दल विमुख शिक्षक : गलत भाष्यले जन्माएको भवितव्य ?

के नेपालको शिक्षा क्षेत्र राजनीतिले नै ध्वस्त भएको हो ?

पछिल्ला केही हप्तादेखि नेपालमा एउटा बहस सघन भएको छ– शिक्षक र कर्मचारीहरूलाई राजनीतिबाट विमुख गर्नेबारे । खासगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेदेखि उनी शिक्षकहरूलाई राजनीतिबाट अलग गर्ने एजेन्डा लागू गर्न कम्मर कसेर लागिपरेकी छिन् । त्यसका लागि उनले विद्यमान ऐनकानूनको दोषपूर्ण व्यवस्थालाई जसरी भए पनि लागू गराइछाड्ने ढङ्गले अघि बढेकी हुन्। उनको बुझाइमा नेपालमा शिक्षा क्षेत्रको दुर्गति हुनुको सबैभन्दा मुख्य कारण नै शिक्षकहरू राजनीतिमा लाग्नु हो, विद्यार्थीहरूलाई राजनीतिमा सरिक गराउनु हो । त्यसैले शिक्षकहरूलाई राजनीति गर्न दिनु हुन्न र प्रकारान्तरले विद्यार्थीहरूलाई पनि राजनीतिबाट अलग गरिनुपर्छ भन्ने मान्यतामा उनी अघि बढेको देखिन्छ।

सोझो हेर्दा कुरा ठिक हो जस्तो लाग्छ । उनको यो तर्कमा आंशिक सत्यता पनि छ । तर, आंशिक सत्यताको आडमा शिक्षकलाई वा विद्यार्थीहरूलाई राजनीतिबाट अलग गर्ने, विमुख गर्ने कार्यको अन्तर्य भने निक्कै डरलाग्दो देखिन्छ ।

दृष्टिकोण खास कारण

शिक्षामन्त्री सुमना श्रेष्ठ र उनका पार्टीका अधिकांश नेता–हर्ताकर्ताहरूको राजनीतिक पृष्ठभूमि छैन । उनीहरू भिन्न पेसा र प्रवृत्तिका कामहरूबाट राजनीतिमा आइपुगेका हुन् । खासगरी, लामो समयदेखि राजनीतिमा थुप्रिएको र सङ्ग्रहित हुँदै आएको विकृतिहरूलाई पन्छाउनुको सट्टा त्यसको फोहोर आहालमा मूलधारका राजनीतिक पार्टी एवं तिनका नेताहरू चुर्लुम्म डुब्दै जाँदा जनताको ठूलो हिस्सामा ‘राजनीति’ शब्द र कर्मप्रति नै भयङ्कर वितृष्णा पैदा भएको हो । त्यही वितृष्णालाई पक्रेर राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका नेताहरू बलियोसँग उदाएका हुन् ।

अर्को शब्दमा भन्दा उनीहरू राजनीतिको परम्परागत प्रणालीमा आफूलाई अब्बल साबित गर्दै राजनीतिमा उदाएका होइनन् बरु, राजनीतिको परम्परागत प्रणालीमा उभिएका दलहरूका विरुद्ध जनतामा पैदा भएका वितृष्णा र निराशाको भाव भूमिमा उनीहरूको उदय भएको हो ।

https://moest.gov.np

अहिले सुमना श्रेष्ठले शिक्षामन्त्रीको हैसियतले शिक्षकहरूलाई राजनीतिबाट विमुख गर्ने जुन कसरत गरिरहेकी छन्, त्यो उनको विरासत र पृष्ठभूमिका आधारमा गलत हैन । उनको राजनीतिक धरातलको आधारमा त्यो बुझाइ उनको लागि एकदमै सही र उचित छ । तर, उनी जुन निष्कर्षमा पुगेकी छिन् उनमा त्यस्तो दृष्टिकोण विकास हुनुको कारण उनको दृष्टि दोष हो ।

