मानिसका मस्तिष्कमा पानीः पुरुषभन्दा महिलामा धेरै

मानिसको शरीरका सबै अङ्गहरु महत्वपूर्ण नै हुने गर्छ । तर तीमध्ये पनि सबैभन्दा महत्वपूर्ण अङ्ग मस्तिष्क हो । यसले हाम्रो शरीर सञ्चालनका करिब करिब सबै कामकारवाहीहरुलाई निर्देशित गर्ने काम गरिरहेको हुन्छ ।

औसत रुपमा एउटा मानिसको मस्तिष्कको तौल १.३ देखि १.५ केजीसम्म हुने गर्छ । यो भनेको शरीरको कूल तौलको २ प्रतिशत जति हो । यस हिसाबले शरीरको आकारको तुलनामा सबैभन्दा ठूलो मस्तिष्क पनि मानिसको नै हुने गर्छ । उदाहणको लागि, शरीरको तौलको तुलनामा चिम्पान्जीको मस्तिष्कको तौल ०.८ प्रतिशत र हात्तीको ०.१ प्रतिशत मात्रै हुने गर्छ ।

रमाइलो कुरा के छ भने मानव मस्तिष्कको ठूलो हिस्सा चाहिँ आफैंमा पानी हुने गर्छ । सामान्यतः एउटा मानिसको मस्तिष्कको ७५ देखि ८० प्रतिशत हिस्सा पानी हुने गर्छ ।

त्यसो त मानिसको मस्तिष्कमा कति पानी हुने गर्छ भन्ने कुरा उसको उमेर, लिङ्ग र स्वास्थ्य अवस्थामा पनि भर गर्छ । उदाहरणको लागि, एउटा भरखरै जन्मेको बच्चाको मस्तिष्कमा ९० प्रतिशतसम्म पानी हुन सक्छ । तर जब मानिस वयस्क हुन्छ, उसको मस्तिष्कमा पानी ७५ प्रतिशतसम्म हुन आउँछ । रमाइलो कुरा के छ भने, पुरुषको तुलनामा महिलाको मस्तिष्कमा पानी अलि बढी हुने गर्छ ।

मस्तिष्कलाई सही ढंगले काम गर्न पानी अत्यावश्यक हुन्छ । मस्तिष्कमा भएको पानीले नै कोषहरुमा अक्सिजन र पोषण पुर्याउने काम गर्छ । त्यसैगरी, पानीले मस्तिष्कमा पैदा हुने अनावश्यक फोहारहरुलाई हटाउने काम पनि गर्छ । हाम्रो शरीरमा पानी कम भयो भने स्वभाविक रुपमा मस्तिष्कमा पनि पानी कम हुन जान्छ । फलतः हाम्रो मस्तिष्कले सही ढंगले काम गर्न सक्दैन । त्यसैले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ ।

हाम्रो पूरै शरीरमा पनि पर्याप्त मात्रामा पानी हुने गर्छ । औसत रुपमा एउटा पुरुषको शरीरमा ६० प्रतिशत पानी हुने गर्छ भने महिलाकोमा चाहिँ ५५ प्रतिशत । फेरि व्यक्तिपिच्छे उसको उमेर, लिङ्ग, शरीरको बनावट र स्वास्थ्य अवस्थाले पनि पानीको मात्रा फरक फरक हुने गर्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।