ब्रिटिश सेनामा नेपाली युवाहरूको भर्ती : कहिले नमेटिने कलङ्क

(क) ब्रिटिश सेनामा नेपाली युवाहरूको भर्ती

सन् १८१४–१८१६ को नेपाल र ब्रिटिश-इन्डियाबीचको युद्धको दौरानमा नै (२४ अप्रिल १८१५) ब्रिटिश सेनामा नेपाली युवाहरूको भर्ती प्रक्रिया शुरु भयो । विगत दुईसय वर्षदेखि त्यसमा सामेल भएका नेपाली युवाहरूको निरन्तर ब्रिटिश साम्राज्यवादको विश्वव्यापी स्वार्थरक्षाको निम्ति इमान्दारितापूर्वक एवम् प्रतिवद्ध भएर काम गर्दै आएका छन् ।

यससम्बन्धमा १५ मई १८१५ मा ब्रिटिश कमाण्डर जनरल अक्टर लोनी र नेपाली सेनाध्यक्ष अमरसिंह थापाबीच हस्ताक्षरित सहमतिपत्रमा गोर्खाभर्तीसम्बन्धमा उल्लेख गरिएको भएपनि युद्धमा नेपालको पराजयको लिखत सुगौलीसन्धीमा यो विषयले प्रवेश पाएको देखिँदैन । भर्ती प्रक्रिया निरन्तर जारी रहेपनि यस सम्बन्धमा दुई मुलुकहरूबीच विधिवत सम्झौता हुन सकेन । दुईवटा कारणहरूले गर्दा त्यसो हुन नसकेको देखिन्छ । एउटा, नेपाल पक्षले आफू कमजोर भएको अवस्थामा सामान्यरूपले १५ मई १८१५ मा गोर्खाभर्तीसम्बन्धमा सहमती जनाएको भएपनि पछि त्यसलाई नीतिगतरूपबाट औपचारिकता दिन नचाहेको हुनसक्छ । दोस्रो, नेपालीहरूमा ओतप्रोत देशभक्तिको भावनाभएको कारण उनीहरूप्रति पूर्णतः विश्वस्त हुन नसकेको कारण अङ्ग्रेजहरूले गोर्खाभर्तीको सम्बन्धमा विधिवत निर्णयमा पुग्न नसकेको हुनसक्छ । उनीहरूमा गोर्खाहरूलाई ठूलो सङ्ख्यामा भर्ना गर्दा र हातहतियार र प्रशिक्षणबाट लैश गर्दा नेपालसित भविश्यमा युद्ध भएमा कतै आफ्नै विरुद्ध विद्रोह गर्ने हुन् कि भन्ने भयले काम गरेको हुन सक्दछ ।

सन् १८३० ताका अङ्ग्रेजहरूले आफ्नो सेनामा नेपाली युवाहरूको सङ्ख्यामा वृद्धि गर्ने विचार नेपाल समक्ष राखे । तर नेपालको आफ्ना रैतीहरूलाई विदेशी सेनामा सामेल गर्ने सम्बन्धमा खुकुलो नीति नभएको कारण त्यसो गर्न सम्भव भएन । अनौपचारिक रूपमा भने अङ्ग्रेजहरूले भर्तीको प्रक्रियालाई जारी राखे । यहाँसम्म कि अङ्ग्रेजहरूले सन् १८४३ मा दुई मुलुकबीचको सीमा नजिक गोप्यरूपमा भर्ती डिपो खोले । नेपालको तत्कालिन सरकारले त्यो कुरा थाहा पाएपछि त्यसलाई रोक्यो ।

नेपाली युवाहरूको ब्रिटिश सेनामा भर्तीको पहिलो दुखद् परिणाम सन् १८४५–१८४६ को अङ्ग्रेज-शिख युद्धमा देखियो । यस युद्धमा आफ्नो सरकारको प्रति सहानुभूति रहनुका वावजुद ब्रिटिश सेनामा कार्यरत नेपाली जवानहरूले अङ्ग्रेजहरूको तर्फबाट जीवन-मरणको लडाइ लडेर भारतमा ब्रिटिश उपनिवेशलाई सुरक्षित गरे ।

०००

सन् १८४५-१८४६ को अङ्ग्रेज-शिख युद्धमा गोर्खाली सेनाहरूले देखाएको “इमान्दारिता” एवं “विरता” को उच्च मूल्याङ्कन गर्दै अङ्ग्रेजहरूले ब्रिटिश सेनामा उनीहरूको सङ्ख्या अत्यधिक बढाएर सम्भावित विद्रोहलाई दवाउने रणनीति लिए ।

०००

१४ सेप्टेम्बर १८४६ मा जङ्गबहादुरले सत्ता कब्जा गरेपछि अङ्ग्रेजहरू यस सम्बन्धमा धेरै आशावादी देखिए । तर जङ्गबहादुरको सत्ता अवधि तिनीहरूले अपेक्षा गरेजस्तो हुन सकेन । ब्रिटिश सेनामा नेपाली जवानहरूको भर्तीको सम्बन्धमा जङ्गबहादुरले मौखिक रूपमा विरोध नगरे पनि व्यवहारतः उनले त्यसलाई हतोत्साहित गर्ने नीति, नियम र प्रावधानहरू लागु गरे ।

अर्कोतिर, भारतभित्र ब्रिटिश शासनका विरुद्ध बढ्दै गइरहेको जनताको विरोध एवम् असन्तोष र स्वयम् सेनाभित्र भारतीय सेनाको सम्भावित विद्रोहको खतरालाई टारेर आफ्नो शासनलाई दीर्घजीवन दिने सम्बन्धमा अङ्ग्रेजहरू गम्भीररूपले चिन्तित बने । उनीहरूले ढिलो वा चाँडो स्वतन्त्रता आन्दोलनले गतिलिने छ र त्यसमा सेनाभित्रको भारतीय पक्षले खुलेर समर्थन गर्ने छ भन्ने कुराको प्रस्ट सङ्केत पाए । सन् १८४५-१८४६ को अङ्ग्रेज-शिख युद्धमा गोर्खाली सेनाहरूले देखाएको “इमान्दारिता” एवं “विरता” को उच्च मूल्याङ्कन गर्दै अङ्ग्रेजहरूले ब्रिटिश सेनामा उनीहरूको सङ्ख्या अत्यधिक बढाएर सम्भावित विद्रोहलाई दवाउने रणनीति लिए । यद्यपि, अङ्ग्रेजहरूले आफ्नो सेनामा नेपाली जवानहरूको सङ्ख्या चाहेजति बढाउने कुरामा अपेक्षित सफलता हासिल गर्न सकेनन् ।

