लेनिनको संशोधनवाद विरुद्धको सङ्घर्षका केही पक्षहरू

लेनिनले लेखेका छन्:

“सन् १८७१–१९१४ को तुलनात्मक रूपले ‘शान्तिपूर्ण’ चरित्रको कालमा अवसरवाद सर्वप्रथम एउटा मनको भाव ( mood) को रूपमा, त्यसपछि एउटा प्रकृतिको रूपमा र अन्त्यमा, एउटा समूह वा श्रम नोकरशाही एवं निम्न–बुर्जुवा सहयात्रीहरूको सामाजिक श्रेणी (stratum) को रूपमा हुर्कियो ।” (अवसरवाद र द्वितीय अन्तर्राष्ट्रियको पतन, १९१६)

लेनिनको यस भनाइबाट के कुरा स्पष्ट हुन्छ भने संशोधनवादको सम्बन्ध पूँजीवादको प्रतिस्पर्धात्मक चरणबाट एकाधिकारात्मक चरणको विकाससित छ । मार्क्स र एङ्गेल्सको समयमा मजदुर आन्दोलनभित्र अवसरवादी सोचाइहरू अवश्य पनि देखा परेका थिए । तर त्यसले अन्तर्राष्ट्रिय चरित्र ग्रहण गरिसकेको थिएन । तिनीहरूमा राष्ट्रिय सीमाको प्रवलता थियो । स्वाभाविक रूपमा अवसरवादले संशोधनवादको चरणमा विकास पनि गरिसकेको थिएन । त्यस अवस्थामा अवसरवादका विरूद्ध मार्क्स, एङ्गेल्सद्वारा चलाइएको सङ्घर्ष प्रारम्भिक प्रकारको नै हुन सक्थ्यो । यद्यपि, आफ्नो अन्तिम समयतिर एङ्गेल्सले पूँजीवादको प्रतिस्पर्धात्मक चरणबाट एकाधिकारात्मक चरणमा हुँदै गइरहेको विकासलाई ठिकसित बुझेर मजदुर आन्दोलनमा श्रम नोकरशाही सामाजिक श्रेणीको रूममा अस्तित्वमा आएको कुरातर्फ सचेत गराएका थिए । यो वस्तुगतताले उक्त ‘शान्तिपूर्ण’ कालको विश्व मजदुर आन्दोलनको शिखर पुरुषको संशोधनवादको व्याख्या, विश्लेषण र त्यसका विरुद्धको सैद्धान्तिक तथा व्यावहारिक सङ्घर्षसित प्रत्यक्ष सम्बन्ध रहेको कुरालाई बताउँछ । उक्त ‘काल’ का ती शिखर पुरुष कमरेड भ्लादिमिर इल्यीच लेनिन थिए । लेनिनका विचारहरू (अर्थात् लेनिनवाद) भनेको त्यही संशोधनवाद विरोधी सङ्घर्षको क्रममा विकसित भएको मार्क्सवाद हो ।

लेनिनका विचारहरू (अर्थात् लेनिनवाद) भनेको त्यही संशोधनवाद विरोधी सङ्घर्षको क्रममा विकसित भएको मार्क्सवाद हो ।

त्यति बेलाको विश्व मजदुर आन्दोलनको स्थितिलाई स्पष्ट गर्दै लेनिनले लेखेका छन्: “संशोधनवाद, अर्थात् मार्क्सवादको ‘संशोधन’ आजको सर्वहारामा बुर्जुवा प्रभाव र मजदुरहरूको भ्रष्टीकरणको प्रश्न यदि मुख्य होइन भने पनि, एउटा मख्य अभिव्यक्त रूप हो ।” (हतपते निर्णय, १९१४) त्यति बेला ‘संशोधन’ मार्क्सवादको कुनै एउटा वा अर्को पक्षमा मात्र भइरहेको थिएन । त्यो ‘संशोधन’ मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, साहित्य र कला तथा सङ्गठन सबै क्षेत्रहरूमा तीव्र र व्यापक रूपमा भइरहेको थियो । हामीले यहाँ पहिला तीन प्रश्नहरू बारे चर्चा गर्ने छौँ, र अन्य प्रश्नहरू बारे बेग्लै ठाउँहरूमा चर्चा गर्ने छौँ ।

लेनिनले लेखेका छन्: ‘संशोधनवादीहरूले’ चलाखीपूर्वक (र क्रान्तिकारी) द्वन्द्ववादको ठाउँमा ‘साधारण’ र (शान्तिमय) ‘विकासवाद’ लाई स्थापित गर्दै त्यसको पछिपछि विज्ञानलाई दार्शनिक भ्रष्टीकरणको दल दलमा डुबाए ।”

लेनिनले त्यति बेला विश्व स्तरमा र स्वयं रुसको मजदुर आन्दोलनमा देखा परेका अवसरवादी र संशोधनवादी विचार र पद्धतिका विरूद्ध अत्यन्त महत्त्वपूर्ण सङ्घर्ष चलाएका थिए । त्यस सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा बर्न्सटिन एवं काउत्स्कीको संशोधनवाद र रुसमा ‘अर्थवाद’ का विरूद्ध उनले चलाएका सङ्घर्षहरू विशेष रूपले उल्लेखनीय छन् ।

१. मार्क्सवादी दर्शनको अवसरवादीहरूद्वारा गरिएको ‘संशोधन’ का विरूद्ध लेनिनको सङ्घर्ष

उक्त कालमा मजदुर आन्दोलनभित्रका अवसरवादीहरूले विज्ञानको क्षेत्रमा देखापरेका केही सङ्कटहरूलाई बढाएर आदर्शवादको जग मजबुत गर्ने प्रयत्न गरे । उनीहरूले आफ्नो दार्शनिक आधार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई नबनाएर यान्त्रिक भौतिकवाद एवं आदर्शवादलाई बनाए । त्यतिबेला आन्दोलनका अवसरवादीहरूले दर्शनको क्षेत्रमा ‘काण्टतिर फिर्ता’ वा नवकाण्टवादी बाटो अख्तियार गरेका थिए । उनीहरूले हेगेलको द्वन्द्ववादलाई पूरै परित्याग गरेका थिए । त्यस स्थितिमाथि टिपोट गर्दै लेनिनले लेखेका छन्: ‘संशोधनवादीहरूले’ चलाखीपूर्वक (र क्रान्तिकारी) द्वन्द्ववादको ठाउँमा ‘साधारण’ र (शान्तिमय) ‘विकासवाद’ लाई स्थापित गर्दै त्यसको पछिपछि विज्ञानलाई दार्शनिक भ्रष्टीकरणको दल दलमा डुबाए ।” (मार्क्सवाद र संशोधनवाद, १९०८)

