नियम होइन, बल: अमेरिकी शक्ति, मुनरो सिद्धान्त, र नयाँ विश्व राजनीतिका रेखाहरू
विश्व दोस्रो विश्वयुद्धपूर्वको व्यवस्थातर्फ बिस्तारै फर्किँदै जाँदा, ‘मध्य शक्तिहरू’ले एउटा गम्भीर नयाँ चुनौतीको सामना गरिरहेका छन्।
एलन लिटिल
मलाई कोलम्बिया विश्वविद्यालयको पत्रकारिता विद्यालयमा आयोजित एउटा सम्मेलनमा प्रमुख वक्तव्य (कीनोट भाषण) दिन आमन्त्रण गरिएको थियो। समय थियो जनवरी २००२। त्यसअघि केही महिनामै दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरका जुम्ल्याहा टावरहरूमा ठोक्काइएका थिए, र सहर अझै पनि कति गहिरो रूपमा घाइते थियो भन्ने अनुभूति स्पष्टै महसुस गर्न सकिन्थ्यो। तपाईंले कुरा गर्ने न्युयोर्कवासीहरूको अनुहारमै त्यो पीडा पढ्न सकिन्थ्यो।
आफ्नो भाषणमा मैले संयुक्त राज्य अमेरिकाले मेरो जीवनमा के अर्थ राखेको थियो भन्नेबारे केही प्रारम्भिक टिप्पणीहरू गरेँ। “म दोस्रो विश्वयुद्ध समाप्त भएको १५ वर्षपछि जन्मिएको हुँ,” मैले भनेँ, “एउटा यस्तो संसारमा, जुन अमेरिकाले निर्माण गरेको थियो। म जन्मिएको पश्चिमी युरोपको शान्ति, सुरक्षा र बढ्दो समृद्धि ठूलो अंशमा अमेरिकी उपलब्धि थियो।”
मैले अगाडि भनेँ– पश्चिमी मोर्चामा युद्ध जिताउने अमेरिकी सैनिक शक्ति नै थियो। त्यसैले सोभियत शक्तिको पश्चिमतर्फको थप विस्तारलाई रोक्न सफल भयो।
मैले मार्शल योजनाको रूपान्तरणकारी प्रभावबारे पनि छोटकरीमा चर्चा गरेँ, जसअन्तर्गत अमेरिकाले युरोपलाई आफ्ना तहसनहस भएका अर्थतन्त्रहरू पुनर्निर्माण गर्ने साधन उपलब्ध गरायो, र लोकतन्त्रका संस्थाहरूलाई पुनःस्थापित गर्न सहयोग गर्यो।
मैले प्रायः पत्रकारिताका विद्यार्थीहरू रहेका श्रोतामण्डलीलाई एक युवा संवाददाताको रूपमा मैले सन् १९८९ मा यी सबैको प्रेरणादायी पराकाष्ठा आफ्नै आँखाले देखेको थिएँ, जब म प्रागको वेन्सेस्लास स्क्वायरमा उभिएको बताएँ ।
त्यतिबेला मैले, स्तब्ध हुँदै, चेक र स्लोभाक जनताले सोभियत अधिनायकत्वको अन्त्य र घृणित कम्युनिस्ट तानाशाहीको अन्त्यको माग गरिरहेको दृश्य देखेको थिएँ, ताकि उनीहरू पनि हामीले सरल रूपमा “पश्चिम” भनेर चिन्ने राष्ट्रहरूको समुदायको हिस्सा बन्न सकून्– साझा मूल्यहरूले बाँधिएको त्यो समुदाय, जसको अग्रपङ्क्तिमा संयुक्त राज्य अमेरिका उभिएको थियो।
मैले आफ्ना नोटहरूबाट नजर उठाएर श्रोताहरूको अनुहारतर्फ हेरेँ। व्याख्यान हलको अगाडिपट्टि करिब २० वर्ष जतिको एक युवक बसिरहेको थियो। उसको अनुहारबाट आँसु बगिरहेका थिए, र ऊ चुपचाप सुस्केरा दबाउने प्रयास गरिरहेको थियो।
