कमिलाको दूध दिने गाई !

कमिलाले कीरा पनि पाल्छ !

बोटविरुवाहरुमा एफिड्स (Aphids)  नाम गरेको एकथरि कीरा पाइन्छ । यो कीराले बोटविरुवामा पौष्टिक पदार्थहरु पुर्याउने रस खाने गर्छ । त्यस्ता रस खाएर यसले आफ्नो शरीरको लागि आवश्यक प्रोटिन लिने गर्छ । बढी भएको रस चाहिँ यसले चिनीको रुपमा शरीरबाट बाहिर फ्याँक्छ । त्यसरी फ्यालिएको रस महजस्तै गुलियोगुलियो हुन्छ । त्यसैले त्यसलाई अंग्रेजी भाषामा honeydew पनि भन्ने गरिन्छ ।

कुनै पनि विरुवामा यस्ता कीराहरु रहेको कुरा एउटा कमिलाले मात्रै थाहा पायो भने पनि त्यसले आफ्नो पूरै समूहलाई खबर गरिहाल्छ । फलतः त्यो कीरा भएको विरुवामा कमिलाको पूरै बस्ती नै ओइरिन्छ । . त्यसरी ओइरिएको कमिलाले त्यो एफिड्स कीराको पेटलाई आफ्नो एन्टेनाले विस्तारै उचाल्छ । त्यसरी उचाल्दा त्यो कीराले गुलियो रसलाई निकाल्छ र कमिलाले तुरुन्तै त्यसलाई चाट्ेर सफाचट पारिदिन्छ । यो क्रम धेरैबेरसम्म जारी रहन्छ ।

जीव जगत्मा आपसी निर्भरताको राम्रो उदाहरण कमिला र यो एफिड्स कीराबीचको सम्बन्धबाट देख्न सकिन्छ । किनभने, कमिलाले त्यो कीराले पैदा गर्ने गुलियो रस मात्र खान्छ, कीरालाई रत्तिभर पनि हानी पुर्याउँदैन । बरु त्यो कीरालाई यसले शत्रुहरुबाट रक्षा गर्छ । त्यसैले यस एफिड्स कीरालाई कमिलाको दूध दिने गाई (ants' milking cows) पनि भन्ने गरिन्छ ।

त्यसो त कमिलाले त्यस्तो गुलियो पदार्थ उत्पादन गर्ने कीरालाई आफ्नै गुँडमा पनि पालेको हुन्छ । एउटा असल किसानले जसरी पशुहरु बडो जतन र स्याहार सुसारका साथ पाल्ने गर्छन्, त्यसरी नै कमिलाले पनि त्यस्ता कीरालाई पालेको हुन्छ । यसरी कमिलाले गुलियो पदार्थको लागि पाल्ने कीराहरुमा Clavigeridae समूहका बिटल (beetles)  कीरा विशेष उल्लेख्य छ । यो कीराको शरीरका विभिन्न अंगहरुबाट गुलियो पदार्थ निस्किन्छ, जुन पदार्थलाई कमिलाले बडो स्वाद मानेर चाट्ने गर्छ । तर, कमिलाले यो कीरालाई अलिकति पनि नोक्सानी पुर्याउँदैन । बरु उल्टो, कमिलाले यो कीराको बच्चाहरु स्याहार्ने र हुर्काउने, खानेकुराहरु खुवाउने काम गर्छ । कतिसम्म भने, कुनै पनि आपत आइलाग्यो भने, कमिलाले आफ्ना अण्डा वा लार्भाहरुभन्दा पनि पहिले यो कीरा र त्यसका बच्चाहरुलाई सुरक्षित ठाउँमा लुकाउँछ ।

यसरी कमिलाले पाल्ने बिटल कीराले राम्ररी आँखा देख्न सक्दैन र यसको मुख पनि राम्ररी विकसित भएको हुँदैन । यो बाँच्नको लागि पूर्ण रुपमा कमिलामाथि नै निर्भर रहेको हुन्छ । कतिसम्म भने, यदि कमिलाले मद्दत नगर्ने हो भने, यो किराले आफैं खानेकुरासमेत खान सक्दैन ।

तपाईं हामीले देखिरहेको कमिलामा रातो र कालो कमिला हो । तर यस संसारमा कमिलाको मात्रै १५ हजारभन्दा बेसी प्रजातिहरु हुन्छन् ।

Title Photo: https://lh5.googleusercontent.com

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।