बर्मनले एङ्गेल्सको द्वन्द्ववादलाई “रहस्यवाद” बतायो । बाजारोभले एङ्गेल्सका विचारहरू ‘पुरानो’ भइसकेको कुरा बतायो । उनीहरूले आधुनिक ज्ञानसम्बन्धी सिद्धान्त नवीन दर्शन (अथवा हालको सकारात्मकवाद), आधुनिक प्रकृति विज्ञानको दर्शन वा बीसौँ शताव्दीको प्राकृतिक विज्ञानको दर्शनको दृष्टान्त दिँदै भौतिकवादको खण्डन गरे । विडम्बनाको कुरा के छ भने उनीहरूले त्यसप्रकारको आलोचना गरिरहेको समयमा पनि दर्शनमा आफूलाई मार्क्सवादी नै भनेर दाबी गर्ने लुनाचास्कीले समेत आफ्ना साथीहरूलाई — दर्शनमा संशोधनवादीहरूलाई ठीक ठहर्‍याउँदै भनेका थिए: “सायद हामीले बाटो भुलेको हुनसक्छौँ । तर हामी खोजीनीति गरिहेका छौँ ।”

दर्शनको क्षेत्रमा त्यति बेला विश्व मजदुर आन्दोलनमा देखा परेको अर्को भड्काउ थियो— सर्वसङ्ग्रहवाद । अवसरवादीहरूले द्वन्द्ववादलाई, सर्वसङ्ग्रहवादद्वारा प्रतिस्थापित गर्ने प्रयत्न गरे ।

लेनिनले “भौतिकवाद र अनुभवसिद्ध आलोचना” पुस्तकको माध्यमबाट रसियाली अनुभवसिद्ध आलोचकहरू र तिनीहरूका विदेशी गुरुहरूको प्रभावकारी ढङ्गबाट खण्डन गरे । उक्त पुस्तकमा लेनिनले दार्शनिक र संशोधनवादको सम्बन्धमा निम्नलिखित निष्कर्षहरू निकाले:

(क) “मार्क्सवादको दोसल्ला ओढाएर धेरै सूक्ष्म ढङ्गबाट मार्क्सवादको झूठो रूप पेश गर्न भौतिकवाद–विरोधी सिद्धान्तहरूलाई धेरै सूक्ष्म ढङ्गले पेश गर्नु यो नै राजनीतिक अर्थशास्त्रमा, कार्यनीतिका प्रश्नमा र सामान्यतः दर्शनमा आधुनिक संशोधनवादको विशिष्ट लक्ष्य हो ।”

(ख) “माख र अवेनारियसको पूरै सम्प्रदाय आदर्शवादतर्फ बढिरहेको छ ।”

(ग) “हाम्रा सबै माखवादीहरू आर्दशवादमा फसिसकेका छन् ।”

(घ) “अनुभव आलोचनाको ज्ञानसम्बन्धी शास्त्रवादको पछिल्तिर दर्शनको क्षेत्रमा पार्टीहरूको माझमा चलिरहेको सङ्घर्षलाई नदेख्नु असम्भव छ । यो त्यस्तो सङ्घर्ष हो जसले अन्ततोगत्वा आधुनिक समाजमा रहेका शत्रुतापूर्ण वर्गहरूका प्रवृत्ति र विचारधाराको प्रतिनिधित्व गर्छ ।”

(ङ) “अनुभवसिद्ध आलोचनाको वस्तुगत भूमिका पूर्णरूपले के तथ्यमा रहेको छ भने त्यसले सामान्यतः भौतिकवाद र विशेषतः ऐतिहासिक भौतिकवादको विरूद्ध श्रद्धावादीहरूको सङ्घर्षमा उनीहरूको इमान्दारीपूर्वक सेवा गर्छ ।”

(च) “दार्शनिक आदर्शवाद ... ... पुरेती रहस्यवादमा पुग्ने एउटा बाटो हो ।”

दर्शनको क्षेत्रमा त्यति बेला विश्व मजदुर आन्दोलनमा देखा परेको अर्को भड्काउ थियो— सर्वसङ्ग्रहवाद । अवसरवादीहरूले द्वन्द्ववादलाई, सर्वसङ्ग्रहवादद्वारा प्रतिस्थापित गर्ने प्रयत्न गरे । दर्शनको क्षेत्रमा देखापरेको यो भड्काउका सम्बन्धमा लेनिनले लेखेका छन्: द्वन्द्ववादको ठाउँ सर्वसङ्ग्रहवादले लियो । मार्क्सवादलाई अवसरवाद बनाउने सार सङ्ग्रहवादलाई द्वन्द्ववाद बनाउने जालसाजी अन्तर्गत, जनतालाई धोखा दिनु सबभन्दा सजिलो हुन्छ, त्यसबाट प्रतियमान सन्तोष प्राप्त हुन्छ । प्रक्रियाका सबै पक्षहरूमा जस्तै विकासको तमाम प्रवृत्तिहरूमा, तमाम विरोधपरक प्रभावहरू आदिमा, ध्यान दिइरहिएको छ । जब कि वास्तवमा त्यसले सामाजिक विकासको प्रक्रियाको कुनै पनि अखण्ड क्रान्तिकारी समझ दिँदैन ।”

लेनिनले दर्शनको क्षेत्रमा यसप्रकारको विचारले (वर्गीय) समाजको चालक तत्त्व वर्गसङ्घर्ष हो भन्ने कुरालाई अस्वीकार गर्छ र वर्ग समन्वयलाई त्यसको प्रेरक शक्तिको रूपमा लिन्छ भने । उनले द्वन्द्ववादलाई (वर्गीय) समाजमा सुधार त्यही वर्ग सङ्घर्षको उत्पादन हो भन्ने कुरा सिकाउँछ, सर्वसङ्ग्रहवादको सुधारवादी दृष्टिकोणको दार्शनिक आधारको काम गर्छ भन्ने कुरा प्रष्ट गरे ।

लेनिनले अवसरवादीहरूद्वारा मार्क्सवादी दर्शनमाथि गरिएको प्रहार वा त्यसको संशोधनका विरूद्धको सङ्घर्षको क्रममा त्यसको (मार्क्सवादी दर्शनको) विकासलाई अघि बढाए ।

उनले प्रत्येक क्रान्तिकारी कम्युनिस्टहरूले द्वन्द्ववादको अपार ज्ञान हासिल गरेर आफूमा जुझारु भौतिकवादी दृष्टिकोण पैदा गरेर नै त्यो सङ्घर्षमा संशोधनवादलाई पराजित गर्न सकिने कुरा बताए ।

२. राजनीतिक अर्थशास्त्रको अवसरवादीहरूद्वारा गरिएको “संशोधन” का विरूद्ध लेनिनको सङ्घर्ष:

राजनीतिक अर्थशास्त्रको क्षेत्रमा संशोधनवादीहरूको आक्रमण अन्य क्षेत्रका तुलनामा अझ बढी व्यवस्थित प्रकारको थियो । संशोधनवादीहरूले कृषि अर्थ व्यवस्थामा सङ्केन्द्रण तथा ठूलो उत्पादनद्वारा सानो उत्पादनको उन्मूलन हुँदैन भन्ने कुरा अगाडि ल्याए । उनीहरूले वाणिज्य तथा उद्योगको क्षेत्रमा समेत त्यसप्रकारको उन्मूलन अत्यन्त ढिलो गतिमा हुन्छ भने । अवसरवादीहरूले पूँजीवादी सङ्कट इतिहासको विषय बनिसकेको र अगाडिका दिनहरूमा पूँजीवादले त्यसप्रकारको सङ्कटको सामना गर्नुनपर्ने विचार व्यक्त गरे । उनीहरूले कार्टेल र ट्रस्टहरूलाई पूँजीवादको जीवन रक्तको रूपमा पेश गरे । पूँजीवादी युगको अन्त्यको कुरा निराधार भएको यिनीहरूको दाबी थियो । उनीहरूले मार्क्सको मूल्य सिद्धान्तलाई बोम्ह–वावर्कको अनुसार सुधार गर्दा कुनै गल्ती नहुने कुरा बताए ।

लेनिनले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा संशोधनवादीहरूद्वारा अगाडि सारिएको यसप्रकारको विचारको टाट पल्टाइलाई सिद्ध गरे । उनले उद्योगमा मात्र होइन कृषिमा पनि सानोभन्दा ठूलो उत्पादनको प्रविधि तथा वाणिज्यिक श्रेष्ठता हुने कुरा बताए । उनले के कुरा स्पष्ट गरे भने कृषिमा वस्तु उत्पादनको विकास धेरै कमजोर छ र आधुनिक साङ्ख्यिकीविद् तथा अर्थशास्त्रीहरू कृषिका ती विशेष शाखाहरूका वस्तुवादी विश्लेषण गर्न असफल छन् । उनले विज्ञान र प्रविधिको प्रत्येक अघि बढाइले अनिवार्यतः र निर्ममतावादी पूँजीवादी समाजभित्र सानो उत्पादनको आधारलाई कमजोर गर्छ भन्ने कुरा साना उत्पादनकर्ताहरूलाई प्रष्ट गर्नु मार्क्सवादी अर्थशास्त्रीहरूको काम हो भने ।

सानो उत्पादन प्रणाली, खासगरेर कृषि अर्थ व्यवस्था, सम्बन्धी संशोधनवादीहरूको यसप्रकारको सोचाइले पूँजीवाद अन्तर्गत, कृषि अर्थ व्यवस्थाको “उज्ज्वल” भविष्य छ, किसानहरूले सर्वहाराको वर्ग दृष्टिकोणलाई अपनाउन आवश्यक छैन भन्ने एकदम गलत सोचाइलाई अगाडि ल्याउँछ । लेनिनले संशोधनवादीहरूको यस व्याख्यालाई “...विषयलाई एकतर्फी ढङ्गबाट जम्मा गरिएका तथ्यहरूको, पूँजीवादको सम्पूर्ण ढाँचासित त्यसलाई नजोडिकन सतही सामान्यीकरण गरेर वैज्ञानिक दृष्टिकोणसित अन्याय गरेको छ” भनेका छन् । उनले कार्टेल र ट्रष्टहरूको विकासले पूँजीवादको सङ्कटको सिद्धान्त र ध्वंसको सिद्धान्तलाई गलत होइन अरू बढी सही सिद्ध गरेको कुरा बताए ।

काउस्कीले साम्राज्यवादलाई पूँजीवादको एउटा चरण (phase) को रूपमा नमानेर वित्तीय पूँजीको एउटा नीतिको रूपमा व्याख्या गर्‍यो । उसले औद्योगिक देशहरूको कृषि प्रधान देशहरूलाई जोड्ने एउटा प्रवृत्ति मात्र भएको कुरा बतायो ।

मार्क्स, एङ्गेल्सको आर्थिक शिक्षाको सारको संशोधनवादीहरूद्वारा गरिएका भ्रष्टीकरण, काउत्स्कीको साम्राज्यवादको विश्लेषणमा बढी प्रष्ट देख्न सकिन्छ । काउस्कीले साम्राज्यवादलाई पूँजीवादको एउटा चरण (phase) को रूपमा नमानेर वित्तीय पूँजीको एउटा नीतिको रूपमा व्याख्या गर्‍यो । उसले औद्योगिक देशहरूको कृषि प्रधान देशहरूलाई जोड्ने एउटा प्रवृत्ति मात्र भएको कुरा बतायो । “अति — साम्राज्यवाद” को कुरा उठाएर साम्राज्यवादलाई उचित सिद्ध गर्ने प्रयत्न गर्‍यो। लेनिनले यसप्रकारको विचारलाई “सैद्धान्तिक रूपबाट नै गलत” र त्यसले “साम्राज्यवादी आर्थिक पक्षलाई साम्राज्यवादी राजनीतिबाट अलग गर्छ, आर्थिक क्षेत्रमा रहने एकाधिकारलाई राजनीतिक क्षेत्रमा रहने एकाधिकारबाट अलग गर्छ” भने । उनले त्यस विचारलाई “...बुर्जुवा सुधारवादी” विचार बताए । –(सामाज्यवाद र समाजवादी आन्दोलनमा फुट, १९१६) ।

३. राजनीतिक क्षेत्रमा अवसरवादीहरूद्वारा गरिएको संशोधनका विरूद्ध लेनिनको सङ्घर्ष:

अवसरवादीहरूले जसरी दर्शन, अर्थशास्त्रको क्षेत्रमा मार्क्सवादको संशोधन गरे त्यसै गरेर राजनीतिको क्षेत्रमा पनि संशोधन गरे । जस्तो कि लेनिनले भनेका छन् “राजनीतिको क्षेत्रमा संशोधनवादले मार्क्सवादको आधार अर्थात् वर्ग सङ्घर्षको शिक्षामा संशोधन गर्ने प्रयत्न गर्‍यो ।” (मार्क्सवाद र संशोधनवाद)

अवसरवादीहरूले पूँजीवाद अन्तर्गत उपलब्ध राजनीतिक स्वतन्त्रता, जनवाद र सार्विक मताधिकारले समाजमा वर्ग सङ्घर्षको आधार समाप्त गरेको कुरा बताए । वर्ग सङ्घर्षलाई स्वीकारे पनि उनीहरूले वर्ग सङ्घर्ष सम्बन्धी बुर्जुवा सोचाइलाई तोड्न सकेनन् । स्वाभाविक रूपमा उनीहरूले मार्क्सको “वर्ग सङ्घर्षले अन्ततोगत्वा सर्वहारा अधिनायकत्वतर्फ लैजान्छ” (वेडेमेयरलाई पत्र) भन्ने आधारभूत प्रस्थापनाको परित्याग गरे — सर्वहारा अधिनायकत्वको परित्याग गरे । संशोधनवादीहरूले राज्यसम्बन्धी मार्क्सवादी शिक्षाको सारलाई परित्याग गरे । जनवादमा बहुमतको इच्छा प्रभुत्वशील हुने भएकोले राज्यलाई वर्गीय प्रभुत्वको उपकरणको रूपमा हेरिनु हँुदैन भन्ने उनीहरूको भनाइ रह्यो । स्वाभाविक परिणामको रूपमा उनीहरू सर्वहारा क्रान्तिको हिसात्मक बाटोबाट विचलित भए । त्यसका लागि केही तथ्यहरूतिर जाऔँ:

संशोधनवादका पिता बर्न्सटिनले पूँजीवाद अन्तर्गत प्राप्त राजनीतिक स्वतन्त्रता, जनवाद र सार्विक मताधिकारलाई ठूलो उपलब्धिको रूपमा लिए । उनले त्यसबाट हिंसात्मक क्रान्ति र क्रान्तिपछि परानो राज्ययन्त्रको नष्टीकरणलाई अनावश्यक बताए । उनले पूँजीवादी संसदीय प्रणालीमा मतदानको अधिकार, राजकीय कार्यहरूमा बिना भेदभाव सबै नागरिकहरूको अधिकार हुने भएकोले समाजवाद शान्तिपूर्ण रूपबाटै अर्थात् भोट, प्रदर्शन र यस्तै अन्य कुनै सुधार आन्दोलनको दबाब दिएर ल्याउन सकिने कुरा बताए । जस्तो कि उनले भनेका थिए: “समाजवाद अहिले हामी मत, प्रदर्शनहरू र यस्तै सुधारहरूका दबाबहरूबाट ल्याइरहेछौँ, जुन एक सय वर्ष अगाडि खुनी क्रान्तिबाट ल्याइन्थ्यो ।”

बर्न्सटिनको उपर्युक्त विचारको आलोचना गर्दै लेनिनले भनेका थिए “वरोटिनले प्रत्यक्षत मार्क्सवादको क्रान्तिकारी पक्षलाई गौण गर्ने कुरा स्वीकारे र स्वीकार्छन् । तिनीहरूले संसदीय सङ्घर्षलाई निश्चित ऐतिहासिक अवधिमा सुहाउने खालको सङ्घर्षको खास हतियार हो भन्ने कुरालाई मान्दैनन् । तर त्यसलाई सङ्घर्षको मुख्य र सम्पूर्ण रूप जसले “शक्ति” “कब्जा” “अधिनायकत्व” लाई अनावश्यक बनाउँछ भन्ने ठान्छन् ।” (क्याडेटको विजय र मजदुरहरूको कार्य)

लेनिन “संशोधनवादको आर्थिक तथा राजनीतिक प्रवृतिहरूको स्वाभाविक पूरक समाजवादी आन्दोलनको अन्तिम लक्ष्यप्रति त्यसको रवैया” मान्थे त्यस अनुसार उनले बर्न्सटिनको “अन्तिम लक्ष्य केही होइन, आन्दोलन नै सबै कुरा हो भन्ने भनाइ थुप्रै लामा भाषणहरूको अपेक्षा बढी राम्ररी” संशोधनवादी सारलाई अभिव्यक्त गर्ने कुरा बताए ।

पछि गएर काउत्स्कीले पनि बर्न्सटिनको त्यही संशोधनवादी बाटोलाई आत्मसात् ग¥यो, उसले बुर्जुवा प्रणालीमा “वर्गसङ्घर्षहरूलाई निप्टारा गर्न, सशस्त्र सङ्घर्षलाई ठाउँ छैन, हिंसात्मक राजनीतिक रूपबाट सत्ता परिवर्तनको कुरा गर्नु हास्यास्पद हुनेछ” भन्यो । उसले लेनिन र बोल्शेभिक पार्टीलाई “एउटा त्यस्तो अधीर सुडेनी जसले गर्भिणी महिलालाई नौ महिनामा होइन पाँचौ महिनामा बच्चा जन्माउन हिंसाको प्रयोग गर्छिन्” को रूपमा चित्रण गर्‍यो ।

अर्को एक ठाउँमा काउस्कीले भनेको छ:

“संसदीय गणतन्त्र — बेलायतको जस्तो राजतन्त्र शिखरमा (तष्उ) भएको जस्तो वा त्यो भन्दा बेग्लै— मेरो विचारमा सर्वहारा अधिनायकत्व र समाजवादी समाज पैदा हुने आधार हो । यो गणतन्त्र भविष्यको राज्य हो, जसतिर बढ्न हामीले प्रयत्न गर्नु पर्छ ।”

लेनिनले काउत्स्कीको यस सोचाइलाई “अरू केही नभएर शुद्ध र अघोर भद्दा अवसरवाद हो, जसले व्यवहारमा क्रान्तिको परित्याग गर्छ र शब्दमा त्यसलाई मान्दछ” भने । (राज्य र क्रान्ति) उनले बुर्जुवा शासन प्रणालीमा सर्वहाराले चुनाउमा बहुमत ल्याएर सत्ता जित्नु पर्छ भन्ने काउस्कीको सोचाइलाई ‘दुर्जन बेकुफ’ तर्क बताए । हिंसात्मक क्रान्तिको माध्यमबाट स्थापना गरिने र कायम गरिने सर्वहारा अधिनायकत्वको परित्याग सम्बन्धमा काउस्कीले त्यति बेलासम्मको विश्व रिकर्ड तोडेको कुरा पनि उनले बताए ।

४. रसियाली ‘अर्थवादीहरू’ का विरूद्ध लेनिनको सङ्घर्ष:

रसियाली ‘अर्थवादीहरू’ का विरूद्ध लेनिनले चलाएको सङ्घर्षको उल्लेख नगरे अवसरवादका विरुद्धको सङ्घर्षको चर्चा अधूरो रहन्छ । रुसको मजदुर आन्दोलनमा त्यति बेला (सन् १९०० को वरपर) अर्थवादी प्रवृत्ति जोडदार रूपमा अगाडि आइरहेको थियो । अर्थवादीहरूले (१) मजदुर वर्गलाई राजनीतिक सङ्घर्षबाट अलग राख्ने र मजदुर र पूँजीपति बीचको सङ्घर्षलाई कारखानाभित्रको सङ्घर्ष सम्म मात्र सीमित गर्ने, (२) मजदुर आन्दोलनमा स्वतस्फूर्त प्रक्रियाको प्रशंसा गर्ने र त्यसमा पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने कुराको विरोध गर्ने, (३) स्वयंस्फूर्त मजदुर आन्दोलनको पूजा गर्ने र चेतनाको महत्त्वलाई कम गर्ने, (४) समाजवादी विचारधारा मजदुर वर्गको स्वयंस्फूर्त आन्दोलनबाट उत्पन्न हुन सक्छ भने, (५) पूँजीवादबाट मजदुर वर्गको मुक्तिको लागि सामाजिक क्रान्तिको पार्टी होइन, सामाजिक सुधारको पार्टीको वकालत गर्ने जस्ता कामहरू गरे ।