त्यसपछि भएको पेय– स्वागत समारोहमा ऊ मसँग आयो। “माफ गर्नुहोस्, भित्र म आफैँलाई सम्हाल्न सकिनँ,” उसले भन्यो। “तपाईंका शब्दहरूले– अहिले हामी सबै काँचो र असुरक्षित अवस्थामा छौँ। अमेरिकाले आफ्ना विदेशी मित्रहरूबाट यस्ता कुरा सुन्नु आवश्यक छ।”
त्यो क्षणमा मैले सोचें– मेरो पुस्ता, र उसको पुस्ता पनि, कति भाग्यमानी रहेछौँ कि हामी यस्तो युगमा जीवित थियौँ, जहाँ अन्तर्राष्ट्रिय प्रणाली नियमद्वारा नियन्त्रित थियो– एक यस्तो संसार, जसले महान् शक्तिहरूको निरंकुश बल प्रयोगतर्फ पीठ फर्काएको थियो।
तर अहिले मलाई फर्केर आउने भने उसका सहपाठीमध्ये एकजनाका शब्दहरू हुन्। उनी ९/११ हुनुभन्दा केही दिनअघि मात्र आफ्नो जन्मभूमि पाकिस्तानबाट कोलम्बिया विश्वविद्यालयमा अध्ययन गर्न न्यूयोर्क आएका थिए। उनले संयुक्त राज्य अमेरिकालाई रोमन साम्राज्यसँग तुलना गरे।
“तपाईं साम्राज्यको दुर्गभित्र– अर्थात् यहाँ, अमेरिकामा– बाँच्ने सौभाग्य पाउनुहुन्छ भने, तपाईंले अमेरिकी शक्तिलाई सौम्य र हितकारी रूपमा अनुभूति गर्नुहुन्छ। यसले तपाईं र तपाईंको सम्पत्तिको रक्षा गर्छ। कानूनको शासन कायम गरेर स्वतन्त्रता प्रदान गर्छ। लोकतान्त्रिक संस्थामार्फत जनताप्रति उत्तरदायी हुन्छ।
“तर मझैँ, तपाईं साम्राज्यको बर्बर सीमावर्ती क्षेत्रमा बस्नुहुन्छ भने, तपाईंले अमेरिकी शक्तिलाई बिल्कुलै फरक रूपमा अनुभूति गर्नुहुन्छ। यसले दण्डहीन रूपमा तपाईंमाथि जे पनि गर्न सक्छ… र तपाईं न त यसलाई रोक्न सक्नुहुन्छ, न त उत्तरदायी ठहर गर्न।”
उनका ती शब्दहरूले मलाई धेरै प्रशंसित ‘नियम– आधारित अन्तर्राष्ट्रिय व्यवस्था’लाई अर्को कोणबाट हेर्न बाध्य पारे– ग्लोबल साउथका धेरै देशहरूको दृष्टिकोणबाट। र यसका लाभहरू कहिल्यै पनि सार्वभौमिक रूपमा वितरण नभएका तथ्यतर्फ, जुन कुरा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले गत साता स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा उपस्थित श्रोताहरूलाई स्मरण गराएका थिए।
“हामीलाई अन्तर्राष्ट्रिय नियम– आधारित व्यवस्थाको कथा आंशिक रूपमा झूटो थियो भन्ने कुरा थाहा थियो,” ती युवा पाकिस्तानी विद्यार्थीले ती सबै वर्षअघि स्वीकारेका थिए।
“सबैभन्दा शक्तिशालीहरू आवश्यक पर्दा आफैँलाई नियमबाट उन्मुक्त राख्थे। व्यापारसम्बन्धी नियमहरू असमान रूपमा लागू गरिन्थे। र अन्तर्राष्ट्रिय कानून अभियुक्त वा पीडितको पहिचानअनुसार फरक– फरक कठोरताका साथ लागू हुन्थ्यो भन्ने कुरा पनि हामीलाई थाहा थियो।”
“तपाईंलाई चाखलाग्दो लाग्दैन,” उसले सोध्यो, “कि मनपरी रूपमा [बेलायती] शक्तिको प्रयोगविरुद्ध विद्रोहबाट अस्तित्वमा आएको देश– संयुक्त राज्य अमेरिका– आजको दिनमा मनपरी शक्तिको सबैभन्दा शक्तिशाली प्रवर्तक बनेको छ?”