अङ्ग्रेजहरूले उपरोक्त प्रक्षेपण सही प्रमाणित हुन लामो समय कुर्नु परेन । अङ्ग्रेज-शिख युद्धको १०/११ वर्षपछि अर्थात्, सन् १८५७ मा अङ्ग्रेजहरूको सत्ता धरमराउन पुग्यो । एउटा धार्मिक कारण अघि सारेर ब्रिटिश सेनाभित्रका हिन्दु भारतीय सेनाहरूले ब्रिटिश उपनिवेश विरुद्ध अनुलेख्य र असाधारण विद्रोह गरे जुन 'सिपाही विद्रोह'को नामले भारतको स्वतन्त्रता सङ्ग्रामको इतिहासमा अमर छ । यो भारतीय स्वतन्त्रता सङ्ग्रामको इतिहासमा पहिलो महान् सङ्ग्राम भएकोले पनि यसको असाधारण महत्त्व छ । मेरठबाट शुरुभएको यो विद्रोह कलकत्तासम्म फैलियो । यस क्षेत्रमा कार्यरत ब्रिटिश सेनाको ५५ हजार भारतीय सेनाहरूमध्ये सबै नै अङ्ग्रेज शासनका विरुद्धमा उत्रिए । विद्रोहीहरूले गोर्खा बटालियनहरू र नेपाल सरकारसँग विद्रोहको पक्षमा सहयोग मागेका थिए । मैले प्राप्त गरेको जानकारीमा नेपालले उनीहरूलाई सहयोग गरेको खण्डमा उनीहरूले १८१४-१८१६ को अङ्ग्रेजसितको युद्धमा नेपालले गुमाउनुपरेका भू-भाग फिर्ता गर्नेसम्मका कुरा गरेका थिए । तर ब्रिटिश सेनामा कार्यरत गोर्खाली सेनाहरू र नेपालका तत्कालिन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणालाई बिद्रोहीहरूको यो अनुरोध र प्रस्तावले छोएन । तिनीहरू भारतमा ब्रिटिश राजलाई संरक्षण गर्ने एवम् मजबूत गर्ने कुरा प्रति अविचल रहे । गोर्खाली सैनिकहरूले स्वतन्त्रता सङ्ग्रामीहरूको नरसंहार गरे । त्यसै गरेर, अङ्ग्रेज सरकारको अनुरोधमा जङ्गबहादुर स्वयम् ठूलो सङ्ख्याको नेपाली सेनाको नेतृत्व गरेर विद्रोह दबाउन गोरखपुर हुँदै लखनउ गए । त्यसक्रममा उनले गोरखपुरदेखि लखनउसम्म स्वतन्त्रता सङ्ग्रामीहरूको कत्लेआम गरे । यसरी राणाशाही र गोर्खाली फौजको सहयोगमा बेलायतले सन् १८५७ को पहिलो महान् स्वतन्त्रता सङ्ग्रामलाई दवायो । यो नेपालका तत्कालिन शासकहरू र ब्रिटिश सेनामा कार्यरत नेपाली जवानहरूद्वारा भारतको मात्र नभइ विश्व कै स्वतन्तत्रा सङ्ग्रामका साथ गरिएको ठूलो गद्दारी थियो ।

नेपाल पक्षको त्यो नितान्त गलत र अदूरदर्शी निर्णय एवम् कार्यले भारतमा ब्रिटिश राजको आयु अरू ९० वर्ष बढाएन मात्र त्यसले सुगौली सन्धीबाट अङ्ग्रेजहरूले कब्जा गरेको नेपाली भू-भाग फिर्ता हुन सक्ने अवसर समेत गुमायो । यद्यपि जङ्गबहादुरको त्यो सहयोग वापत् अङ्ग्रेजहरूले उक्त सन्धीबाट कब्जा गरेको पश्चिम तराईका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया जिल्लाहरू नेपाललाई फिर्ता गरे । ब्रिटिश उपनिवेशवाद विरुद्धको भारतीय जनताको मुक्तिसङ्घर्षलाई समर्थन र सहयोग गरेर लुटिएको भू-भाग फिर्ता लिने कुरा स्वयम् भारत र नेपालको एक नम्बरको दुश्मन बेलायतको भारतमा लामो समयदेखि कायम उपनिवेशलाई टिकाएर आफ्नो लुटिएको विशाल भू-भागको एउटा सानो हिस्साको प्राप्तिबीच आधारभूत अन्तर हुन्छ । यी दुईवटा कुराको तुलना हुनैसक्दैन । पहिलो, ब्रिटिश साम्राज्यवादको विरुद्ध मुक्तिआन्दोलन चलाएर आफू र छिमेकी मुलुकलाई स्वतन्त्र पार्ने कुरा हो भने दोस्रो, छिमेकी मुलुकलाई औपनिवेशिक अवस्थामा राख्न सहयोग गरेर लुटेराहरूबाट लुटिएको विशाल भू-भागमध्ये एउटा सानो हिस्सा बक्सिस पाउने कुरा हो । धिक्कार छ ती तक्माहरू र तिनलाई हासिल गर्ने व्यक्तिहरूलाई जसले राष्ट्रिय स्वतन्त्रताका पक्षघरहरूको टाउको गिंडाए वापत् पाए ।

ब्रिटिश उपनिवेशको संरक्षण र त्यहाँका देशभक्त र न्यायप्रिय जनताको टाउको छिनाएको वा उनीहरूमाथि कत्लेआम गरेकोले भारतका मुक्ति सङ्ग्रामीहरूले गोर्खाली जवानहरूको टाउकोको मूल्य तोक्नुपरेको घटनाले आज पनि स्वतन्त्रताप्रेमी नेपालीहरूको टाउको निहुरिन्छ ।

ब्रिटिश सरकारलाई ‘सिपाही विद्रोह’ दबाउन निर्णायक सहयोग गर्नुका बाबजुद गोर्खाभर्तीको सङ्ख्या बढाउने अङ्ग्रेजहरूको अनुरोधमा जङ्गबहादुरको पूर्व अडानमा भने कुनै परिवर्तन आएन । त्यसैले त्यससम्बन्धमा अङ्ग्रेजहरूले उनीबाट अपेक्षित परिणाम पाउनसकेनन् । रणोद्दीपसिंहको प्रधानमन्त्रीको अवधि जङ्ग खलक र शमशेर खलकबीचको सङ्घर्षको अवधि रह्यो । रणोद्दीपसिंह स्वयम् अङ्ग्रेजहरूलाई असिमितरूपमा नेपाली जवानहरू उपलब्ध गराउने पक्षमा नभए पनि उक्त शक्तिसङ्घर्षमा उनले आफूलाई टिकाउन तत्सम्बन्धमा सम्झौतावादी नीति लिए । तर शमशेर खलकद्वारा मारिएकाले त्यससम्बन्धमा अङ्ग्रेजहरूले उनीबाट फाइदा लिन सकेनन् ।

०००

वीर शमशेरले राज्ययन्त्रहरूको चरम दुरुपयोग गरेर नेपाली जवानहरूलाई ब्रिटिश सेनामा पठाए । उनले अङ्ग्रेजहरूलाई खुसी पार्न यति ठूलो सङ्ख्यामा नेपाली जवानहरू पठाए कि अङ्ग्रेजहरूले ती मध्ये "बहादुर" जातिलाई लिने र अरू जातिलाई नेपाल फिर्ता गर्ने सम्मको परिस्थिति बन्यो ।

