नेपालमा वामपन्थको स्थिति : चुनौती र संभावना

सोभियत संघ र युरोपमा समाजवादको विसर्जनपछि जब दुनियामा इतिहासको अन्य भयो भनेर डंका पिटाइदै थियो, त्यस्तो प्रतिकुल स्थितिमा पनि मार्क्सवाद जिउँदो छ भनेर नेपाली वामपन्थीहरुले गवाही दिएका छन् ।

नेपाल वर्गीय रुपमा निम्नपुँजीवादी बाहुल्यता भएको समाज हो । यो विकसित औद्योगिक समाज पनि होइन । अल्प विकसित मुलुक, समान्तवादको वर्चश्वबाट भर्खरै पिण्ड छुटाएको, संक्रमणकालिन प्रारम्भिक पुँजीवादी समाज हो ।

नेपालको आर्थिक संरचना

निजी  क्षेत्र   -   ६४%

सार्वजनिक क्षेत्र  ३४ %

सहकारी क्षेत्र        २%

न्यून स्तरको औद्यौगिक विकास । कूल ग्राहस्थ उत्पादन (GDP) मा उद्योगको १०% भन्दा कम योगदान, त्यसमा पनि लघु उध्योगको बाहुल्यता । सेवा क्षेत्रको प्रधानता अनि कृषि क्षेत्र । यो स्थिति र त्यसमाथि भ्रष्टाचारको व्यापकता र नव उदारवादी आर्थिक नीतिको अवलंवनले गर्दा श्रम, प्रतिभा  र पुँजिको पलायन । भारतमा समेत गरेर चालीसौं लाख पलायन । जातीय (ethnicities & castes) र भौगोलिक विविधताका आफ्नै किसिमका दवाब छन् ।

उपलब्धि र योगदान

नेपालमा पुँजीवादी शक्ति र वामपन्थी/कम्युनिष्ट शक्तिको जन्म ७५ वर्षअघि जम्ल्याहा सन्तानको रुपमा भएको हो – सामन्तवादको गर्भबाट, एक वर्षको अन्तरालमा । 

- इतिहासत: वामपन्थी आन्दोलनले समाजवाद, साम्यवाद, मार्क्सवादको वैचारिक सैद्धान्तिक धारणा जनस्तरसम्म पुर्याउन र गरिवी, सामाजिक विषमता र शोषणको जडमा राजनीतिक-अर्थ समाजिक कारण छन्  भनेर जन चेतना बढाउन ठूलो काम गरेको छ । यस शिलशिलामा यसले सशक्त, मजदुर आन्दोलन, किसान आन्दोलन, युवा विद्यार्थी आन्दोलन र सांस्कृतिक आन्दोलन निर्माण गरेको छ । त्यसैको बलमा आज यो नेपाली राजनीतिक रंगमन्चको अनुल्लङ्घनीय शक्ति बनेको छ । सोभियत संघ र युरोपमा समाजवादको विसर्जनपछि जब दुनियामा इतिहासको अन्य भयो भनेर डंका पिटाइदै थियो, त्यस्तो प्रतिकुल स्थितिमा पनि मार्क्सवाद जिउँदो छ भनेर नेपाली वामपन्थीहरुले गवाही दिएका छन् । आफ्ना राजनीतिक गतिविधिमा, सामन्तवाद सम्राज्यवाद विरोधी नयाँ जनवादी चरण हुँदै समाजवाद, साम्यवादमा पुग्ने लक्ष्य साथ राष्ट्रियता, जनवाद र जनजीविका मुद्दा उठाउँदै आएको छ । आफ्ना उद्देश्य प्राप्तिको निम्ति यसले शान्तिपूर्ण र सशस्त्र, संसदीय र गैर संसदीय दुईटै उपाय अवलम्बन गरेको छ ।

वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष, समावेशी र समाजवादउन्मुख राज्य प्रणालीको स्थापनामा वामपन्थको सर्वोपरी भूमिका रहेको छ ।

संसदको निर्वाचनमा वामपन्थी जनमतमा

वर्ष      

सिट 

वामपन्थीहरुले जितेको 

श्रेणी

कैफियत

१९५९

१०९

 

१९९१

२०५

८२

 

१९९४

२०५

९२

 

१९९९

२०५

७९

 

२०१७

२७५

१७६

 

२०२२

२७५

१२१

 

१९९९ को निर्वाचनको पुर्व संध्यामा एमाले विभाजन भएको छ र माओवादी सशस्त्र युद्धको दवाब पनि छ । २०१७ को निर्वाचनको ठीकअघि एमाले र माओवादी पार्टी एकता गर्ने घोषणा भइसकेको थियो । २०२२ को निर्वाचनको पूर्वसंध्यामा एमाले र माओवादी मिलेर बनेको नेकपा फुटेको थियो ।