नयाँ विश्व व्यवस्था, कि भविष्यबाट अतीततर्फको फर्काइ?
डोनाल्ड ट्रम्प गत साता डाभोस आएका बेला युरोपेलीहरूलाई ग्रिनल्यान्डको विषयमा आफ्नो इच्छाअनुसार झुकाउने दृढ संकल्पमा देखिन्थे। उनले भने– उनी स्वामित्व चाहन्थे।
उनले डेनमार्कले उक्त क्षेत्रको रक्षा गर्न “अझै एउटा मात्र कुकुर– स्लेज थपेको” टिप्पणी गरे। यसले उनी र उनका निकट सल्लाहकारहरूको वृत्तले केही युरोपेली सहयोगीहरूप्रति राख्ने खुला तिरस्कार कति गहिरो छ भन्ने धेरै कुरा उजागर गर्छ।
“म युरोपेलीहरूद्वारा गरिने निःशुल्क फाइदा उठाउने प्रवृत्तिप्रति तपाईंको घृणालाई पूर्ण रूपमा साझा गर्छु,” रक्षा सचिव पिट हेगसेथले गत वर्ष सिग्नल नामक मेसेजिङ एपमा उपराष्ट्रपति जेडी भान्ससमेत रहेको समूहलाई भनेका थिए, र अन्त्यमा “दयनीय” (PATHETIC) थपेका थिए। (त्यतिबेला उनले द एटलान्टिक पत्रिकाका सम्पादक पनि उक्त समूह च्याटमा थपिएका रहेछन् भन्ने कुरा थाहा पाएनन् ।)
त्यसपछि राष्ट्रपति ट्रम्पले हालै फक्स न्युजलाई भने– अफगानिस्तान युद्धका क्रममा नाटोले “केही सैनिक” पठाएको थियो, तर ती “अलिकति पछाडि, अग्रमोर्चाबाट अलिकति टाढा बसेका” थिए।
यी टिप्पणीहरूले बेलायतका राजनीतिज्ञहरू र सैनिकका परिवारहरूमा आक्रोश उत्पन्न गर्यो। बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले ट्रम्पका अभिव्यक्तिलाई “अपमानजनक र स्पष्ट रूपमा निन्दनीय” भनेर संज्ञा दिए।
शनिबार बेलायती प्रधानमन्त्रीले ट्रम्पसँग फोनवार्ता गरे। त्यसपछि अमेरिकी राष्ट्रपतिले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत बेलायती सैनिकहरूको प्रशंसा गर्दै उनीहरूलाई “सबै समयका महान् योद्धाहरूमध्येका” भने।
ह्वाइट हाउसले गत डिसेम्बरमा प्रकाशित गरेको राष्ट्रिय सुरक्षा रणनीतिबाट हामीलाई थाहा छ कि आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले अन्तर्राष्ट्रिय मामिलाहरू नियमन गर्न– आंशिक रूपमा वाशिङ्टनकै पहलमा– स्थापित गरिएका बहुराष्ट्रिय संस्थाहरूको प्रणालीबाट अमेरिकालाई मुक्त पार्ने अभिप्राय राखेका छन्।
उक्त दस्तावेजले स्पष्ट रूपमा उल्लेख गर्छ कि अमेरिकाले आफूमा निहित जुनसुकै शक्ति प्रयोग गरेर– आर्थिक प्रतिबन्ध र व्यापार महसुलदेखि सैन्य हस्तक्षेपसम्म– “अमेरिका फर्स्ट”लाई अमेरिकी सुरक्षा रणनीतिको केन्द्रमा राख्नेछ, र साना तथा कमजोर राष्ट्रहरूलाई अमेरिकी हितअनुसार पङ्क्तिबद्ध गराउनेछ।
