मिटरब्याजको अर्थ-राजनीति र आन्दोलनको आगामी दिशा

विगत दुई वर्षभन्दा लामो समय देखि मजदुर-किसान तथा साना व्यापारीलगायत तमाम श्रमजीवी नेपाली जनताहरू अनेकौँ स्वरूपमा सुदखोरी अर्थात मिटरब्याज तथा ठगी विरुद्ध निरन्तर सङ्घर्षमा छन् । 

दुई वर्ष लामो यस सङ्घर्षले राष्ट्रिय स्तरमा मुद्दा स्थापित गर्ने र पीडितहरूलाई सङ्गठित गर्ने काम आधारभूत रूपमा सम्पन्न गरेको छ । नवलपरासी जिल्लाको सुस्ता क्षेत्रबाट स्थानीय रूपमा सुरु भएको सङ्घर्ष अहिले तीसभन्दा धेरै जिल्लामा विस्तार भएको छ, हजारौँ जनता प्रत्यक्ष रूपमा सङ्गठित भइसकेका छन् । 

त्यसैगरी, साहु-महाजन/मिटरब्याजी र उनीहरूको संरक्षक प्रशासनका शोषण-दमनदेखि आक्रान्त जनता अहिले आफ्नो चेतना अनुरूप साझा सङ्घर्षमा जोडिएका छन् । यस किसिमका गतिविधिले मिटरब्याज पीडित मात्रै होइन, लघुवित्त, सहकारी तथा बैङ्किङलगायत सम्पूर्ण वित्तीय शोषण-उत्पीडन एवम् ठगीबाट आक्रान्त आम जनतामा जुझारु सङ्घर्षको आवश्यकता बोध गराउन भूमिका खेलेको छ । 

तर यो सङ्घर्ष आफ्नो तत्कालीन लक्ष्य अर्थात आन्दोलनमा सहभागी जनताको न्यूनतम आकाङ्क्षादेखि धेरै टाढा छ । आज पनि आमरूपमा समस्याहरू जहाँका त्यहीँ छन्, पीडित जनताहरूमाथि पक्राउ पुर्जी जारी हुने, जनता थुनिने तथा जनताको सम्पत्ति कब्जा हुने क्रम जारी छ । शोषकहरू एवम् शोषक वर्गीय राज्यले शोषित-पीडित जनता माथिको ज्याजति बढाइरहेको छ । आन्दोलनभित्र निम्न-पुँजीवादी भडकाव तथा अवसरवादी प्रवृत्तिले जरा गाडेका छन्, सम्झौतापरस्त तत्त्वको बोलवाला छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को साइनबोर्ड भिरेको प्रतिक्रियावादी सत्ताले आन्दोलन माथि अनेकौं रुपमा, अनेकौं षड्यन्त्रहरु गरिरहेको छ ।

असफलता र विगठनको स्थितिमा नपुग्ने हो भने यस आन्दोलनले निम्न-पुँजीवादी भडकाव तथा सम्झौतापरस्त अवसरवादी दृष्टिकोणसँग सम्बन्धविच्छेद गरी क्रान्तिकारी नीति अन्तर्गत गुणात्मक विकासको माग गरेको छ ।   

यसका निम्ति सुदखोरी/मिटरब्याजी शोषण, यसको अर्थ-राजनीति, यसका विरुद्धको आन्दोलनको समीक्षा, र आन्दोलनको आगामी दिशा बारेको वैज्ञानिक खाका टड्कारो बनिसकेको छ । 

इतिहासमा सुदखोरी

विश्व इतिहासमा र नेपाली समाजमा सुदखोरी (Usury) कुनै बिल्कुलै नयाँ शोषण होइन । यसको हजारौँ वर्ष लामो इतिहास छ । तर यो सधैँ उहीँ प्रकृतिको र उहीँ अर्थको होइन, बरु भिन्न भिन्न स्वरूपमा रहँदै आएको छ । 

