सभ्यता

उसले मुख्यान्जी भनिदियो, 'तिमी चाँडै रिसाउँछौ र सानो कुरामा खुसी हुन्छौ । काँचो  कचिलो सब हसुर्छौ । आफूलाई मात्रै हेर्छौ  र जगतलाई बिर्सन्छौ । शक्तिको पीठमा जान्छौ र आफ्नो स्वत्व चढाउछौ । तातै खाउँ जली मरुँ गर्छौ अनि भविष्य रित्याउछौ ।'

अर्कोमा चसक्क झ्वाँक चल्यो र जवाफमा ओकल्यो, ' कसैले  थप्पड हान्ने अनि म चुप लागेर बस्ने ?! बाँच्न खानु पर्छ र मैले के बिगारें ?! मेरो अधिराज्य मै हुँ, मलाई मेरै रखवाली गर्न फुर्सद छैन म किन अर्काको  बारेमा टाउको दुखाउँ ?! शक्ति ?! मेरो ज्ञानले भन्छ, ऊ लुटुपुटु गरेर नै  मेरो रक्षाकवज बन्छ ।'

'तिमी यत्ति पनि गम खाँदैनौ कि उसले किन थप्पड हान्यो ? तिम्रो प्रतिवाद तिम्रो भूलको पुनर्रुत्पादन पनि हुन सक्छ । तिम्रो भोजन नै हो जो तिमीलाई विमाख गरीर'को छ । फेरि, तिम्रो अधिराज्य रबिन्सन क्रुसोको टापु पनि त होइन, परतिर आँधी आउँदा तिमी चाहिँ कहाँ अछुतो रहन्छौ र ! हुन सक्छ सामुहिक प्रयत्नमा तिम्रो पनि भलो होस् । स्वत्व र भविष्यको हुर्मतमा खडा भएको शान पनि कुनै जीवन हो ?! परचक्रीले के ठान्दा हुन् ?! लाजको पसारो । ज्ञान र विवेक दिग्दार मान्दा हुन्, 'अझै यसको चेतै खुलेन ।' उसले सम्झाउन लाख कोशिस गर्यो ।

अर्कोलाई उसको कुरो पच्दै पचेन । 'हत्तेरिका, तँ बुझ्दै बुझ्दैनस् । यो मेरो नानी देखिको बानी । आदतका मारे म कहाँ अन्यथा चल्न सक्छु र ?!'

'ठीकै भन्यौ, तिम्रो आदतको अधिष्ठाता तिमी  नै हौ  । तर त्यसमा विरासत पनि मिसिएको छ । विरासतको कर्मकाण्ड हुन्छ, तिमी त्यसको अनुचर पनि हौ । कर्मकाण्डबाट उन्मुक्ति पाउन नसकेरै तिमी  दुखिया पनि हौ । नबिर्स, मानिस सभ्यताको ऐना पनि हो । सभ्यता मान्छेको बुई चढेर ठालु पल्टने पनि हुन्छ, अरुसंगको हातेमालो आफ्नो कर्तव्य ठान्ने पनि हुन्छ । एकल वादन (solo) पनि हुन्छ समूह वादन (orchestra) पनि । तिनका आ-आफ्नै मजा छन् । छान्ने कुन ? उसो त सभ्यता दैवी उपादान होइन, मान्छे कै सृजना हो । सभ्यताले मान्छेलाई निर्देशित गर्छ र मान्छेले सभ्यतालाई कुँद्छ पनि । आदर्श सभ्यता प्रज्ञा, शिल र समाधिको अविभाज्य संगति हो, सन्तुलन हो ।' सम्झाउँदै गर्दा ऊ कागती निचोरिए झैं निचोरियो ।

अर्कोको भेजोमा उसको सल्लाह  घुस्यो घुसेन तर उसले यति सम्म  भने प्रतिकृया दियो, 'हँ ?!'