संकटमा आवेगी स्वभावका हठीहरु र परम्पराका दृष्टिमा उपद्रयाहाहरु मात्र वागी भइरहन सक्छन्

मेरो ठट्टा गर्ने बानी छ । यता आउन घरबाट निस्कने तयारी गर्दै थिएँ, एक छिमेकी आउनुभयो ।

‘कताको तयारी हो?,’ उहाँले सोध्नुभयो ।

 मैले भनें, ‘पेन्सन थाप्न ।’

‘तिमी लामो समयसम्म शिक्षक भयौ । शिक्षक आन्दोलनको नेता पनि भयौ । राजाका पञ्च–मण्डलेको लखेटाइ र अपमान अचाक्ली भएर बीचैमा जागिर छोड्यौ ! तिम्रो पेन्सन कहाँबाट आउँछ ?’ मित्रले जिज्ञासा प्रकट गरे ।

मैले भनें, ‘पेन्सन सरकारले आफ्नो सेवकलाई मात्र दिँदैन । नागरिकले नागरिकलाई पनि पेन्सन दिन्छन् । पेन्सन दिनु र पाउनका कारण फरक हुन्छन् । दिने र पाउनुको सम्बन्धको प्रकृति फरक हुन्छ ।’

०००

मातृका पोखरेलजीले थुप्रो शब्द लेख्ने लेखकका रुपमा मेरो परिचय दिनुभो । हो, नेपाली भाषामा शब्द संख्याको हिसाबले मदनमणि माड्सापपछि सबैभन्दा धेरै शब्द लेख्ने लेखक मै हुँ शायद । मदनमणि माड्सापले आफूले लेखेका शब्दहरु गनेरै म एक नम्बर हुँ भन्नुभएको भए दोस्रो नम्बरमा म पर्छु शायद । तर शब्दसंख्या धेरै भएर र धेरै लामो समय बाँचेर स्वतः ठूलो उपलब्धि हुने होइन । तपाईंका शब्द के, कसरी र कुन प्रयोजनका लागि लेखिन्छन् ? र तपाईँको दीर्घायु कुन ध्येयप्रति समर्पित हुन्छ ? गाँठी कुरा त्यसमा छ ।

इतिहासको सामान्य अवस्थामा जो पनि वागी वा विद्रोही हुन सक्छ  । तर संकटको अवस्थामा जोकोही वागी वा विद्रोही भइरहन सक्दैन । संकटमा आवेगी स्वभावका हठीहरु र परम्पराका दृष्टिमा उपद्रयाहाहरु मात्र वागी वा विद्रोही भइरहन सक्छन् ।

मातृकाजीले मलाई उमेरको कारणले बिर्सिइन लागेको मेरो अतीतको स्मरण गराउनुभयो । आजदेखि म ७८ वर्ष लागें । म धेरै वर्ष बाँचे र मैले धेरै बाङ्गाटिङ्गा बाटाको यात्रा गरेँ । मातृकाजीले यो दीर्घ यात्रामा मलाई एक्लो मान्छे भन्नुभयो । म एक्लो हुँ पनि र एक्लो हुइनँ पनि । भीडमा हिँड्दा भीडमै विलय भएर म हिँडिनँ । भीडमा हिँडे र म आफू आफैं भएर हिँडे । इतिहासको सामान्य अवस्थामा जो पनि वागी वा विद्रोही हुन सक्छ  । तर संकटको अवस्थामा जोकोही वागी वा विद्रोही भइरहन सक्दैन । संकटमा आवेगी स्वभावका हठीहरु र परम्पराका दृष्टिमा उपद्रयाहाहरुमात्र वागी वा विद्रोही भइरहन सक्छन् । यस्ता मानिसहरुले परम्परा र धर्मका रुढिहरुमाथि औँला ठड्याउँछन्, ईश्वर र बादशाहसँग आँखा जुधाउँछन् । समाजको गति र प्रगतिको बाटाका यी सचेत हलकाराहरु हुन् ।