मानव समाजमा निजी सम्पत्ति, वर्ग र वर्गीय शोषणको उत्पत्ति भएसँगै त्यसको अनिवार्य परिणामका रूपमा दास युगीन समाजमा जब उत्पादित वस्तुहरू मध्य केही वस्तुहरू मालमा परिवर्तन भए र व्यापार तथा विनिमयमा मुद्राको प्रयोग हुन थाल्यो त्यहीँ बिन्दुबाट सुदखोरीको जन्म भएको हो । दास युगीन प्राचीन ग्रिक, रोमन साम्राज्य लगायत विभिन्न ठाउँको इतिहासमा यस सम्बन्धी नियम-कानुनहरुको अस्तित्व पाइन्छ । 

दास युगीन समाजमा सुदखोरीको अस्तित्व र भूमिका बारे कार्ल मार्क्सले लेख्नुभएको छ - “ब्याज बोक्ने पूँजी वा जसलाई हामी यसको पुरानो रूपमा सुदखोरी पुँजी भन्न सक्छौं, तथा यसको जुम्ल्याहा भाइ व्यापारिक पुँजी, पुँजीको पूर्ववर्ती रूपहरूसँग सम्बन्धित छ, जुन पुँजीवादी उत्पादन प्रणाली भन्दा धेरै अगाडि र समाजका सबैभन्दा विविध आर्थिक संरचनाहरूमा पाइन्थ्यो । 

सुदखोरी पुँजीको अस्तित्वका निम्ति केवल उत्पादित वस्तुको कम्तीमा एक अंश मालमा रूपान्तरित हुन आवश्यक छ, र त्यो पैसाले मालको व्यापार सँगै विभिन्न कार्यहरूमा पनि विकास गरेको हुनुपर्छ ।

त्यसैगरी उहाँ अगाडि लेख्नुहुन्छ - “सुदखोरी पुँजीको विकास, व्यापारीक पुँजीको विकास र विशेषगरी मुद्रा कारोबार पुँजीको विकास सँग जोडिएको छ । प्राचीन रोममा, गणतन्त्रको अन्तिम वर्षको सुरुवातमा, जब उत्पादन कार्य प्राचीन विश्वको विकासको औसत तह भन्दा कम थियो, तब व्यापारिक पुँजी, पैसाको लेनदेनबाट कारोबार गरिने पुँजी सुदखोरी पुँजी प्राचीन स्वरूपको उच्चतम बिन्दुमा पुगेको थियो ।

दास युगबाट सामन्ती समाजमा सङ्क्रमणको क्रममा यसको बृहत् स्तरमा विकास भयो र यो विश्वका सबै सामन्तवादी समाजमा सामन्तवादको एक प्रमुख आधारहरू र शोषणको महत्त्वपूर्ण रूप बन्यो । चर्को व्याजमा ऋण दिनु ,जाली तमसुक बनाउनु, जग्गा-जमिन लगायत जनताको जायजेथा हडप्नु यी चरित्रहरू मुख्यतः सामन्ती व्यवस्थाका प्रमुख आधारहरू हुन र यी आधारहरूमा  सामन्ती व्यवस्था टिकेको हुन्छ । 

मानव समाजको विकासक्रममा देखापरेका दास युगीन, सामन्तवादी तथा पुँजीवादी समाजहरू शोषणमा टिकेका समाज हुन् । यी समाज एकबाट अर्कोमा सङ्क्रमण हुँदा पुरानो समाजमा विद्यमान शोषण-दमन नयाँ शोषणकारी व्यवस्थाले आफूमा आवश्यकता अनुसार समाहित गर्ने गर्दछ । यसैगरी, सुदखोरीका तौरतरिकालाई पुँजीवादले नयाँ रूपमा आफूलाई समाहित गर्‍यो, पुँजीवादी उत्पादन सम्बन्धको अभ्युदयको सुरुवातको समयमा त झन यसको एक हदसम्म महत्त्वपूर्ण भुमिका थियो । यस सम्बन्धमा कार्ल मार्क्सले लेख्नुभएको छ - “आधुनिक कर्जा प्रणालीका प्रारम्भकर्ताहरूले सामान्य रूपमा सुदखोरी पुँजी विरुद्धको अभिशापलाई होइन, यसको विपरीत स्पष्ट मान्यतालाई आफ्नो प्रस्थान बिन्दुको रूपमा लिन्छन् ।”

पुँजीवाद विभिन्न देशमा विभिन्न ढङ्गले आयो । मुख्यतः एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मुलुकहरूमा साम्राज्यवाद शोषणका माध्यमबाट पुँजीवाद आयो । ती देशहरूमा साम्राज्यवादले त्यहाँ सामन्ती वर्ग सँग गठजोड गर्‍यो र सामन्त वर्ग सँगको संसर्गबाट दलाल पुँजीपति वर्गको जन्म भयो ।

