कोभिड महामारी व्यवस्थापनमा चुकेका केही पक्षहरु: अब हामीले गर्ने के ?

निरन्तर खबरदारी गरिरहने, प्रश्न उठाइरहने, चुप लागेर दबिएर नबस्ने जनता बन्नु जरुरी

कोभिड व्यवस्थापनको सवालमा चुकेका पक्षहरु केलाउँदा हामीले बुझ्नुपर्ने कुरा– कमी कमजोरीहरु विभिन्न तहमा हुन्छन् । प्राविधिक हिसाबले हाम्रा संरचनाहरु कमजोर छन् । कोभिडको सवालमा हाम्रा प्रयोगशालाहरु तयार थिएनन् । प्राविधिक ज्ञानको कमी थियो ।

त्यसभन्दा माथि व्यवस्थापन तह, सञ्चालन तहमा रहेका कमी कमजोरीहरु बाहिर आए  । हामीसँग तथ्यांकहरु नै थिएनन् । मुलुक बाहिर कति जना गएका छन्, फर्केर आउनेहरु कति छन् ? तिनको आँकलन गर्ने र तदअनुरुप क्वारेन्टाइन लगायतका बन्दोबस्त कसरी गर्ने, संक्रमितको पहिचान कसरी भन्नेबारे कुनै सोच र तयारी नै थिएन । त्यसभन्दा पनि असफलता चाहिँ माथिल्लो तहमा, राजनीतिक तहमा देखियो । हाम्रो राज्य योभन्दा बढी जनउत्तरदायी हुनुपर्थ्यो जस्तो लाग्छ । कोभिड आफैंमा एउटा ऐतिहासिक चुनौती थियो र त्यो चुनौतीको अवसरमा ‘हाउ डु यु राइज टु द ‌ओकेजन’ (कसरी चुनौति वा समस्याले नै मागेको कुशलता र वीरता देखाउने ?) भन्ने सोच हुनुपर्थ्यो । त्यसमा पनि भ्रष्टाचार हुने र खालि आफ्ना सीमितताहरु मात्रै देखाउने काम भए । त्यसमाथि थप, राजनीतिज्ञहरुको भाषा– तपाईंहरुले गुनासो मात्रै गर्नु भएन, राम्रो कुरा पनि बोलिदिनु पर्यो भन्ने रह्यो । एक हिसाबले ठीक हो । तर खान नपाएर सूर्यबहादुर तामाङ बाटोमा मरेका छन्, त्यहाँ के राम्रो कुरा बोलिदिने ? त्यस्ता अन्य थुप्रै घटना छन् । मानिसले भोगेका पीडामा हामीले सकेको कुरा त बोल्नुपर्यो ।

राजनीतिज्ञहरुको भाषा– तपाईंहरुले गुनासो मात्रै गर्नु भएन, राम्रो कुरा पनि बोलिदिनु पर्यो भन्ने रह्यो । एक हिसाबले ठीक हो । तर खान नपाएर सूर्यबहादुर तामाङ बाटोमा मरेका छन्, त्यहाँ के राम्रो कुरा बोलिदिने ?

विभिन्न किसिमका असफलताहरुमध्ये राजनीतिक असफलता मुख्य रह्यो । हाम्रो तयारीविहीनता, हाम्रो दुरदृष्टिको अभाव र कच्चापन, त्यस किसिमका चुनौतीलाई सामना गर्ने क्षमताहिनता छर्लङ्ग देखियो ।

त्यसबाहेक, विकसित देशहरुले पनि गर्न नसकेको तर कतिपय मध्यम तहका देशहरुले अत्यन्तै राम्रो तरिकाले कोभिड व्यवस्थापन गरेको देखियो । उनीहरुले त्यसो गर्न सक्नुमा दुई तीनवटा कुराहरु प्रष्ट देखियो, जुन हामीमा नभएको कारण हामीले बढी दुःख भोग्यौं । पहिलो, प्राथमिक स्वास्थ्य सेवा । प्राथमिक स्वास्थ्य सेवा राम्रो भएको र समुदायमा स्वास्थ्य सेवा पुगेका ठाउँहरुमा कोभिडको राम्ररी व्यस्थापन गर्न सकेको देखियो । यहाँ मैले भनेको स्वास्थ्य सेवा भनेको अस्पतालमा गएर विशिष्टिकृत चिकित्सकबाट स्वास्थ्य सेवा लिने मात्रै होइन । अनि प्राथमिक स्वास्थ्य सेवा भनेको भ्याक्सिन लगाउने काम मात्रै होइन । त्यो भनेको घर नजिकमै डाक्टर वा स्वास्थ्यकर्मीसँग गएर सल्लाह लिन सक्ने, उनीहरुसँग आफ्नो कुरा राख्न सक्ने, उनीहरुबाट जानकारी लिने–प्रशिक्षित हुन सक्ने र सरकारका विभिन्न किसिमका नीतिहरु उनीहरुले सञ्चार गर्न सक्ने अवस्था पनि हो  ।