 प्रसङ्ग फेरि उही एक्लोको । घर्षणमय जीवनमा कोही पनि एक्लै वागी बन्न र जीवनको कठिन यात्रामा टिक्न सक्दैन । आफ्नो सेरोफेरोका परिचित र अपरिचित, वंशको र विचारको नाताका सहयात्री र शुभेच्छुक आदि वागी मानवको शक्ति, साहस र अडानका टेकाहरु हुन् । जीवनमा आफनो वरिपरि यी टेका छन् र नै त वागी दृढ भई शिर ठाडो पारेर उभिन सक्छ ।

०००

छोटो समयका एकाध नाटकीय अभिनयमा बाहेक म कम्युनिष्ट पार्टीको क्रियाशील सदस्य कहिल्यै भइनँ । वाम आन्दोलनको भने म सधैँ नजिक रहेँ । आन्दोलनको प्रवाह बगिरह्यो, किनारैकिनार म हिँडिरहेँ । कम्निस्ट पार्टीको नजिकमा पुग्दा नपुग्दै मलाई कम्निस्ट पार्टीको चरित्रको रमरम चेत भयो । कम्निस्ट पार्टीमा मलाई कसोकसो धार्मिक सम्प्रदायको आभाष भयो । कट्टरपन्थी धार्मिक सम्प्रदायझैँ आफूलाई सर्वाङ्ग शुद्ध र अर्कोलाई सर्वाङ्ग खोटो ठान्ने । शुद्धता र श्रेष्ठताको अहंकारले मैमत्त । यस्तो पार्टीको कठोर अनुशासन सिर्जनशीलताको बाधक पो होला कि भनी मलाई आशंका भइरह्यो । त्यसरी पार्टीको छेवैछेउ म एक्लै हिँडेँ ।

कम्निस्ट पार्टीमा मलाई कसोकसो धार्मिक सम्प्रदायको आभाष भयो । कट्टरपन्थी धार्मिक सम्प्रदायझैँ आफूलाई सर्वाङ्ग शुद्ध र अर्कोलाई सर्वाङ्ग खोटो ठान्ने । शुद्धता र श्रेष्ठताको अहंकारले मैमत्त ।

०००

भनिन्छ, म उपद्रै विवादास्पद मानिस हुँ । जो सत्यको पैरवी गर्छ, विभाजित समाजमा ऊ विवादास्पद भइनै हाल्छ । विभाजित समाजमा सत्य एकल हुँदैन । कसको सत्य ? कस्तो सत्य ? जीवनका हर सन्दर्भमा कुरो उठिहाल्छ । विभाजित र द्वन्द्वरत समाजमा मुखबाट वचन भुइँमा खस्नुअघि नै त्यो कसैलाई प्रिय लागिसक्छ, कसैलाई अप्रिय लाग्छ । जसलाई प्रिय लाग्छ, उसले तपाईँको हाई हाई गर्छ । जसलाई अप्रिय लाग्छ, उसले तपाईँको बदख्वाइँ गर्ने गर्छ । जो निन्दित हुन तयार हुँदैन, सत्यको पैरवी गर्ने मार्चामा ऊ धेरै समय टिक्दैन । स्वार्थ विभाजित समाजमा जो सबैका प्यारो हुन खोज्छ, उसको हातल कथाका गधाको मालिकको जस्तो हुन्छ । न यसका नजरमा गतिलो न उसका नजरका गतिलो ।

०००

यहाँ त्यागका कुरा पनि भए । वैकुण्ठहरि श्रष्ठले आफ्नो जीवन बलिदान नै गर्नुभयो । जसले आफ्नो एकबारको जुनी नै बलिदान गर्यो, उसको त्यागको मुखेन्जी हाम्रो त्याग के त्याग ? हामी त ज्युँदै छौँ नि ! मृत्यपछि वैकुण्ठहरि शहीदमा दरिनुभयो । शहीद को हो ? जसले आफ्नो र आफ्ना प्रियजनको भागमा केही नराखी जीवन बलिदान गर्छ, उस शहीद हो । शहीद उन्नत मानवीय संस्कृतिको बीज हो । आफ्नो सानो त्यागलाई शहीदको विराट् त्यागसँग दाँजेर हेर्नु जीवनमा विनम्र हुन खोज्नु हो । अर्थात् म भनेको मै हुँ भन्ने व्यर्थको अहंकारको साइज घटाउन खोज्नु हो ।