यसरी अर्ध-सामन्ती तथा औपनिवेशिक/अर्ध-औपनिवेशिक सामाजिक आर्थिक संरचनाको जन्म भयो । यस्ता अर्ध-सामन्ती तथा औपनिवेशिक/अर्ध-औपनिवेशिक समाजमा सुदखोरको वर्गीय अवस्थित सम्बन्धमा माओले लेख्नुभएको छ - “सुदखोरहरु त्यस्ता व्यक्ति हुन जसको आफ्नो आयको मुख्य स्रोत सुदखोरीमा आधारित हुन्छ, यिनको सामाजिक स्थान मध्यम किसान भन्दा माथिल्लो हुन्छ र यिनीहरू जमिनदार वर्गमा नै पर्दछन् ।” 

मानव समाजको इतिहास दास युग, सामन्ती युग हुँदै पुँजीवादको पनि अन्तिम तथा उच्चतम चरण साम्राज्यवादको युगमा आइपुगेको छ । सामान्य माल उत्पादन विकास भएर पुँजीवादी माल उत्पादन बनेको छ, पुँजीवादले १९ औ शताब्दीको अन्त्य र २० औ शताब्दीको सुरुवातमा आफ्नो प्रतिस्पर्धात्मक चरण पार गर्दै साम्राज्यवादको चरणमा अर्थात वित्तीय एकाधिकार पुँजीको चरणमा प्रवेश गर्‍यो ।

आज साम्राज्यवाद हदैसम्मको प्रतिक्रियावादी चरणमा आइपुगेको छ, मृत्यु शैयामा श्वास फेरिरहेको छ । यसले आफ्नो ऐतिहासिक अस्तित्वको अधिकार गुमाइसकेको छ, यो मुख्यतः वित्तीय सट्टेवाजी बुलबुलैया पैदा गरेर बाँचिरहेको छ । आजको साम्राज्यवाद सारत: मरणासन्न साम्राज्यवाद हो ।

समकालीन विश्वको कुल पुँजीको ठुलो हिस्सा सट्टेवाजीमा लागिरहेको छ । पैसाबाट पैसा कमाउने उद्देश्यले पुँजीपतिहरू अनेकौँ नयाँ पुराना तौरतरिकाका माध्यमबाट जनताको रगत-पसिना निचोरी रहेका छन्, समकालीन नेपाली समाजमा देखिएको सुदखोरी-लघुवित तथा बैंकिङ्ग शोषण यसकै एउटा रूप हो । 

अतः समकालीन समाजमा विद्यमान सुदखोरी वित्तीय सट्टेवाजी पुँजीवादको रूप हो । यो पुँजीवादको परजीवी र प्रतिक्रियावादी चरित्रको एक उदाहरण हो ।

समकालीन नेपाली समाजमा मिटरब्याज

नेपाली समाज पुँजीवादी समाज हो । तर यहाँ पुँजीवाद बुर्जुवा जनवादी क्रान्तिको माध्यमबाट होइन एक लामो, मौलिक तथा विशिष्ट क्रमिक परिवर्तनको प्रक्रियाबाट आयो । नेपालमा विद्यमान व्यवस्था अर्थात् पुँजीवादी व्यवस्थाको नेता वर्ग दलाल पुँजीपति वर्ग हो, अतः नेपाली राज्यले दलाल पुँजीपति वर्गको प्रतिनिधित्व र सेवा गर्दछ । यसले उत्पादनमूलक गतिविधि सञ्चालन गर्ने, राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय बजार निर्माण गर्ने होइन देशको प्राकृतिक-स्रोतसाधन विदेशी एकाधिकार पुँजीलाई सुम्पिने, युवाहरू बेच्ने तथा अन्ततः र सारत: साम्राज्यवादी पुँजीको दलाली गर्ने गर्दछ ।

सन् १८१६ को सुगौली सन्धि देखि सुरु भएको साम्राज्यवादी पुँजीको प्रवेशले २०६२/६३ को शासकीय फेरबदल पश्चात् गाउँ-गाउँमा दलाल पुँजीपति वर्ग र यसको मतियारको एउटा सङ्गठित शक्ति निर्माण गरेको छ । 

