नर्मन बेथ्युनको सम्झनामा

मानवतावादी चिकित्सक नर्मन बेथ्युन

२६ डिसेम्बर– अर्थात् महान् सर्वहारा नेता माओ त्से तुङको जन्मजयन्ती । यस अवसरमा हामीले माओ त्से तुङका चर्चित र पठनीय लेख ‘नर्मन बेथ्युनको सम्झनामा’ को नेपाली अनुवाद प्रकाशित गरेका छौं । यस लेखले नर्मन बेथ्युनको जीवनमार्फत पूर्ण निःस्वार्थता, अन्तर्राष्ट्रियवाद र उच्च नैतिक अखण्डताको आदर्श प्रस्तुत गर्छ। मानिसको क्षमता ठूलो वा सानो जे भए पनि, स्वार्थरहित भावनाले जनताको सेवा गर्छ भने ऊ नैतिक रूपमा उच्च र जनताका लागि मूल्यवान् व्यक्ति हुन्छ भन्ने सन्देश यसमा निहित छ। यस रचनाको निष्कर्ष साँचो क्रान्तिकारी र मानवीय जीवन भनेको पद, ख्याति वा व्यक्तिगत फाइदामा होइन, जनताप्रतिको निष्ठा, त्याग र निरन्तर सेवामा आधारित हुन्छ भन्ने हो।

दायित्वबोध

कमरेड नर्मन बेथ्युन, जो क्यानाडाको कम्युनिस्ट पार्टीका सदस्य थिए, करिब पचास वर्षको उमेरमा क्यानडा र संयुक्त राज्यका कम्युनिस्ट पार्टीहरूले उनलाई चीनमा पठाए; उनले हामीलाई जापानको विरुद्धको युद्धमा सहयोग गर्न हजारौं माइलको यात्रालाई नगण्य ठाने। उनी गत वर्ष वसन्तमा येनानमा आइपुगे, त्यसपछि वुटाई पहाडहरू मा काममा लागे, र हाम्रो ठूलो दुःखको कुरा, उनी काम गर्दागर्दै शहीद भए।

कुन भावनाले एक विदेशीलाई चीनका जनताको मुक्ति संघर्षलाई आफ्नै संघर्ष जस्तै आत्मसात् गर्न प्रेरित गर्‍यो ? त्यो हो अन्तर्राष्ट्रियता-भाव, कम्युनिज्मको भावना, जसबाट हरेक चिनियाँ कम्युनिस्टले सिक्नुपर्छ।

कुन भावनाले एक विदेशीलाई चीनका जनताको मुक्ति संघर्षलाई आफ्नै संघर्ष जस्तै आत्मसात् गर्न प्रेरित गर्‍यो ?

लेनिनवादले सिकाउँछ कि विश्व क्रान्ति तब मात्र सफल हुन्छ ,जब पूँजीवादी देशका सर्वहाराले उपनिवेश/अर्ध-उपनिवेशका जनताको मुक्ति संघर्षलाई समर्थन गर्छन्, र त्यही समय उपनिवेश/अर्ध-उपनिवेशका सर्वहाराले पूँजीवादी देशका सर्वहारालाई समर्थन गर्छन्। कमरेड बेथ्युनले यस लेनिनवादी सिद्धान्तलाई व्यवहारमा लागू गरे। हामी, चिनियाँ कम्युनिस्टहरूले पनि आफ्नो अभ्यासमा यही मार्ग अनुसरण गर्नुपर्छ।

हामीले सबै पूँजीवादी देशका सर्वहारासँग, जापान, ब्रिटेन, संयुक्त राज्य, जर्मनी, इटाली र अन्य सबै पूँजीवादी देशका सर्वहारासँग एकता गर्नुपर्छ, किनकि यो नै साम्राज्यवादलाई परास्त गर्ने, हाम्रो राष्ट्र र जनतालाई र संसारभरका मानिसहरूलाई मुक्ति दिलाउने एक मात्र मार्ग हो। यही हाम्रो अन्तर्राष्ट्रियता हो, जसले संकीर्ण-भौगोलिक-राष्ट्रवादी सोच र सीमित-देशभक्ति दुवैको प्रतिरोध गर्छ।

