नेपालमा वामपन्थको स्थिति : चुनौती र संभावना

सोभियत संघ र युरोपमा समाजवादको विसर्जनपछि जब दुनियामा इतिहासको अन्य भयो भनेर डंका पिटाइदै थियो, त्यस्तो प्रतिकुल स्थितिमा पनि मार्क्सवाद जिउँदो छ भनेर नेपाली वामपन्थीहरुले गवाही दिएका छन् ।

नेपाल वर्गीय रुपमा निम्नपुँजीवादी बाहुल्यता भएको समाज हो । यो विकसित औद्योगिक समाज पनि होइन । अल्प विकसित मुलुक, समान्तवादको वर्चश्वबाट भर्खरै पिण्ड छुटाएको, संक्रमणकालिन प्रारम्भिक पुँजीवादी समाज हो ।

नेपालको आर्थिक संरचना

निजी  क्षेत्र   -   ६४%

सार्वजनिक क्षेत्र  ३४ %

सहकारी क्षेत्र        २%

न्यून स्तरको औद्यौगिक विकास । कूल ग्राहस्थ उत्पादन (GDP) मा उद्योगको १०% भन्दा कम योगदान, त्यसमा पनि लघु उध्योगको बाहुल्यता । सेवा क्षेत्रको प्रधानता अनि कृषि क्षेत्र । यो स्थिति र त्यसमाथि भ्रष्टाचारको व्यापकता र नव उदारवादी आर्थिक नीतिको अवलंवनले गर्दा श्रम, प्रतिभा  र पुँजिको पलायन । भारतमा समेत गरेर चालीसौं लाख पलायन । जातीय (ethnicities & castes) र भौगोलिक विविधताका आफ्नै किसिमका दवाब छन् ।

उपलब्धि र योगदान

नेपालमा पुँजीवादी शक्ति र वामपन्थी/कम्युनिष्ट शक्तिको जन्म ७५ वर्षअघि जम्ल्याहा सन्तानको रुपमा भएको हो – सामन्तवादको गर्भबाट, एक वर्षको अन्तरालमा । 

- इतिहासत: वामपन्थी आन्दोलनले समाजवाद, साम्यवाद, मार्क्सवादको वैचारिक सैद्धान्तिक धारणा जनस्तरसम्म पुर्याउन र गरिवी, सामाजिक विषमता र शोषणको जडमा राजनीतिक-अर्थ समाजिक कारण छन्  भनेर जन चेतना बढाउन ठूलो काम गरेको छ । यस शिलशिलामा यसले सशक्त, मजदुर आन्दोलन, किसान आन्दोलन, युवा विद्यार्थी आन्दोलन र सांस्कृतिक आन्दोलन निर्माण गरेको छ । त्यसैको बलमा आज यो नेपाली राजनीतिक रंगमन्चको अनुल्लङ्घनीय शक्ति बनेको छ । सोभियत संघ र युरोपमा समाजवादको विसर्जनपछि जब दुनियामा इतिहासको अन्य भयो भनेर डंका पिटाइदै थियो, त्यस्तो प्रतिकुल स्थितिमा पनि मार्क्सवाद जिउँदो छ भनेर नेपाली वामपन्थीहरुले गवाही दिएका छन् । आफ्ना राजनीतिक गतिविधिमा, सामन्तवाद सम्राज्यवाद विरोधी नयाँ जनवादी चरण हुँदै समाजवाद, साम्यवादमा पुग्ने लक्ष्य साथ राष्ट्रियता, जनवाद र जनजीविका मुद्दा उठाउँदै आएको छ । आफ्ना उद्देश्य प्राप्तिको निम्ति यसले शान्तिपूर्ण र सशस्त्र, संसदीय र गैर संसदीय दुईटै उपाय अवलम्बन गरेको छ ।

वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष, समावेशी र समाजवादउन्मुख राज्य प्रणालीको स्थापनामा वामपन्थको सर्वोपरी भूमिका रहेको छ ।

संसदको निर्वाचनमा वामपन्थी जनमतमा

वर्ष      

सिट 

वामपन्थीहरुले जितेको 

श्रेणी

कैफियत

१९५९

१०९

४

४

 

१९९१

२०५

८२

२

 

१९९४

२०५

९२

१

 

१९९९

२०५

७९

२

 

२०१७

२७५

१७६

१

 

२०२२

२७५

१२१

२

 