आज नेपालको राज्य चलाउने यहीँ दलाल पुँजीपति वर्ग नै मिटरब्याज, लघुवित्त लगायतका वित्तीय शोषण, ठगी एवम् विभिन्न किसिमका जन-विरोधी अपराधमा संलग्न छ । यसले धेरै भन्दा धेरै नाफा थुपार्ने दौडमा नेपालका आम मजदुर-किसान लगायतका जनतालाई योजनाबद्ध, संरचनागत तथा सुनियोजित रूपमा राज्यसत्ताका सम्पूर्ण अङ्ग अड्डा-अदालत,प्रहरी,जेल-नेलको प्रयोग गर्दै घर-खेतबाट बेदखल गरिरहेको छ । यो निष्कर्ष कुनै मनोगत होइन बरु जनताको माथि भएको बर्बर शोषण,जनताको सङ्घर्षमा भएको राज्यको दमन र शोषक संरक्षक राज्यका गतिविधिहरूबाट निकालिएको वस्तुगत यथार्थ हो ।

नेपालमा मिटरब्याजबारे मुख्यतः दुई वटा भ्रम रहेका छन् । ती हुन : मिटरब्याजी शोषण सामन्तवादको अवशेष हो, दोस्रो मिटरब्याजी शोषण पुँजीको आदिम सञ्चय पुँजीको हो ।

पहिलो भ्रम योजनाबद्ध रूपमा शासकहरू दारा फैलिएको भ्रम हो । विद्यमान व्यवस्थाका पक्षपातीहरू यसलाई सामन्ती शोषणको अवशेष भएको र यो सामान्य सुधारबाट, कानुनी प्रक्रियाबाट सहजै समाधान हुने बताइरहेका छन् । तर वास्तविकता यसको ठिक उल्टो छ । अर्थ-राजनीतिक दृष्टिकोणबाट हेर्दा न त मिटरब्याज सामन्तवादको अवशेष हो, न त विद्यमान व्यवस्थामा सीमित कानुनहरू बनाएर सम्भव छ । यो त विद्यमान दलाल पुँजीवादी उत्पादनमा प्रणालीको आधारभूत विशेषता हो, यसमा विद्यमान सामान्य प्रक्रिया हो, पुँजीले श्रमजीवी जनतालाई खाने, ठुलो पुँजीले सानो पुँजीलाई खाने पुँजीवादी जङ्गलराजको नियम हो ।

दोस्रो भ्रम मिटरब्याजबारे नेपालको प्रगतिशील बौद्धिक शिविरको एक हिस्सामा रहेको पुँजीको आदिम सञ्चय र पुँजीवादी सञ्चय सम्बन्धी बुझाइमा रहेको असमझदारीको उपज हो । यस दृष्टिकोणका अनुसार मिटरब्याज पुँजीवादी सञ्चय होइन, यो आदिम सञ्चय हो । तर नेपाली समाजको अर्थ राजनीतिक अध्ययनले यसलाई गलत साबित गर्दछ । 

आदिम सञ्चय पुँजीको त्यो प्राग ऐतिहासिक काल हो, जसमा पुराना आर्थिक सम्बन्धहरू पुँजीवादी आर्थिक सम्बन्धहरूमा परिणत हुन्छन् । यो पुँजीवादी उत्पादन सम्बन्धको पूर्ण विकासको पूर्व अवस्था हो । यस प्रक्रियामा पुँजी विभिन्न रूपमा केन्द्रीकृत हुने गर्दछ । आदिम सञ्चय पुँजीवादी उत्पादन प्रणालीको परिणाम होइन, तर यसको प्रस्थान विन्दु हो ।५ 

आदिम सञ्चय र पुँजीको सञ्चय बिचको भिन्नताका सम्बन्धमा मार्क्स अगाडि भन्नुहुन्छ: "पुँजीको सञ्चय एक निरन्तर प्रक्रिया हो, तर जुन आदिम सञ्चयमा देखिन्छ, त्यो एक विशिष्ट ऐतिहासिक प्रक्रिया हो, जुन प्रक्रियाबाट पुँजी उत्पन्न हुन्छ र एक उत्पादन प्रणालीबाट अर्कोमा रूपान्तरण हुन्छ । "