रसियाली अवसरवादीहरूद्वारा अघि सारिएको यस सोचाइलाई लेनिन विश्व संशोधनवादको एउटा अभिन्न अङ्ग ठान्थे । उनले अर्थवादीहरूलाई पश्चिमी युरोपियाली सामाजिक–जनवादी पार्टीहरूभित्र रहेका संशोधनवादीहरू, अवसरवादी वर्न्सटिनका अनुयायीहरूका साथीहरू हुन भने । उनले रसियन अवसरवादीहरूले पनि पश्चिमी युरोपियाली अवसरवादीहरूले जस्तै क्रान्तिकारी सङ्घर्ष, समाजवाद र सर्वहारा वर्गको अधिनायकत्वको परित्याग गरेको कुरा बताए । उनले इस्क्रामा र खासगरेर के गर्ने ? पुस्तकमा अर्थवादी दर्शनमाथि जोडदार हमला गरेर त्यसलाई धुजा धुजा पारे ।

मजदुर वर्गलाई राजनीतिक सङ्घर्षबाट विमुख गर्ने र मालिकहरू र सरकारलाई त्यसै जोगाएर (आर्थिक सङ्घर्षसम्म मात्र सीमित गर्ने) राख्ने सोचाइले मजदुरहरूलाई सधैँका लागि दासत्वमा जाक्छ ।

लेनिनले उक्त पुस्तकमा “अर्थवादी” सोचाइको वैज्ञानिक रूपबाट खण्डन गर्दै के कुरा बताए भने अर्थवादीहरूको — (१) मजदुर वर्गलाई राजनीतिक सङ्घर्षबाट विमुख गर्ने र मालिकहरू र सरकारलाई त्यसै जोगाएर (आर्थिक सङ्घर्षसम्म मात्र सीमित गर्ने) राख्ने सोचाइले मजदुरहरूलाई सधैँका लागि दासत्वमा जाक्छ । जारशाहीलाई पन्छाएर समाजवादका लागि बाटो साफ गर्न मजदुर वर्गको तत्कालीन अभिभारा हो । (२) मजदुर र आन्दोलनमा स्वयंस्फूर्त प्रक्रियाको प्रशंसा गर्ने र पार्टी नेतृत्वलाई अस्वीकार गर्ने सोचाइ पुच्छरवाद हो । (३) स्वयंस्फूर्त आन्दोलनको पूजा गर्ने र चेतनाको महत्त्वलाई, समाजवादी चेतना र समाजवादी सिद्धान्तको महत्त्वलाई तुच्छ सम्झने सोचाइले पहिलो, चेतनातर्फ लागेका मजदुरहरूको अपमान गर्छ भने दोस्रो सिद्धान्तको मूल्यलाई कम गर्छ । यसो गरेर अर्थवादीहरू पूरै अवसरवादको दलदलमा फसे । (४) मजदुर वर्गको स्वयंस्फूर्त आन्दोलनबाट समाजवादी विचारधारा उत्पन्न हुनसक्छ भन्ने सोचाइले पूँजीवादी विचारधारको लागि बाटो तयार गर्दछ । समाजवादी विचारधारा स्वयंस्पूmर्त आन्दोलनबाट होइन विज्ञानबाट उत्पन्न हुन्छ । (५) मजदुर वर्गको मुक्तिको लागि सामाजिक क्रान्तिको बाटोको विरोध गर्ने र सामाजिक सुधारको बाटोको वकालत गर्ने विचारले सर्वहारा वर्गका मूल हितहरू प्रति गद्दारी गर्छ ।

मजदुर वर्गको मुक्तिको लागि सामाजिक क्रान्तिको बाटोको विरोध गर्ने र सामाजिक सुधारको बाटोको वकालत गर्ने विचारले सर्वहारा वर्गका मूल हितहरू प्रति गद्दारी गर्छ ।

५. संशोधनवाद: मजदुर आन्दोलनमा परेको बुर्जुवा प्रभावको प्रतिविम्ब:

लेनिन संशोधनवादलाई मजदुर आन्दोलनभित्र घुसेका २/४ जना अवसरवादी नेताहरूको दिमागको उपज ठान्दैन थिए । उनले यसप्रकारका विचलनहरू कुनै व्यक्ति वा पार्टीका कमजोरीहरू नभएर आर्थिक प्रणाली र पूँजीवादी देशहरूको विकासका स्वाभाविक परिणाम ठान्थे । उनले भनेका छन्: “संशोधनवादको अनिवार्यता आधुनिक समाजमा त्यसको वर्गीय आधारहरूको कारण हो ।” (मार्क्सवाद र संशोधनवाद)

पूँजीवादको साम्राज्यवादमा भएको विकासले मजदुरहरूबीच एउटा विशेषाधिकार हिस्सा पैदा भयो । त्यो हिस्साले मजदुर वर्गको एउटा विशाल हिस्साका विरूद्ध आफूलाई राख्ने र पूँजीपति वर्गको सेवा गर्ने काम गर्‍यो । साम्राज्यवादमा पूँजीपति वर्गले औपनिवेशिक, अर्ध–औपनिवेशिक वा नव–औपनिवेशिक शोषण तथा स्वयं आफ्नै देशका मेहनतकश जनताको शोषणबाट प्राप्त अत्यधिक अतिरिक्त मूल्यको एउटा हिस्सा केही उच्च तहका मजदुरहरूलाई आफ्नो बसमा राख्न प्रयोग गर्दै आएको छ । लेनिनले यस प्रकारको अत्यधिक मुनाफा “मजदुर आन्दोलनभित्र अवसरवादको आर्थिक आधार हुन्छ” भनेका छन् । उनका अनुसार “श्रम कूलीनतन्त्र संशोधनवादको मुख्य आधार हो ।” (कम्युनिस्ट अन्तर्राष्ट्रियको दोस्रो महाधिवेशनमा आधारभूत कार्यहरूका बारे प्रस्थापनाहरू, १९२०)

लेनिन मजदुर आन्दोलनमा संशोधनवाद गहन हुँदै जानुमा वुर्जुवाहरूको टेढोमेढो (zigzag) नीतिको महत्त्वपूर्ण भूमिका रहेको मान्थे । बुर्जुवाहरूले मजदुर आन्दोलनलाई फटाउन सधैँ एकै प्रकारका नीतिहरू अपनाउने भए सर्वहारा वर्गलाई त्यसबाट रक्षात्मक उपाय अपनाउन सजिलो हुने थियो । तर उनीहरू त्यसो गर्दैनन् । उनीहरूले अलग–अलग समयमा अलग–अलग नीतिहरू अपनाउँछन् । यस सन्दर्भमा बुर्जवाहरूले खासगरेर दुइवटा नीतिहरू अपनाउने गरेका छन् । पहिलो, दमनात्मक र दोस्रो, साधारण छ । पहिलो नीति अपनाएको बेलामा मजदुर आन्दोलनमा अराजकतावादी वा पलायनवादी विचलन देखापर्छ भने दोस्रो नीति अपनाएको वेलामा सुधारवादी, अवसरवादी विचलन देखापर्छ । पूँजीवादको विकासको पछिल्ला दिनहरूमा पूँजीपति वर्गले आफ्नो स्वार्थको रक्षा पहिलो होइन, दोस्रो खाले नीतिलाई अपनाएर गर्न सकिन्छ भन्ने कुरा व्यवहारबाट बुझ्यो । सामाजिक सुधार पूँजीवादको विशिष्ट विशेषता बन्दै गयो । यस अवस्थामा सामाजिक सुधारवाद या समाजवादी क्रान्तिको स्थिति देखापर्नु स्वाभाविकै थियो । यसबाट उनले सुधारवाद र क्रान्तिकारी सामाजिक–जनवादीबीच मजदुर आन्दोलनभित्रको सङ्घर्ष “सम्पूर्ण आर्थिक र राजनीतिक अवस्थामा आएको यही परिवर्तनको” अनिवार्य परिणाम हो भन्ने निष्कर्ष निकाले ।

