर्कपद्धति र सार बिल्कुलै द्वन्दवादी देखिन्छ ।

हरेक बस्तु त्यो बाहेकको अर्को बस्तुबाट उब्जिन्छ र हरेक घटना अर्को घटनाबाट पैदा हुन्छ भन्ने उहाँको अनिश्वरवादी तर्कपद्धति अझै पनि सान्दर्भिक र वैज्ञानिक देखिन्छ र यसको सार भौतिकवादी छ ।

बुद्धले यो तर्कपद्धति तर्कका लागि तर्क गर्न वा बुद्धि विलासका लागि विकास गर्नुभएको थिएन । दुःखको कारण खोज्ने सिलसिलामा उहाँले यसको विकास गर्नुभएको थियो । त्यतिखेर जुन पुरोहितवाद भारतमा छाइरहेको थियो, त्यसले जुन हुनेवाला छ त्यो भएरै छाड्छ भन्ने भाग्यवादी र ईश्वरवादी तर्क दुनियाँको दिलदिमागमा संप्रेषण गर्ने प्रयत्न गरिरहेको थियो । बुद्धले विल्कुलै नयाँ तर्कपद्धति विकसित गर्नुभयो- खोजेमा हरेक कुराको कारण थाहा पाउन सकिन्छ । तिमी दुःखको जरो कारण थाहा पाऊ, तिमी आफैँले दुःखलाई निमिट्यान्न पार्न सक्नेछौं । भाग्य वा ईश्वरको भर परेर दुःखको निवारण कहिल्यै हुँदैन । पुरोहितवादले बिगबिगी मच्चाएको त्यो समयमा यो अद्भूत क्रान्तिकारी र यथार्थावादी तर्कपद्धति थियो । यसले त्यतिबेलाका भाग्यवादको प्रचार गरेर ठगी खान पल्केका पण्डा, पुरोहितहरूको दुनियाँमा ठूलो भूइँचालो ल्याएको थियो ।

दुःखको जरो कारण थाहा पाउने तर्कपद्धति विकास गर्ने सिलसिलामा नै बुद्धले १२ वटा कारणहरूको सिक्री विकास गर्नुभएको थियो: मान्छेको जन्म वा पुनर्जन्म (जती) नभएको भए उसले दुःख भोग्नुपर्ने थिएन । जन्मने इच्छा (भव) नभएको भए उसले जन्मनु पर्ने थिएन । कुनै पनि कुराप्रति शारीरिक-मानसिक मोह वा आसक्ति (उपादान) नभएको भए जन्मने इच्छा पैदा हुने थिएन । कुनै पनि बस्तुप्रतिको तृष्णा नभएको भए मोह वा आसक्ति पनि पैदा हुने थिएन । इन्द्रियजन्य संवेदना (बेदना) नहुँदो हो त वस्तुप्रतिको तृष्णा पनि पैदा हुने थिएन । इन्द्रियहरूको वस्तुहरूसित स्पर्श नहुँदो हो त तृष्णाको उत्पत्ति नै हुने थिएन । मनसहितको पाँच इन्द्रियहरू (षट्आयतन) नभएको भए स्पर्श पनि हुनसक्ने थिएन । मान्छेको शरीर र मन ( नाम-रूप) अस्तित्वमा नहुँदो हो त मनसहितका इन्द्रियहरू पनि हुनसक्ने थिएनन् । चेतना (विज्ञान) नभएको भए शरीर र मन हुने थिएन । कर्मगत प्रभावहरू (संस्कार) नहुँदो हो त चेतना हुने थिएन । अज्ञान (अविद्या) नभएको भए कर्मगत प्रभावहरू पनि हुने थिएनन् । बुद्ध यसरी कारणको कारण खोज्दै अन्ततः दुःखको जरो कारण अज्ञान हो भन्ने निष्कर्षमा पुग्नुभएको देखिन्छ ।

तिमी दुःखको जरो कारण थाहा पाऊ, तिमी आफैँले दुःखलाई निमिट्यान्न पार्न सक्नेछौं । भाग्य वा ईश्वरको भर परेर दुःखको निवारण कहिल्यै हुँदैन । पुरोहितवादले बिगबिगी मच्चाएको त्यो समयमा यो अद्भूत क्रान्तिकारी र यथार्थवादी तर्कपद्धति थियो ।

बुद्धले विकास गर्नुभएको १२ वटा कारण कार्यहरूका सिक्रीहरूमध्ये खास खास कारणमा हामी असहमत हुन सकौंला, परन्तु कारणको पनि कारण खोज्दै जरो कारण पहिल्याउने उहाँको तर्कपद्धति अपूर्व छ । यसले पुर्पुरोमा होइन, सत्य थाहा पाउने प्रयत्नमा भरपर्न मान्छेलाई सिकाउँछ । बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्तमा मानव प्रयत्नका लागि पर्याप्त ठाउँ छ । जुन सन्तानलाई हामी जन्म दिन्छौं, त्यसलाई हामी नामेट पनि पार्न सक्छौं । दुःख पनि हाम्रै सन्तान हो, हाम्रै मोह, हाम्रै तृष्णा, हाम्रै संस्कार र हाम्रै अज्ञानताको सन्तान । तसर्थ हामीले प्रयत्न गरेर दुःखको जरो कारण थाहा पाऔं र यसको अन्त गरौं, हामी यसको सन्तानलाई स्वतः अन्त्य गर्न सक्छौं । (हेर्नुहोस्- ओल्डेनवर्गको, Buddha, पृष्ठ- २२४-५)
बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्तमा १८ वटा कारण- कार्यको सिक्री क्रमबद्ध पंक्तिका रूपमा छैन, यो चक्रीय रूपमा छ । १२ रौं तत्व जन्म- पुनर्जन्म पहिलो तत्व अर्थात् जरो कारण अज्ञानतासित जोडिएको छ । बुद्धको ठम्याइ के छ भने, मान्छेले प्रयत्न गर्यो भने यो सिक्री बीचैमा तोड्न सक्छ । उसले दुःखको जरो कारण अज्ञानतालाई नै उन्मूलन गरेर कुनै पनि बेला दुःखबाट मुक्ति प्राप्त गर्नसक्छ । बुद्धका अनुसार अज्ञान भनेको नै बन्धन हो, ज्ञान भनेको नै मुक्ति हो । बन्धन तोड, मुक्ति यहीं र अहिल्यै तिम्रो सामुमा छ । बुद्धको यो तर्कपद्धति तर्कसम्मत र यथार्थपरक छ । बुद्धको भनाइ के छ भने बुद्ध स्वयंले यही विधि व्यवहारमा अपनाएर दुःखबाट मुक्ति प्राप्त गर्नुभयो र बुद्ध हुनुभयो । यही विधि हरेकले अपनाउनु सम्भव छ ।

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।प्रस्तुत लेख मूल्याकन मासिकको २०५९ असार–साउन र भाद्र अंकहरुमा धारावाहिक प्रकाशित भएको थियो । –दायित्वबोध

प्रज्ञानरत्न

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।