दशैँका चार आयाम

सङ्गच्छध्वम् सम्वदध्वम् । सवै मिलेर हिँडौँ, सवै मिलेर बोलौँ”

ऋग्वेद — १०।१९१।२

मूलत: दशैँका तीन आयाम थिए । पहिलो शासकीय आयाम थियो । त्यो राणाशासनसँगै सकियो । जो बाँकी पनि ०२१को भूमिसुधार र मुलुकी ऐनबाट सकियो । अहिले नव शासकीय आयाम छ । त्यो विडम्वना जस्तो छ । न सामन्ती शान नपूँजीवादी मान ।

दशैँको अर्को आयाम यसमा गरिने पूजा उपासना हो । बली हो । केही शास्त्रीय केही लोकायत । केही आयातित केही मौलिक । पूजा उपासना त छिमेकी मुलुकका विभिन्न प्रान्तमा पनि हुन्छन् । तरिका फरक छ । पूजाको कर्मकाण्ड नै फरक छ । निर्धारित स्थानमा पूजा, प्रतिमा पूजा, जमरा । फूलपाती सङ्कलन र पूजा । अष्टमी एवम् कालरात्रीमा विशेष पूजा, हतियार पूजा । यिनमा केही गोर्खालित्व मिसिएको छ । यो केही कायम छ । केही हराएको छ । पूजा उपासना सवैका लागि अनिवार्य विधान कहिल्यै थिएन । होइन पनि ।

दशैँको तेस्रो तर सर्वाधिक महत्वपूर्ण आयाम चाहिँ यसले सार्वजनिक र राष्ट्रिय चाडको लक्षणयुक्त हुन पाउनु हो । जहाँ जहाँ चारा चर्न पुगेका चरा पनि साँझमा गुँडमा फर्केजस्तै जहाँ पुगेका भए पनि नेपाली सन्तति घर फर्कने पारिवारिक सामाजिक मिलनको महान चाड बनेको अवस्थामा थियो दशैँ । मनोरन्जनको समुच्चय त थियो थियो । त्यसभन्दा बढी पनि केही थियो । दशैँमा कर्मचारीले पन्ध्र दिन बिदा र एक महिनाको तलव बराबरको रकम दशैँ खर्चका रुपमा पाउँथे । पाइरहेकै छन् । खानपान मनोरन्जनका लागि अष्टमी दशैँ हो भने निधारभरि टीका,थाप्लाभरि जमरा र हार्दिक आशीर्वादसहितको वहुआयामिक पुनर्मलन, मिलन, दशमीको मौलिक विशेषता हो । सार्वजनिक ठाउँहरुमा जात्रा मेला नाचगान पिङ् दशैँका थप आकर्षणहरु हुन् । निधारभरि अक्षता थाप्लाभरि जमरा र मुरी मुरी आशिर्वाद नेपाली दशैँको नितान्त मौलिक संस्कृति हो । यो उल्लिखित शासकीय र उपासनिक संस्कृतिभन्दा पुरातन र तमाम नेपालीहरुबीच साझा रुपमा चलिआएको सार्वजनिक संस्कृति हो ।

दशैँको चौथो आयाम पनि छ । त्यो आयाम हो गरीवीको दशैँ आयाम । निरपेक्ष्य गरीवीमा दशैँ दशा बन्छ । चालीस वर्ष अगाडिको एउटा दशैँमा गाउँमा एउटा झुप्रे घरको प्रसङ्ग सुनेको थिएँ मैले । मार्मिक प्रसङ्गलाई मानिसहरु ठट्टामा उडाइरहेका थिए । “रामेका घरमा पुगेको थिएँ । पिँडीमा खुट्टा खसालेर बसेको त्यसको नाङ्गे भुतुङ््गे सात बर्से छोराले मसित भन्या, ‘सुन्नुस् न बाजे, हाम्रो घरमा त दशैँमा झगडा छ । बा भन्छन् तल्ला घर बाख्रीसँग मिसियूँ आमा भन्छिन् माथिल्ला घर बोकासँग मिसियूँ कुरै मिल्या छैन बाजेले मिलाइदिनुस् न ।’ फुच्चेका कुरा सुनेर एक छिन त म अकमक्क परेँ, हा हा हा ।”

यो पनि दशैँ दशाकै एउटा दृष्टान्त प्रसङ्ग हो । आर्जन नभएको बाउ बाख्रीको सस्तो मासुले दशैँ चलाउन चाहन्छन् । आमा जसोतसो रिनपान बढाएर भए पनि छोरालाई दशैँमा बोकाको स्वादिलो मासु पकाएर दिन चाहन्छिन् । दशैँमा मिठो खाने, राम्रो लाउने गरीवका आकाङ्क्षा मनमा उम्रन्छ मनमै बिलाउँछ । जे पर्ला भनेर रिन गर्दा एक दुइटा भएको सुर्को पनि जान्छ । एक दिनको मासु जिन्दगीभरको आँसु बन्छ । हुक्काहरुलाई हाँसो लाग्ने चिलिमहरुको यो पीडाप्रसङ्ग सम्वेदनशील मनमस्तिष्कका लागि कम मार्मिक छैन ।

केही दशकअघिसम्म दशैँ नेपालका सवै जात जाति र वर्गका जनताको चाड थियो । सवैको प्रिय चाड थियो । सवैको आफ्नै चाड थियो । गच्छे अनुसार सवैले मनाउँथे ।

दशैँ हाम्रो हो, दशैँ हाम्रो होइन ।’ यो नयाँ आवाज हो । कताबाट आयो ? कसरी आयो ? यसको ऐतिहासिक र सार्वजनिक परीक्षण हुन बाँकी छ ।