२००० वर्ष पुरानो बीउबाट उमारिएका खजुरका रूखहरू
२००० वर्ष पुराना बीउहरूबाट पनि रूखहरू उमार्न सकिन्छ? सुन्दा नै पनि यो कुनै काल्पनिक कथा जस्तो लाग्न सक्छ । तर यो कुनै काल्पनिक कथा होइन, यो त विज्ञानको चमत्कारले यथार्थमा परिणत गरिदएको वास्तविक घटना हो । झट्ट सुन्दा असम्भव जस्तै लाग्ने यो घटनालाई यथार्थमा परिणत गरिदिएका छन् इजरायलका वैज्ञानिकहरूले ।
हो, इजरायली वैज्ञानिकहरुले जुदियन मरुभूमिका पुरातात्विक स्थलहरूबाट प्राप्त भएका प्राचीन खजुरका बीउहरूलाई उमारेर विश्वलाई चकित पारेका छन्।
सन् १९६० को दशकमा इजरायली पुरातत्त्वविद योशेफ पोर्त्सले राजा हेरो महानद्वारा निर्माण गरिएको प्राचीन दरवार मसाद किल्लाको उत्खनन गर्दा सयौं पुराना खजुरका बीउहरु फेला पारेका थिए । ती बीउहरु सबै कुहिएका थिएनन्, केही साबुत अवस्थामा पनि थिए । रेडियो कार्बन डेटिङ गर्दा ती बीउहरु पहिलो शताब्दी ईसापूर्वदेखि दोस्रो शताब्दी ईस्वीका रहेको पुष्टि भएको थियो । त्यसरी फेला परेका बीउहरु जुदियन खजुर प्रजातिका थिए । मीठो र रसिलो हुने ती खजुर प्राचीन इजरायलको अर्थतन्त्रको मुख्य आधार थियो । ती खजुरहरु इजिप्टेली खजुरहरुभन्दा बढी समयसम्म भण्डारण गर्न सकिन्थ्यो । त्यसबेला ती खजुरहरु रोमन साम्राज्यमा निर्यात हुने गर्थ्यो ।
त्यसरी फेला परेको बीउहरुलाई इलान विश्वविद्यालयमा संरक्षण गरेर राखियो ।
यो कथा सराह सालोन नामकी डाक्टरबाट सुरु हुन्छ । हदासाह मेडिकल सेन्टरकी डाक्टर सालोनलाई औषधीय गुणहरू भएका विरुवाहरुमा विशेष रुची थियो । यसैक्रममा उनले प्राचीन खजुरमा पाइने औषधीय गुणहरुबारे थाहा पाएकी थिइन् ।यसैक्रममा उनले इजरायली वैज्ञानिकहरुले अहिले लुप्त भइसकेका प्राचीन खुजरका बीउहरु फेला पारेको थाहा पाइएकी थिइन् । सन् २००५ मा उनले परातत्त्वविद् मोर्डेचाई किस्लेभ मार्फत् ती वीउहरु प्राप्त गर्न सकिन् । उनले ती बीउहरुबाट ३२ वटा राम्रा बीउहरु छानेर लिएकी थिइन् । उनले ती बीउहरुलाई अरावा इन्स्टिच्युट फर इन्भायरोनमेन्टल स्टडिजकी निर्देशक एलेन सोलोवेलाई उमार्नका लागि सुम्पिइन् । सोलोवेलाई २००० वर्ष पुरानो बीउ उम्रेला भन्ने विश्वास थिएन । तर पनि उनले त्यसलाई उमार्ने हरसम्भव उपायहरु लगाएर उमार्ने प्रयास गरिन् ।
उमार्ने चमत्कारिक प्रक्रिया
