केही प्रमुख दार्शनिकभन्दा मार्क्सको भिन्नता

मानव समाजको विकास र मार्क्सवाद–४

विभिन्न दार्शनिक विचारभन्दा पूरै भिन्न प्रवाह मार्क्सवादले लिएको हो । मार्क्सवादको मौलिकता स्पष्ट गर्न मार्क्सभन्दा पहिलेका, केही प्राचीन तथा आधुनिक दार्शनिकको विचारसित तुलना गरी मार्क्सवादको भिन्न स्वरुप व्याख्या गरौं । प्राचीन कालका गौतम बुद्ध, हेराक्लिटस्, अरिस्टोटल र आधुनिक युगका हेगेल र फुएरबाखलाई उदाहरणका लागि प्रस्तुत गरौं ।

प्राचीन कालमा पनि मूलभूत रुपमा द्वन्द्वात्मक विचार तथा भौतिकवादी चिन्तन लिएका दार्शनिक थिए । फ्रेडरिक एङ्गेल्सले बुद्ध र अरिस्टोटललाई ‘प्राचीन कालका प्रसिद्ध द्वन्द्वात्मक विचारका प्रणेता’ भनी वर्णन गर्नुभएको छ । त्यसैगरी उहाँले हेराक्लिटस्लाई प्राचीन युगका महान् भौतिकवादी विद्वान् भन्नुभएको छ । बुद्ध र अरिस्टोटल पनि मूलभूत रुपमा भौतिकवादी हुनुहुन्थ्यो । बुद्धको सिद्धान्त ‘अनात्म, अनीश्वर’को सिद्धान्त हो, आत्मा र ईश्वरको अस्तित्त्व नमान्ने सिद्धान्त हो । त्यसै गरी अरिस्टोटल पनि अनीश्वरवादी ‘नास्तिक’ (Atheist) हुनुहुन्थ्यो । बुद्ध र अरिस्टोटलका द्वन्द्वात्मकता र भौतिकवादले मार्क्सको द्वन्द्वात्मक भौतिकवादको जस्तो परिपक्वता भने लिन सकेको थिएन ।

फ्रेडरिक एङ्गेल्सले बुद्ध र अरिस्टोटललाई ‘प्राचीन कालका प्रसिद्ध द्वन्द्वात्मक विचारका प्रणेता’ भनी वर्णन गर्नुभएको छ । त्यसैगरी उहाँले हेराक्लिटस्लाई प्राचीन युगका महान् भौतिकवादी विद्वान् भन्नुभएको छ ।

बुद्धले आध्यात्मिकतालाई मान्नुभएन, कुनै ‘पवित्र ग्रन्थ’लाई र कुनै पनि विद्वानको कथनलाई अन्धरुपले स्वीकार गर्नुलाई गलत ठान्नुभयो । उहाँले स्वतन्त्र चिन्तनको पनि नारा दिनुभयो, तर ‘प्रयोग र अवलोकन’ द्वारा सत्य खोज्ने विज्ञानको तरिका लिनुभएन । फलस्वरुप बुद्धको चिन्तनले मूलभूत रुपमा भौतिकवादको बाटो लिए पनि आदर्शवादबाट मुक्त हुन सकेन ।