यस पृष्ठभूमिमा, अहिले सुमना श्रेष्ठले शिक्षामन्त्रीको हैसियतले शिक्षकहरूलाई राजनीतिबाट विमुख गर्ने जुन कसरत गरिरहेकी छन्, त्यो उनको विरासत र पृष्ठभूमिका आधारमा गलत हैन । उनको राजनीतिक धरातलको आधारमा त्यो बुझाइ उनको लागि एकदमै सही र उचित छ । तर, उनी जुन निष्कर्षमा पुगेकी छिन् उनमा त्यस्तो दृष्टिकोण विकास हुनुको कारण उनको दृष्टि दोष हो । अनि त्यस्तो दृष्टि दोष उत्पन्न हुनुको कारण चाहिँ उनमा रहेको राजनीतिक विरासतको अभाव हो ।

भुल्नै नहुने केही कुरा

सार्वभौम सत्य के हो भने अहिले हामीले उपभोग गरिरहेको राजनीतिक प्रणालीको पृष्ठभूमिमा शिक्षक राजनीति र विद्यार्थी राजनीतिको ठूलो योगदान रहेको कुरालाई च्याट्टै मेट्ने र बिर्सने कसरत भइरहेको छ । हिजो पञ्चायती कालरात्रिमा राजनीतिको चेतना जगाउने र त्यसलाई फलाउने फुलाउने काममा सबैभन्दा बढी कसैको योगदान थियो भने त्यो शिक्षकहरूकै हो ।

त्यसैगरी, निरंकुशताको विरुद्धमा सबैभन्दा बढी र निर्णायक सङ्घर्ष कसैले गरेको थियो भने त्यो विद्यार्थीहरूले नै हो । त्यस बेला भए–गरिएका सङ्घर्ष, आन्दोलनहरूमा अरू वर्गहरूका साथसाथै शिक्षक एवं विद्यार्थी वर्गले पुराएको निर्णायक योगदानलाई कसैले चाहँदैमा र भन्दैमा मेटिने र मेट्न सकिने कुरा पक्कै होइन । नेपालमा भएका गौरवपूर्ण विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा शिक्षकहरूको कुन तहको अहम् भूमिका थियो भन्ने कुराको धेरै व्याख्या आवश्यक पर्दैन ।

शिक्षक वा विद्यार्थीलाई राजनीतिबाट विमुख गर्ने र कालान्तरमा राजनीतिक चेतनाबाट विमुख भएको पुस्ता जन्माउने खेल भइरहेको यहाँ बुझ्न गाह्रो छैन ।

यस पृष्ठभूमिमा, हिजोको पञ्चायतको सापेक्षतामा अहिलेको केही उन्नत र प्रगतिशील शासन व्यवस्थालाई नै सम्पूर्ण मान्ने र ठान्नेहरूका लागि शिक्षक एवं विद्यार्थी राजनीतिको उपादेयता सकिएको अनुभूत हुनु र त्यसलाई पूर्णतः निषेध गर्नको लागि टुप्पी कसेर लागिपर्नु कुनै अनौठो कुरा होइन । सबैभन्दा अनौठो कुरा त के हो भने, समाजवादी राज्यसत्ताको सपना बेचेर शासन सत्तामा तर मार्ने मौका पाइरहेको राजनीतिक दलहरूको यस विषयमा उदेकलाग्दो मौनता हो । सत्ता गठबन्धनको धराप समीकरण भत्कने डरले सत्तामा रहेका प्रगतिशील भन्ने दलहरू समेत मौनता साँधेर बस्नु स्वाभाविक लागिरहेको छैन । शिक्षक वा विद्यार्थीलाई राजनीतिबाट विमुख गर्ने र कालान्तरमा राजनीतिक चेतनाबाट विमुख भएको पुस्ता जन्माउने खेल भइरहेको यहाँ बुझ्न गाह्रो छैन । यो भनेको सत्ताकेन्द्रीत राजनीतिले सिर्जना गर्दै गइरहेको राजनीतिक दिवालियापनको द्योतक पनि हो ।