हाम्रो स्वास्थ्य प्रणाली विदेशीहरुको निर्देशनअनुसार चलेको रहेछ । उनीहरुमाथि बढी आश्रित रहेछौं ।

अर्को कुरा जनस्वास्थ्यको हो । हाम्रोमा जनस्वास्थ्यका आवश्यक व्यवस्था छँदै छैन रहेछ भन्ने पनि देखियो । यस किसिमको महामारीहरुसँग सामना गर्ने सवालमा हाम्रो तत्सम्बन्धी पूर्वाधार नै रहेनछ, विज्ञ नै रहेनछन् ।

यस्ता विभिन्न कारणहरु छन्, जसले गर्दा हामी कोभिड महामारीको उचित व्यवस्थापनमा चुक्यौं ।

हाम्रो स्वास्थ्य प्रणाली विदेशीहरुको निर्देशनअनुसार चलेको रहेछ । उनीहरुले तिमीहरुले यसमा लगानी गर, यो चीजमा बढी केन्द्रीत बन, एउटा कार्यक्रम गर र अरुलाई सिकाउदै जाउ भनेर भनिदिएको आधारमा हामी गर्दै जाँदो रहेछौं । उनीहरुमाथि बढी आश्रित रहेछौं ।

कोभिड महामारीलाई समाना गर्न उनीहरुसँग पनि समाधान थिएन । त्यसो हुँदा हामीसँग पनि हाम्रो विशेषज्ञता–दक्षता भएन । उदाहरणको लागि, हाम्रो सरकारी निकायमा खोपसम्बन्धी विशेषज्ञ छैन । हाम्रो महामारीसम्बन्धी सरकारी निकायमा तत्सम्बन्धी विज्ञ छैन ।

भ्याक्सिनको रणनीति अपेक्षाकृत सफल भएको हो । भारतको एस्ट्रेजेनिका आएर नेपालमा धेरै मानिसहरुको ज्यान जोगियो । हामी धेरै स्वास्थ्यकर्मीहरुको ज्यान जोगियो ।

हाम्रोमा संक्रमण सेवाका प्रमुख आज भ्याक्सिनमा, भोलि टिबी र पर्सि कता जान्छ, एउटा म्युजिकल चेयरमा घुमिरहन्छ ।  अमेरिकामा सिडिसी भनिन्छ । त्यो भनेको एउटा संस्था मात्रै होइन । सम्बन्धित विषयका विशेृषज्ञहरुले वर्षौदेखि काम गरेर त्यसमा हासिल गरेका ज्ञानलाई प्रयोग गर्न पाउँछन् । हाम्रोमा त्यस किसिमले विशेषज्ञहरु बनाउँदै जाने र त्यसलाई विकसित गर्दै जाने र त्यसका सकारात्मक असरहरु सबैतिर छरिँदै जाने किसिमको प्रणाली हाम्रोमा बनाइँदै बनाइएन ।

