घाम ताप्नुको फाइदा र बेफाइदाहरु यस्ता छन् !

बिहान सबेरै उठेर सूर्यको न्यानो प्रकाशमा बस्न अति नै रमाइलो हुन्छ । सूर्यको प्रकाशले गर्दा रातको अन्धकारको अन्त्य हुन्छ । यसले संसारलाई नै उज्यालो बनाइदिन्छ । सूर्यकै प्रकाशले हाम्रो वरपरको वातावरणलाई निकै रमाइलो बनाइदिन्छ । सूर्य नै पृथ्वीमा ऊर्जाको प्रमुख स्रोत हो । सूर्यकै उर्जाको कारण कारण पृथ्वीमा जीवन सम्भव भएको हो । त्यही भएर सूर्य हामी सबैलाई प्यारो लाग्छ ।

तर सूर्यको प्रकाशले पृथ्वीमा जीवन मात्र प्रदान गर्दैन, यो हाम्रो लागि अरु कुरामा पनि लाभदायक छ । सूर्यको प्रकाशले हाम्रो शरीरमा औषधीको काम गर्ने गर्छ । हामीले हाम्रो शरीरलाई सूर्यको प्रकाशमा राख्यौँ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ । त्यसले हाम्रो छालामा रहेका फन्जाई (Fungi)  र ब्याक्टेरिया (Bacteria)  लाई नष्ट गर्छ । त्यसले  हाम्रो रगतमा रहेका सेता रक्तकोषहरुलाई सक्रिय बनाउने काम पनि गर्छ । सेता रक्तकोषहरुको कारणले हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति बढ्छ । ती कोषहरुले हाम्रो शरीरमा रहेका किटाणुहरुलाई मार्ने र शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

जब सूर्यको प्रकाश हाम्रो छालामा पर्छ, हाम्रो रगतमा एउटा विशेष प्रकारको तत्व पुग्ने गर्छ । त्यो तत्वले हाम्रो माशंपेसीलाई नयाँ लय प्रदान गर्ने काम गर्छ । त्यसले गर्दा हाम्रो माशंपेसीहरु पहिले भन्दा अझ फुर्तीका साथ काम गर्न सक्छन् । अझ भनौं, सूर्यको प्रकाशले हाम्रो स्नायुप्रणालीमा नयाँ जोस भरिदिन्छ । त्यही भएर हामी छुट्टीको समयमा अझ विशेष गरेर केही बेर घाममा बस्दा निकै फुर्तिलो भएको महसूस गर्छौं । त्यति बेला हामी सँधै खेलहरु खेल्न वा घुम्न लालायित हुने गर्छौं ।

सूर्यको किरण मानव  शरीरका लागि भिटामीन डीको प्रमुख स्रोत हो । सूर्यको प्रकाशको मद्दतले हाम्रो शरीरमा भिटामिन ‘डि’ को उत्पादन गर्ने काम हुन्छ । सूर्यको प्रकाशमा भएको परावैजनी किरणले हाम्रो छालामा भएको एर्गोस्टेरोल (Ergosterol)   नामक तत्वलाई भिटामिन ‘डि’ मा परिणत गर्छ । वैज्ञानिकहरुका अनुसार सूर्यको प्रकाशमा हाम्रो शरीरलाई राख्नु भनेको हेरक ५ मिनेटमा एक चम्चा औषधी खानु बराबर हो ।

सबैलाई थाहा भएकै  कुरा हो, भिटामीन डीले हड्डी  बलियो बनाउँछ । खासगरीहाम्रो शरीरले भिटामीन डीकै सहयोगमा क्याल्सियम ग्रहण गर्ने गर्छ । क्याल्सियमले हड्डी बलियो बनाउने काम गर्छ । यस अर्थमा नियमित रुपमा सूर्यको किरणमा बस्ने अभ्यास गर्ने हो भने हाम्रो शरीरमा आवश्यक भिटामीन  डीको आपूर्ति पर्याप्त मात्रामा हुने गर्छ । यसले गर्दा हामीलाई हड्डी मक्किने रोग पनि लाग्न पाउँदैन ।

सूर्यको प्रकाशले हाम्रो शरीरमा रक्तचाप घटाउन सहयोग गर्छ । खासगरी, सूर्यको किरणले हाम्रो शरीरमा नाइट्रिक अक्साइड उत्पन्न हुने गर्छ । यो ग्याँसले रक्तनलीहरुलाई सामान्य राख्न मद्दत गर्छ ।