धान खाने मुसो, चोट पाउने भ्यागुतो

माथि नै उल्लेख गरिसकियो कि अहिले आम नागरिकमा देखिएको वितृष्णा भनेको परम्परागत राजनीतिक दलको नेतृत्व प्रति हो । तर, त्यसको आलोकमा जसरी  शिक्षकहरूलाई राजनीतिबाट विमुख गराउने प्रयत्न हुँदैछ यसले चर्चित नेपाली उक्ति ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ स्मरण गराएको छ ।  

अहिलेको कदमले अन्ततोगत्वा शिक्षकहरूको ट्रेड युनियनको अधिकारमाथि समेत धावा बोल्ने निश्चित छ । शिक्षकहरूको ट्रेड युनियनको अधिकार भनेको भ्रष्ट नेताहरूलाई बोक्ने र उनीहरूको आशीर्वादको आधारमा असक्षम शिक्षकहरू समेत राजनीतिको आधारमा जागिर खान पाउने औजार निश्चित रुपमा होइन । तर, अहिले ट्रेड युनियनको अधिकारको नाममा त्यसलाई सामूहिक हितको लागि परिचालित गर्ने संस्थाको रुपमा हैन, व्यक्तिको निजी हितरक्षा एवं सौदाबाजी गरेर माथि उक्लने भर्‍याङको रुपमा दुरुपयोग गर्ने जुन प्रवृत्ति विकसित भएको छ, त्यो निश्चय पनि गलत हो ।

राजनीतिक दलहरूले पनि त्यस्ता ट्रेड युनियनहरूलाई जसरी दुरुपयोग गरिरहेका छन्, वास्तवमा प्रहार त्यस प्रवृत्तिका विरुद्धमा हुनुपर्ने हो । निषेध र प्रतिबन्ध त्यसलाई मास्ने र रोक्ने दिशामा हुनुपर्ने हो । तर, अहिले ‘नरहे बाँस, नबजे बाँसुरी’ को शैलीमा सोझै शिक्षकहरूलाई नै राजनीतिक आबद्धता लिन नपाउने खालको निषेधको डन्डा चलाउन खोजिएको छ ।

भाष्यले ल्याएको भवितव्य

अहिले जसरी शिक्षकलाई राजनीतिबाट विमुख गर्ने, निरपेक्ष राख्ने कोसिस सुरु भएको छ, त्यसको अन्तर्यमा हाल सत्ता सुखभोग गरिरहेका नेपालका अधिकांश राजनीतिक दलहरूले राजनीतिक क्रान्ति पूरा भएको र आर्थिक क्रान्ति मात्र बाँकी रहेको भाष्यले पनि काम गरेको छ । वास्तवमा, नेपालमा राजनीतिक क्रान्ति पुरा भएको छैन ।

अहिलेका व्यवस्थाभित्रका विकृतिहरूको विरुद्ध तथा यसका वैकल्पिक शासन प्रणालीका लागि आवश्यक प्रगतिशील राजनीतिक परिवर्तनको लागि शिक्षक–विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ र हुनुपर्छ ।

शासनप्रणालीमा रुपगत हेरफेर देखिए पनि आधारभूत रुपमा बहुसङ्ख्यक जनताको हित गर्नेखालको राजनीतिक प्रणाली नेपालमा स्थापित भइसकेको छैन । अहिलेका राजनीतिक प्रणालीले आफ्ना सीमाभित्रकै कामकारबाहीहरू समेत पूरा गर्न सकेको छैन । यस अवस्थामा अहिलेका व्यवस्थाभित्रका विकृतिहरूको विरुद्ध तथा यसका वैकल्पिक शासन प्रणालीका लागि आवश्यक प्रगतिशील राजनीतिक परिवर्तनको लागि शिक्षक–विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ र हुनुपर्छ ।

तर, पुराना तथा नयाँ भनिएका राजनीतिक दुवै खालका दलहरूले यथास्थितिलार्ई जोगाउन जसरी राजनीतिक क्रान्ति सिद्धियो भनेर शिक्षकहरूको भूमिकालाई राजनीतिबाट विमुख गर्ने षड्यन्त्र भइरहेको छ, त्यसलाई चिर्न र बदल्न जरुरी छ । त्यसैले, शिक्षक एवं विद्यार्थीहरूलाई राजनीतिबाट निरपेक्ष राख्ने सोचाइलाई नेपालका प्रगतिशील शक्तिहरूले विरोध गर्नु पर्ने देखिन्छ ।