लेनिनले के कुरामा जोड दिए भने मजदुर आन्दोलनभित्र संशोधनवादलाई कमजोर पार्न बुर्जुवा विश्व दृष्टिकोणका विरूद्धको सङ्घर्षमा ध्यान केन्द्रित गर्नुपर्छ ।

लेनिनले अर्को के कुरा पनि प्रष्ट गरे भने संशोधनवाद मजदुर आन्दोलनमा पर्ने बुर्जुवा विश्व दृष्टिकोणको असरको पैदावार हो । त्यसकारणले, उनले के कुरामा जोड दिए भने मजदुर आन्दोलनभित्र संशोधनवादलाई कमजोर पार्न बुर्जुवा विश्व दृष्टिकोणका विरूद्धको सङ्घर्षमा ध्यान केन्द्रित गर्नुपर्छ ।

६. संशोधनवादले बुर्जुवाहरूको हित साधनाको निम्ति सर्वहाराको हितलाई वलिदान गर्छ:

लेनिनले संशोधनवादले बुर्जुवाहरूको हित साधनाको निम्ति सर्वहाराको हितलाई बलिदान गर्छ भनेका छन् । उनले संशोधनवादीहरू मजदुर आन्दोलनभित्र घुसेका पूँजीवादका दलाल हुन् भन्ने कुरा बताएका छन् ।

लेनिन के कुरा मान्छन् भने सैद्धान्तिक रूपबाट मार्क्सवादले बुर्जुवा सिद्धान्तमाथि विजय हासिल गरिसकेको छ । यसको प्रमाणको रूपमा उनले संशोधनवादको उदयको तथ्यलाई पेश गरेका छन् । जतिबेलासम्म मार्क्सवाद र बुर्जुवा सिद्धान्त बीचको सङ्घर्षमा कसले जित्छ भन्ने टुङ्गो लागिसकेको थिएन बुर्जुवाहरूका लागि त्यतिबेलासम्म बुर्जुवा बुद्धिजीवी, सिद्धान्तकार र नेताहरूले मार्क्सवादमाथि खुल्ला रूपबाट नै आक्रमण गर्थे । त्यो अवस्थामा सर्वहारा आन्दोलनभित्र बुर्जुवा हितहरूका प्रतिनिधिहरूको कुनै आवश्यकता थिएन । त्यस सङ्घर्षमा आफ्नो पराजयपछि बुर्जुवाहरूले मार्क्सवादमाथि खुल्ला रूपबाट होइन स्वयं त्यसभित्र छिपेर त्यसको आधारलाई कमजोर पार्ने कोशिस गर्न थाले । यसरी बुर्जुवाहरूको छिपेर (मजदुर आन्दोलनभित्र छिपेर) मार्क्सवादमाथि आक्रमण गर्ने स्थिति (उनीहरूको बाध्यता) को अर्थ (एउटा मोर्चामा सैद्धान्तिक मोर्चामा) बुर्जुवा वर्गमाथि सर्वहारा वर्गको विजय हो भन्ने निष्कर्षमा उनी पुग्छन् ।

अवसरवादीहरूले “नयाँ” तर्क र “नयाँ” कारणहरू अगाडि सारेर मार्क्सका सिद्धान्तहरू “अपर्याप्त” र “बेकम्मा” भए भन्ने कुरा अघि सारिरहेको सन्दर्भमा लेनिन के भन्थे भने उनीहरूको ती “नयाँ” तर्क र “नयाँ” कारणहरू अरू केही नभएर बुर्जुवाहरूलाई दिइएका छुटहरू थिए । उनले ती “नयाँ” तर्क र “नयाँ” कारणहरू दिएर संशोधनवादीहरू विसर्जनको बाटोलाई उचित बताउने प्रयत्न गर्दै थिए वा मार्क्सवादको वर्ग सङ्घर्ष, सर्वहारा अधिनायकत्व, सर्वहारा जनतन्त्रलाई अस्वीकार गरेर वास्तवमा बुर्जुवाहरूको हित साधनाको निम्ति सर्वहाराको हितलाई बलिदान दिँदै थिए । संशोधनवादीहरूले मार्क्सवादको क्रान्तिकारी सारतत्वलाई परित्याग गरेर पूँजीपति वर्गको सहमति भएको मध्ययुगको आलोचना सामान्य रूपमा र पूँजीवादको प्रगतिशील चरित्र र खासगरेर पूँजीवादी जनतन्त्रको कुराहरूलाई नै मार्क्सवादको आत्माको रूपमा प्रस्तुत गरेको तथ्यलाई दृष्टिगत गरेर नै लेनिन यो निष्कर्षमा पुगेका थिए संशोधनवादले बुर्जुवा वर्गको हित साधनाको निम्ति सर्वहारा वर्गको हितको वलिदान गर्छ ।

७. अवसरवादका विरूद्धको सङ्घर्षमा केही समस्याहरू:

लेनिनले अवसरवादका विरूद्धको सङ्घर्षलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने क्रममा कैयन् समस्याहरूको सामना गर्नपर्ने कुराको चर्चा गरेका छन् । उनका अनुसार यो समस्या मुख्यतः अवसरवादको आधारभूत चरित्रबाट पैदा हुन्छ । आखिर त्यो के कारण हो जसले गर्दा अवसरवादका विरूद्धको सङ्घर्षलाई अगाडि बढाउन समस्या पैदा हुन्छ ? अवसरवादको सिद्धान्तहिनता र छेपारे चरित्र नै त्यो मुख्य कारण हो, जसबाट त्यसका विरूद्ध सङ्घर्षलाई अघि बढाउन जनतामा र एक निश्चित हदसम्म कार्यकर्ताहरूमा त्यसको वास्तविकता प्रष्ट गर्न कठिनाइको सामना गर्नुपर्ने हुन्छ । जस्तो कि प्रसिद्ध कृति ‘के गर्ने ?’ मा लेनिनले लेखेको छन्: “अवसरवादीले आफ्नो नाम कुनै पनि सूत्रमा राख्न सक्छ र त्यसलाई छाड्न पनि तयार हुन्छ । किनभने अवसरवादको प्रष्ट रूपबाट कुनै निश्चित र दृढ सिन्द्वान्त भन्ने कुरो नै हुँदैन ।”

“अवसरवादीले आफ्नो नाम कुनै पनि सूत्रमा राख्न सक्छ र त्यसलाई छाड्न पनि तयार हुन्छ । किनभने अवसरवादको प्रष्ट रूपबाट कुनै निश्चित र दृढ सिन्द्वान्त भन्ने कुरो नै हुँदैन ।”