०००

रणोद्दीपसिंहको हत्यापछि शमशेर खलकको तर्फबाट वीरशमशेर प्रधानमन्त्री बने । यो नयाँ परिस्थिति अङ्ग्रेजहरूको निम्ति नेपाल सरकारबाट आफ्ना मागहरू मनाउन अनुकूल थियो । त्यो कसरी भने जङ्गबहादुरका छोराहरू भारतमा थिए र उनीहरू शमशेर खलकबाट सत्ता खोस्ने अवसरको ताकमा थिए । अर्कोतिर शमशेर खलक भर्खरै षड्यन्त्रबाट सत्तामा आएको थियो । जङ्ग खलकको पुनः सत्ता प्राप्त गर्ने आकांक्षा र शमशेर खलकको सत्ता टिकाउने रणनीतिको अवस्थामा भनेको अङ्ग्रेजहरूको लागि अत्यन्त अनुकूल अवस्था हो । त्यस्तो अवस्थामा धुर्त अङ्ग्रेजहरूले एउटा खलकको विरुद्ध अर्को खलकलाई सजिलै उपयोग गर्न सक्दथे । अङ्ग्रेजहरूको यी खलकहरूसितको सम्बन्धको केन्द्रविन्दु आफ्नो सेनामा नेपाली जवानहरूको भर्ना सङ्ख्यामा अनुलेख्यरूपले बृद्धि गर्नु थियो । त्यो सम्बन्ध विशुद्धरूपले रणनीतिक थियो । शमशेर खलकले अङ्ग्रेजहरूको प्रस्तावलाई नमाने उनीहरूले आफ्नो सत्तारोहणलाई समर्थन नगर्ने र जङ्ग खलकलाई समर्थन गरेर सत्तामा पुर्‍याउने हो कि भन्ने कुराबाट भयभित थियो । शमशेर खलकको त्यही भयलाई दोहन गरेर अङ्ग्रेजहरूले वीर शमशेरलाई ब्रिटिश सेनामा नेपाली जवानहरूको भर्तीलाई आफ्नो अनुकूल गरे । वीर शमशेरले राज्ययन्त्रहरूको चरम दुरुपयोग गरेर नेपाली जवानहरूलाई ब्रिटिश सेनामा पठाए । उनले अङ्ग्रेजहरूलाई खुसी पार्न यति ठूलो सङ्ख्यामा नेपाली जवानहरू पठाए कि अङ्ग्रेजहरूले ती मध्ये "बहादुर" जातिलाई लिने र अरू जातिलाई नेपाल फिर्ता गर्ने सम्मको परिस्थिति बन्यो । अङ्ग्रेजहरूलाई भारतमा विकसित हुन सक्ने सम्भावित विद्रोहलाई दबाउनको निम्ति आफ्नो सेनामा नेपाली जवानहरू आवश्यक सङ्ख्या भर्ना गर्ने रणनीति सफल पार्न सातदशकभन्दा बढी समय लाग्यो ।

चन्द्र शमशेर कट्टर अङ्ग्रेज समर्थक भएकाले उनी सत्तारुढ भएपछि तिनीहरूको लागि परिस्थिति अरू बढी अनुकूल बन्यो । एकातिर, नेपालमा विकसित हुँदैगएको आफू अनुकूल परिस्थिति र अर्कोतिर, भारतव्यापी रूपमा तीव्ररूपमा विकसित हुँदैगइरहेको ब्रिटिश शासनका विरूद्ध विद्रोहको परिस्थितिमा अङ्ग्रेजहरूले भारतका विभिन्न शहरहरूमा नेपाली जवानहरूको वाहुल्यता रहेका बटालियनहरूको जालो विस्तार गरे ।

 (ख) बेलायतद्वारा भारतबाहिर ब्रिटिश सेनामा कार्यरत नेपाली जवानहरूको प्रयोग

अङ्ग्रेजहरूले आफ्नो सेनामा कार्यरत नेपाली जवानहरूको प्रयोग भारतीय सीमाभित्र मात्र नगरेर विश्वयुद्धहरूका विभिन्र मोर्चाहरूमा पनि गरे । पहिलो विश्वयुद्ध मानवजातिले सामना गर्नुपरेको पहिलो विश्वव्यापी महाविनाशकारी युद्ध थियो । पूँजीवादको विकासको साथासाथै उन्नाइसौँ शताब्दीसम्म आइपुग्दा बेलायत, फ्रान्स, स्पेन आदि महाशक्ति राष्ट्रहरूले विधिवतरूपबाटै विश्वको विभाजन गरिसकेका थिए । पूँजीवादको विकासका आधारभूत नियम अर्थात, असमान विकासको नियम मुताविक विश्वको त्यो विभाजन सर्वकालिन हुन सक्दैन थियो । पुराना महाशक्ति राष्ट्रहरूद्वारा एकलौटी रूपमा गरिएको त्यस विभाजनलाई नवउदीत शक्ति राष्ट्रहरूले चुनौती दिनु अनिवार्य र स्वाभाविक थियो । जर्मनी, इटाली र जापानको उदयले विश्वको वस्तु तथा सेवा बजार, कच्चा पदार्थका स्रोतहरू र प्रभाव क्षेत्रहरूमाथि शक्ति र सामर्थ्यको आधारमा विश्वको पुनर्विभाजन गरिनुपर्ने अडान लिए । त्यो कुरा पुराना शक्तिराष्ट्रहरूले त्यति सजिलै मान्ने कुरो थिएन । अन्ततः त्यो मतभेदको समाधान राजनीतिक उपायबाट सम्भव भएन र त्यसले युद्धको उपाय अपनायो । पहिलो विश्वयुद्ध साम्राज्यवादी शक्तिहरूबीचको त्यही अन्तर्विरोधको स्वाभाविक परिणाम थियो ।

यो परिस्थिति त्यतिबेलाको कहिल्यै सूर्य नअस्ताउने उपनिवेशवादको नाइके बेलायतको निम्ति ठूलो चिन्ताको विषय बन्यो । बेलायत आफ्नो त्यो स्थितिलाई कसरी जोगाउने भन्नेबारे चिन्तित बन्यो । त्यसका लागि त्यसले पुराना शक्तिराष्ट्रहरूको समूह, जसले विगतमा विश्वलाई त्यतिबेलाको शक्ति र सामर्थ्यको आधारमा विभाजित गरेका थिए, को संरक्षण गर्ने र नवउदीत शक्ति राष्ट्रहरूको नयाँ शक्ति र सामर्थ्यको आधारमा विश्वको पुनर्विभाजन गरिनुपर्छ भन्ने मागलाई पक्षाघात गर्ने रणनीति लियो । त्यसका लागि त्यसले विशुद्धरूपले अन्तरसाम्राज्यवादी युद्धचरित्र भएको उक्त लुटेरा युद्धमा लड्न भारतस्थित आफ्नो सेनामा कार्यरत नेपाली जवानहरूको प्रयोग गर्‍यो । त्यसले विश्वयुद्धको विभिन्न मोर्चाहरू जहाँ आफ्नो समूहको, मुख्य रूपले आफ्नो साम्राज्यवादी स्वार्थहरूमाथि नवउदीत शक्तिराष्ट्रहरूका तर्फबाट गम्भीर खतरा पैदा भएको थियो र जसको रक्षा गर्नु आफ्नो विश्व महाशक्तिको ताजलाई सुरक्षित गर्न निर्णायक थियो, तिनको रक्षार्थ नेपाली जवानहरूलाई पठायो । यसरी पहिलो विश्वयुद्धमा नेपाली रगत एउटा साम्राज्यवादी खेमाको संरक्षणको निम्ति बग्यो । त्यो दुई साम्राज्यवादी गुटहरूबीच चलेको महाविनाशकारी युद्धमा नेपालीजनको प्रयोग नेपालको राष्ट्रिय स्वतन्त्रता एवम् सार्वभौम सत्ताको निधारमा अङ्कित कहिल्यै नमेटिने कलङ्कको रूपमा आज पनि कायमै छ ।