१९९९ को निर्वाचनको पुर्व संध्यामा एमाले विभाजन भएको छ र माओवादी सशस्त्र युद्धको दवाब पनि छ । २०१७ को निर्वाचनको ठीकअघि एमाले र माओवादी पार्टी एकता गर्ने घोषणा भइसकेको थियो । २०२२ को निर्वाचनको पूर्वसंध्यामा एमाले र माओवादी मिलेर बनेको नेकपा फुटेको थियो ।

समस्या र चुनौती

- एकतामा शक्ति आर्जन गरेको छ । विभाजनमा ह्रास भोगेको छ । आन्तरिक सत्ता संघर्षको क्रममा आन्दोलनको हितलाई गौण बनाएर यसो भएको हो ।

- वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ ।

- सुरु सुरुमा वामपन्थी राजनीति व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने क्याटालिस्टको रुपमा काम गर्ला भन्ने ठानिएको थियो । तर यसमा प्रश्न उठ्न थालेको छ ।

- पार्टीमा मुलुकको आफ्नै विशेषताले गर्दा हुनुपर्ने श्रमजीवी वर्ग र विभिन्न सामाजिक सांस्कृतिक समुदायको फराकिलो प्रतिनिधित्वको  राजनीतिक आधार विकास हुन सकेको छैन । (लामो समयदेखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा गैर श्रमजीवी वर्ग– उच्च जातिको वर्चश्व कायम रहेको छ । अन्य समुदायको उपस्थिति तुष्टीकरणका सीमा भित्र मात्रै छ ।)

- विखण्डित आन्दोलन । आन्दोलनको हितभन्दा नेतृत्वको  स्वार्थ बढी प्रभावकारी भएको छ। (निकट अतितमा नेकपाको विभाजन तथा एमाले र माओवादीको पुनर्निमाणमा यसको प्रभाव नै निर्णायक रह्यो ।)

- वैचारिक रुपमा उग्र वामपन्थ र दखिणपन्थको चेपारोमा । ईनादिना भने दक्षिणपन्थ बढी हावी भएको छ ।

- वामपन्थीहरु माझ एकीकृत आन्दोलन निर्माण गर्ने कुनै कार्यनीतिक या रणनीतिक सोंच र कार्ययोजनाको अभाव । कार्यगत मोर्चासम्म निर्माण हुन नसक्नु जस्तो उदेक लाग्दो अवस्था । उता, दक्षिणपन्थी, र यहाँसम्म कि घोर दक्षिणपन्थीसंग अवसरवादी तालमेल बनाउन भने हर घटक तँ छाँड म छाँडको हास्यस्पद अवस्था पनि हाम्रो यथार्थ हो । चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्तासम्मको राजनीतिको रंगमन्च खुम्चिदै छ । अनि भने क्रान्तिकारी विकल्प बनाउने त कुरै छोडी दिनुहोस्, व्यवस्थाको  सीमाभित्र पनि कुनै दीर्घकालीन एवं प्रभावकारी वामपन्थी विकल्प बनाउने काम पनि, लाग्छ, उनीहरुको प्राथमिकतामा पर्न छोडेको छ ।

- जनभावना र विचार संश्लेषण गर्न  भनेर बनाइनु पर्ने  पार्टीका आन्तरिक संरचना र निर्वाचन/अधिवेशन जस्ता संस्थाहरु यति भीमकाय  छन्, जो जनवादी विचार विमर्श गर्ने  स्थल नभएर केन्द्रीयताको आदेश तामेल गर्ने औजार जस्ता भएका छन ।'

- दलित तथा अन्य उत्पीडित समुह/समुदायमा जनचेतना बढेको छ, जसको वामपन्थी झुकाव छ । प्रत्यक्ष रुपमा वामपन्थी राजनीतिक ढाँचामा न गाँसिएका भए पनि बौद्धिक समुदायको एउटा ठूलो हिस्सामा वामपन्थी रुझान छ । यी सामाजिक वाम शक्ति हुन् ।  तर त्यति हुँदा हुँदै पनि वामपन्थी आन्दोलन यस्ता सामाजिक तप्कामा आफ्नो जरा बिस्तार गर्न अर्थात् राजनीतिक र सामाजिक वामपन्थी बिचको बृहद सहकार्य निर्माण गर्न असफल रहेको छ ।

- एकीकृत वामपन्थी आन्दोलन विकास हुन नसक्दा र भएको एकतालाई धान्ने सुझबुझ र दुरदृष्टिताको अभाव र विभाजनले उत्पन्न गराएको रिक्ततामा दक्षिणपन्थी तथा पपुलिस्ट शक्तिले शिर उठाउने मौका पाएका छन् ।