संशोधनवाद विरूद्धको सङ्घर्षलाई प्रभावकारी रूपबाट अघि बढाउन अर्को के कुराले बाधा पार्छ भने त्यसले हमेसा कुरा मार्क्सवादी गर्छ । कुरामा त्यो मार्क्सवादी हुन्छ र व्यवहारमा अवसरवादी । यस चरित्रले त्यसलाई परास्त गर्न एउटा अर्थमा परिणामलाई पर्खनुपर्ने हुन्छ ।

८. संशोधनवाद विरूद्ध सम्झौताहीन सङ्घर्ष अघि बढाउन आवश्यक:

बुर्जुवाहरूले मजदुर आन्दोलन र त्यसको अन्तिम लक्ष्यको खुल्ला विरोध गर्नुभन्दा त्यसभित्रका अवसरवादी तत्त्वहरूलाई उपयोग गर्नु बढी फाइदाजनक हुने कुरा बुझेका छन् । त्यसबाट विश्व मजदुर आन्दोलनमा संशोधनवादबाट पुग्न जाने अल्पकालीन तथा दीर्घकालीन असर प्रष्ट हुन्छ । त्यसबाट अर्को के कुरा एकदम प्रष्ट हुन्छ भने संशोधनवादका विरूद्ध सम्झौताहीन सङ्घर्ष नचलाई सर्वहारा आन्दोलनको शुद्धताको रक्षा गर्न कदापि सकिँदैन । लेनिन संशोधनवादको तर्फबाट सर्वहारा आन्दोलनमा देखापर्ने यस समस्यालाई दीर्घकालीन समस्याको रूपमा हेर्थे । त्यस्तै, स्वाभाविक रूपमा उनले त्यो समस्याको निवारण पनि दीर्घकालमा नै हुन सक्ने कुरा मान्थे ।

लेनिन अवसरवादीहरूसित सम्झौता गरेर, एकता गरेर संशोधनवाद विरोधी सङ्घर्षलाई अघि बढाउन सकिन्छ भन्ने कुराको पूर्णतः विरूद्ध थिए । उनले अवसरवादी, सुधारवादी र बुर्जुवा प्रभाव एवं प्रकृतिहरूका विरूद्ध सम्झौताहीन सङ्घर्ष नचलाई सर्वहारा वर्गले आफ्नो सत्ता स्थापना गर्न वा त्यसलाई टिकाउन सक्तैन भनेर स्पष्ट गरेका छन् ।

लेनिन अवसरवादीहरूसित सम्झौता गरेर, एकता गरेर संशोधनवाद विरोधी सङ्घर्षलाई अघि बढाउन सकिन्छ भन्ने कुराको पूर्णतः विरूद्ध थिए ।

लेनिनले मजदुर आन्दोलनको माथिल्लो स्तरका वा अवसरवादीहरूको अल्पमतलाई बहुमत इमानदार मजदुरहरूबाट अलग गरेर, उनीहरूलाई संशोधनवाद विरूद्धको महान् सङ्घर्षमा प्रत्यक्ष रूपबाट सहभागी बनाएर नै त्यो सङ्घर्षमा क्रान्तिकारीहरूले विजय प्राप्त गर्न सक्ने कुरा बताएका छन् ।

लेनिन संशोधनवादलाई कुनै एउटा वा दुईवटा देशहरूको मात्र समस्या मान्दैनन । जस्तो, उनले भनेका छन्: “संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो ।” त्यो “सबै देशहरूमा आधुनिक विभिन्नताहरूका बाबजुद सर्वत्र सारत: एकै प्रकारको छ ।” (मार्क्सवाद र संशोधनवाद) यो वस्तुगतले विश्वस्तरमा नै संशोधनवाद विरूद्धको सङ्घर्षलाई अघि बढाउनुपर्ने आवश्यकता प्रष्ट हुन्छ । यसबाट अर्को एउटा के कुरा प्रष्ट हुन्छ भने विश्वका कुनै पनि कम्युनिस्ट पार्टीभित्र देखा पर्ने अवसरवादी विचार र प्रवृत्तिलाई दुनियाभरका क्रान्तिकारी कम्युनिस्टहरूले आफ्नै समस्या सम्झेर त्यसका विरूद्ध सङ्घर्ष चलाउनुपर्छ ।

९. सिद्धान्तमा दृढता:

लेनिन संशोधनवाद विरूद्धको सङ्घर्षमा मार्क्सवादलाई विकसित, बनाउनुपर्छ र सकिन्छ भन्थे । उनले मजदुर आन्दोलनमा देखापर्ने संशोधनवाद वा तमाम प्रकारका अवसरवादी सोचाइहरूबाट मार्क्सवाद कमजोर होइन अरू विकसित हुन्छ भन्ने कुरा मान्थे । संशोधनवाद विरोधी सङ्घर्षमा उनले होसियारी गराएको कुरा के हो भने त्यस सङ्घर्षमा हामीले सिद्धान्तको प्रश्नमा कहिल्यै सम्झौता गर्नु हुन्न, सिद्धान्तको प्रश्नमा अलिकता पनि छूट दिनु हुन्न । संशोधनवाद विरोधी सङ्घर्षमा सैद्धान्तिक शुद्धताको रक्षामा लेनिनले कति जोड दिन्थे भन्ने कुरा उनको यस भनाइले प्रष्ट गर्छ; “संशोधनवादको “सङ्कटको गाभीर्य र यसलाई हटाउनुपर्ने आवश्यकतालाई बझेर एक भएका सबै मार्क्सवादीहरूका निम्ति मार्क्सवादको सैद्धान्तिक आधारहरू र यसका आधारभूत प्रस्थापनाहरूको रक्षा, जुन पूर्णतः विपरीत दिशाबाट मार्क्सवादका ‘सहयात्रीहरू’ मा बुर्जुवाहरूको प्रभावद्वारा विकृत गरिएका छन्भन्दा अर्को बढी महत्त्वको केही चिज छैन ।” (मार्क्सवादको ऐतिहासिक विकासका केही विशेषताहरू, १९१०) यस शर्तको पालना गरेरनै संशोधनवाद विरूद्धको सङ्घर्षमा मार्क्सवादको सृजनात्मक विकास गर्न सकिन्छ ।

१०. लेनिन र त्यसपछि:

उल्लेखनीय छ, संशोधनवाद साम्राज्यवादको पैदावार हो । लेनिनवाद भनेको साम्राज्यवादी युगको मार्क्सवाद हो । आज पनि विश्वको यो चरित्र आधारभूत रूपमा उही छ, त्यसमा परिवर्तन भएको छैन । यो वस्तुगतताले दुइवटा कुराहरू बताउँछ । एउटा कुरा, संशोधनवाद लेनिनको समयका लागि मात्र होइन, उनको मृत्युदेखि आज र भविष्यमा एउटा लामो कालसम्मको विश्व कम्युनिस्ट आन्दोलनका लागि समस्याको रूपमा छ, र रहने छ । दोस्रो कुरा, लेनिनवाद लेनिनको समयमा पैदा भएको संशोधनवादको विरूद्ध सङ्घर्ष चलाउने अचूक हतियार मात्र थिएन । त्यो आधुनिक र भविष्यमा देखा पर्ने संशोधनवादको विरूद्ध सङ्घर्ष गर्नका लागि पनि क्रान्तिकारी कम्युनिस्टहरूका हातको अपराजेय हतियार बनेको छ र बन्ने छ ।

