पृथ्वीको धान्ने क्षमताभन्दा बढी जनसङ्ख्या
पारिस्थितिकीय प्रणाली ध्वस्त हुने र गम्भीर खाद्य असुरक्षा निम्तिने जोखिम
'इन्भायरोन्मेन्टल रिसर्च लेटर्स' नामक शोध पत्रिकामा हालै प्रकाशित एक अध्ययनले मानव जाति र पृथ्वीको भविष्यका बारेमा गम्भीर चेतावनी दिएको छ। पारिस्थितिकीविद् कोरी ब्राडशाको नेतृत्वमा गरिएको यस अनुसन्धानले पृथ्वीको दीर्घकालीन दिगो भारवहन क्षमता (Sustainable Carrying Capacity) भन्दा अहिलेको मानव जनसङ्ख्या निकै गुणा बढी भइसकेको तथ्य औँल्याएको छ। अध्ययनका अनुसार, पृथ्वीले हालको संशाधन खपतको शैलीलाई आधार मान्दा करिब २.५ अर्ब मानिसलाई मात्र दिगो रूपमा धान्न सक्छ। तर, वर्तमान विश्वको जनसङ्ख्या ८.३ अर्ब पुगिसकेको छ, जुन पृथ्वीको वास्तविक क्षमताभन्दा करिब ६ अर्ब बढी हो।
अनुसन्धानकर्ताहरूले विगत दुई शताब्दीको जनसङ्ख्या तथ्याङ्कलाई गणितीय मोडलहरूको प्रयोग गरी विश्लेषण गरेका थिए। उनीहरूका अनुसार मानवताले दशकौँ अघि नै यो सीमा पार गरिसकेको थियो। जीवाश्म इन्धनमा आधारित कृषि, ऊर्जा र औद्योगिक क्षेत्रमा भएको प्रगतिले केही समयका लागि यो समस्यालाई छोपेको भए तापनि, यसका दुष्परिणामहरू अहिले वातावरणीय ह्रासका रूपमा देखापर्न थालेका छन्। बढ्दो विश्वव्यापी तापक्रम, पारिस्थितिकीय असन्तुलन र कार्बन उत्सर्जनमा भएको वृद्धि यसैका उपज हुन्।
जनसङ्ख्या वृद्धि र वातावरणीय दबाबबीच प्रत्यक्ष सम्बन्ध रहेको यस अध्ययनले पुष्टि गरेको छ। प्रतिव्यक्ति उपभोगभन्दा पनि जनसङ्ख्याको तीव्र आकारले खाद्यान्न प्रणाली, जैविक विविधता, स्वच्छ पानी र जलवायु स्थिरतामा ठूलो तनाव सिर्जना गरिरहेको छ। यद्यपि विश्वमा जन्मदर घट्दै गइरहेको छ, तर मोडलहरूले यो शताब्दीको मध्यसम्ममा जनसङ्ख्या १२ अर्बसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन्। वर्तमान मागलाई नै धान्न नसक्ने पृथ्वीका लागि यो सङ्ख्या अपूरणीय क्षतिको कारण बन्न सक्छ।
विज्ञहरूका अनुसार, समयमै कदम चालिएन भने पारिस्थितिकीय प्रणाली ध्वस्त हुने र गम्भीर खाद्य असुरक्षा निम्तिने जोखिम छ। प्रविधिले मात्र सबै समस्या समाधान गर्न सक्दैन; यसका लागि हाम्रो उपभोग गर्ने शैलीमा आमूल परिवर्तन, नवीकरणीय ऊर्जाको प्रयोग र भूमि तथा पानीको उचित व्यवस्थापन आवश्यक छ। यो अध्ययनले मानव र प्रकृतिबीचको सन्तुलन कायम गर्न र अपूरणीय क्षति हुनुअघि नै विश्वव्यापी सहकार्यमार्फत जनसाङ्ख्यिक र उपभोगजन्य चुनौतीहरूलाई सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिएको छ।
स्रोत: S Acumen
तिहारका लागि यसरी रोप्न र हुर्काउन सकिन्छ सयपत्री फूल
काठमाडौँको निसासिँदो आकाश: बाहिरको धुलो कि भित्रको जलन?
अति-प्रशोधित खानपान र बालबालिकाको संवेगात्मक तथा व्यवहारिक स्वास्थ्य बीचको सम्ब…
खाना खाएपछिको १०–२० मिनेट हिँड्नुको फाइदा
भात मनपर्छ ? सुगर रोग लाग्दैमा भात खान छोड्नु पर्दैन !
मानसिक रोगका कारक जीन पत्ता लाग्यो !
विषादीले मानिसको आन्द्रामा रहेका फाइदा गर्ने सूक्ष्मजीवहरूलाई खतरा पुर्याउँछन्
प्रतिक्रिया