कोभिडको महामारी न्यूनीकरणका लागि अपनाइका रणनीतिहरुको प्रभावकारिता

कोभिड महामारी नियन्त्रणका लागि नेपालले अङ्गीकार गरेको राम्रो रणनीति कुनै थियो कि थिएन ? भन्ने सवालमा कुरा गर्दा कोभिड नियन्त्रणका लागि अपनाइका रणनीतिहरुमध्ये पनि कुन प्रभावकारी रह्यो भन्ने कुराको वैज्ञानिक उत्तर खोज्नका लागि विभिन्न देशमा प्रयासहरु भएका छन् । कतिपय देशहरुमा लकडाउन गरिए । यो गैर औषधीजन्य उपायहरु प्रभावकारी भए कि भएन ? मैले सोझो भन्दा भ्याक्सिनको कुटनीति अपेक्षाकृत सफल भएको हो । भारतको एस्ट्रेजेनिका आएर नेपालमा धेरै मानिसहरुको ज्यान जोगियो । हामी धेरै स्वास्थ्यकर्मीहरुको ज्यान जोगियो । स्वास्थ्यकर्मीहरुले भ्याक्सिन लगाउन पाएको कारणले अस्पतालहरुमा स्वास्थ्य सेवा सुचारु राख्न र धेरै मानिसहरुको ज्यान बचाउन सकियो । पाउनुपर्ने मानिसहरुले भ्याक्सिन पाएनन् र थुप्रै मानिसहरु भ्याक्सिन नपाएरै बिते, एन्टिजेन परीक्षण गर्न नपाएर पनि बिते । ती आफ्ना ठाउँमा छन् । तर कोभिडलाई नियन्त्रण गर्ने सवालमा भ्याक्सिन कुटनीति महत्वपूर्ण रह्यो जस्तो लाग्छ ।

लकडाउन कस्तो भयो भने सानो छिनोले प्रहार गर्दा पुग्ने ठाउँमा तपाईंले धनले हान्नुभयो । त्यसको नकारात्मक असर रह्यो ।  कति सेवाहरु सुचारु हुन सकेन भने कतिपय मानिसहरु खान नपाएर सडकमा मर्ने अवस्था आयो ।

हाम्रोमा असाध्यै लामो लकडाउन भयो । लकडाउनको आफ्नो फाइदा छ । त्यसले संक्रमणको विस्तारलाई कम गर्यो । संक्रमणको रेखा धेरै माथि गएको हुन्थ्यो भने हाम्रो स्वास्थ्य क्षमताले धान्ने नसक्ने गरी संक्रमण फैलिन्थ्यो र धेरै मानिसहरुको मृत्यु हुन्थ्यो । दोस्रो लहरमा त त्यस्तो अवस्था पनि आयो । पहिलो लहरमा हामी त्यो अवस्थासम्म पुगेनौं । त्यसमा लकडाउनको केही भूमिका छ ।

तर लकडाउन कस्तो भयो भने सानो छिनोले प्रहार गर्दा पुग्ने ठाउँमा तपाईंले धनले हान्नुभयो । त्यसको नकारात्मक असर रह्यो ।  कति सेवाहरु सुचारु हुन सकेन भने कतिपय मानिसहरु खान नपाएर सडकमा मर्ने अवस्था आयो । अरु किसिमका पीडादायी घटनाहरु पनि भए ।

कोभिडको सन्दर्भमा साँच्चै नै सकारात्मक कुरा चाहिँ पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको साहस, त्याग र बलिदान थियो । सीमिमताका बाबजूद उनीहरुले देखाएको सामाजिक उत्तरदायित्व र करुणा मलाई एकदमै गज्जब लाग्छ । त्यसबेला युवाहरुको परिचालन हुनु सकारात्मक कुरा थियो । अहिले राजनीतिमा युवाहरुको हस्तक्षेप बढाइनुपर्छ भन्ने कुरा आउनु र फरक किसिमको राजनीतिको खाँचो महसूस हुनुमा त्यसले केही काम गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ ।

सिकेनौं हामीले !

कोभिडको महामारी मत्थर भएपछि नेपालमा हैजाको महामारी फैलियो । कोभिडको सामना गर्न संसारमा कुनै पनि देश तयारी अवस्थामा थिएन । हैजा त अधिकांश देशहरुले डेढसय वर्षअगाडि नै जितिसकेको रोग हो । हामीले त हैजा पनि फैलिन दियौं । त्यसो कसरी फैलियो र कसरी नियन्त्रण भयो ? त्यो हामीले गर्दा नियन्त्रण भएको होइन, आफैं भयो । त्यसपछि डेंगीको महामारी आयो । यो पनि कोभिडजस्तो नियन्त्रण नै गर्न नसकिने त होइन । यसले हामीले कोभिडबाट सिकेनौं, अझै पनि सिक्न बाँकी छ भन्ने नै देखायो । पछिल्लो पटक जाजरकोटमा भुइँचालो गयो । अहिले पनि त्यहाँ मानिसहरु मरिरहेका छन् । तिनीहरुका लागि सरकार, समाज, समुदाय र हामीले कति सेवासुविधा उपलब्ध गराउन सक्यौं ? हामीले उनीहरुप्रति जवाफदेहीता कति देखाउन सक्यौं ? हामीले एउटा सामान्य करुणा पनि देखाउन सकेनौं ! यस्ता उदाहरणहरुले हामीले अझै सिक्न बाँकी नै छ भन्ने देखाउँछ ।