राजनीतिक आबद्धता र भद्रगोल फरक पाटो

नेपालको मूलधारको राजनीतिमा स्थापित अधिकांश नेताहरूको पृष्ठभूमि शिक्षककै रहेको कुरा यहाँ घतलाग्दो छ । राजनीतिक आन्दोलनको औचित्य सकिएको ठान्नेहरूका लागि अवश्य पनि शिक्षकहरूको भूमिका सकिएको र उनीहरूका लागि शिक्षकहरू राजनीतिबाट निरपेक्ष रहनुपर्छ भन्ने कुरा तर्कपूर्ण लाग्न सक्छ ।

पुरानो राज्यसत्ताकै संरचना, अवशेष र घङघङी बोकिरहेको वर्तमान राज्यसत्ता र त्यसका नेतृत्वलाई बोक्ने, आडभरोसा दिने र त्यसैलाई भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने हिसाबले जे-जसरी वर्तमान शिक्षक संगठन तथा आन्दोलनको ठूलो हिस्सा लागिपरेको छ, त्यो भने आफैँमा गलत छ ।

तर ,अझै पनि मुलुकको राजनीतिक प्रणाली आमजनताको हितसाधानको माध्यम बन्न नसक्ने, राज्यसत्ताको चरित्र पूर्णतः जनमुखी नरहेको पृष्ठभूमिमा शिक्षक र विद्यार्थीहरूको राजनीतिक भूमिकाको औचित्य अझै रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । पुरानो राज्यसत्ताकै संरचना, अवशेष र घङघङी बोकिरहेको वर्तमान राज्यसत्ता र त्यसका नेतृत्वलाई बोक्ने, आडभरोसा दिने र त्यसैलाई भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने हिसाबले जे-जसरी वर्तमान शिक्षक संगठन तथा आन्दोलनको ठूलो हिस्सा लागिपरेको छ, त्यो भने आफैँमा गलत छ ।

शिक्षकहरूले राजनीतिमा लाग्दा समग्र शिक्षा क्षेत्रको प्रगतिमा बाधक बन्न पुगेको देखिनु र ठानिनुको एउटा कारण यो पनि हो । त्यसमाथि राजनीतिक दलहरूको फेरो समातेर बसेका विद्यार्थी संगठनहरुले समेत आफ्नो आन्दोलनलाई न्याय र शिक्षा सुधारको लागि भन्दा चोर बाटोबाट आयआर्जन गर्ने, सामूहिक हितभन्दा व्यक्तिगत हितको लागि सौदाबाजीको साधन बनाउने चर्तिकलाले पनि विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रमा अधोगतिको हिस्सा बन्न पुगेको हो ।

यस अर्थमा शिक्षक–विद्यार्थी नेतृत्वले आफ्ना कर्महरूले आफ्ना कर्तव्य अर्थात् शिक्षाको क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकामा असर परे नपरेको बारे सचेत हुनु जरुरी छ । शिक्षक–विद्यार्थी राजनीतिमा लाग्नु र वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा विकृति देखिनु दुई नितान्त फरक कुरा हुन् । त्यसको अन्तर्य भनेको शिक्षकहरूमा हावी पुराना किसिमको राजनीतिक चिन्तन र आफ्नो कर्तव्यप्रति इमानदार र निष्ठावान् नहुनु नै हो ।

लामखुट्टे रोक्न झ्याल थुन्ने कि जाली लगाउने ?

