जनताको सेवा गर
२६ डिसेम्बर– अर्थात् महान् सर्वहारा नेता माओ त्से तुङको जन्मजयन्ती । यस अवसरमा हामीले माओ त्सेतुङका चर्चित र पठनीय लेख “जनताको सेवा गर” को नेपाली अनुवाद प्रस्तुत गरेका छौं । माओका यो रचनाले जनताको हितलाई जीवन र कार्यको सर्वोच्च उद्देश्य ठान्ने क्रान्तिकारी दृष्टिकोण प्रस्तुत गर्छन्। “जनताको सेवा गर” ले व्यक्तिको जीवनको मूल्य जनताको सेवामा निहित हुन्छ भन्ने कुरामा जोड दिँदै, व्यक्तिगत स्वार्थ, लाभ वा प्रतिष्ठाभन्दा माथि उठेर जनताका लागि समर्पित हुनुपर्ने सन्देश दिन्छ। यस रचनाले बलिदानलाई महान् र अर्थपूर्ण ठान्छ र नेतृत्व तथा जिम्मेवारीको सार सेवा नै हो भन्ने विचार स्थापित गर्छ।
दायित्वबोध

हाम्रो कम्युनिस्ट पार्टी र हाम्रो पार्टीको नेतृत्वमा रहेको आठौँ मार्ग सेना तथा नयाँ चौथो सेना क्रान्तिका दस्ताहरू हुन्। हाम्रा यी दस्ताहरू पूर्ण रूपमा जनताको मुक्तिका लागि समर्पित छन् र सम्पूर्ण रूपमा जनताको हितमा कार्य गर्छन्। कमरेड चाङ सु–तेह [1] पनि यी दस्ताहरूको पंक्तिमा हुनुहुन्थ्यो।
सबै मानिसहरूले मर्नैपर्छ, तर मृत्युको अर्थ र महत्त्व फरक–फरक हुन सक्छ। प्राचीन चिनियाँ लेखक सीमा चिआनले भनेका छन्, “मृत्यु सबै मानिसमा समान रूपमा आउँछ, तर यो ताई पर्वतभन्दा गह्रौं वा प्वाँखभन्दा हलुका हुन सक्छ।” [2] जनताको लागि मर्नु ताइ पर्वतभन्दा गह्रौँ हुन्छ; तर फासीवादका लागि काम गर्नु र शोषक तथा उत्पीडकहरूका लागि मर्नु प्वाँखभन्दा पनि हलुका हुन्छ। कमरेड चाङ स्जु–तेह जनताको लागि मर्नुभयो, र उनको मृत्यु निश्चय नै ताइ पर्वतभन्दा गह्रौँ छ।
जनताको लागि मर्नु ताइ पर्वतभन्दा गह्रौँ हुन्छ; तर फासीवादका लागि काम गर्नु र शोषक तथा उत्पीडकहरूका लागि मर्नु प्वाँखभन्दा पनि हलुका हुन्छ।
हामीमा कुनै कमजोरी छन् भने तिनलाई औँल्याइयोस् र आलोचना गरियोस् भन्ने कुरामा हामी डराउँदैनौँ, किनकि हामी जनताको सेवा गर्छौँ। जो कोही, जो भए पनि हाम्रा कमजोरीहरू औँल्याउन सक्छ। यदि ऊ सही छ भने, हामी तिनलाई सच्याउँछौँ। यदि उसले प्रस्ताव गरेको कुरा जनताको हितमा छ भने, हामी त्यसलाई कार्यान्वयन गर्छौँ। “उत्तम सेना र सरल प्रशासन” भन्ने विचार श्री ली तिङ–मिङ [3] ले अघि सारेका थिए, जो कम्युनिस्ट होइनन्। उनले जनताको हित गर्ने राम्रो सुझाव दिए, र हामीले त्यसलाई अपनाएका छौँ। जनताको हितका लागि हामी सही काममा दृढ रह्यौँ र गलत कुरालाई सच्याउँदै गयौँ भने, हाम्रो पंक्ति अवश्य नै समृद्ध हुनेछ।
हामी देशका सबै कुनाकाप्चाबाट आएका छौँ र एउटै साझा क्रान्तिकारी उद्देश्यका लागि एकत्रित भएका छौँ। यस उद्देश्यतर्फ अघि बढ्न हामीलाई जनताको विशाल बहुमतको साथ आवश्यक छ। आज हामीले ९ करोड १० लाख जनसंख्या [4] भएका आधार क्षेत्रहरूको नेतृत्व गरिरहेका छौँ, तर यो पर्याप्त छैन; सम्पूर्ण राष्ट्रलाई मुक्त गर्न अझ धेरै जनताको आवश्यकता छ। कठिनाइका समयमा हामीले आफ्ना उपलब्धिहरू बिर्सनु हुँदैन, उज्यालो भविष्य देख्नुपर्छ र साहस जुटाउनुपर्छ। चिनियाँ जनता पीडामा छन्; तिनीहरूलाई उद्धार गर्नु हाम्रो कर्तव्य हो, र त्यसका लागि हामीले