यो यस्तो रणनीति हो, जसलेमहान् शक्तिहरूले प्रभावक्षेत्रहरू कोर्ने संसारतर्फको पुनरागमन शक्तिलाई प्राथमिकता दिन्छ ।
यसमा क्यानडाका प्रधानमन्त्रीले “मध्य शक्तिहरू” भनेर उल्लेख गरेका देशहरूका लागि निहित खतरा स्पष्ट छ। “तपाईं टेबलमा हुनुहुन्न भने,” उनले भने, “तपाईं मेनुमा हुनुहुन्छ।”
मुनरो सिद्धान्तको पुनःव्याख्या
गत साता डाभोसमा अमेरिकाका सहयोगीहरू– विशेषतः क्यानडा र युरोप– अहिले सामान्य रूपमा ‘नियम– आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ भनेर चिनिने अवधारणालाई अन्तिम विदाइ दिँदै थिए, र कतिपय अवस्थामा यसको पतनमा शोक व्यक्त गरिरहेका थिए।
तर कोलम्बिया विश्वविद्यालयको पत्रकारिता विद्यालयका ती युवा पाकिस्तानी विद्यार्थीले ती सबै वर्षअघि जस्तै तर्क गरेका थिए– विश्वका धेरै भागहरूका लागि पछिल्ला ८० वर्षमा अमेरिकाले, र कहिलेकाहीँ उसका केही मित्रहरूले पनि, आफूलाई नियमद्वारा बाँधिएको महसुस गरेको जस्तो देखिएको छैन।
“दोस्रो विश्वयुद्धपछि तथाकथित नियम– आधारित अन्तर्राष्ट्रिय व्यवस्थाअन्तर्गत पनि हामीले संयुक्त राज्य अमेरिकाले ल्याटिन अमेरिकामा गरेका अनेकौँ हस्तक्षेपहरू देख्यौँ,” लन्डनस्थित चाथम हाउस थिंक ट्याङ्कका ल्याटिन अमेरिकाका वरिष्ठ अनुसन्धान फेलो डा. क्रिस्टोफर साबातिनी भन्छन्।
“यो कुनै नयाँ कुरा होइन। हस्तक्षेपका ढाँचाहरू सन् १८२३ सम्मै पुगेर जोडिन्छन्। एकल रूपमा अमेरिकी हस्तक्षेपको पक्षपोषण गर्ने अमेरिकी नीति– निर्माताहरूका लागि मैले प्रयोग गर्ने एउटा शब्द छ। म उनीहरूलाई ‘ब्याकयार्ड– इस्टा’ भन्छु– जो ल्याटिन अमेरिकालाई आफ्नै घरआँगनजस्तो ठान्छन्।”
सन् १९५३ मा सीआईएले बेलायती गोप्य गुप्तचर सेवाको सहयोगमा इरानमा एक कू आयोजना गर्यो, जसले मोहम्मद मोसादेगको सरकारलाई अपदस्थ गर्यो। उनले एङ्ग्लो– इरानियन आयल कम्पनी (पछि बीपीको हिस्सा बनेको) का खाताहरूको अडिट गर्न चाहेका थिए, र कम्पनीले सहकार्य गर्न अस्वीकार गरेपछि मोसादेगले त्यसलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका थिए।
बेलायती आर्थिक हितका लागि खतरा बनेको ठहर गर्दै उनलाई सत्ताच्युत गरियो, र बेलायत तथा अमेरिकाले क्रमशः झन् तानाशाही बन्दै गएको शाहको समर्थनमा आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरे।