०००

मेरा निर्णय र कर्महरुको परिणाम जे जे भयो, त्यसप्रति म जिम्मेवार छु । मलाई कसैसँग आफ्ना कर्मको ज्याला माग्नु छैन । हो, यस अर्थमा कसैसँग मेरा गुनासा छैनन् ।

वागी चिन्तक वा सर्जकको कर्म आफ्नो हकमा निष्काम कर्म र समाजको हकमा सकाम कर्म हो । आफ्नो उमेरवयका कतिपय लेखकहरुका थाङ्ने गनगन सुन्दा म प्रायः दिक्क हुन्छु । कहिले त मलाई झोँक पनि चल्छ । मैले देशलाई यो दिएँ, त्यो दिएँ, देशले मलाई खै के दियो ? यस्ता गनगनेहरु जताततै भेटिन्छन् । देशसँग वा कसैँसँग पनि मेरा कुनै निजी स्वार्थजन्य गुनासा छैनन् । ईश्वर, बादशाह वा पोलिटव्यूरोको आदेशमा म लेखक र अभियन्ता भएको होइन । लेखन वा आन्दोलनमा मैले जे गरेँ, आफ्नै विवेकको आदेशमा गरेँ । मैले जे गरिनँ, आफ्नै विवेकको आदेशमा गरिनँ । निजी जीवनमा मैले जुन बेला जे निर्णय गरेँ, ती मेरा नितान्त निजी निर्णय हुन् । मेरा निर्णय र कर्महरुको परिणाम जे जे भयो, त्यसप्रति म जिम्मेवार छु । मलाई कसैसँग आफ्ना कर्मको ज्याला माग्नु छैन । हो, यस अर्थमा कसैसँग मेरा गुनासा छैनन् । जीवनमा बरु आफैँसँग मेरा थुप्रै गुनासा छन् ।

०००

साधारण घरानाका, थोरै शिक्षा पाएका भुइँमान्छेको नाम हो शहीद बैकुण्ठहरि । राजनीतिक यात्रामा उहाँले नेपाली कांग्रेस हुँदै लाल वामपन्थमा प्रवेश गर्नुभयो । अनि यो र त्यो पार्टीमा घुम्दै आखिरमा उहाँ विद्रोही माओवादीमा पुग्नुभयो । उहाँलाई सत्ताले पक्राउ गर्यो । आत्मसमर्पण कि आफ्नो निष्ठामा अडान ? जीवनरक्षाको लागि याचना कि शहादतको रोजाइ ? रोज्नलाई वैकुण्ठहरिसँग दुईमध्ये एक विकल्प थियो । बैकुण्ठहरिले सत्यनिष्ठा र सहादत रोज्नुभयो । बैकुण्ठहरिको स्वास्थ्य यसै पनि खराब थियो, नर्कतुल्य जेलको दुर्व्यवहारको शिकार भई उहाँको स्वास्थ्य झनै बिग्रियो । क्रूर सत्ताले उहाँलाई समान्य उपचारको सुविधा पनि दिएन । र, मृत्युपछि आफन्त र कमरेडहरुलाई दाहसंकारमा सामेल हुन दिइएन ।

०००

बाल जागरणका लागि योङ कम्निस्ट लिग खोलियो । कथामा राजनीति घोलियो र बालबालिकाहरुलाई कथा सुनाइयो । यो वैकुण्ठहरिको लाल राजनीति गर्ने कूटनीतिक कौशल थियो । यसरी बालबालिकालाई असमान र अन्यायी समाज चिनाइयो ।

