वार्सा प्याक्टको विघटनपछि नेटो किन जारी रह्‍यो ?

जुलाई १९९१ मा वार्सा प्याक्टको विघटन र डिसेम्बर १९९१ मा सोभियत सङ्घको पतनले शीत युद्धको अन्त्य गर्‍यो । तर्कसङ्गतरूपमा भन्‍नुपर्दा कठित सोभियत विस्तारको विरुद्धमा बनाइएको पश्चिमी सैन्य गठबन्धन नेटो विघटन हुनुपर्ने थियो । यद्यपि, यस अपेक्षाको विपरीत, नेटोले आफ्नो मिशन पुनःपरिभाषित गर्‍यो, पूर्वतर्फ विस्तार गर्‍यो, यूरोपमा अमेरिकी सैन्य उपस्थितिलाई मजबुत बनायो, र विश्वव्यापी सुरक्षा नेताका रूपमा रूपान्तरण भयो ।

आफ्नो प्रतिद्वन्द्वी विघटन भएको बेला पनि नेटो किन कायम रह्‍यो भन्‍ने प्रश्न गम्भीर रूपमा विचार गर्नुपर्ने विषय हो । प्रत्येक न्यायप्रिय र शान्तिप्रेमी व्यक्तिले यसका तथ्यमा आधारित व्याख्या खोज्नुपर्छ । ऐतिहासिक प्रमाणहरूले के देखाउँछ भने नेटोको अस्तित्व जारी रहनुको पछाडि धेरै अन्तरसम्बन्धित कारणहरू थिए जसमा रणनीतिक अनुकूलन, अमेरिकी भू-राजनीतिक हितहरू, र शीत युद्धपछिको सुरक्षा वातावरणमा यूरोपेली तथा पूर्वी यूरोपेली राष्ट्रहरूको प्रतिक्रिया समावेश छन् ।

 

१. नेटोको शीतयुद्धपछिको रणनीति

नेटोको मूल उद्देश्य स्पष्टरूपमा सोभियत सङ्घको विरोधमा केन्द्रित थियो । वासिङ्टन सन्धिले गठबन्धनलाई सोभियत सङ्घ र कम्युनिष्ट विचारधाराबाट उत्पन्‍न खतरा भनेर यसले बुझेको कुरामा आधारित बनाएको थियो । तर वार्सा प्याक्ट विघटन भएसँगै नै नेटोले आफ्नो मिशन पुनःपरिभाषित गर्न नयाँ ढाँचा विकास गर्‍यो – त्यस समयमा केहीले यसलाई विघटन गर्नुपर्ने तर्क गरेका थिए । नेटोको सन् १९९१ को रणनीतिक अवधारणा (रोम) मा भनिएको छ : “गठबन्धनको सुरक्षा विश्वव्यापी सन्दर्भलाई पनि ध्यानमा राख्‍नुपर्छ ।”

आफ्नो प्रतिद्वन्द्वी विघटन भएको बेला पनि नेटो किन कायम रह्‍यो भन्‍ने प्रश्न गम्भीर रूपमा विचार गर्नुपर्ने विषय हो । प्रत्येक न्यायप्रिय र शान्तिप्रेमी व्यक्तिले यसका तथ्यमा आधारित व्याख्या खोज्नुपर्छ ।

नेटोले स्पष्ट रूपमा क्षेत्रीय सुरक्षा केन्द्रित दृष्टिकोणबाट व्यापक, विश्वव्यापी सुरक्षा भूमिकामा रूपान्तरण गरेको यो पहिलो पटक थियो । आफ्नो मिशन विस्तार गर्दै नेटोले आफ्नै क्षेत्रबाहिर सङ्कट व्यवस्थापन, मानवतावादी हस्तक्षेप र पूर्व वार्सा प्याक्ट राष्ट्रहरूसँग साझेदारी पहलहरू जस्ता जिम्मेवारीहरू लियो । परिणामस्वरूप नेटोले शीत युद्धको अन्त्यलाई आफ्नो आवश्यकताको अन्त्यको रूपमा होइन बरु नयाँ कार्यकालको सुरुवातको रूपमा व्याख्या गर्‍यो । यस तर्कको आधारमा जब वार्सा प्याक्ट विघटित भयो तब नेटोलाई विघटन गरिएको थिएन ।

यद्यपि नेटोको स्थापना गर्ने मूल तर्क सोभियत सङ्घको पतनपछि पुरानो भइसकेको थियो । यो वास्तविकता सन् १९९१ को स्ट्राटेजिक कन्सेप्टमा आधिकारिक रूपमा स्वीकार गरिएको थियो, जसमा भनिएको छ : “नेटोका सबै युरोपेली मोर्चामा एकसाथ, पूर्ण-स्तरको आक्रमणको खतरा प्रभावकारी रूपमा समाप्त भइसकेको छ ।” विरोधाभासको कुरा के छ भने यसको सामना गर्न सिर्जना गरिएको खतरा अन्त्य भएपछि पनि नेटोलाई विघटन गर्नुभन्दा, गठबन्धनले आफ्नो सुरक्षा कार्यक्षेत्र विस्तार गर्‍यो । यसले नयाँ क्षेत्रहरू समावेश गर्‍यो,  जस्तै : जातीय द्वन्द्व, आतङ्कवाद, छिमेकी क्षेत्रहरूमा अस्थिरता, र हतियारहरूको प्रसार ।