समस्या र चुनौती

- एकतामा शक्ति आर्जन गरेको छ । विभाजनमा ह्रास भोगेको छ । आन्तरिक सत्ता संघर्षको क्रममा आन्दोलनको हितलाई गौण बनाएर यसो भएको हो ।

- वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ ।

- सुरु सुरुमा वामपन्थी राजनीति व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने क्याटालिस्टको रुपमा काम गर्ला भन्ने ठानिएको थियो । तर यसमा प्रश्न उठ्न थालेको छ ।

- पार्टीमा मुलुकको आफ्नै विशेषताले गर्दा हुनुपर्ने श्रमजीवी वर्ग र विभिन्न सामाजिक सांस्कृतिक समुदायको फराकिलो प्रतिनिधित्वको  राजनीतिक आधार विकास हुन सकेको छैन । (लामो समयदेखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा गैर श्रमजीवी वर्ग– उच्च जातिको वर्चश्व कायम रहेको छ । अन्य समुदायको उपस्थिति तुष्टीकरणका सीमा भित्र मात्रै छ ।)

- विखण्डित आन्दोलन । आन्दोलनको हितभन्दा नेतृत्वको  स्वार्थ बढी प्रभावकारी भएको छ। (निकट अतितमा नेकपाको विभाजन तथा एमाले र माओवादीको पुनर्निमाणमा यसको प्रभाव नै निर्णायक रह्यो ।)

- वैचारिक रुपमा उग्र वामपन्थ र दखिणपन्थको चेपारोमा । ईनादिना भने दक्षिणपन्थ बढी हावी भएको छ ।

- वामपन्थीहरु माझ एकीकृत आन्दोलन निर्माण गर्ने कुनै कार्यनीतिक या रणनीतिक सोंच र कार्ययोजनाको अभाव । कार्यगत मोर्चासम्म निर्माण हुन नसक्नु जस्तो उदेक लाग्दो अवस्था । उता, दक्षिणपन्थी, र यहाँसम्म कि घोर दक्षिणपन्थीसंग अवसरवादी तालमेल बनाउन भने हर घटक तँ छाँड म छाँडको हास्यस्पद अवस्था पनि हाम्रो यथार्थ हो । चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्तासम्मको राजनीतिको रंगमन्च खुम्चिदै छ । अनि भने क्रान्तिकारी विकल्प बनाउने त कुरै छोडी दिनुहोस्, व्यवस्थाको  सीमाभित्र पनि कुनै दीर्घकालीन एवं प्रभावकारी वामपन्थी विकल्प बनाउने काम पनि, लाग्छ, उनीहरुको प्राथमिकतामा पर्न छोडेको छ ।

- जनभावना र विचार संश्लेषण गर्न  भनेर बनाइनु पर्ने  पार्टीका आन्तरिक संरचना र निर्वाचन/अधिवेशन जस्ता संस्थाहरु यति भीमकाय  छन्, जो जनवादी विचार विमर्श गर्ने  स्थल नभएर केन्द्रीयताको आदेश तामेल गर्ने औजार जस्ता भएका छन ।'

- दलित तथा अन्य उत्पीडित समुह/समुदायमा जनचेतना बढेको छ, जसको वामपन्थी झुकाव छ । प्रत्यक्ष रुपमा वामपन्थी राजनीतिक ढाँचामा न गाँसिएका भए पनि बौद्धिक समुदायको एउटा ठूलो हिस्सामा वामपन्थी रुझान छ । यी सामाजिक वाम शक्ति हुन् ।  तर त्यति हुँदा हुँदै पनि वामपन्थी आन्दोलन यस्ता सामाजिक तप्कामा आफ्नो जरा बिस्तार गर्न अर्थात् राजनीतिक र सामाजिक वामपन्थी बिचको बृहद सहकार्य निर्माण गर्न असफल रहेको छ ।

- एकीकृत वामपन्थी आन्दोलन विकास हुन नसक्दा र भएको एकतालाई धान्ने सुझबुझ र दुरदृष्टिताको अभाव र विभाजनले उत्पन्न गराएको रिक्ततामा दक्षिणपन्थी तथा पपुलिस्ट शक्तिले शिर उठाउने मौका पाएका छन् ।