सोलोवेले बीउहरूलाई तातो पानीमा भिजाएर, जर्मिनेसन हर्मोनहरू (जिबरेलिक एसिड) र समुद्री शैवाल (algae)बाट बनेको मल हालिन्। ती बीउहरु क्वारेन्टाइन क्षेत्रमा माटोमा रोपिएको थियो । यो विधि आधुनिक बीउहरूका लागि सामान्य थियो, तर पुरानो बीउका लागि जोखिमपूर्ण। तु बिश्वात (यहुदीहरूको रूखहरूको नयाँ वर्ष) को दिन उक्त बीउ रोपियो। आठ हप्तापछि, एउटा बीउबाट हरियो अंकुर निस्कियो – विश्वकै सबैभन्दा पुरानो उम्रिएको बीउ! बाइबलमा ९६९ वर्ष बाँचेका व्यक्तिको नामबाट त्यसलाई मेथुसेलाह नाम दिइयो । यो सफलताको कथा २००८ मा जर्नल साइन्स मा प्रकाशित भयो र गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समेत दर्ज भयो ।
पछि, सालोन र उनको टोलीले थप बीउहरू उमार्ने प्रयास गरे। २०२० मा, उनीहरूले थप छ वटा बीउहरूबाट रूखहरू उमार्न सफल भए । तीनलाई एडम, जोनाह, युरिएल, बोआज, जुडिथ र हन्नाह। यी बीउहरू चाहिँ मसादा, कुमरान गुफा र वादी मकुखबाट प्राप्त भएका थिए। रेडियोकार्बन डेटिङबाट यी बीउहरू चौथो शताब्दी ईसापूर्वदेखि दोस्रो शताब्दी ईसवीसम्मका रहेको पुष्टि भयो। यी रूखहरू उमार्न प्राप्त सफलताले प्राचीन जुदियन खजुरलाई पुनर्जीवित गराउन सकिने आशा जगाएका छन् ।
जेनेटिक विश्लेषणबाट थाहा भयो कि यी रूखहरू विभिन्न क्षेत्रका आधुनिक खजुर प्रजातिहरूसँग सम्बन्धित रहेको फेला परेका छन् – जस्तै एडम र मेथुसेलाह अरबियन खाडीका, हन्नाह र जुडिथ इराकी, र अन्य मोरोक्कन प्रजातिसँग। यसले प्राचीन जुदियनहरूले परिष्कृत प्रजनन प्रविधि प्रयोग गरेको संकेत दिन्छ। यी बीउहरू आधुनिकहरूभन्दा ठूला र गह्रुङ्गा थिए । त्यसबाट फलहरू पनि ठूला हुने अनुमान गरिएको छ।
नयाँ रेकर्ड
यो सफलता कुनै संयोग थिएन। यसअघि, चीनबाट १३०० वर्ष पुरानो कमलको बीउ र साइबेरियाबाट ३०,००० वर्ष पुरानो फलको ऊतकबाट फूल उमारिएको थियो।
तर खजुरका यी रूखहरूले नयाँ रेकर्ड बनाए। मरुभूमिको तातो र सुख्खा वातावरण तथा मृत सागरको नजिकको स्थानले बीउहरूलाई संरक्षित राखेको वैज्ञानिकहरूको विश्वास छ। मृत सागर पृथ्वीको सबैभन्दा तल्लो स्थान हो, जसले कोस्मिक रेडिएसनबाट सुरक्षा दिन्छ।
पछिल्लो अवस्था
सुरुमा मेथुसेलाह कमजोर देखिन्थ्यो – पातहरू पहेँला थिए। तर समयसँगै स्वस्थ भयो। २०११ मा, यसमा पहिलो पटक फूल फुल्यो । जेनेटिक परीक्षणबाट थाहा भयो यो त भाले रूख हो। भाले रुखमा फूल त लाग्छ तर फल लाग्दैन । अब समस्या आइलाग्यो । फल दिनका लागि पोथी रूख चाहिन्थ्यो!