उही समयमा, संयुक्त राज्य अमेरिका ग्वाटेमालाको निर्वाचित सरकारलाई अपदस्थ गर्ने षड्यन्त्रमा पनि संलग्न थियो। उक्त सरकारले लागू गरेको महत्वाकांक्षी भूमिसुधार कार्यक्रमले अमेरिकी युनाइटेड फ्रुट कम्पनीको नाफामा असर पार्ने खतरा उत्पन्न गरेको थियो।
फेरि पनि सीआईएको सक्रिय संलग्नतासँगै, वामपन्थी राष्ट्रपति हाकोबो आर्बेन्जलाई सत्ताच्युत गरियो र उनको ठाउँमा अमेरिकाको समर्थन प्राप्त अधिनायकवादी शासकहरूको एक शृङ्खला स्थापित गरियो।
सन् १९८३ मा मार्क्सवादी कू पछि अमेरिकाले क्यारेबियन टापु राष्ट्र ग्रेनाडामा आक्रमण गर्यो। यो त्यस्तो देश थियो, जसको राष्ट्रप्रमुख दिवंगत महारानी एलिजाबेथ द्वितीय थिइन्।
र सन् १९८९ मा अमेरिकाले पनामा आक्रमण गर्यो र त्यहाँका सैनिक शासक म्यानुअल नोरेगालाई गिरफ्तार गर्यो। उनले आफ्नो जीवनका अन्तिम केही महिनाबाहेक प्रायः सम्पूर्ण समय कारागारमै बिताए।
यी सबै हस्तक्षेपहरू सन् १८२३ मा राष्ट्रपति जेम्स मुनरोद्वारा पहिलो पटक प्रतिपादित मुनरो सिद्धान्तका उपज थिए। उक्त सिद्धान्तले पश्चिमी गोलार्धमा अमेरिकाको प्रभुत्व रहने अधिकार र ल्याटिन अमेरिकाका नयाँ स्वतन्त्र राष्ट्रहरूमा युरोपेली शक्तिहरूले हस्तक्षेप गर्न नपाउने दाबी गरेको थियो।
युद्धपछिको नियम– आधारित अन्तर्राष्ट्रिय व्यवस्थाले अमेरिकालाई आफ्ना कमजोर छिमेकीहरूमाथि आफ्नो इच्छा लाद्नबाट रोक्न सकेन।
जब संयुक्त राज्य अमेरिकाका पाँचौँ राष्ट्रपति जेम्स मुनरोले आफ्नो नाममा चिनिने यो सिद्धान्त घोषणा गरे, त्यसलाई व्यापक रूपमा छिमेकी राष्ट्रहरूप्रतिको अमेरिकी ऐक्यबद्धताको अभिव्यक्ति, र युरोपेली महान् शक्तिहरूले पुनः उपनिवेश बनाउने प्रयासबाट उनीहरूलाई जोगाउने रणनीतिका रूपमा हेरिएको थियो। आखिर, अमेरिकाले उनीहरूसँग गणतान्त्रिक मूल्यहरूको साझा आधार र उपनिवेशवादविरुद्धको संघर्षको इतिहास साझा गर्थ्यो।
तर यो सिद्धान्त चाँडै नै वाशिङ्टनले आफ्ना छिमेकीहरूमाथि प्रभुत्व जमाउने र अमेरिकी हितअनुसार उनीहरूको नीतिहरू मोड्न सैन्य हस्तक्षेपसम्मका कुनै पनि उपाय प्रयोग गर्न सक्ने अधिकारको दाबीमा रूपान्तरित भयो।
सन् १९०४ मा राष्ट्रपति थियोडोर रुजवेल्टले यसले अमेरिकालाई “अन्तर्राष्ट्रिय प्रहरी शक्ति” प्रदान गरेको छ, जहाँ “गलत कार्य” भएको ठानिन्छ, त्यहाँ हस्तक्षेप गर्न सकिने बताए।
त्यसो भए के राष्ट्रपति ट्रम्पद्वारा मुनरो सिद्धान्तको पुनःव्याख्या अमेरिकी विदेश नीतिमा लामो समयदेखि जारी एउटा निरन्तर प्रवृत्तिको मात्र अंश हो?