०००

विश्वयुद्धको विभिन्न मोर्चाहरू जहाँ आफ्नो समूहको, मुख्य रूपले आफ्नो साम्राज्यवादी स्वार्थहरूमाथि नवउदीत शक्तिराष्ट्रहरूका तर्फबाट गम्भीर खतरा पैदा भएको थियो र जसको रक्षा गर्नु आफ्नो विश्व महाशक्तिको ताजलाई सुरक्षित गर्न निर्णायक थियो, तिनको रक्षार्थ नेपाली जवानहरूलाई पठायो । यसरी पहिलो विश्वयुद्धमा नेपाली रगत एउटा साम्राज्यवादी खेमाको संरक्षणको निम्ति बग्यो ।

०००

युरोप, अफ्रिका र मध्यपूर्वका रणमैदानहरूमा ब्रिटिश र फ्रेन्च सेना पराजित हुँदै भएपछि अङ्ग्रेजहरू बढी चिन्तित बने । ती मोर्चाहरूमा विश्वमा अन्य भागहरूबाट सेना आपूर्ति गर्न सम्भव थिएन । त्यो काम खालि भारतबाट पूरा गर्न सकिन्थ्यो । त्यसका लागि अङ्ग्रेजहरूले चन्द्र शमशेरलाई गोर्खाभर्तीमा नेपाली जवानहरूको सङ्ख्या बढाउन अनुरोध गरे । चन्द्रशमशेरले अङ्ग्रेजहरूको त्यो अनुरोध (आदेश ?) लाई स्वीकार्दै तत्कालै ५५ हजार नेपाली जवानहरू भर्तीको निम्ति भारत पठाए । त्यतिमात्र होइन अङ्ग्रेजहरूको सहयोगार्थ आसाम सैन्य प्रहरी, सैन्य वियरकर्प्स, श्रमिककर्प्स आदि सङ्गठनहरूमा समेत नेपाली जवानहरू पठाए । प्राप्त तथ्यअनुसार पहिलो विश्वयुद्धमा बेलायतले २ लाख नेपालीहरू परिचालित गर्‍यो । ब्रिटिश साम्राज्यवादको पक्षबाट लड्दा मोटामोटी २० हजार नेपालीहरूले युद्धमा ज्यान गुमाए ।

चन्द्रशमशेरले अङ्ग्रेजहरूलाई गोर्खा बटालियनको निम्ति मागेअनुसार नेपाली जवानहरू पठाएको मात्र नभएर अङ्ग्रेजहरूले भारतीय गोर्खा बटालियनहरूलाई विश्वयुद्धको विभिन्न मोर्चाहरूमा पठाएपछि नेपाली सेनाहरूको अनुपस्थितिमा भारतमा तिनीहरूका विरुद्ध उठ्न सक्ने विद्रोहलाई दबाउन अङ्ग्रेजहरूद्वारा माग गरिए बमोजिम नेपाली सेनासमेत पठाए ।

उपरोक्त तथ्यहरूबाट पहिलो विश्वयुद्धमा चन्द्रशमशेरले नेपालको सम्पूर्ण साधन र स्रोतहरू ब्रिटिश साम्राज्यवादको सेवामा लगाएको कुरा प्रस्ट हुन्छ ।

दोस्रो विश्वयुद्धलाई जन्म दिने कैयन कारणहरू धारण गर्दै पहिलो विश्वयुद्धको अन्त्य भयो । नयाँ शक्तिको पराजय नै त्यो कारण थियो जसले भविश्यमा पहिलोभन्दा पनि भयावह दोस्रो विश्वयुद्धलाई जन्म दिने कुरा निश्चित थियो । विजयी पक्ष अर्थात् पुरानो शक्तिले विजीत पक्ष अर्थात् नयाँ शक्तिमाथि एकतर्फी रूपमा जुन सन्धी सम्झौता लाद्‍यो त्यो दोस्रो कारण थियो जसले दुई दशकको अवधिभित्रै दोस्रो विश्वयुद्धलाई जन्म दियो । त्यससम्बन्धमा विजेताहरूद्वारा जर्मनीमाथि थोपरिएको भर्सिलिज सन्धी मुख्य छ । त्यो सन्धीले जर्मनीको राष्ट्रिय स्वतन्त्रता एवम् सार्वभौम सत्ता र त्यहाँका नागरिकहरूको राष्ट्रिय स्वाभिमानलाई क्षतविक्षत पार्‍यो । त्यही उर्वरभूमिमा जर्मनीमा अन्धराष्ट्रवाद र हिटलरको उदय भयो । त्यसले जर्मनहरूमा यतिसम्म बदलाको भावना पैदा गर्‍यो कि जसले दुई दशकको अवधिमा दोस्रो विश्वयुद्धलाई अस्तित्वमा ल्यायो । तत्कालिन समाजवादी सोभियत सङ्घलाई ठेगान लगाउने उद्देश्यले साम्राज्यवादीहरूद्वारा जर्मनीलाई पुनः शक्तिमा उठाउने रणनीति दोस्रो विश्वयुद्ध हुनुको तेस्रो कारण थियो । जसबाट त्यति छोटो अवधिमै जर्मनी आफ्नो गुमेको शक्ति पुनः प्राप्त गर्न र पुरानो शक्तिका विरुद्ध आफ्नो पहिलेको गठबन्धनलाई सङ्गठित गर्न सक्षम भयो र दोस्रो विश्वयुद्धको परिस्थिति बन्यो ।

०००

दोस्रो विश्वयुद्ध १ सेप्टेम्बर १९३९ देखि २१ जुन १९४१ सम्म अन्तरसाम्राज्यवादी युद्ध थियो । त्यस अवधिमा उक्त युद्धको चरित्र दुई साम्राज्यवादी गुटहरूबीच विश्वको पहिले गरिएको विभाजनलाई कायम राख्नखोज्ने साम्राज्यवादी गुट र नयाँ शक्ति र क्षमताको आधारमा विश्वको पुनर्विभाजन गर्नुपर्छ भन्ने नवउदीत साम्राज्यवादी गुटबीचको युद्ध थियो ।