अतः आदिम सञ्चयको सार भनेको नयाँ आर्थिक सम्बन्ध, पुँजीवादी आर्थिक सम्बन्धको उदय हो । 

के त्यसो भए अहिले नेपाली समाजमा विद्यमान शुदखोर अर्थात मिटरब्याज शुदखोरीको चरित्र देखिन्छ त्यो आदिम सञ्चय हो ? होइन, अहिले नेपाली समाज सामन्ती समाज होइन, र यहाँ उत्पादन प्रणाली तथा सामाजिक सम्बन्धका क्षेत्रमा पुँजीवादी सम्बन्धहरू निर्णायक रूपमा स्थापित तथा सुदृढीकरण भइसकेका छन् । यस अर्थ यहाँ आदिम सञ्चयको कुनै सम्भावना नै छैन, यहाँ भइरहेको मिटरब्याज लगायत सम्पूर्ण वित्तीय शोषणहरू पुँजीवादी सञ्चयको प्रक्रिया हो र यो पुँजीवादी व्यवस्था रहुन्जेलसम्म चलिरहने छ । 

मिटरब्याज विरोधी आन्दोलनको आगामी दिशा

पुँजीवादी समाजमा कहिल्यै शान्ति हुँदैन । यहाँ निरन्तर वर्ग सङ्घर्ष चलिरहन्छ, जो कहिले खुल्ला र उचाइमा पुग्दछ भने कहिलेकाहीँ सुषुप्त बन्दछ । यदि त्यस्तो देखिए त्यो देखावटी शान्ति, मुर्दा शान्ति हो, जो आफ्नो सारमा अर्को शक्तिशाली लडाइँको तयारीको समय बन्दछ । नेपालमा जनताको क्रान्तिकारी रूपान्तरणको आन्दोलन कथित १२ बुँदे सम्झौताका नाममा विसर्जन गरिएपछि एउटा मुर्दा शान्तिको, एउटा नियोजित शान्तिको अवधि देखिएको थियो । यस अवधिमा जनतालाई अनेकौँ झुट कुरा बोलेर, झुक्काएर र पुँजीवादले कहिल्यै पूरा नगर्ने, गर्न नसक्ने सपनाहरू देखाएर लट्ठ पारिएको थियो । 

बुर्जुवा गणतन्त्र, सङ्घीयता र एक थान संविधानले नेपालको कायापलट हुने हल्ला फिँजाइएको थियो । जुन असम्भव र एक पालपनपूर्ण प्रचारबाजी सिवाय अरू केही थिएन । आज यो सब प्रचारबाजी पानीको फोका जसरी फुटेको छ, पुँजीवादी व्यवस्थाको क्रूर, अमानवीय एवम् प्रतिक्रियावादी चरित्र जनताले दैनिक जीवनमा महसुस गर्न थालेका छन् । यसले नेपाली समाजमा चरम असन्तुष्टि, निराशा र केही आन्दोलनहरू जन्माएको छ । मिटरब्याज, लघुवित्त-सहकारी तथा बैंकिङ शोषण एवम् ठगी विरुद्धका अनेकौँ साना-ठूला र विभिन्न रूपका आन्दोलनहरू यसका केही उदाहरणहरू हुन । 

मिटरब्याज विरोधी आन्दोलन स्व-स्फूर्त मास चेतना सँग उन्नत, सचेतन तथा क्रान्तिकारी राजनीतिक चेतना जोडिन पुगेपछि उठेको आन्दोलन हो । तर आन्दोलनको वस्तुगत जटिलता, तथा आन्दोलनलाई आवश्यक क्रान्तिकारी राजनीतिक मार्गनिर्देशन प्रदान गर्न र त्यसलाई आन्दोलनमा लागू गर्न आवश्यक पर्याप्त पहलकदम लिन नसक्नु लगायत क्रान्तिकारी शक्तिको आत्मगत कमजोरीका कारणले यो आन्दोलनमा विभित्र खालका निम्न-पुँजीवादी भडकावहरु, विभित्र खालका ‘वामपन्थी’ र दक्षिणपन्थी अवसरवादी तत्त्वहरू हावी भए, जुन क्रम अहिलेसम्म जारी छ ।