“१९५४ मा ग्वाटेमालामा भएको कू– त्यो पूर्ण रूपमा अमेरिकाकै जिम्मामा थियो। उनीहरूले देशको सम्पूर्ण सत्ता– हस्तान्तरण नै योजनाबद्ध गरेका थिए,” क्रिस्टोफर साबातिनी भन्छन्।
उनले थपे– सन् १९७३ मा चिलीका वामपन्थी प्रधानमन्त्री साल्भादोर अयेन्देविरुद्ध भएको कू “सीआईएले प्रत्यक्ष रूपमा आयोजना गरेको भने होइन, तर संयुक्त राज्य अमेरिकाले कू स्वीकार गर्ने सन्देश दिएको थियो।”
शीतयुद्धका क्रममा हस्तक्षेपको मुख्य प्रेरणा घरेलु रूपमा सोभियत समर्थित दलहरू बलियो बन्दै गएको– अर्थात् पश्चिमी गोलार्धतर्फ कम्युनिस्ट विस्तार हुँदै गएको– धारणासँग जोडिएको थियो। आजको दिनमा भने देखिएको शत्रु कम्युनिज्म होइन, लागुऔषध तस्करी र आप्रवासन हुन्।
यो फरकपन हुँदाहुँदै पनि, राष्ट्रपति ट्रम्पद्वारा मुनरो सिद्धान्तको पुनःदाबी “निश्चय नै ‘भविष्यबाट अतीततर्फ फर्किनु’ हो,” उन्नाइसौँ शताब्दीको अमेरिकी इतिहासमा केन्द्रित द मुनरो डक्ट्रिन: एम्पायर एन्ड नेशन इन नाइन्टिन्थ सेन्चुरी अमेरिका का लेखक इतिहासकार जे सेक्स्टन भन्छन्।
“ट्रम्पको अमेरिकालाई उन्नाइसौँ शताब्दीको झल्को दिने अर्को पक्ष भनेको उनको अनिश्चितता र अस्थिरता हो। पर्यवेक्षकहरूले अमेरिकाले अब के गर्छ भन्ने कुरा कहिल्यै ठ्याक्कै अनुमान गर्न सक्दैनथे।
“भविष्यले के ल्याउँछ भन्ने हामीलाई थाहा छैन, तर आधुनिक इतिहास– १८१५ देखि [नेपोलियन युद्धहरूको अन्त्यपछि]– को सरसरी अध्ययनबाटै पनि हामीलाई थाहा हुन्छ कि महान् शक्तिहरूबीचको प्रतिस्पर्धा अत्यन्त अस्थिरता पैदा गर्ने खालको हुन्छ। यसले द्वन्द्वतर्फ लैजान्छ।”
सहयोगीहरूबीचको एकता
अमेरिकी एकपक्षीयता नयाँ कुरा नहुन सक्छ। तर यसपटक नयाँ के छ भने– अमेरिकी शक्तिको प्रत्यक्ष प्रभाव झेल्नेहरू अब अमेरिकाका आफ्नै मित्र र सहयोगीहरू बनेका छन्।
अचानक, युरोपेलीहरू र क्यानाडालीहरूले विश्वका अन्य धेरै भागहरूले लामो समयदेखि भोग्दै आएको अनुभवको स्वाद पाइरहेका छन्– ९/११ पछिल्ला हप्ताहरूमा ती युवा पाकिस्तानी पत्रकारिता विद्यार्थीले मलाई अत्यन्त स्पष्ट रूपमा व्यक्त गरेको अमेरिकी शक्तिको मनमानी प्रयोग।
आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा युरोपेली नेताहरूले ट्रम्पप्रति अपनाएको रणनीति चाकडी थियो। उदाहरणका लागि, स्टार्मरले राजा चार्ल्सलाई प्रयोग गरेर उनलाई बेलायतमा दोस्रो राजकीय भ्रमणको निमन्त्रणा दिन लगाए– यो सम्मान इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिलाई दिइएको थिएन।
नाटोका महासचिव मार्क रुट्टेले त अनौठो ढंगले उनलाई “ड्याडी” नै भने।
तर युरोपप्रति ट्रम्पको दृष्टिकोणले स्पष्ट सफलता दिलायो।