०००

दोस्रो विश्वयुद्धको समयमा नेपालमा जुद्ध शमशेर सत्तारुढ भइसकेका थिए । उनी चन्द्रशमशेरभन्दा पनि बढी अङ्ग्रेज भक्त थिए । त्यसैले दोस्रो विश्वयुद्धको अवधिमा पनि अङ्ग्रेजहरूले चाहेजस्तो सहयोग पाउन कुनै मुश्किल परेन । जुद्ध शमशेरले अङ्ग्रेजहरूको मागअनुसार नेपाली जवानहरूको व्यवस्थापन गरे । उनको कार्यकालमा ब्रिटिश सेनामा नेपालीहरूको सङ्ख्या त्यतिबेलासम्मकै उच्च अर्थात् २ लाख ५० हजार पुग्यो । त्यति मात्र होइन, जुद्ध शमशेरले अङ्ग्रेजहरूले दोस्रो विश्वयुद्धका विभिन्न मोर्चाहरूमा गोर्खाली सेनाहरू पठाउनुपरेकोले आन्तरिक सुरक्षाको निम्ति तिनीहरूले माग गरेअनुरूप नेपाली सेना पनि पठाए । भारतमा ब्रिटिश शासनको विरुद्ध विद्रोहको ज्वाला दन्किरहेको, दोस्रो विश्वयुद्धको कारण बेलायत विश्वका विभिन्न मोर्चाहरूमा कमजोर हुँदै गएको र ब्रिटिश सेनामा कार्यरत नेपाली सेनालाई समुद्र पारका मोर्चाहरूमा पठाउनुपरेको आदि पृष्ठभूमिमा अङ्ग्रेजहरूको आन्तरिक सुरक्षामा नेपाली सेना पठाउने भनेको भारतमा ब्रिटिश शासनको सुरक्षा गर्ने शिवाय अर्को कुरा हुन सक्दैन थियो । त्यस्तो अवस्थामा जुद्ध शमशेरले अङ्ग्रेजहरूलाई सेना सहयोग गरेर भारतको स्वतन्त्रता सङ्ग्रामका साथ ठूलो गद्दारी गरे ।

निश्चयै पनि दोस्रो विश्वयुद्ध पहिलो विश्वयुद्धजस्तो शुरुदेखि अन्त्यसम्म दुई साम्राज्यवादी लुटेरा गुटहरूबीचको युद्ध थिएन । दोस्रो विश्वयुद्ध १ सेप्टेम्बर १९३९ देखि २१ जुन १९४१ सम्म अन्तरसाम्राज्यवादी युद्ध थियो । त्यस अवधिमा उक्त युद्धको चरित्र दुई साम्राज्यवादी गुटहरूबीच विश्वको पहिले गरिएको विभाजनलाई कायम राख्नखोज्ने साम्राज्यवादी गुट र नयाँ शक्ति र क्षमताको आधारमा विश्वको पुनर्विभाजन गर्नुपर्छ भन्ने नवउदीत साम्राज्यवादी गुटबीचको युद्ध थियो । जर्मनीले २२ जुन १९४१ मा समाजवादी सोभियत सङ्घमाथि आक्रमण गरेपछि त्यसको पहिलेको त्यो चरित्रमा परिवर्तन आयो र फासिवादी गुट र मुक्तिकामी राष्ट्र एवम् जनताबीचको युद्धमा रूपान्तरित भयो । त्यो अवस्थामा मुक्तिकामी राष्ट्र एवम् जनताको तर्फबाट फासिवादी गुटका विरुद्ध युद्धमा सामेल हुनु जायज र न्यायोचित हुन्थ्यो । तर यस वस्तुगत आवश्यकताको आधारमा दोस्रो विश्वयुद्धमा नेपाली जवानहरूको सहभागितालाई उचित ठहर्‍याउने स्थिति छैन । त्यो कसरी भने, दोस्रो विश्वयुद्धमा नेपाली जवानहरूको सहभागिता युद्धले फासिवादी गुट र मुक्तिकामी राष्ट्र एवम् जनताबीचको युद्धरूप ग्रहण गरेपछि नेपाल पछिल्लो खेमाको एउटा सदस्य वा समर्थक बनेपछि भएको थिएन । दुई साम्राज्यवादी गुटहरूबीच विश्वको पुनर्विभाजनको निम्ति युद्ध लडिएको अवधिमै (सन् १९४०) आफ्नो साम्राज्यवादी स्वार्थको रक्षार्थ बेलायतले गोर्खा सैनिकहरूलाई युद्धका विभिन्न मोर्चाहरूमा पठाएको थियो । निश्चयै पनि बेलायतले युद्धको चरित्रमा बदलाव आएपछि पनि युद्धका विभिन्न मोर्चाहरूमा नेपाली जवानहरूलाई पठाएको थियो र फासिवादका विरुद्ध तिनीहरूले जीवन-मरणको लडाइँ लडे र हजारौँ नेपालीहरूले बलिदान दिए । फासिवादलाई पराजित गर्ने दृष्टिबाट तिनीहरूको बलिदान अवश्य पनि सह्राहनीय छ । तर नेपालले त्यसमा गर्व गर्नुपर्ने वा फासिवादलाई पराजित गर्न नेपालको योगदान रहेको भन्न मिल्दैन । किनकी तिनीहरूले नेपालका तर्फबाट नभई बेलायतको तर्फबाट युद्ध लडेको र युद्धमैदानमा नेपालको झण्डा नभई बेलायतको झण्डा फहराएका थिए ।

 (ग)  भारतमा मुक्तिसङ्घर्षको सफलता र गोरखा भर्तीको भविश्य

बेलायत भारतबाट फर्कनुपर्ने भएपछिको परिस्थितिमा एकातिर पहिले कै रूपमा गोर्खाभर्तीलाई निरन्तरता दिनु सम्भव थिएन भने अर्कोतिर आफ्नो साम्राज्यवादी स्वार्थको 'इमान्दार' र 'प्रतिवद्ध' रक्षकको भूमिका सफलतापूर्वक निभाएको संस्थालाई त्यसले सुरुक्क भारतलाई सुम्पिएर जान चाहँदैन थियो । बेलायतले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा औपनिवेशिक प्रणालीका विरुद्ध विश्वव्यापीरूपमा सामना गरिनसक्नुको ज्वारभाटा उठ्ने कुरा राम्ररी आँकलन गरेको थियो । त्यतिमात्र होइन, त्यसले कम्युनिस्टहरूको विश्वव्यापी प्रभाव बढ्दै गइरहेको यथार्थतालाई पनि बुझेको थियो । त्यस्तो अवस्था आएको खण्डमा विश्वका विभिन्न भू-भागहरूमा आफ्नो औपनिवेशिक स्वार्थको संरक्षण गर्न र साम्यवादको बढ्दो प्रभाव विस्तारलाई रोक्नको निम्ति त्यसले नेपाली जवानहरूको 'इमान्दारीता', 'प्रतिवद्धता' र 'बहादुरी' पूर्ण सहयोगी हुनेछ भन्ने निश्कर्षको साथ कुनै न कुनै रूपमा गोर्खाभर्तीको विगतको परम्परालाई निरन्तरता दिने निर्णय लियो ।

