अन्तिम उपनिवेश

बडाहजुर !

जो रोटी तम्रो कुकुर

नमिठो - नमिठो  मानी

 र्‍याल नचुहाएरै खान्छ

त्यो रोटी मेरो छोरो मीठो मानी

 र्‍याल चुहाएरै खान्छु भने पनि पाउदैन,

 

बडाहजुर यो देशको नागरिक

मेरो छोरो कि तम्रो कुकुर

बडाहजुर देशको नागरिक

मान्छे हुन्छ कि कुकुर ?

 

 बडाहजुर !

जो  भोटो तम्रो कुकुर

फेरि फेरि लाइन्छ

त्यो भोटो मेरो छोरो

 टाला हाली लाउदो भन्या पनि पाउदैन,

 

बडाहजुर यो देशको नागरिक

मेरो छोरो कि तम्रो कुकुर

बडाहजुर देशको नागरिक

मान्छे हुन्छ कि कुकुर ?

 

बडाहजुर !

जो नदी तम्रो कुकुर चिलगाडी चडेर  तर्दो

त्यो नदी मेरो छोरो तुइनमा झुन्डिएएर  तर्दो,

 

बडाहजुर यो देशको नागरिक

मेरो छोरो कि तम्रो कुकुर

बडाहजुर देशको नागरिक

मान्छे हुन्छ कि कुकुर?

 

बडाहजुर!

ब्यवस्था नबदलिएको देशमा

नयाँ पुराना जो राजा भए नि

तम्रो कुकुर नागरिकतै नबोकेर

नागरिकको जिन्दगी बाच्छ

मेरो छोरो नागरिकतै बोकेर

गैर नागरिकको जिन्दगी बाँच्छ

अब तमी भन बडाहजुर

यो देशको नागरिक

 मेरो छोरो कि तम्रो कुकुर

अब तमी भन बडाहजुर

देशको नागरिक मान्छे हुन्छ कि कुकुर