एउटा चर्चित चिनियाँ भनाइ छ– घरमा लामखुट्टे आयो भनेर झ्याल ढोका पूरै थुन्ने होइन, त्यसमा जाली लगाउनु पर्छ । अहिले शिक्षाको खस्कँदो हालत देखाएर जसरी शिक्षक एवं विद्यार्थीहरूलाई राजनीतिबाट विमुख गर्ने कुरा माथिबाट थोपरिँदै छ, त्यसको सोझो अर्थ घरमा लामखुट्टे पस्यो भनेर झ्याल ढोका थुन्नु जस्तै हो । गर्नुपर्ने चाहिँ त्यसलाई रोक्ने विधि र संयन्त्रको विकास नै हो ।

शिक्षकहरूको राजनीतिकले के कसरी शिक्षा क्षेत्रमा अवरोध वा बाधा पुगेको छ, त्यसको पहिचान गर्ने र त्यसलाई रोक्ने संयन्त्रको विकास गर्नेबारे सोच्नु पर्छ । शिक्षकले आफ्नो मूल कर्तव्य निर्वाह गरेको छ कि छैन त्यसको निगरानी, खबरदारी र नियन्त्रण गर्ने प्रणालीको निर्माण गर्नुपर्छ । राजनीतिको आड भरोसामा शिक्षा क्षेत्रलाई अस्तव्यस्त र पङ्गु बनाउने कुरालाई बदल्नु पर्छ ।

शिक्षकहरूले राजनीतिक आस्था राखेका दलहरूले कर्तव्यच्यूत भएकाहरूलाई आफ्नो संगठनमार्फत् नै कारबाही गरिहाल्ने र उनीहरूमाथिको कारबाहीलाई बचाउ नगर्ने हो भने शैक्षिक क्षेत्रमा देखिएको अहिलेको भद्रगोलको अपजस राजनीतिले भोग्नुपर्ने हुँदैन ।

बुझ्नै पर्ने कुरा के हो भने, शिक्षक वा कर्मचारी राजनीतिमा लाग्नु तथा राजनीतिक आस्था बोकेर पेसागत संघसंगठनहरुमा आबद्ध हुन पाउनु उनीहरूको अधिकारको कुरा हो । त्यसैगरी, राजनीतिको आडमा पेशागत कर्तव्य निर्वाह नगर्नु तथा शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाउने वा भड्खालोमा जाक्ने काम गर्नु चाहिँ विशुद्ध अपराध हो । खासगरी, शिक्षकहरूले राजनीतिक आस्था राखेका दलहरूले कर्तव्यच्यूत भएकाहरूलाई आफ्नो संगठनमार्फत् नै कारबाही गरिहाल्ने र उनीहरूमाथिको कारबाहीलाई बचाउ नगर्ने हो भने शैक्षिक क्षेत्रमा देखिएको अहिलेको भद्रगोलको अपजस राजनीतिले भोग्नुपर्ने हुँदैन ।

तर, दुःखको कुरा के छ भने राजनीतिको मुहान नै खराब र प्रदूषित छ र राजनीतिक दलहरू नसुध्रिएसम्म यो समस्या हल हुन पनि सम्भव छैन । खासगरी, शिक्षकले राजनीतिक आस्था राख्नु र राजनीतिक आस्था राख्ने शिक्षकले आफ्नो कर्तव्यबाट च्युत हुनु दुई भिन्न प्रकृति र प्रवृत्तिका कुरा हुन् ।  यी दुईको भेद नछुट्याउने तथा तत्अनुसार सुधार–नियन्त्रणको व्यवस्था नगर्ने हो अनि एकोहरो शिक्षक राजनीतिमाथि प्रतिबन्ध लगाउने कुराको मात्रै वकालत गर्दै जाने हो भने भविष्यमा ‘राजनीति निरपेक्ष पुस्ता’ जन्मने निश्चित छ । त्यस अवस्थामा मुलुकको राजनीति जनता तथा मुलुकका समस्याहरूबारे भुइँतहसँगै जोडिएर बुझेकाको हातमा हैन, माथिबाट थोपरिएका सीमित टाठाबाठा ‘पपुलिस्ट जोकर’हरुको कब्जामा जाने सम्भावना बढ्नेछ । त्यो भनेको अहिलेको बाटो बिराएको, ‘डिरेल्ड’ अवस्था भन्दा पनि झनै खतरनाक हुने निश्चित छ ।