Photo: scroll.in

भारतीय नेताहरूले पनि विगतमा आफ्नो स्वतन्त्रता सङ्ग्रामलाई दबाउन बेलायतको पक्षबाट लडेका भएपनि चीन र पाकिस्तानसित अन्तर्विरोध रहेको र भविश्यमा त्यसले युद्धको हदसम्म विकास गर्न सक्ने तथा स्वतन्त्र भारत दजनौँ राष्ट्रियताहरूको स्वतन्त्रताको घाँटी निमोठेर बनेको गँठजोड भएका कारण गोर्खाभर्तीलाई निरन्तरता दिनु उपयोगी हुने निश्कर्ष निकाले ।

०००

अर्कोतिर, भारतीय नेताहरूले पनि विगतमा आफ्नो स्वतन्त्रता सङ्ग्रामलाई दबाउन बेलायतको पक्षबाट लडेका भएपनि चीन र पाकिस्तानसित अन्तर्विरोध रहेको र भविश्यमा त्यसले युद्धको हदसम्म विकास गर्न सक्ने तथा स्वतन्त्र भारत दजनौँ राष्ट्रियताहरूको स्वतन्त्रताको घाँटी निमोठेर बनेको गँठजोड भएका कारण गोर्खाभर्तीलाई निरन्तरता दिनु उपयोगी हुने निश्कर्ष निकाले । गोर्खाभर्तीमाथि एकल अधिकार कायम गर्ने स्थिति नभएकोले दुवै मुलुक अन्ततः त्यससम्बन्धमा सहमतिमा आए । लामो, जटिल र कष्टप्रद छलफलपछि ७ नोभेम्बर १९४७ का दिन भारत र बेलायतबीच यससम्बन्धमा एउटा सहमतिपत्रमा हस्ताक्षर भयो । वास्तवमा यो गोर्खाभर्तीसम्बन्धमा दुई मुलुकहरूको एकाधिकारवादी नीति तथा व्यवहार थियो । यसरी पहिले दुई मुलुकहरू मात्र बसेर गोर्खाभर्तीको भविश्यको सम्बन्धमा निर्णय गर्नु यस विषयलाई नेपालसहितको होइन, भारत र बेलायतको मात्र विषय मानिएको स्थिति हो । बेलायतले त लामो समयदेखि यसप्रकारको व्यवहार गर्दै नै आएको थियो । तर स्वतन्त्र भएको तीन महिना पनि बित्न नपाउँदै यससम्बन्धमा भारतीय नेताहरूले अवलम्बन गरेको यो नीति एवम् व्यवहारले उनीहरूले नेपालमाथि भविश्यमा कुन प्रकारको नीति एवम् व्यवहार गर्नेछन् भन्ने कुराको पूर्व सूचना दियो ।

गोर्खा ब्रिगेडका कूल १० रेजिमेन्टहरूमध्ये ४ वटा रेजिमेण्टहरू ब्रिटिश सेनाको हिस्सा बनाउन र बाँकी ६ वटा रेजिमेन्ट भारतीय सेनाको हिस्सा बनाउन दुई मुलुकहरू सहमत भए । यो सहमतिअनुसार दोस्रो, छैटौँ, सातौँ र दशौँ रेजिमेन्टहरू ब्रिटिश सेनामा स्थानान्तरित हुने र बाँकी ६ वटा रेजिमेन्टहरू भारतीय सेनामा रहने भए । यो मामलालाई तिनीहरूले विशुद्धरूपले दुई मुलुकहरूबीचको मामला बनाएको कुरा उक्त सहमतिमा गरिएका निम्न व्यवस्थाहरूबाट प्रस्ट हुन्छ :

"हालको लागि संयुक्त अधिराज्य सरकारले गोरखपुर र घुममा विद्यमान भर्ती केन्द्रहरूलाई उपयोग गरिरहन सक्ने छ ... (बुँदा नं. ३)

"संयुक्त अधिराज्य सरकारले नेपालमा भर्ती गरिने सैनिकहरूको सम्भावित सङ्ख्या एक डिभिजन (२५ हजार) सम्म पुर्‍याउने योजना बनाएको छ तर यसले भारतीय सेनामा भर्ती गरिने गोर्खा सैनिकहरूको हकमा भने कुनै हस्तक्षेप गर्ने छैन । (बुँदा नं ४ )

"गोर्खा सैनिक तथा सैनिक, अधिकृतहरू, पूर्व सैनिक तथा पेन्सन प्राप्त सैनिकहरूले नेपालमा भारतीय रूपैयाँ लैजान र लिन पाउने छन् तर त्यस्तो भारतीय रूपैयाँको कारोबार तथा विदेशीमुद्राको भारतमा हुने आयात समय-समयमा तोकिने सामान्य मौद्रिक प्रचलनअनुसार नियमित हुनेछ । (बुँदा नं १० )

"ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिक र अधिकृतहरूको आधारभूत तलबमान हाल प्रचलित भारतीय वेतनमानअनुरूप कायम हुनेछ र गोरखपुर र घुमका भर्तीकेन्द्रहरूमा कार्यरत सैनिक जवानहरूलाई पनि त्यही अनुपातमा वेतन प्रदान गरिनेछ । समुद्रपार ब्रिटिश सरकारको स्थायी सेवामा खटिएका सैनिकहरूको हकमा भने त्यहाँको उच्च जीवनस्तरअनुरूप हुने गरी उनीहरूको तलब सुविधाको अतिरिक्त विशेष भत्ता प्रदान गरिनेछ । (बुँदा नं ११ )

"आठवटै सैनिक बटालियनहरूलाई ब्रिटिश सेनामा सेवा गर्ने नगर्ने आशय व्यक्त गर्न भनिएपछि ब्रिटिश सेनामा काम गर्न अनिच्छुक सैनिकहरू र तोकिएको सेवावधि पूरा गरिसकेका र भारतीय सैन्य टोलीमा सेवारत रहन अनिच्छुक सैनिकहरूलाई आफ्नो सैनिक सेवामा रहिरहन आह्वान गरेर भारत सरकारले भारतीय सेनामा हुने गोर्खा सैनिकहरूको अभावलाई भर्ताल गर्ने कोशिस गर्नेछ । यसरी पनि आवश्यक सङ्ख्यामा उक्त अभावको पूर्ति हुन सकेन भने ब्रिटिश सरकारले सोझै भर्तीद्वारा उक्त अभावको पूर्ति गरिदिनेछ । (बुँदा नं १२)

गोर्खाभर्तीको भविश्यको सम्बन्धमा पहिले भारत र बेलायत लामो छलफल र बहसपछि एउटा सहमतिमा पुगेर त्यसलाई अन्तिम रूप दिएपछि त्यसको दुईदिनपछि ९ नोभेम्बर २०४७ मा काठमाडौँमा नेपालसहित बसेर दुई मुलुकबीचको पूर्व सहमतिलाई नै तीन मुलुकको सम्झौताको रूपमा प्राधिकृत गरे । त्यतिले मात्र नपुगेर भारत र बेलायतबीच पहिले भएको सहमतिपत्रलाई तत्सम्बन्धमा काठमाडौँमा भएको सम्झौताको महत्त्वपूर्ण अङ्गको रूपमा त्यस्को पछाडि सँगै राखियो । यसबाट गोर्खाभर्तीको भविश्यसम्बन्धमा त्रीपक्षीय वार्तामा नेपालको भूमिका एउटा साक्षीको जस्तो भएको र त्यसका मुख्य खेलाडीहरू बेलायत र भारत भएको कुरा प्रष्ट हुन्छ ।