संशोधनवाद लेनिनको समयका लागि मात्र होइन, उनको मृत्युदेखि आज र भविष्यमा एउटा लामो कालसम्मको विश्व कम्युनिस्ट आन्दोलनका लागि समस्याको रूपमा छ, र रहने छ ।

लेनिनको मृत्युपछि सोभियत सङ्घको कम्युनिस्ट पार्टी लगायत दुनियाँभरका कम्युनिस्ट पार्टीहरूभित्र देखापर्ने तमाम प्रकारका अवसरवादी, सुधारवादी विचार र प्रवृत्तिहरूका विरूद्ध क्रान्तिकारी कम्युनिस्टहरूले अवसरवादका विरूद्ध लेनिनले चलाएको सङ्घर्षको आलोकमा नै सङ्घर्ष चलाए र चलाउँदै आएका छन् ।

त्यस सन्दर्भमा ट्राटस्की, बुखारिन र युगोस्लाभियाली अवसरवादका विरूद्ध स्टालिनले चलाएको सङ्घर्ष जगजाहेर छ, अझ विशेष गरेर स्टालिनको निधनपछि आधुनिक संशोधनवादका विरूद्ध माओको नेतृत्वमा दुनियाँभरका क्रान्तिकारी साम्यवादीहरूले चलाएको सङ्घर्ष विशेषरूपले उल्लेखनीय छ ।

संशोधनवादको उत्पत्तिदेखि आजसम्मका सबै संशोधनवादीहरूको आधारभूत चरित्र के हो भने कुनै न कुनै बहानामा उनीहरू सवैले वर्ग सङ्घर्ष, सर्वहाराको अधिनायकत्व, राज्यको वर्गगत चरित्र सर्वहारा जनतन्त्रको विरोध गर्छन् ।

लेनिनको मृत्युदेखि आजसम्म अवसरवादीहरूले जति पटक पनि मार्क्सवादमा संशोधनका प्रस्तावहरू ल्याएका छन् तिनीहरूमा मौलिकता छैन । उनीहरूले आफ्ना संशोधन प्रस्तावहरूको औचित्य सिद्ध गर्न जुन “नयाँ” परिस्थितिहरूको उदाहरण दिन्छन् ती बर्न्सटिन, काउत्स्कीले उनीहरूको ‘संशोधन’ प्रस्तावहरूलाई उचित ठहर्‍याउन पेश गरेका तथ्यहरूभन्दा मूलतः भिन्न हुँदैनन् । ब्राउडर, टिटो खुस्चोभ, तेङ सियाओ–पिङले तिनै तर्कहरू अघि सारेर मार्क्सवादमा संशोधन आवश्यक भएको बताए जुन तर्कहरूलाई धेरै पहिले बर्न्सटिन र काउत्स्कीले अघि सारेका थिए ।

संशोधनवादको उत्पत्तिदेखि आजसम्मका सबै संशोधनवादीहरूको आधारभूत चरित्र के हो भने कुनै न कुनै बहानामा उनीहरू सवैले वर्ग सङ्घर्ष, सर्वहाराको अधिनायकत्व, राज्यको वर्गगत चरित्र सर्वहारा जनतन्त्रको विरोध गर्छन् । लेनिनको निधनको केही दशकपछिका संशोधनवादीहरूको विचारको उनीहरूका निकट पूर्वजहरूसितको अनुरूपताको कुरा छाडिदिउँ, वर्तमान समयका संशोधनवादीहरूले समेत एक सय वर्ष पुरानो आफ्नो पर्वज बर्न्सटिनसित नाता तोड्न सकेका छैनन् ।

आज बहुदलीय जनवादको कुरा निकै उठिरहेको छ । भोट, प्रदर्शन र यस्तै अन्य दबाबका आन्दोलनहरूबाट समाजवाद ल्याउने प्रत्याभूति दिइँदैछ । वर्ग समन्वयद्वारा वर्ग सङ्घर्षलाई प्रतिस्थापित गरिँदैछ । सर्वहारा अधिनायकत्वलाई विश्व समाजवादी व्यवस्थाको विघटनको लागि मुख्य रूपले जिम्मेवार बताइदैछ । सर्वहाराको वर्ग सङ्घर्षमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई विघटन गर्ने माग उठिरहेको छ । सामाजिक क्रान्तिको पार्टीलाई सामाजिक सधारको पार्टीको रूपमा विघटन गरिँदैछ । सर्वहारा जनवादलाई बहुदलीय जनवादद्वारा प्रतिस्थापित गरिदैछ । राजनीतिको मातहत कार्यनीति होइन कार्यनीतिलाई नै सबैथोक मान्ने प्रवृत्ति बढेर गएको छ । सशस्त्र सङ्घर्षलाई संसदीय सङ्घर्षद्वारा प्रतिस्थापित गरिदै छ । आजका अवसरवादीहरूले उनीहरूका यी विचारहरूलाई जति सुकै “नयाँ” र परिवर्तित विश्वको “अनुरूप” बताए पनि, बर्न्सटिन र काउत्स्कीका हामीले माथि उद्दत गरेका केही मात्र कथनहरूको पुन: अध्ययनले पनि, उनीहरूको त्यसप्रकारको दाबी कति झूठा र निराधार छ, त्यो कुरा प्रमाणित हुन्छ ।

सर्वहारा अधिनायकत्वलाई विश्व समाजवादी व्यवस्थाको विघटनको लागि मुख्य रूपले जिम्मेवार बताइदैछ । सर्वहाराको वर्ग सङ्घर्षमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई विघटन गर्ने माग उठिरहेको छ । सामाजिक क्रान्तिको पार्टीलाई सामाजिक सधारको पार्टीको रूपमा विघटन गरिँदैछ ।

यसरी आधुनिक संशोधनवाद पुरानो संशोधनवादको नयाँ रूप भएकोले आज र भविष्यमा पनि दुनियभरका क्रान्तिकारी साम्यवादीहरूलाई संशोधनवाद विरूद्धको लेनिनको सङ्घर्षले पथ प्रदर्शन गर्छ । त्यसको आलोक बिना आज र भविष्यमा संशोधनवादको सङ्घर्षलाई प्रभावकारी रूपबाट अगाडि बढाउन सकिदैन । त्यसैले यस सन्दर्भमा अन्त्यमा हामी के भन्न चाहन्छौ भने लेनिनले देखाएको बाटो दृढतापूर्वक अघि बढौँ । लेनिनवाद, जिन्दावाद ।