वाम आन्दोलनको दिशा

- नेपालमा २००६ को जनक्रान्तिमार्फत् नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार सम्पन्न भएको भए पनि आर्थिक सामाजिक रुपान्तरणको अझै अधुरो छ र यसको निम्ति निकै लामो समय लाग्न सक्छ । संविधानमा व्यवस्था गरे अनुरुप नै पनि त्रि-खम्बे अर्थनीतिको अनुशरण गरिरहँदा  सहकारी क्षेत्रको जनस्तरदेखि नै विस्तार, सुशासनलाई मुर्त रुप दिँदै औद्योगिकीकरण, कृषिको आधुनिकीकरण र शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासका क्षेत्रमामा पुर्याउनु पर्ने योगदानका आधार फराकिलो बनाउन राज्यको प्रभावकारी नियमनकारी भूमिका चाहिन्छ । यसको निम्ति चार विराट वर्ग - मजदुर, किसान, राष्ट्रिय पुँजीपति वर्ग र निम्न पुँजीपति वर्गको हातेमालो जरुरी पर्दछ । विकासको खाँचोलाई पूरा गर्न आन्तरिक  आधार नै निर्णायक भए पनि बाह्य सहयोग र समर्थन पनि चाहिन्छ । त्यसको निम्ति सह अस्तित्व, असंलग्नता र तटस्थताको विकल्प छैन । यो हाम्रो भूराजनीतिक बाध्यता मात्र होइन, विश्वास पनि हो भन्ने घोषणालाई कर्ममा उतार्न पनि सक्नु पर्दछ । बाह्य जायज चासोलाई सम्मान गरी रहँदा स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतमा आफ्नो रणनीतितिक स्वायत्तता खलबलिन दिनु पनि हुँदैन ।

- नेपाली वामपन्थीहरुले विगतमा भए गरेका सफलता, असफलताको, राम्रो र गलत कामको, यथार्थ र संभावनाको सम्यक आत्मसमीक्षा गर्नु जरुरी छ - जुन हुटहुटी भित्र भित्रै छ पनि । यसो गरेमा, यस आन्दोलनलाई नाराबाट अन्तरवस्तुमा आउन, नेताको करिश्मामा होइन, सामुहिक सुझबुझ र सामुहिक नेतृत्वमा संगठित गरेर आन्दोलनको प्रभावकारितालाई बढाउन सकिन्छ । यस्तो समीक्षाको एउटा महत्वपूर्ण निस्कर्ष के पनि हुन सक्ला भने संगठनको  निर्माण गरिरहँदा जोड केमा हुनु जरुरी छ भने श्रमजीवि वर्गले आफ्नो निम्ति आफैँ राजनीतिक शक्ति निर्माण गर्न सकोस् (class-in-itself and for itself), कम्युनिस्ट लिग जस्तो । अन्य वर्गलाई वारिस बनाएर होइन । तर यसो गरी रहँदा समुदाय/समूहलाई (communties) न छुट्याइकन । वैचारिक भिन्नतालाई निषेध गरी बनाइने केन्द्रीकृत एकमना संरचना (centralized monolithic structure) नभएर पहिलो इन्टरनेसनलको भावभूमि अनुसरण गरे हुन्छ ।

विश्व पुँजीवाद वैज्ञानिक तथा प्राविधिक क्रान्तिलाई उपयोग गरेर आफ्नो जीवन लम्ब्याउन सकेको भए पनि यसले आफ्ना संभावना रित्याउदै गइरहेको छ । सम्पतिको केन्द्रीयकरण गरेर समाजिक विभाजन ल्याउने यसको चरित्र उदाङ्गिएको छ । विकसित र अविकसित मुलुक बिचको विषमता बढेको छ । सामुहिक पश्चिमा शक्ति र वैश्विक दक्षिणका मुलुकहरु बिचको अन्तरविरोध बढेको छ । एकल ध्रुवीय विश्व व्यवस्थाको ठाउँमा नयाँ, बहु ध्रुवीय व्यवस्था संक्रमण गरिरहेको छ । विश्वको वित्तिय प्रणालीमा भएको विश्व पुँजिवादी वर्चश्व टुट्न थालेको छ । सह अस्तित्व, सबैको साझा विकास, शान्ति र वातावरण परिवर्तनका समस्याबाट उन्मुक्तिका निम्ति विश्व जनमत डोलिदै गरहेको छ । वामपन्थ पुनर्जागरणको निम्ति यो राम्रो वाह्य अवसर पनि हो ।

विश्व सामाजिक मन्चको १६ औं सम्मेलन २०२४ मा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको Major Challenges and Prospects of Socialism in South Asia  गोष्ठीमा कार्कीले प्रस्तुत गरेको टिपोट ।