त्यसका लागि यस काममा लागिपरेका सोलोवेका समूहले सन् २०१५ मा मेथुसेलाहको परागलाई एक जंगली पोथी खजुरमा प्रयोग गरिन्। यो प्रयत्न सफल भयो । उक्त पोथी रुखमा फल लाग्यो ।
यो प्राचीन जुदियन प्रजातिको खजुरको पुनरुत्थान थियो।
२०२० मा, सालोनको टोलीले थप ६ वटा पुराना बीउहरू उमार्यो: एडम, जोनाह, युरिएल, बोआज, जुडिथ र हन्नाह। यीमध्ये हन्नाह र जुडिथ पोथी रुख निस्किए । २०१९ मा हन्नाहलाई मेथुसेलाहको परागबाट निषेचित गरियो। २०२० मा यसमा फल लाग्यो । त्यस वर्ष १११ खजुर फल्यो । अर्को वर्ष अर्थात २०२१ मा ६०० भन्दा बढी खजुर फले ।
यी खजुरहरूको स्वाद प्राचीन विवरणहरूसँग मिल्दोजुल्दो, मह जस्तो मीठास मिसिएको ‘सेमिड्राई’ छ ।मेथुसेलाह किबुट्ज केतुराको अरावा इन्स्टिच्युटको बगैंचामा जीवित छ। यो १८ वर्षको परिपक्व र "बाबु" रुख बनेको छ – यसको परागबाट नयाँ पुस्ताका रूखहरू जन्मिरहेका छन्। जुडिथले पनि फल दिन थालेको छ।
प्रयोगको महत्त्व
यो प्रयोगले जलवायु परिवर्तन र कीट-रोगहरूको सामना गर्न पुराना जीनहरूको महत्व देखाउँछ। प्राचीन जुदियन खजुरहरू रोमसँगका युद्धहरूपछि लोप भएका थिए, तर अब तिनीहरू फर्किएका छन्। यो कथा वैज्ञानिक चमत्कार मात्र होइन, इतिहास र प्रकृतिको जीवन्त पुल पनि हो। भविष्यमा, यी रूखहरूबाट प्राप्त ज्ञानले विलुप्त प्रजातिका बोटविरुवाहरुलाई पुनर्जीवित गर्ने कामलाई नयाँ दिशा दिन तथा आधुनिक कृषिलाई मजबुत बनाउन सक्छ।
|
प्राचीन जुदियन खजुरको इतिहास प्राचीन जुदियन खजुरको इतिहास एक रोचक र रहस्यमय कथा हो, जसले इतिहास, कृषि, संस्कृति र विज्ञानलाई जोड्छ। यो खजुर (Phoenix dactylifera) को विशेष प्रजाति हो, जसलाई प्राचीन जुदिया (Judea) क्षेत्रमा (आजको इजरायलको दक्षिणी भाग, डेड सी नजिक) हजारौं वर्षसम्म खेती गरिन्थ्यो। यो रूख बाइबल, यहुदी, इसाई र इस्लाम धर्ममा पनि महत्वपूर्ण प्रतीकको रुपमा लिइन्छ। प्राचीन उत्पत्ति र महत्व खजुरको खेतीको सुरुवात करिब ७०००–८००० वर्षअघि मेसोपोटामिया (आजको इराक) र पर्सियन गल्फ क्षेत्रमा भएको मानिन्छ। तर जुदियन खजुर विशेष रूपमा पाँचौं शताब्दी ईसापूर्वदेखि (लगभग ५०० ई.पू.) जेरिको, मृतसागर र जोर्डन भ्यालीमा फस्टाएको थियो। यो क्षेत्रको उष्णकटिबंधीय जलवायु, ताजा पानीका मुहान र ओएसिस खेतीपातीका लागि अब्बल क्षेत्र थियो। इतिहासकार तथा लेखकहरुले जुदियन खजुरको प्रशंसा गर्दै लेखेको पाइन्छ । ग्रीक इतिहासकार हेरोडोटस (पाँचौं शताब्दी ई.