आफ्नो कामप्रति जिम्मेवार नभएका मानिसहरूको कमी छैन। उनीहरू हल्का काम रोज्छन् र गाह्रो कामबाट पन्छिन्छन्, झन्झटिला र बोझिला काम अरूमाथि थोपर्छन् र सजिला काम आफ्नै लागि छान्छन्। हरेक मोडमा उनीहरू अरूभन्दा पहिले आफ्नै बारेमा सोच्छन्।

कमेरेड बेथ्युनको चेतना, आफूलाई बिर्सेर स्वार्थरहित ढङ्गले अरूप्रति पूर्ण समर्पण, कार्यप्रतिको विशाल जिम्मेवारीबोध र सबै साथी तथा जनताप्रति गाढा भावुकतामार्फत् प्रकट भयो। हरेक कम्युनिस्टले उहाँबाट सिक्नुपर्छ।

आफ्नो कामप्रति जिम्मेवार नभएका मानिसहरूको कमी छैन। उनीहरू हल्का काम रोज्छन् र गाह्रो कामबाट पन्छिन्छन्, झन्झटिला र बोझिला काम अरूमाथि थोपर्छन् र सजिला काम आफ्नै लागि छान्छन्। हरेक मोडमा उनीहरू अरूभन्दा पहिले आफ्नै बारेमा सोच्छन्। सानो मात्र योगदान गर्दा पनि उनीहरु अरूलाई थाहा नहोला कि भनेर डराउँदै त्यसैमा घमण्डले फुल्छन् र त्यसको धाक लगाउँछन्। उनीहरूमा सहकर्मी र जनताप्रति कुनै न्यानोपन हुँदैन; बरु चिसोपन, उदासीनता र निरपेक्षता मात्र देखिन्छ। वास्तवमा यस्ता मानिसहरू कम्युनिस्ट होइनन्, वा कम्तीमा पनि उनीहरूलाई समर्पित कम्युनिस्टको रूपमा गन्न सकिँदैन।

कमरेड बेथ्युनको उदाहरण तिनका लागि उत्तम पाठ हो, जसले केही भिन्नता देखेपछि काम छोड्न चाहन्छन्, वा प्राविधिक कामलाई तुच्छ मान्छन्।

मोर्चाबाट फर्केका व्यक्तिहरूमध्ये बेथ्युनको नाम उच्चारण हुँदा उनको प्रशंसा व्यक्त नगर्ने एक जना पनि थिएन, र उनको आत्मिक भावनाबाट प्रभावित नहुने कोही पनि रहेन। शान्सी–चाहार–होपेई सीमाक्षेत्रमा डा. बेथ्युनबाट उपचार पाएका वा उनले कसरी काम गर्थे भन्ने देखेका कुनै पनि सैनिक वा सर्वसाधारण त्यस्तो थिएन, जसलाई उनको कार्यशैली र भावनाले छोएको नहोस्। प्रत्येक कम्युनिस्टले कमरेड बेथ्युनबाट यही साँचो कम्युनिस्ट भावना सिक्नै पर्छ।

कमरेड बेथ्युन एक डाक्टर थिए; उपचार कला उनका पेशा थियो र उनले आफ्नो कौशल निरन्तर सुधार गर्दै लगे, जुन आठौ रुट आर्मीको चिकित्सा सेवामा अत्यन्त उच्च मानिएको थियो। उनको उदाहरण तिनका लागि उत्तम पाठ हो, जसले केही भिन्नता देखेपछि काम छोड्न चाहन्छन्, वा प्राविधिक कामलाई तुच्छ मान्छन्।