क्रान्तिकारी जागरणको दियोमा तेल थप्ने बैकुण्ठहरिका माध्यम दुईवटा थिए— शिक्षा र राजनीति । शाही निरङ्कुश शासन खुला राजनीतिको घोर शत्रु थियो । त्यसैले गुरु श्यामप्रसादको सिको गर्दै वैकुण्ठहरिले छद्म राजनीति गर्नुभयो । विद्यालय र पुस्तकालयको स्थापना र खेलकूदको आयोजना आदि त आवरण थिए । आवरणभित्र गुदी कुरो थियो लाल जागरण । बाल जागरणका लागि योङ कम्निस्ट लिग खोलियो । कथामा राजनीति घोलियो र बालबालिकाहरुलाई कथा सुनाइयो । यो वैकुण्ठहरिको लाल राजनीति गर्ने कूटनीतिक कौशल थियो । यसरी बालबालिकालाई असमान र अन्यायी समाज चिनाइयो । वर्गभेद र जातभेद देखाइयो । वणभेद र लिङ्गभेदको पोल खोलियो । रोग, गरिबी र अनेक पारिवारिक समस्याले वैकुण्ठहरिको क्रान्तिको बाटो छेक्न सकेनन् ।

०००

जो आफैँप्रति निर्मम हुन सक्दैन, ऊ टिकाउ वागी हुन सक्दैन । संघर्षको यात्रामा जीवन संकटमा पर्दा वागीका आँखासामु प्रियजनका अनुहारहरु प्रकट हुन्छन् । तिनले केके याचना गर्छन् । त्यो घडीमामा आमा वा बाका, पत्नी वा पतिका सहारा माग्ने मलीन अनुहार, असहाय लालाबालाहरुका आँसु भरिएका निश्छल आँखा, र ती आँखामा नाचिरहेको तिनको अनिश्चित भविष्यको धमिलो चित्र— यी त्यस्ता कुरा हुन् जसले वागीको दृढतामा धरमर र मनोबलमा हलचल ल्याउन सक्छन् । यो धरमर र हलचलबाट निष्ठालाई जोगाउन हदै निर्मम हुनुपर्छ । आफैँप्रतिको त्यो निर्ममताले गर्दा नै वैकुण्ठभित्रबाट शहीदको जन्म भयो । र नै आज हामी शिर झुकाएर उहाँलाई सम्झिरहेका छौँ ।

दुःखको कुरा, यो समारोहमा वैकुण्ठहरिका सपनाको भविष्य गयल परेको छ । यहाँ हामी खालि अधवैंशे र पाका मानिस छौँ । किशोर–किशोरी र युवाहरु यहाँ छैनन् सरह छ । वैकुण्ठहरिको सारा जीवन किशोर–किशोरीमा क्रान्ति चेत जगाउनमै बित्यो । सधैँजसो उहाँको ध्यान किशोर–किशोरीहरुको मानसिक र शारीरिक विकासमा केन्द्रित हुन्थ्यो । र उहाँको जोड तिनको नैतिक र व्यावहारिक शिक्षामा एकाग्र हुन्थ्यो । खै यो समारोहमा वैकुण्ठहरिका ती क्रान्तियोद्धाहरु ? खै यो सभामा ती लाल क्रान्तिका भविष्यहरु ? अर्को यस्तो समारोहसम्म बाँचिरहेँ भने किशोर–किशोरी र युवाहरुका अनुहारमा क्रान्तिको भविष्य हेर्न म फेरि पनि यहाँ आउने छु ।

आदरणीय शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ र योगेन्द्र प्रधानपछि उहाँहरुको छेवैमा उभिएर यो सम्मान र पुरस्कार ग्रहण गर्न पाउँदा मलाई खुशी लागेको छ । वैकुण्ठ स्मृति प्रतिष्ठानप्रति हार्दिक आभार !

(बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको सम्मान समारोहमा सङ्ग्रौलाले दिनुभएको मन्तव्यको सम्पादित र संक्षेपीकृत पाठ)