७ नोभेम्बर २०४७ मा बेलायत र भारतले दुवै मुलुकहरूमा नेपाली जवानहरूको तलब “भारतीय बेतनमान अनुरूप कायम हुने” भन्ने र बुँदा नं. १० को ब्रिटिश सेनामा रहने नेपालीहरूले तलब वापत ल्याएको स्टर्लिङ पाउण्ड भारतमा जम्मा हुने र भारत सरकारले त्यसको सट्टा उनीहरूलाई भारतीय रूपैयाँ दिने जस्ता शर्तहरूलाई जस्ताको तस्तै स्वीकारेर सम्झौताको अङ्ग बनाउने कुरा राणाशासकहरूको दलाल चरित्रको पराकाष्टा नै थियो । देशमा राणा शासनले अन्तिम सास फेरिरहेको अवस्थामा त्यसले बेलायत र भारतजस्ता शक्ति राष्ट्रहरूसँग टक्क गरेर पनि गोर्खाभर्तीको भविश्यको सम्बन्धमा राष्ट्रिय अडान अर्थात् यसको विघटनको अडान लिने थियो भनेर अपेक्षा गर्न सकिँदैन थियो ।

०००

ब्रिटिश उपनिवेशवाद विरुद्ध उत्रेका कम्युनिस्ट क्रान्तिकारीहरूको विद्रोहलाई दबाउन बेलायतले भारतबाट लगेका ८ बटालियन गोर्खा सेनाहरू मध्ये ६ वटा बटालियन मलायामा तैनाथ गर्‍यो भने एउटा बटालियन सिङ्गापुरमा तैनाथ गर्‍यो । ब्रिटिश साम्राज्यवादले एघार वर्षसम्म हिंश्रक तरिकाले गोरखाली सेनाको प्रयोग गरेर कम्युनिस्ट क्रान्तिकारीहरू र देशभक्त मलेसियाली नागरिकको नरशंहार गरी त्यो विद्रोहलाई दवायो र मेलेसियालाई साम्राज्यवादबाट मुक्त एउटा कम्युनिस्ट राज्य हुनुबाट रोक्यो ।

०००

त्यसपछि बेलायत र भारत दुवै मुलुकहरूले नेपाली जवानहरूलाई सेनामा लिएर आफ्नो रणनीतिअनुसार तिनीहरूको प्रयोग गरे । बेलायतले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा दक्षिणपूर्वी एसियामा राष्ट्रिय मुक्ति आन्दोलन र कम्युनिस्ट विद्रोहलाई दबाउन गोर्खा फौज प्रयोग गर्‍यो । त्यस सन्दर्भमा मलाया फेडेरेशनका राज्यहरूमा चलेका कम्युनिस्ट विद्रोहहरूलाई दबाउन बेलायतले गोर्खा फौजलाई गरेको प्रयोग नकारात्मक दृष्टिबाट विश्वभरि नै चर्चित छ । मलाया फेडेरेसनका राज्यहरूमा कम्युनिस्टहरूले जनमुक्ति सेना गठन गरेर ब्रिटिश उपनिवेशवाद विरुद्ध विद्रोहको ज्वाला दन्काइरहेका थिए । त्यो विद्रोहलाई दबाएर आफ्नो उपनिवेश सुरक्षित गर्न बेलायतले सन् १९४७ मा सिङ्गापुर र मलायामा गोर्खा फौज लग्यो । ब्रिटिश उच्चायुक्त सर एडवार्ड जेन्टले १८ जुन १९४७ मा ३ जना रबर उद्यमीहरूको मृत्युको घटनालाई लिएर मलायामा सङ्कटकालको घोषणा गरेर कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । उनले नेग्री राज्यको सेरेम्बानमा गोर्खाफौजको मुख्यालय स्थापना गरे । ब्रिटिश उपनिवेशवाद विरुद्ध उत्रेका कम्युनिस्ट क्रान्तिकारीहरूको विद्रोहलाई दबाउन बेलायतले भारतबाट लगेका ८ बटालियन गोर्खा सेनाहरू मध्ये ६ वटा बटालियन मलायामा तैनाथ गर्‍यो भने एउटा बटालियन सिङ्गापुरमा तैनाथ गर्‍यो । ब्रिटिश साम्राज्यवादले एघार वर्षसम्म हिंश्रक तरिकाले गोरखाली सेनाको प्रयोग गरेर कम्युनिस्ट क्रान्तिकारीहरू र देशभक्त मलेसियाली नागरिकको नरशंहार गरी त्यो विद्रोहलाई दवायो र मेलेसियालाई साम्राज्यवादबाट मुक्त एउटा कम्युनिस्ट राज्य हुनुबाट रोक्यो ।

मलायामा मात्र होइन ब्रुनाई र बोर्नियोमा पनि गोर्खाली सेनाले ब्रिटिश उपनिवेशवाद विरुद्ध उठेको विद्रोहलाई दबाएर त्यसको रक्षा गर्‍यो । ब्रुनाइका जनताले त्यहाँका सुल्तानको निरङ्कुशताबाट मुक्त गभरी एउटा प्रजातान्त्रिक व्यवस्थाको स्थापनार्थ त्यो विद्रोह गरेका थिए । एक महिनाको नृशंश दमन र हत्या अभियान चलाएर गोर्खाली सेनाले अन्ततः त्यो विद्रोहलाई दवायो र सुल्तानको निरङ्कुश शासनलाई निरन्तरता दियो ।

बेलायतले मलायालाई स्वतन्त्रता दिएर बोर्नियोका सवाह र सरावक प्रान्तहरू नजिकको छिमेकी इण्डोनेसियालाई नदिएर टाढाको मलायामा गाभेर सिङ्गापुर, सवाह र सरावकलाई मलेसिया नामाकरण गरेपछि इण्डोनेशिया र मलेसियाबीच द्वन्द्व बढ्यो । त्यसले अन्ततः युद्धको रूप लियो । बेलायतले त्यस युद्धमा मलेसियाको तर्फबाट इण्डोनेसिया विरुद्ध गोर्खाली सेना प्रयोग गर्‍यो । त्यसले २१ नोभेम्बर १९६५ मा गोर्खा सैनिकहरूलाई आक्रमण गर्न निर्देशन दियो । ब्रिटिश गोर्खा सेनाले आफ्नो मुलुकको सीमा पार गरेर एउटा ठूलो भू-भाग कब्जा गरेपछि इण्डोनेसियाको राष्ट्रिय सेना पनि युद्ध मैदानमा उत्रियो । दुवै सेनाबीच बोर्नियाको जङ्गलमा ४ वर्षसम्म भीषण छापामार युद्ध चल्यो र अन्ततः इण्डोनेसियाली सेना पराजित भयो । यहाँ एउटा के कुरा स्मरणीय छ भने बेलायतले इण्डोनेसियाली सेना विरुद्ध जुन गोर्खाली सेना प्रयोग गर्‍यो त्यो उसले मलेशियासित भाडामा लिएको थियो । यसबाट गोर्खाली सेनाको हैसियत एउटा भाडाका सेनाको रहेको कुरा पुष्टि हुन्छ ।