बराक ओबामा र जो बाइडेनसहितका अघिल्ला राष्ट्रपतिहरूले पनि नाटो– ट्रान्स– अटलान्टिक सामूहिक सुरक्षा गठबन्धन– मा युरोपेली सहयोगीहरूले आफ्नो दायित्व पूरा नगरेको र आफ्नै सुरक्षामा बढी खर्च गर्नुपर्ने धारणा राखेका थिए। तर उनीहरूलाई व्यवहारमा उतार्न सफल भने ट्रम्प मात्र भए। उनका धम्कीहरूको प्रतिक्रियामा, युरोपेली देशहरूले आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २ प्रतिशतबाट ५ प्रतिशतसम्म बढाउन सहमति जनाए– एक वर्षअगाडिसम्म अकल्पनीय मानिने कुरा।
तर ग्रिनल्यान्ड भने निर्णायक मोड सावित भयो। जब ट्रम्पले ग्रिनल्यान्डमा डेनमार्कको सार्वभौमिकतामाथि चुनौती दिए, सहयोगीहरू नयाँ किसिमको अडानसहित एकताबद्ध हुन थाले, र यसपटक नझुक्ने अठोट गरे।
क्यानडाका प्रधानमन्त्रीले यही क्षणलाई स्वर दिए। डाभोसमा दिएको आफ्नो निर्णायक भाषणमा मार्क कार्नीले यसलाई पुरानो नियम– आधारित अन्तर्राष्ट्रिय व्यवस्थासँगको “विच्छेद” को क्षण भने– महान् शक्तिको राजनीतिले हावी हुने नयाँ संसारमा, “मध्य शक्तिहरू” ले अब संयुक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता छ।
डाभोसमा श्रोताहरू उभिएर वक्तालाई ताली बजाउँदै सम्मान गर्ने दृश्य दुर्लभ हुन्छ। तर कार्नीका लागि त्यही भयो, र त्यो क्षणमा सहयोगीहरूबीच एक किसिमको एकता आकार लिँदै गरेको अनुभूति गर्न सकिन्थ्यो। र एकैछिनमै, महसुल (ट्यारिफ) को खतरा हट्यो।
ग्रिनल्यान्डको सन्दर्भमा ट्रम्पले दशकौँदेखि अमेरिकासँग पहिल्यै रहेकोभन्दा बढी केही पनि हासिल गरेका छैनन्– डेनमार्कको सहमतिसहित त्यहाँ सैनिक आधारहरू निर्माण गर्ने, असीमित संख्यामा सैन्य कर्मचारी तैनाथ गर्ने, र खनिज स्रोतको उत्खननसमेत गर्ने अधिकार त अमेरिकासँग पहिल्यैदेखि थियो।
आज ‘मध्य शक्तिहरू’ले सामना गरिरहेको चुनौती
यसमा कुनै शङ्का छैन कि ट्रम्पको ‘अमेरिका फर्स्ट’ रणनीति उनका म्यागा (MAGA) समर्थक आधारबीच लोकप्रिय छ। उनीहरू पनि स्वतन्त्र विश्वले अमेरिकी उदारतामा अत्यधिक समयसम्म निःशुल्क लाभ लिँदै आएको भन्ने ट्रम्पको दृष्टिकोण साझा गर्छन्।
र युरोपेली नेताहरूले आफ्नो रक्षा खर्च बढाउन सहमति जनाउँदा, राष्ट्रपति ट्रम्प सही थिए भन्ने कुरा स्वीकारेका छन्– त्यो असन्तुलन अब न त न्यायोचित थियो, न त दीगो नै।
सन् २००४ को जुनमा, मैले नर्मन्डीमा डी– डे को ६०औँ वार्षिकोत्सव मनाउन आयोजित समारोहबारे रिपोर्ट गरेको थिएँ। त्यतिबेला अझै पनि धेरै दोस्रो विश्वयुद्धका जीवित सैनिकहरू थिए, र ६० वर्षअघि च्यानल पार गरेका हजारौँ मानिसहरू– धेरैजसो अमेरिका बाट– त्यो दिन फेरि ती समुद्री तटहरूमा फर्किएका थिए।
उनीहरू आफ्ना युवावस्थाको वीरता वा साहसका कथा सुन्न चाहँदैनथे। हामीले उनीहरूलाई एक्लै– एक्लै वा साना समूहमा कब्रिस्तानतर्फ गइरहेको देख्यौँ– मुक्त फ्रान्सको माटोमा छोडेर आएका, आफूले चिनेका ती युवा पुरुषहरूको चिहान खोज्न।