बुद्धको दर्शनको सार ‘हेतु–प्रभाववाद’ (theory of determinism) अथवा (theory of cause and effect) हो । बुद्धको विचारअनुसार जुनसुकै घटनाको, जुनसुकै प्रक्रियाको पनि कारण हुन्छ । कुनै विकृति, कष्ट र दुःखको पनि कारण हुन्छ, कारण जान्न सकियो भने त्यस विकृतिबाट मुक्ति पाउन सकिन्छ । बुद्धको चार आर्यसत्यमध्ये पनि यो सत्य पर्दछ । यसरी बुद्धले भन्नुभएको थियो, मानिसको जीवनमा, यो जगत्मा दुःख छ, दुःख छ भन्ने कुरा सत्य हो अनि दुःखको कारण हुन्छ, त्यो पनि सत्य हो । कारणलाई जानेपछि मानिसले दुःखबाट मुक्ति पाउन सक्दछ । बुद्धको विचारअनुसार दुःखबाट मुक्ति पाउने उपाय खोज्नु नै ‘दर्शनको उद्देश्य’ हो । बुद्धले औल्याउनुभएको दर्शनको उद्देश्य अध्यात्मवादी दार्शनिकहरूको र अझ उहाँभन्दा पहिलेका र उहाँका समकालीन भौतिकवादी चिन्तकहरूको दर्शनको उद्देश्यभन्दा अग्रगामी थियो । त्यसो भए पनि, बढी तर्कपूर्ण भए पनि यो दर्शन पनि विश्वबारेको सत्यलाई जान्ने र त्यसको व्याख्या गर्नेमै सीमित रह्यो, मार्क्सले भन्नुभएजस्तै ‘विश्वलाई बदल्ने’ काममा लागेन । फलस्वरुप बुद्धले देखाउनुभएको बाटो मानिस (व्यक्ति मानिस) लाई दुःखबाट मुक्ति खोज्ने मात्र भयो, सिङ्गो मानव–समाजलाई दुःखबाट मुक्त पार्ने उपाय भएन । यसका साथै, बुद्धले दुःखको अस्तित्व, जगत् र मानव–जीवन दुःखमय छ भनी देखाउनुभयो । यसको मतलब दुःख जगतको प्रक्रिया, मानव–जीवनकै प्रकृतिजस्तो भयो । ‘जरा दुःख, जन्म दुःख, व्याधि दुःख’ (अर्थात् जन्म, बुढ्यौली, रोग दुःख हो) भन्ने वाक्यअनुसार ‘दुःख मानव–जीवनको एक अभिन्न प्रकृति’ भन्ने देखियो । वास्तवमा, दुःख जगतको स्वरुप होइन, दुःख मानव–जीवनमा रहने कुरा हो । र, जीवनमा रोग, बुढ्यौलीबाट आउने दुःखभन्दा समाजभित्रको शोषण दमनबाट आउने दुःख बढी हुन्छ । दुःखको स्रोत मूलतः मानव–जीवनको मूलभूत प्रकृत्तिभन्दा बढी सामाजिक स्वरुपको हुन्छ । दुःख हटाउन समाजलाई बदल्नुपर्दछ । मार्क्सवादको सिद्धान्त हो, दर्शनको उद्देश्य सत्यलाई जानेर विश्वलाई बदल्ने हो । यही सिद्धान्तअनुसार मानव–समाजलाई बदल्ने कुरा नै प्रमुख हुन्छ ।

बुद्धको दर्शन पनि विश्वबारेको सत्यलाई जान्ने र त्यसको व्याख्या गर्नेमै सीमित रह्यो, मार्क्सले भन्नुभएजस्तै ‘विश्वलाई बदल्ने’ काममा लागेन । फलस्वरुप बुद्धले देखाउनुभएको बाटो मानिस (व्यक्ति मानिस) लाई दुःखबाट मुक्ति खोज्ने मात्र भयो, सिङ्गो मानव–समाजलाई दुःखबाट मुक्त पार्ने उपाय भएन ।

अर्का दार्शनिक अरिस्टोटलले दर्शन, विज्ञान र साहित्यलाई पनि जीवनसँग गाँसेर हेरेतापनि उहाँले प्रकृति र जगत्लाई मानव–जीवनको दृष्टिकोणले हेर्ने प्रयत्नसम्म गर्नुभयो, तर उहाँ पनि मानव–समाज र संसारबारे सत्य जान्न र व्याख्या गर्न मै सीमित रहनुभयो, समाजलाई र विश्वलाई बदल्ने कुरा उहाँले कहिल्यै सोच्नुभएन । फलस्वरुप उहाँको सोचाइ मूलतः भौतकवादी भए पनि आदर्शवादबाट मुक्त हुन सकेन ।

जहाँसम्म बुद्धको कुरा छ, बुद्धको युगमा मार्क्सको समयमा जस्तो विज्ञानको उच्च स्तरसम्म विकास भइसकेको थिएन । मार्क्सवादले जस्तै विज्ञानको माध्यमबाट सत्य खोज्ने कुरा त्यसबेला सम्भव थिएन । र, पूर्ण रुपले स्वतन्त्र चिन्तन गर्ने प्रवृत्तिलाई नै त्यस युगको दृष्टिले निकै उन्नत विचार र प्रवृत्ति मान्नुपर्दछ ।

अरिस्टोटलको हकमा भने उहाँ कुलीन वर्गका र कुलीनवर्गीय मनोवृत्तिका व्यक्ति हुनुहुन्थ्यो । उहाँले श्रमलाई महत्त्व दिने र आफूले श्रम गर्ने कुरा सोच्नै सक्नुभएको थिएन । सत्य जान्न उच्च चिन्तन गर्ने, स्वतन्त्र चिन्तन गर्ने प्रवृत्ति उहाँमा भए पनि व्यवहारको कसीबाट सत्य जाँच्ने प्रवृत्ति उहाँमा थिएन । विभिन्न विषयका ठूला विद्वान् भएर पनि उहाँले कुनै–कुनै त निकै हास्यास्पद कुरा लेख्नुभएको थियो । उदाहरणका लागि उहाँले लेख्नुभएको छ, ‘बोकाबाहेक सबै चौपाया पशुले नाकले सास फेर्छन्, बोकाले भने कानले ।' बोकाले कान हल्लाइरहेको देखेर उहाँले त्यस्तो सोच्नभएको होला, तर टाढैबाट हेर्ने बाहेक बोकालाई समातेर हातले नाकमा छोई हेर्ने काम उहाँले गर्नुभएन ।