पू.) ले जुदियन खजुर मिश्रका भन्दा सुक्खा र लामो समयसम्म टिक्ने हुन्छन्, जसले निर्यातका लागि उपयुक्त रहेको भनी प्रशंसा गरेका थिए । त्यसैगरी, रोमन लेखक प्लिनी द एल्डर (पहिलो शताब्दी ई.) ले जेरिकोका खजुरलाई अत्यन्त मीठो, रसिलो र औषधीय गुणयुक्त भनी उल्लेख गरेका थिए । उनका अनसार तिनीहरू ठूला, मीठा र मह जस्तो स्वादका हुन्थे। यी खजुरहरू जुदियाको अर्थतन्त्रको मुख्य हिस्सा थिए। तिनीहरू खाना, निर्माण सामग्री र औषधिका रूपमा प्रयोग हुन्थे। बाइबलमा पनि "पाल्म सिटी" भनेर जेरिकोलाई उल्लेख गरिएको छ (Deuteronomy 34:3)। यो रूख यहुदी संस्कृतिमा विजय, जीवन र उर्वरताको प्रतीक थियो । इतिहासकारहरुका अनुसार येशूको जेरुसेलम प्रवेशको बेलामा सजावटका लागि खजुरका पातहरु प्रयोग भएको थियो। रोमन साम्राज्यको समय, येशूको कालखण्डमा जेरिकोका ओएसिसहरूमा लाखौं खजुरका रूखहरू हावामा हल्लिरहेका थिए। तिनका फलहरू यति मीठा र रसिला थिए कि प्लिनी द एल्डरले लेखे, "यी खजुरहरूबाट निस्कने रस मह जस्तो स्वादिलो छ, र तिनीहरू यति लामो समय टिक्छन् कि रोमन साम्राज्यभरि निर्यात हुन्थे!" यो खजुरलाई "दुनिया को सबैभन्दा उत्कृष्ट" भनिन्थ्यो – ठूलो, मीठो, औषधीय गुणले भरिपूर्ण। बाइबलमा "पाल्म सिटी" भनेर जेरिकोलाई चिनाउँथे।तर समयले क्रूर खेल खेल्यो। रोमसँगका युद्धहरू (७० ई. मा जेरुसेलमको विनाश, मसादाको अन्तिम घेराबन्दी) पछि बगैंचाहरू जलाइए, लुटिए। बीउहरू गुफामा, किल्लाको भग्नावशेषमा लुकेर बसे – २००० वर्षसम्म! मसादा, जसलाई ७४ ई. मा रोमनहरूले घेराबन्दी गरेका थिए र जसको अन्तिममा ९६० यहुदीहरूले सामूहिक आत्महत्या गरेको किंवदन्ती छ, त्यही ठाउँबाट यी बीउहरू प्राप्त भए। ती बीउहरु युद्ध र उपेक्षाका कारण १००० वर्षअघि लोप भएको मानिन्छ । इतिहासकारहरुका अनुसार जुडियाको खजुर खेती पहिलो र दोस्रो शताब्दी ईस्वीमा रोमसँग भएका युद्धपछि क्रमशः नष्ट हुन थालेको थियो जुदियन खजुरको खेती रोमन साम्राज्यसँगका युद्धहरू (पहिलो र दोस्रो शताब्दी ई.) पछि घट्न थाल्यो। ७० ई. मा जेरुसेलमको विनाश र मसादाको घेराबन्दीपछि धेरै बगैंचा नष्ट भए। बाइजान्टाइन र अरब कालमा केही समय टिक्यो, तर ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म युद्ध, उपेक्षा र जलवायु परिवर्तनले यो प्रजाति पूर्ण रूपमा लोप भयो। १९औं शताब्दीमा यो क्षेत्रमा पुराना जुदियन खजुरका कुनै निशान बाँकी रहेन। |
गुलियो खाँदा किन तीर्खा लाग्छ ?
तारापुञ्जहरुलाई आफूतिर तानिरहेको रहस्यमय ‘द ग्रेट अट्र्याक्टर’
तेस्रो अन्तरतारकीय आगन्तुक – 3I/ATLAS
आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
पृथ्वीबाहिर जीवन छ कि छैन ?
वर्षामापनको विज्ञान
ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
प्रतिक्रिया