हामीले सहयोगी सरकारप्रमुखहरूलाई ती वृद्ध पुरुषहरूप्रति श्रद्धाञ्जली अर्पण गरिरहेको पनि देख्यौँ। तर मेरो ध्यान उनीहरूले लडेका युद्धहरू, वा उनीहरूको युवावस्थाको साहस र बलिदानभन्दा बढी– लडाइँ समाप्त भएपछि उनीहरू घर फर्केर निर्माण गरेको शान्तितर्फ गएको थियो।
उनीहरूले हामीलाई सुम्पिएको संसार, उनीहरूले आफ्ना अभिभावकबाट पाएको संसारभन्दा अतुलनीय रूपमा राम्रो थियो। किनकि उनीहरू महान् शक्तिहरूबीचको प्रतिस्पर्धाले भरिएको संसारमा जन्मिएका थिए– जहाँ, मार्क कार्नीका शब्दमा, “शक्तिशालीले जे सक्छ गर्छ, र कमजोरले जे सहनुपर्छ, सहन्छ।”
यही पुस्ता थियो, जसले नियम– आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न घर फर्कियो, किनकि नियम र कानूनविहीन प्रणालीले केतर्फ लैजान्छ भन्ने कुरा उनीहरूले कठोर रूपमा सिकेका थिए। उनीहरू त्यतातर्फ फर्कन चाहँदैनथे।
युद्धपछि जन्मिएका पुस्ताहरूले संसार कहिल्यै त्यतातर्फ फर्कन सक्दैन भन्ने विश्वास गरेर गल्ती गरेका हुन सक्छन्।
र २४ वर्षअघि, ९/११ को आघातले अझै स्तब्ध न्यूयोर्क सहरमा मैले आफ्नो भाषण दिँदा– के मैले पनि अमेरिकी शक्तिद्वारा आधारभूत बनाइएको दोस्रो विश्वयुद्धपछिको व्यवस्था अब स्थायी सामान्य अवस्था हो भनेर सोच्ने गल्ती गरेँ? मलाई लाग्छ, मैले गरेँ।
किनकि त्यसबेला हामीले यस्तो संसारको कल्पना गरेका थिएनौँ– जहाँ समाचार र सूचनाका परम्परागत स्रोतहरूप्रतिको विश्वास बढ्दो निन्दावादले क्षय गराइनेछ, सामाजिक सञ्जालद्वारा तीव्र बनाइनेछ, र अहिले त झन् कृत्रिम बुद्धिमत्ताद्वारा थप उकासिनेछ।
आर्थिक मन्दी र चरम असमानताका कुनै पनि युगमा, लोकतान्त्रिक संस्थाहरूप्रतिको जनविश्वास क्षय हुन्छ। यो क्षय अमेरिकामात्र होइन, पश्चिमी विश्वभर दशकौँदेखि हुँदै आएको छ। त्यसैले ट्रम्प, सम्भवतः, कार्नीले भनेको युद्धपछिको व्यवस्थासँगको “विच्छेद” को कारण होइन, लक्षण मात्र हुन सक्छन्।
नर्मन्डीका कब्रिस्तानहरू हुँदै ती वृद्ध पुरुषहरू हिँडिरहेको दृश्य लोकतन्त्र, कानूनको शासन, र उत्तरदायी सरकार स्वाभाविक रूपमा आफैँ उत्पन्न हुने कुरा होइनन् भन्ने कुराको जीवन्त र मार्मिक स्मरण थियो। ती त ऐतिहासिक रूपमा पनि ‘सामान्य’ होइनन्। तिनका लागि लड्नुपर्छ, निर्माण गर्नुपर्छ, जोगाइराख्नुपर्छ, र रक्षा गर्नुपर्छ।
र यही नै अबदेखि मार्क कार्नीले “मध्य शक्तिहरू” भनेका राष्ट्रहरूले सामना गर्नुपर्ने मूल चुनौती हो।
स्रोत: बीबीसी
सिरियामा कुर्दको पराजय
चीनका द्वारा क्युबालाई नयाँ चरणको सहायता स्वीकृत
सिरियाली कुर्द विद्रोहको अस्ताउँदो सूर्य
चीनद्वारा क्युबालाई ३०,००० टन चामल सहयोग
राष्ट्रपति मदुरोको रक्षा गर्ने एक जीवित क्युबाली लडाकूको गवाही
क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना
बुर्किना फासोमा राष्ट्रपति इब्राहिम ट्राओरेविरुद्धको हत्या षड्यन्त्र विफल
प्रतिक्रिया