संघर्षमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नुपर्छ। जहाँ संघर्ष हुन्छ, त्यहाँ बलिदान पनि हुन्छ, र मृत्यु सामान्य कुरा हो। तर हामी जनताको हित र विशाल बहुमतका दुःख–कष्टलाई हृदयमा राख्छौँ, र जब हामी जनताको लागि मर्छौँ, त्यो सार्थक मृत्यु हुन्छ। तथापि, अनावश्यक बलिदानबाट जोगिन हामीले यथासम्भव प्रयास गर्नुपर्छ। हाम्रा क्याडरहरूले प्रत्येक सैनिकप्रति चासो राख्नुपर्छ, र क्रान्तिकारी पंक्तिमा रहेका सबै मानिसहरूले एक–अर्काको ख्याल राख्नुपर्छ, एक–अर्कालाई माया गर्नुपर्छ र सहयोग गर्नुपर्छ।
कठिनाइका समयमा हामीले आफ्ना उपलब्धिहरू बिर्सनु हुँदैन, उज्यालो भविष्य देख्नुपर्छ र साहस जुटाउनुपर्छ। चिनियाँ जनता पीडामा छन्; तिनीहरूलाई उद्धार गर्नु हाम्रो कर्तव्य हो, र त्यसका लागि हामीले संघर्षमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नुपर्छ।
अबदेखि, हाम्रा पंक्तिमा रहेका कुनै पनि व्यक्ति जसले केही उपयोगी काम गरेका छन्, चाहे उ सिपाही होस् वा भान्से, उनीहरूको मृत्यु हुँदा हामीले उनीहरूको सम्मानमा अन्त्येष्टि समारोह र स्मृति सभाको आयोजना गर्नुपर्छ। यसलाई एउटा नियम नै बनाइनुपर्छ। र यसलाई जनताको बीचमा पनि लागू गरिनुपर्छ। जब गाउँमा कसैको मृत्यु हुन्छ, तब त्यहाँ स्मृति सभा आयोजना गरियोस्। यसरी हामी मृतकप्रति आफ्नो शोक प्रकट गर्छौं र सम्पूर्ण जनतालाई एकताबद्ध गर्छौं।
टिप्पणीहरू
१. कमरेड चाङ स्जु–तेह चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको गार्ड्स रेजिमेन्टका एक सैनिक थिए। जनताको हितप्रति निष्ठापूर्वक सेवा गर्ने कम्युनिस्ट पार्टीका सदस्यका रूपमा उनले सन् १९३३ मा क्रान्तिमा सहभागिता जनाएका थिए, लङ मार्चमा सहभागी भए र सेवाकालमै घाइते पनि भएका थिए। सन् १९४४ सेप्टेम्बर ५ का दिन, उत्तरी शान्सीको अन्साइ काउन्टीका पहाडहरूमा कोइला बनाउने क्रममा भट्टा अचानक भत्किँदा उनको मृत्यु भयो।
२. सिमा छिएन ई.पू. दोस्रो शताब्दीका प्रसिद्ध चिनियाँ इतिहासकार थिए र ऐतिहासिक अभिलेख (Historical Records) का लेखक हुन्। उक्त उद्धरण उनको “जेन शाओ–छिङलाई लेखिएको जवाफ” शीर्षकको पत्रबाट लिइएको हो।
३. ली तिङ–मिङ उत्तरी शान्सी प्रान्तका एक प्रगतिशील जमीन्दार थिए। उनी एक समय शान्सी–कान्सु–निङ्सिया सीमावर्ती क्षेत्रीय सरकारका उपाध्यक्षसमेत निर्वाचित भएका थिए।
४. यो संख्या शान्सी–कान्सु–निङ्सिया सीमावर्ती क्षेत्र तथा उत्तरी, मध्य र दक्षिणी चीनका सबै अन्य मुक्त क्षेत्रहरूको कुल जनसंख्या थियो।
(यो भाषण कमरेड चाङ सु–तेहको स्मृतिमा, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतका विभागहरूले आयोजना गरेको स्मृतिसभामा कमरेड माओ त्से–तुंगले दिनुभएको थियो ।)
सेप्टेम्बर ८, १९४४
नर्मन बेथ्युनको सम्झनामा
पुस्तक सार: शीतयुद्धका टुहुराहरु !
पहाड पन्छाउने ‘मूर्ख बुढोमान्छे’
डा. कोटनीस र उनका बिर्सिनै नसकिने सम्झनाहरु
नवल अल सादवी एक इजिप्सियन महिलावादी लेखक
एक व्यक्तिको संयमता जसले आणविक युद्ध रोकेको थियो !
कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?
प्रतिक्रिया