यसरी गोर्खाली सेनाले दक्षिण पूर्वी एसियामा ब्रिटिश उपनिवेशवादको अभेद्य ढाल बनेर त्यहाँका कम्युनिस्टहरू र देशभक्तहरूको हत्याराको विश्वव्यापी पहिचान बनायो ।

ब्रिटिश सेनामा कार्यरत नेपालीहरूको "बहादुरी"को अर्को एउटा उदाहरण फकल्याण्ड युद्ध हो । फकल्याण्ड ल्याटिन अमेरिकामा अवस्थित एउटा टापु हो जुन अर्जेन्टायनाको अखण्डित हिस्सा हो । यो टापु कुनैबेला बेलायतको अधिनमा थियो । सन् १९८२ मा बेलायतले त्यसमाथि पुनः आफ्नो दावी गर्‍यो । अर्जेन्टायनाले आफ्नो भू-भागमाथि बेलायतको दाबीलाई अस्वीकार गर्‍यो । त्यसले युद्धको रूप लियो । लगभग तीनमहिना चलेको युद्धमा बेलायतले गोर्खा बटालियनको प्रयोग गर्‍यो । अन्ततः फकल्याण्डमाथि आफ्नो औपनिवेशिक शासन पुनर्स्थापित गर्न बेलायत सफल भयो र त्यसमा गोर्खाली सेना उसको मुख्य सहयोगी बन्यो । अर्जेन्टायनाको भौगोलिक अखण्डतालाई खण्डित गर्ने ब्रिटिश साम्राज्यवादको तर्फबाट गोर्खाली सेनाले निर्णायक भूमिका खेल्यो । यसबाट अर्जेन्टियाली जनता र विश्व भरिका स्वतन्त्रता तथा न्यायप्रेमी जनताको हृदयमा नेपालीहरूप्रति अत्यन्त नकारात्मक सोच स्थापित भयो ।

०००

। दुई छिमेकी वा मित्र मुलुकहरूबीचको अन्तर्विरोधमा एउटा मुलुकलाई अर्को मुलुक विरुद्ध लड्न आफ्ना नागरिकहरूको प्रयोग गर्नदिनु असंलग्न आन्दोलनको मर्म र नेपालको असंलग्न परराष्ट्र नीति विरुद्धको कुरा हो । विपी कोइरालादेखि पञ्चायतकालिन शासकहरू (राजाहरू) असंलग्नताको कुरा गरेर कहिल्यै थाक्दैन थिए । तर बेलायतले मलाया, ब्रुनाइ, बोर्निया, हङकङ, फकल्याण्डमा र भारतले चीन र पाकिस्तानसितको युद्धमा आफ्ना नागरिकहरूको प्रयोग गर्दा तिनीहरू मुकदर्शक बने ।

०००

माथि उल्लेखित बाहेक अन्य कतिपय क्षेत्रहरूमा पनि बेलायतले गोर्खाली सेनाको दुरूपयोग गरेको छ तर ती सबैसम्बन्धमा मैले यहाँ चर्चा गरेको छैन ।

 (घ) गोर्खाभर्तीको निरन्तरता : असंलग्न परराष्ट्र्नीतिको मर्मका विरुद्ध

दोस्रो विश्वयुद्धको समाप्तिको डेढदशकपछि विश्व दुई महाशक्ति राष्ट्रहरू (अमेरिका र सोभियत सङ्घ) बीचको अन्तर्विरोधमा फस्यो । त्यस अन्तर्विरोध प्रकट रूपमा आउनुको पूर्व सन्ध्या देखिनै विश्वका थुप्रै मुलुकहरू जो (महा) शक्तिराष्ट्रहरूबीचको अन्तर्विरोधमा कुनै पनि पक्षमा लाग्नु उचीत हुँदैन भन्ने ठान्दथिए, तिनीहरूले असंलग्न आन्दोलनको शुरुवात गरे । नेपाल पनि त्यस आन्दोलनको एउटा संस्थापन सदस्य हो । यो असंलग्न आन्दोलन पञ्चशीलका सिद्धान्तहरूमाथि आधारित छ । यस आन्दोलनको गुदी कुरा कुनै पनि शक्ति राष्ट्र वा तिनका गठबन्धनहरूमा नलाग्ने भन्ने हो । नेपाल त्यसको एउटा सदस्य राष्ट्र भएकोले असंलग्न आन्दोलन अनुकूल व्यवहार गर्नुपर्ने हुन्छ । असंलग्न आन्दोलनको स्थापनापछिका सरकारहरूले गोर्खाभर्तीलाई निरन्तरता दिएर त्यसअनुकूल व्यवहार गरेनन् । दुई छिमेकी वा मित्र मुलुकहरूबीचको अन्तर्विरोधमा एउटा मुलुकलाई अर्को मुलुक विरुद्ध लड्न आफ्ना नागरिकहरूको प्रयोग गर्नदिनु असंलग्न आन्दोलनको मर्म र नेपालको असंलग्न परराष्ट्र नीति विरुद्धको कुरा हो । विपी कोइरालादेखि पञ्चायतकालिन शासकहरू (राजाहरू) असंलग्नताको कुरा गरेर कहिल्यै थाक्दैन थिए । तर बेलायतले मलाया, ब्रुनाइ, बोर्निया, हङकङ, फकल्याण्डमा र भारतले चीन र पाकिस्तानसितको युद्धमा आफ्ना नागरिकहरूको प्रयोग गर्दा तिनीहरू मुकदर्शक बने । तिनीहरूले एउटा छिमेकीले अर्को छिमेकीको विरुद्ध, एउटा मित्रराष्ट्रले अर्को मित्रराष्ट्रका विरुद्ध हाम्रा नागरिकहरूको प्रयोग गर्न पाइदैन भनेर आवाज उठाएनन् । गोर्खाभर्ती खारेज गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउने त धेरै टाढाको कुरा हो ।

मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि पनि नेपालका राजनीतिक दलहरू र सरकारहरूले असंलग्न आन्दोलन र त्यसअनुकूल असंलग्न परराष्ट्र नीतिलाई समर्थन गर्दै आएका छन् । तर उनीहरूले असंलग्न आन्दोलन र असंलग्न परराष्ट्र नीतिको मुल मर्मका विरुद्ध जाने गोर्खाभर्तीको परम्परालाई तोड्ने सम्बन्धमा कुनै सक्रिय पाइला चालेका छैनन् । नेपालको असंलग्न परराष्ट्र नीतिसित पूर्णतः शत्रुतापूर्ण सम्बन्ध राख्ने गोर्खाभर्तीको परम्परालाई अविलम्ब खारेज गर्नेतर्फ पाइला चाल्न म सबै सम्बन्धित निकायहरूको ध्यान आकर्षित गर्न चाहन्छु ।

२०८० असोज ७

Main Photo: https://www.popularmechanics.com