हामी सबैले उहाँबाट पूर्ण निःस्वार्थताको भावना सिक्नैपर्छ। यस भावनासहित प्रत्येक व्यक्ति जनताका लागि अत्यन्त उपयोगी हुन सक्छ।

कमरेड बेथ्युन र मेरो एकपटक मात्र भेटघाट भएको थियो। त्यसपछि उनले मलाई धेरै पत्रहरू लेखे। तर म व्यस्त थिएँ, र मैले उनलाई केवल एउटा मात्र पत्र लेखेँ, र त्यो पत्र उनले कहिल्यै प्राप्त गरे कि गरेनन् भन्ने कुरा मलाई थाहा पनि छैन। उनको निधनप्रति म अत्यन्तै शोकाकुल छु। अहिले हामी सबैले उनको स्मरण गरिरहेका छौँ, जसले देखाउँछ कि उनको आत्मिक भावनाले सबैलाई कति गहिरो रूपमा प्रेरित गर्छ। हामी सबैले उहाँबाट पूर्ण निःस्वार्थताको भावना सिक्नैपर्छ। यस भावनासहित प्रत्येक व्यक्ति जनताका लागि अत्यन्त उपयोगी हुन सक्छ। एक व्यक्तिको क्षमता ठूलो हुन सक्छ वा सानो, तर उसमा यो भावना छ भने, ऊ पहिल्यै उदात्त हृदयको, शुद्ध, नैतिक अखण्डता भएको र तुच्छ स्वार्थभन्दा माथि उठेको, जनताका लागि मूल्यवान् व्यक्ति भइसकेको हुन्छ।

डिसेम्बर २१, १९३९

टिप्पणी

१. प्रतिष्ठित शल्यचिकित्सक नर्मन बेथ्युन क्यानाडाली कम्युनिस्ट पार्टीका सदस्य थिए। सन् १९३६ मा जर्मन र इटालियन फासिस्ट डाँकुहरूले स्पेनमा आक्रमण गर्दा उनी मोर्चामा गए र फासिस्टविरोधी स्पेनी जनताका लागि काम गरे। जापानविरुद्धको प्रतिरोध युद्धमा चिनियाँ जनतालाई सहयोग गर्नका लागि  उनी एक चिकित्सकीय टोलीको नेतृत्व गर्दै चीन आए र सन् १९३८ को वसन्तमा येनान पुगे। त्यसको केही समयपछि उनी शान्सी–चाहर–होपेइ सीमावर्ती क्षेत्रमा गए। तीव्र अन्तर्राष्ट्रियवाद र महान् कम्युनिस्ट भावनाले ओतप्रोत भएर, उनले करिब दुई वर्षसम्म मुक्त क्षेत्रका सेना र जनताको सेवा गरे। घाइते सैनिकहरूको शल्यक्रिया गर्ने क्रममा उनलाई रक्तविषाक्तता (blood poisoning) भयो र सन् १९३९ नोभेम्बर १२ मा होपेइको ताङ्सियनमा उनको निधन भयो।

२. हेर्नुहोस्: जे. भि. स्टालिन, “लेनिनवादका आधारहरू”, Problems of Leninism, अङ्ग्रेजी संस्करण, एफएलपीएच, मस्को, १९५४, पृष्ठ ७०–७९ ।

तस्विर: https://www.historynet.com

 

मानवतावादी चिकित्सक नर्मन बेथ्युन

नर्मन बेथ्युनको पूरा नाम हेनरी नर्मन बेथ्युन थियो । उनी एक क्यानाडाली कुशल शल्य चिकित्सक, आविष्कारक तथा राजनीतिक कार्यकर्ता थिए। उनी छातीसम्बन्धी रोगहरूको उपचारमा विशेषज्ञ थिए र आफ्नो मानवतावादी कार्यका कारण तथा विशेष गरी स्पेनिश गृहयुद्ध र चीनको कम्युनिस्ट क्रान्तिमा गरेको योगदानले विश्वभरि प्रसिद्ध भए ।