हामीले कोभिडबाट सिकेनौं, अझै पनि सिक्न बाँकी छ भन्ने नै देखायो । पछिल्लो पटक जाजरकोटमा भुइँचालो गयो । अहिले पनि त्यहाँ मानिसहरु मरिरहेका छन् । तिनीहरुका लागि सरकार, समाज, समुदाय र हामीले कति सेवासुविधा उपलब्ध गराउन सक्यौं ?

गर्ने के ?

सबै भन्दा पहिले हाम्रो लगानी प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउनु पर्यो । त्यस किसिमका प्रणाली र संरचनाहरु बनाउनु पर्यो । अहिलेको आवश्यकताको सघनताको हिसाबले हामीले त्यो शुरु नै गरेका छैनौं । अर्को कुरा, स्वास्थ्य र शिक्षामा लगानी गरिनुपर्छ र त्यसलाई गैरनाफामुखी बनाउनुपर्छ । नाफाका लागि स्वास्थ्य र शिक्षा हुँदा त्यसले ल्याएका धेरै समस्याहरु कोभिड पछाडि उजागार भएको छ जस्तो मलाई लाग्छ ।

पेशाधर्मिताअनुसार बलिदान त्याग गर्नुबाहेक हामीले के पनि बुझ्नुपर्छ भने हामीले विशुद्ध प्राविधिक भाषा मात्रै बोलिदिँदा अन्यायलाई निरन्तरता हुँदो रहेछ । जनतालाई तपाईं मास्क लगाइदिनोस्, बाहिर ननिस्किनुस्, घरभित्रै बसिदिनुस्, हात धुने गनोस् मात्रै भनिदिँदा बिचराहरुले रोजीरोटी पाउँदैनन् रहेछ ।

हामीले देख्दा व्यवसायिकतालाई कायम गर्दै जनतालाई सेवा दिने, पेशाधर्मिताअनुसार बलिदान त्याग गर्नुबाहेक हामीले के पनि बुझ्नुपर्छ भने हामीले विशुद्ध प्राविधिक भाषा मात्रै बोलिदिँदा अन्यायलाई निरन्तरता हुँदो रहेछ । जनतालाई तपाईं मास्क लगाइदिनोस्, बाहिर ननिस्किनुस्, घरभित्रै बसिदिनुस्, हात धुने गनोस् मात्रै भनिदिँदा बिचराहरुले रोजीरोटी पाउँदैनन् रहेछ । समाज र सामाजिक जीवनमा हामी स्वास्थ्यकर्मीभन्दा पहिले नागरिक हौं ।  त्यो भूमिका बुझेर चिकित्सीय परामर्श प्रदान गर्ने मात्रै होइन, त्यसअनुसार बोल्ने, व्यवहार गर्ने र त्यसअनुसार करुणा देखाउने जस्ता गरी हाम्रो क्षीतिजलाई अलि खुकुलो बनाउनुपर्ने रहेछ ।

नागरिकको हिसाबले छोटोमा भन्दा, सरकारलाई जवाफदेही बनाउनुपर्छ । पाँच वर्षमा एक चोटी भोट हालेर मात्रै यो देशमा समृद्धि आउँदैन । त्यसका लागि निरन्तर खबरदारी गरिरहने, प्रश्न उठाइरहने, चुप लागेर दबिएर नबस्ने जनता बन्नुपर्छ ।

'कोभिडः नसोचेको–नभोगेको सङ्कट' पुस्तकको लोकार्पणको अवसरमा  डा. सुवेदीले व्यक्त गरेका विचारको सम्पादित अंशहरु ।