वाम आन्दोलनको दिशा

- नेपालमा २००६ को जनक्रान्तिमार्फत् नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार सम्पन्न भएको भए पनि आर्थिक सामाजिक रुपान्तरणको अझै अधुरो छ र यसको निम्ति निकै लामो समय लाग्न सक्छ । संविधानमा व्यवस्था गरे अनुरुप नै पनि त्रि-खम्बे अर्थनीतिको अनुशरण गरिरहँदा  सहकारी क्षेत्रको जनस्तरदेखि नै विस्तार, सुशासनलाई मुर्त रुप दिँदै औद्योगिकीकरण, कृषिको आधुनिकीकरण र शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासका क्षेत्रमामा पुर्याउनु पर्ने योगदानका आधार फराकिलो बनाउन राज्यको प्रभावकारी नियमनकारी भूमिका चाहिन्छ । यसको निम्ति चार विराट वर्ग - मजदुर, किसान, राष्ट्रिय पुँजीपति वर्ग र निम्न पुँजीपति वर्गको हातेमालो जरुरी पर्दछ । विकासको खाँचोलाई पूरा गर्न आन्तरिक  आधार नै निर्णायक भए पनि बाह्य सहयोग र समर्थन पनि चाहिन्छ । त्यसको निम्ति सह अस्तित्व, असंलग्नता र तटस्थताको विकल्प छैन । यो हाम्रो भूराजनीतिक बाध्यता मात्र होइन, विश्वास पनि हो भन्ने घोषणालाई कर्ममा उतार्न पनि सक्नु पर्दछ । बाह्य जायज चासोलाई सम्मान गरी रहँदा स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतमा आफ्नो रणनीतितिक स्वायत्तता खलबलिन दिनु पनि हुँदैन ।

- नेपाली वामपन्थीहरुले विगतमा भए गरेका सफलता, असफलताको, राम्रो र गलत कामको, यथार्थ र संभावनाको सम्यक आत्मसमीक्षा गर्नु जरुरी छ - जुन हुटहुटी भित्र भित्रै छ पनि । यसो गरेमा, यस आन्दोलनलाई नाराबाट अन्तरवस्तुमा आउन, नेताको करिश्मामा होइन, सामुहिक सुझबुझ र सामुहिक नेतृत्वमा संगठित गरेर आन्दोलनको प्रभावकारितालाई बढाउन सकिन्छ । यस्तो समीक्षाको एउटा महत्वपूर्ण निस्कर्ष के पनि हुन सक्ला भने संगठनको  निर्माण गरिरहँदा जोड केमा हुनु जरुरी छ भने श्रमजीवि वर्गले आफ्नो निम्ति आफैँ राजनीतिक शक्ति निर्माण गर्न सकोस् (class-in-itself and for itself), कम्युनिस्ट लिग जस्तो । अन्य वर्गलाई वारिस बनाएर होइन । तर यसो गरी रहँदा समुदाय/समूहलाई (communties) न छुट्याइकन । वैचारिक भिन्नतालाई निषेध गरी बनाइने केन्द्रीकृत एकमना संरचना (centralized monolithic structure) नभएर पहिलो इन्टरनेसनलको भावभूमि अनुसरण गरे हुन्छ ।

विश्व पुँजीवाद वैज्ञानिक तथा प्राविधिक क्रान्तिलाई उपयोग गरेर आफ्नो जीवन लम्ब्याउन सकेको भए पनि यसले आफ्ना संभावना रित्याउदै गइरहेको छ । सम्पतिको केन्द्रीयकरण गरेर समाजिक विभाजन ल्याउने यसको चरित्र उदाङ्गिएको छ । विकसित र अविकसित मुलुक बिचको विषमता बढेको छ । सामुहिक पश्चिमा शक्ति र वैश्विक दक्षिणका मुलुकहरु बिचको अन्तरविरोध बढेको छ । एकल ध्रुवीय विश्व व्यवस्थाको ठाउँमा नयाँ, बहु ध्रुवीय व्यवस्था संक्रमण गरिरहेको छ । विश्वको वित्तिय प्रणालीमा भएको विश्व पुँजिवादी वर्चश्व टुट्न थालेको छ । सह अस्तित्व, सबैको साझा विकास, शान्ति र वातावरण परिवर्तनका समस्याबाट उन्मुक्तिका निम्ति विश्व जनमत डोलिदै गरहेको छ । वामपन्थ पुनर्जागरणको निम्ति यो राम्रो वाह्य अवसर पनि हो ।

विश्व सामाजिक मन्चको १६ औं सम्मेलन २०२४ मा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको Major Challenges and Prospects of Socialism in South Asia  गोष्ठीमा कार्कीले प्रस्तुत गरेको टिपोट ।