मिटरब्याज विरोधी आन्दोलनमा, मिटरब्याज तथा ठगी बाट पीडित विभिन्न सामाजिक वर्ग र तप्काका मान्छेहरू सहभागी छन् । अहिले आन्दोलनमा मुख्यतः धनी किसान तथा निम्न पुँजीपति वर्गको माथिल्लो हिस्साको बोलवाला छ । र यहीँ वर्गको राजनीतिक चरित्र अनुरुप आन्दोलनका गतिविधि स्व-स्फूर्त, मागहरु सुधारवादी तथा सम्झौतापरस्त छन् । यहि ढङ्गको आन्दोलनबाट आम पीडित जनताका निम्ति अन्ततः र सारत: छलछाम, धोका तथा असफलता बाहेक केही प्राप्त हुन सम्भव छैन ।

एकातिर, आज यो आन्दोलनले आफ्नो विकासको माग गरेको छ तर यस सम्बन्धमा आन्दोलनको घोषित-अघोषित `नेतृत्व´ सँग कुनै क्रान्तिकारी तथा वैज्ञानिक योजना छैन । यो दार्शनिक रूपमा व्यवहारवाद, राजनीतिक रूपमा निम्न-पुँजीवादी रुमानीवादमा फसेको छ । त्यसैगरी, अर्कोतिर दलाल प्रतिक्रियावादी व्यवस्थाले जनतालाई फुटाउने, आन्दोलनलाई बिथोल्ने षड्यन्त्र तीव्र पारिरहेको छ । साथै, केही प्रतिगामी राजावादीहरूले समेत यस मुद्दालाई कब्जा गर्न आफ्नो पूरा शक्ति लगाइरहेका छन् ।

कुनै पनि युगको शासक विचार, शासक वर्गको विचार हुने गर्दछ, र शासित वर्गमा पनि सामान्यतया स्व-स्फूर्त रूपमा उठ्ने चेतना शासक वर्गीय चेतनाको परिधिभित्र, अर्थवादको साँघुरो घेराभित्र सीमित रहने गर्दछ । अपवाद बाहेक पुँजीवादी सामाजिक उत्पादनमा रहेको आफ्नो अलगावपुर्ण अवस्थितिको कारण एक मजदुर-किसान आफ्नो दैनिक जीवनमा निरन्तर भोग्नुपर्ने शोषण, दयनीय स्थिति र आफू माथि भइसकेको बर्बर दमनको आफ्नो अनुभव सामान्यीकरण गर्न, समस्याको सार पत्ता लगाउन र क्रान्तिकारी समाधानका निम्ति लड्न सक्दैनन । आजको नेपाली समाजको आम चेतना र मिटरब्याज विरोधी आन्दोलनलाई पनि यहीँ ऐतिहासिक सत्य अनुरूप बुझ्नुपर्छ । 

श्रमजीवी जनताको अग्रदस्ता अर्थात राजनीतिक पार्टीले शासक वर्गको चेतनालाई फ्याँकेर जनतामा सर्वहारा वर्गीय राजनीतिक चेतना दिनुपर्छ । यो जनताको अग्रदस्ताको राजनीतिक कार्यभार हो । तर आज नेपालमा जनताको क्रान्तिकारी अग्रदस्ता अर्थात कम्युनिस्ट पार्टीको अस्तित्व छैन । कम्युनिस्ट नामधारी एमाले, माके, एस लगायतका पार्टीहरू स्वयम् मिटरब्याजी साहुको पक्षमा छन्, मिटरब्याजी साहु संरक्षक प्रतिक्रियावादी सत्तामा छन्, जनताको निर्मम दमन गरिरहेका छन् । 

मिटरव्याज लगायतका तमाम वित्तीय शोषणहरू समकालीन नेपाली समाज अर्थात दलाल पुँजीवादी समाजका वस्तुगत यथार्थहरु हुन् । यो दलाल पुँजीवादी उत्पादन प्रणाली र यसको उपरि संरचनाले नेपाली जनता माथि थोपरेको व्यवस्थाजन्य शोषण हो । यो विद्यमान व्यवस्थाको जनविरोधी तथा शोषणकारी चरित्रको एउटा ठोस अभिव्यक्ति हो, पुँजीवादी शोषण हो ।