वास्तवमा अरिस्टोटलमा सत्य जान्न स्वतन्त्र चिन्तन–मनन गर्न सक्ने जतिसुकै उच्च प्रतिभा भए पनि व्यवहारको कसीमा जाँच्ने, व्यावहारिक प्रयोगबाट सत्य जाँच्ने प्रवृत्ति पटक्कै थिएन ।

त्यस्तै, अरिस्टोटलले भन्नुभएको छ, ‘लोग्नेमानिसका बत्तीस वटा दाँत हुन्छन्, तर स्वास्नीमानिसको अलि कम हुन्छ ।’ यो भनाइलाई व्यङ्ग्य गरी प्रसिद्ध दार्शनिक लेखक बर्टाण्ड रस्सेलले टिप्पणी गर्नभएको छ, ‘जीवनमा तीन–तीन जना महिलासित विवाह गरेका अरिस्टोटलले तीमध्ये एकजनाको पनि मुख खोलेर दाँत गन्न आवश्यक ठानेनन् ।’

वास्तवमा अरिस्टोटलमा सत्य जान्न स्वतन्त्र चिन्तन–मनन गर्न सक्ने जतिसुकै उच्च प्रतिभा भए पनि व्यवहारको कसीमा जाँच्ने, व्यवहारिक प्रयोगबाट सत्य जाँच्ने प्रवृत्ति पटक्कै थिएन । अर्को शब्दमा भनौं भने उहाँमा वैज्ञानिक झुकाव थिएन, आदर्शवादको धापमा फस्न पुग्ने खतराबाट मुक्त थिएन उहाँको प्रवृत्ति ।

मार्क्सवादको मूलसार नबुझेर हो वा मार्क्सवादलाई जानाजान अवमूल्यन गर्न चाहेकाले हो, केही लेखकले के भन्ने गरेका छन् भने मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवाद हेगेलको द्वन्द्ववाद र फुएरबाखको भौतिकवादको सम्मिश्रण वा संश्लेषणको समुच्चता हो । निश्चय पनि मार्क्सभन्दा केही समयपहिले हेगेलले द्वन्द्वात्मकताको विचार प्रतिपादन गर्नुभएको थियो र फुएरबाखले भौतिकवादको सिद्धान्त प्रचार गर्नुभएको थियो । यस्तो भन्दैमा मार्क्सलाई हेगेलका वा फुएरबाखका अनुयायी भन्नु निकै भयानक भूल हुनेछ । बरु मार्क्स फुएरबाखको विचारको अध्ययनपछि त्यसबाट केही हदसम्म प्रभावित हुनुभएका थियो भन्न सकिएला । आफ्नो सिद्धान्त प्रतिपादन गर्न त्यसलाई उहाँले स्रोत–सामग्रीको रुपमा प्रयोग गर्नुभएको थियो भन्न सकिएला । तर मार्क्स हेगेलबाट प्रभावित हुनुहुन्थ्यो भन्नचाहिँ मिल्दैन, बरु त्यसको ठीक उल्टो, मार्क्सको सिद्धान्त हेगेलको पूरै खण्डन थियो । स्तालिनको शब्दमा भनुँ भने मार्क्सले हेगेलको द्वन्द्वात्मकताको सिद्धान्तलाई पूरै घोप्ट्याई दिनुभएको वा टाउको तल, खुट्टा माथि गरी उल्ट्याई दिनुभएको थियो । मार्क्स आफैंले पनि यस्तै भन्नुभएको छ ।

मार्क्सलाई हेगेलका वा फुएरबाखका अनुयायी भन्नु निकै भयानक भूल हुनेछ । बरु मार्क्स फुएरबाखको विचारको अध्ययनपछि त्यसबाट केही हदसम्म प्रभावित हुनुभएका थियो भन्न सकिएला ।