सन् १८९० को मार्च ३ मा क्यानाडाको अन्टारियो प्रान्तको ग्रेभेनहर्स्टमा जन्मिएका बेथ्युनका बुबा माल्कम निकोल्सन बेथ्युन एक पादरी थिए भने आमा एलिजाबेथ एन गुडविन मिसनरी थिइन्। उनको हजुरबुबा पनि चिकित्सक भएकोले बाल्यकालदेखि नै चिकित्सा क्षेत्रप्रति उनमा रुचि जागेको थियो।

सन् १९१६ मा टोरन्टो विश्वविद्यालयबाट मेडिकल डिग्री हासिल गरेका उनले प्रथम विश्वयुद्धमा क्यानाडाली सेनामा सेवा गर्दा घाइते पनि भएका थिए।पछि क्षयरोगबाट पीडित भएपछि उनले छाती शल्यक्रियामा विशेषज्ञता हासिल गरे र मन्ट्रियलमा काम गर्दा धेरै नयाँ शल्य उपकरणहरू आविष्कार गरे। उनी गरिबहरूका लागि निःशुल्क उपचार र सार्वजनिक स्वास्थ्य सेवाको पक्षमा सधैं वकालत गर्थे।

सन् १९३६–१९३७ को स्पेनिश गृहयुद्धमा गणतान्त्रिक पक्षको सहयोगमा गएका बेथ्युनले युद्धक्षेत्रमा मोबाइल रक्तसञ्चार इकाई स्थापना गरे । उनको यस कार्यले हजारौं घाइतेको ज्यान बचायो र यो आधुनिक युद्ध चिकित्साको एउटा महत्वपूर्ण कोसेढुङ्गा बन्यो।त्यसपछि सन् १९३८ मा जापानी आक्रमणविरुद्ध लडिरहेको माओ त्सेतुङको आठौं रुट आर्मीमा सामेल भएर चीन पुगे। त्यहाँ उनले युद्धक्षेत्रमा अस्पतालहरू स्थापना गरे, स्थानीय चिकित्सकहरूलाई प्रशिक्षण दिए र घाइते सैनिक तथा सर्वसाधारणको निरन्तर उपचार गरे।

दुर्भाग्यवश, एउटा अपरेशनका क्रममा औंलामा लागेको सानो चोटबाट रक्त विषाक्तता (सेप्टिसेमिया) भएर सन् १९३९ को नोभेम्बर १२ मा चीनको हुआङ शिकोउमा मात्र ४९ वर्षको उमेरमा उनको निधन भयो।

बेथ्युनको विरासत आज पनि जीवन्त छ। चीनमा उनी राष्ट्रिय नायकका रूपमा पूजिन्छन् र माओ त्सेतुङले उनको स्मृतिमा लेखेको “इन मेमोरी अफ नर्मन बेथ्युन” निबन्ध लामो कालसम्म चिनियाँ विद्यार्थीहरूका लागि अनिवार्य पाठका रुपमा पढाइन्थ्यो ।चीनमा उनी ‘बाइ चिउ-एन’ भनेर चिनिन्छन्।

क्यानाडामा उनको जन्मघरलाई राष्ट्रिय ऐतिहासिक स्थल बनाइएको छ र धेरै विश्वविद्यालय तथा स्कूलहरू उनकै नाममा छन्। विश्वभरि उनी निस्वार्थ सेवा, अन्तर्राष्ट्रियवाद र फासिज्मविरुद्धको संघर्षको प्रतीकका रूपमा रहिरहन्छन्। कम्युनिस्ट पार्टीका सदस्य रहेका बेथ्युनले आफ्नो जीवन मानवताको सेवामा पूर्ण रूपले समर्पित गरेका थिए र उनको मानवताप्रतिको अगाध प्रेम र निस्वार्थ सेवाभाव अनि कम्युनिष्ट अन्तर्राष्ट्रियता-भावले अझै पनि लाखौंलाई प्रेरणा दिइरहेको छ।