नेपाली समाजमा वित्तीय शोषण-उत्पीडन भयावह अवस्थामा छ । पछिल्लो समय थप सघन बनेको पुँजीवादी आर्थिक सङ्कटले यसलाई गुणात्मक रूपमा वृद्धि गरेको छ, राष्ट्रिय पत्रिकाका पानाहरू बैङ्कले कालोसूचीमा राखेका जनताका नामले भरिन थालेका छन् । सानातिना व्यापारीहरु समेत टाट पल्टिने स्थिति बनिरहेको छ, सीमित दलालहरू बाहेक कोही टिक्न नसक्ने स्थिति आएको छ, आर्थिक असमानता अभूतपूर्व रूपमा बढिरहेको छ, देश माथि असमान सन्धि-सम्झौता थोपरिदै छन, जनताको जीवनस्तर झन झन कठिन बनिरहेको छ । यो भनेको वर्तमान परिस्थितिमा नेपाली समाजको मुख्य अन्तरविरोधका रुपमा रहेको आम नेपाली जनता र दलाल पुँजीपती वर्ग तथा साम्राज्यवाद विचको अन्तरविरोधको प्रकटकरणको हो ।

मिटरव्याजी तथा सहकारी-लघुवित्त-बैङ्किङ लगायत वित्तीय शोषण, उत्पीडन एवम् ठगीको समाधान विद्यमान व्यवस्थाको परिधिभित्र सम्भव छैन । `संघीय लोकतान्त्रिक गणतन्त्र´ नामको बुर्जुवा राज्य मेसिनरीको ध्वंश, नेपालका मजदुर-किसान लगायतका आम जनताको राज्यव्यवस्था अर्थात समाजवादी व्यवस्था, सर्वहारा वर्गको अधिनायकत्वको स्थापना नै तमाम शोषण तथा उत्पीडनको एक मात्रै दिगो एवम् वैज्ञानिक समाध हो । यो नै आम नेपाली जनताले तय गर्नुपर्ने बाटो हो, यो नै मिटरब्याज विरोध आन्दोलनले हिडनुपर्ने बाटो हो । यसका निम्ति आन्दोलनको क्रान्तिकारी राजनीतिकरण, क्रान्तिकारी राजनीतिक आम दिशा, निम्न-पुँजीवादी रुमानीवादको शुद्धीकरण तथा आवश्यक र सम्भावना अनुरुप स्थानय जुझारु जन-संघर्ष एवम् व्यापक जन-परिचालन अनिवार्य एवम् अत्यावश्यक बनिसकेको छ ।

       सन्दर्भ सामाग्री

  • Marx, Karl. "Capital Vol. III Part V, Division of Profit into Interest and Profit of Enterprise. Interest-Bearing Capital, Chapter-36, Pre-Capitalist Relationships." Available at: https://www.marxists.org/archive/marx/works/1894-c3/ch36.htm
  • Marx, Karl. "Capital Vol. III Part V, Division of Profit into Interest and Profit of Enterprise. Interest-Bearing Capital, Chapter-36, Pre-Capitalist Relationships." Available at: Available at: https://www.marxists.org/archive/marx/works/1894-c3/ch36.htm
  • Marx, Karl. "Capital Vol. III Part V, Division of Profit into Interest and Profit of Enterprise. Interest-Bearing Capital, Chapter-36, Pre-Capitalist Relationships." Available at: https://www.marxists.org/archive/marx/works/1894-c3/ch36.htm
  • Mao Zedong. "Selected Works of Mao Tse-Tung, Volume I." Foreign Languages Press, Peking, 1965. "How to Differentiate the Classes in the Rural Areas," p. 137. Available at: https://www.marxists.org/reference/archive/mao/selected-works/volume-1/mswv1_8.htm
  • Marx, Karl. Capital, Volume One. Foreign Languages Publishing House, Moscow, 1958 (Chapter Twenty-Six: The Secret of Primitive Accumulation, p. 713). Available at: https://www.marxists.org/archive/marx/works/1867-c1/ch26.htm
  • Marx, Karl. 1975. "Theories of Surplus Value." Translated by Jack Cohen and S. W. Ryazanskaya. Edited by S. W. Ryazanskaya and Richard Dixon. Vol. IV of Capital.Part III. Progress Publishers, 1975, p. 272.