हेगेलको द्वन्द्वात्मक सिद्धान्तको सार ‘शाश्वत विचार’ (absolute ideas) मा विश्वास थियो, मार्क्सको द्वन्द्वात्मक सिद्धान्तको प्रस्थानबिन्दु नै ‘शाश्वत विचार भन्ने कुनै कुरै छैन’ भन्ने थियो । यो कुरालाई एउटा ठोस उदाहरणसित तुलना गरेर व्याख्या गरौं । भनौं, तपाईंको एक जना मित्रले एउटा दुर्बीनले हेर्दै भन्यो, निकै टाढाको एउटा घरको झ्यालमा रातो कपडा सुकाउन राखिएको छ । अनि तपाईंले त्यो दुर्बीन लिई हेर्दै भन्नुभयो, ‘कहाँ लुगा सुकाइएको हो र, त्यहाँ त रातो रङ्ग लगाएको एकजना मानिस झ्यालबाट तल हेरिरहेको छ ।’ अब यसलाई तपाईंले आफ्नो मित्रलाई समर्थन गर्नुभयो भन्ने कि खण्डन गर्नुभयो भन्ने ? तपाईंले त उसको दुर्बीन मात्र प्रयोग गर्नुभयो, तर त्यसबाट उसले देखेकोभन्दा भिन्नै दृश्य देख्नुभयो ।

त्यसै गरी मार्क्सले हेगेलको तरिका प्रयोग गरी उहाँको भन्दा ठीकविपरीत निष्कर्ष निकाल्नुभयो । अतः मार्क्सलाई हेगेलको अनुयायी भन्नु त परै जाओस्, प्रभावित पनि भन्न मिल्दैन ।

फुएरबाखले भौतिक जगतको व्याख्या गर्दा द्वन्द्वात्मकता र भौतिकवादको सिद्धान्तलाई आधार बनाए पनि यो परिवर्तनशील संसारमा आदर्श पनि परिवर्तन हुँदै जान्छ भन्ने कुरालाई मानेनन् । यही कुरामा फुएरबाखभन्दा मार्क्सवाद भिन्न छ ।

फुएरबाखको नाम भौतिकवादका कट्टर प्रणेताका रुपमा प्रचलित छ । प्राचीन भारतका चार्वाकजस्तै आधुनिक युरोपका फुएरबाख भौतिकवादीका रुपमा भनी चिनाइन्छ । तर पनि मार्क्सको भौतिकवादले फुएरबाखको भौतिकवादलाई खण्डन गरेको छ, कम्तीमा पनि त्यसको त्रुटि हटाउने प्रयास गरेको छ । फुएरबाखले ईश्वर, परमात्मा, श्रृष्टिकर्ताको धारणालाई स्वीकार गरेनन्, तिनले हेगेलको ‘शाश्वत विचार’ (absolute idea) लाई पनि मानेनन् । फुएरबाखले यो भौतिक जगतलाई भौतिकवादी दृष्टिकोणले नै व्याख्या गरे । अनि भौतिक जगतको परिवर्तन द्वन्द्वात्मक प्रतिक्रियाअनुसार चल्दछ पनि भने । यति हुँदा पनि फुएरबाख आदर्शवादबाट पूर्ण रुपले मुक्त हुन सकेन । किनभने तिनले मानव–समाजको कुरा गर्दा केही सिद्धान्त, नैतिक नियम र नैतिकतासम्बन्धी आदर्श शाश्वत र अनन्त कालसम्म रहने खालका छन् भन्न पुगे, जसलाई तिनले मानवतावादको संज्ञा दिए । यी ‘अपरिवर्तनीय र शाश्वत आदर्श, सिद्धान्त, नैतिकता’कै आधारमा मानव–समाजको विकास हुन्छ भन्ने विचार तिनले लिए । यसको मतलब ‘समाजको प्रगति हुँदै जाँदा वस्तुगत आवश्यकताअनुसार नैतिकता र मानव आदर्श पनि बदलिँदै जान्छ’ भन्ने कुरा फुएरबाखले बुझ्न सकेनन् । र, तिनले भौतिक जगतको व्याख्या गर्दा द्वन्द्वात्मकता र भौतिकवादको सिद्धान्तलाई आधार बनाए पनि यो परिवर्तनशील संसारमा आदर्श पनि परिवर्तन हुँदै जान्छ भन्ने कुरालाई मानेनन् । यही कुरामा फुएरबाखभन्दा मार्क्सवाद भिन्न छ ।

मार्क्सले फुएरबाखको यस्ता गलत धारणालाई खण्डन गरी तिनको त्रुटिपूर्ण ‘द्वन्द्वात्मक भौतिकवाद’लाई सच्याएर विज्ञानमा आधारित र सामाजिक विज्ञानका नियमसँग मेल खाने द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रतिपादन गर्नुभयो ।

प्रस्तुत विचार हामीले प्रसिद्ध मार्क्सवादी विचारक प्राध्यापक माणिकलाल श्रेष्ठको पुस्तक 'मानव समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण'बाट लिएका हौं । हामी उक्त पुस्तकका बाँकी अंशहरु क्रमश: प्रकाशित गर्दै जानेछौं ।