तर ख्याल गर्नुपर्ने कुरा के हो भने धेरै बेरसम्म सूर्यको प्रकाशमा बस्दा यसले हाम्रो शरीरको रक्तचापलाई घटाउनको सट्टा बढाउने काम गर्छ । त्यसैले मुटु र फोक्सोमा खराबी हुने मानिसहरुले सूर्यको प्रकाशमा धेरै समय बस्नु हुँदैन । नत्र यसले ठूलै दुर्घटना निम्त्याउन पनि सक्छ । वास्तवमा मुटु र फोक्सोका बिरामीहरुले मात्र होइन, हामी सबैले घाम ताप्दा निकै सजग हुनु जरुरी छ ।

घामको प्रकाशले बेफाइदा नगरोस् भन्नका लागि हामीले एक पटकमा शरीरको केही भाग मात्र प्रकाशमा राख्नु पर्छ ।  अनि हरेक पाँच मिनेटमा त्यो बदली रहनुपर्छ । एकै दिनमा धेरैबेरसम्म घाममा बस्नु हुँदैन । एकै पटकमा धेरै समयसम्म घाममा बस्दा टाउको दुख्ने जस्ता समस्याहरु देखापर्न सक्छन् । सुरुमा थोरै समयदेखि लिएर घाममा बस्ने समयको अवधि पनि दिनदिनै क्रमैसँग आवश्यकताअनुसार बढाउँदै लानुपर्छ । यसरी हामी हाम्रो शरीरमा हुने हानिबाट बच्न सक्छौँ । समयमा नै सावधानी अपनाउने हो भने यसले हाम्रो स्वास्थ्य स्थितिमा निकै सुधार ल्याउन सक्छ ।

सूर्यको  प्रकाशमा  नियमित बस्ने अभ्यासले शरीरमा आन्द्राको तथा प्रोस्टेटको क्यान्सर लाग्ने सम्भावनालाई कम गरिदिन्छ । तर अत्यधिक मात्रामा घामको प्रकाशमा बस्यो भने चाहिँ उल्टै छालाको क्यान्सर हुने खतरा पनि रहन्छ ।

सूर्य स्नानको एउटा फाइदा भनेको यसले हाम्रो मुडलाई ठीक राख्न सहयोग गर्छ र डिप्रेसनको समस्या हुन दिँदैन । यसो हुनुको कारण चाहिँ सूर्यको प्रकाशले  हाम्रो शरीरमा सेरोटोनिन (serotonin) नामक हर्मोन उत्पादन गर्न उत्प्रेरित गर्छ । यो न्यूरोट्रान्समिटर हर्मोनले हाम्रो मुडलाई  नियमित गर्ने काम गर्छ ।

त्यसै गरी सूर्यको प्रकाशले हामीलाई राम्रो निद्रा लगाउन सहयोग गर्छ । सूर्यको प्काशले हाम्रो शरीरको निद्राको चक्रलाई नियमित गरिदिन्छ ।

सूर्यको प्रकाशको फाइदा छ भन्दैमा चाहिँदो भन्दा बढी घाम  ताप्नु हुँदैन । धेरै लामो समयसम्म घाम ताप्दा सूर्यको प्रकाशमा हुने अल्ट्राभ्वायलेट किरणले हाम्रो छालालाई नोक्सानी गर्न तथा क्यान्सरको जोखिम बढाइदिन सक्छ । विशेष गरी दिउँसोको समयमा घामको प्रकाशमा अल्ट्राभ्वायलेट  किरणको मात्रा बढी हुने गर्छ । त्यसैले सकेसम्म हामी दिउँसोको समयमा घामको किरणबाट आफूलाई बचाउनुपर्छ । केही गरी घामको किरणमा हिँड्डुल गर्नु वा काम गर्नु पर्ने भयो भने पनि छालामा घामको किरणबाट जोगाउने क्रिमहरु लगाउने वा शरीर ढाक्ने कपडा लगाउने गर्नुपर्छ ।

घामको प्रकाशबाट अधिकतम फाइदा लिनका लागि हामीले बिहानको समयमा वा मध्यान्नपछि मात्रै घाम ताप्ने बानी गर्नुपर्छ ।