यस प्रकार, नेटोका सदस्यहरू द्विध्रुवीय सुरक्षा ढाँचाबाट एकध्रुवीय सुरक्षा ढाँचातर्फ सरे । व्यवहारमा, यी नयाँ सुरक्षा चुनौतीहरू धेरैजसो नेटोको अस्तित्व कायम राख्‍न र यसको कामको दायरा बढाउन बनाइएको वा प्रस्तुत गरिएको थियो ।

२. युरोप र विश्वमा संयुक्त राज्य अमेरिकाको नेतृत्व कायम राख्‍नु र नेटोको दायरा मजबुत र विस्तार गर्ने उद्देश्य

सन् १९९१ पछि अमेरिकी सुरक्षासम्बन्धी दस्तावेजहरूले नेटोलाई कायम राख्‍ने स्पष्ट चासो रहेको देखाउँछन् । उदाहरणका लागि सन् १९९० को एनएससी मेमो, जुन अमेरिकी नेशनल सेक्युरिटी आर्काइभले डिक्लासिफाइ गरेको थियो, मा भनिएको छ : “युरोपेली सुरक्षा सुनिश्चित गर्न नेटो प्रमुख मञ्चको रूपमा रहनु अमेरिकी हितमा छ ।”

त्यसैगरी, सन् १९९१ को स्टेट डिपार्टमेन्ट केबलले जोड दिँदै भनेका छन् : “युरोपमा अमेरिकी सेना निरन्तर उपस्थित रहनु स्थिरता कायम गर्न अत्यावश्यक छ ।”

सन् १९९० को लण्डन समिटमा राष्ट्रपति जर्ज एच. डब्ल्यू. बुशले पनि पुष्टि गरेका छन् : “हाम्रा मित्र राष्ट्रहरूले हाम्रो उपस्थितिलाई आवश्यक ठानेसम्म संयुक्त राज्य अमेरिकाले युरोपमा पर्याप्त सैन्य शक्ति कायम राख्‍नेछ ।”

नेटोले युरोपमा स्थिर सुरक्षा वातावरणको लागि अत्यावश्यक आधार प्रदान गर्दै आएको छ । त्यसैले नेटोलाई पश्चिमी रक्षा र सुरक्षाको प्रमुख उपकरणको रूपमा, साथै अमेरिकी प्रभाव र युरोपेली सुरक्षा मामिलामा सहभागी हुने माध्यमको रूपमा संरक्षण गर्नु मौलिक रूपमा महत्त्वपूर्ण छ ।

यसले अगाडि भन्छ :

हामी नेटो गठबन्धनको शक्ति कायम राख्‍न प्रतिबद्ध छौँ, साथै हाम्रा अन्य गठबन्धन र मित्रताहरूलाई पनि; हाम्रो सुरक्षा र हितहरूमा खतराहरूलाई निरुत्साहित गर्न र आवश्यक परेमा त्यसविरुद्ध रक्षा गर्न; र आवश्यक नेतृत्व अभ्यास गर्न, जसमा आवश्यक परे निर्णायक सैन्य शक्ति प्रयोग पनि समावेश छ ।

संयुक्त राज्य अमेरिकाले किन युरोपेली सुरक्षा प्रति यति उच्चस्तरको चासो देखायो र नेटोलाई यूरोपमा स्थिर सुरक्षा वातावरणको अपरिहार्य आधारको रूपमा किन प्रस्तुत गर्‍यो भन्‍ने प्रश्नको उत्तर धेरै युरोपेलीहरूले अनुमान गर्ने भन्दा निकै व्यापक छ ।

अघिल्लो उल्लेखित योजनालाई उदृत गर्दै जनवरी १९९३ को DPG (Draft Planning Guidance) ले थप स्पष्ट विवरण प्रस्तुत गर्दछ :

नेटोलाई पश्चिमी रक्षा र सुरक्षाको मुख्य उपकरणका रूपमा संरक्षण गर्नु, साथै ठूलो यूरोपेली सुरक्षा मामिलाहरूमा अमेरिकी सहभागिता र संलग्‍नताको माध्यमका रूपमा कायम गर्नु आधारभूत रूपमा महत्त्वपूर्ण छ, यसैबीच हामी बढ्दो रूपमा युरोपमा उदाउँदो अन्य संस्थासँग पनि सहकार्य गर्दैछौं । हाम्रो साझा सुरक्षा र यूरोपेली स्थिरता आपसमा जडिएका संस्थाहरूको नेटवर्कको थप विकासबाट सुदृढ बनाउन सकिन्छ, जसले नेटोसँग संयुक्त भएर यूरोपको उदाउँदो सुरक्षा संरचना निर्माण गर्दछ । हामीले सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न यूरोपमा सुरक्षा र सहकार्य सम्मेलन (CSCE), उत्तर अटलान्टिक सहकार्य परिषद् (NACC), यूरोपेली समुदाय (EC), र पश्चिमी यूरोपेली सङ्घ (WEU) सँग सहकार्य गर्नुपर्छ । क्षेत्रीय सहकार्यको उदाउँदो ढाँचा पनि महत्त्वपूर्ण हुनेछ ।

यसले अगाडि भन्छ:

जसरी नेटो यूरोपमा स्थिर सुरक्षा वातावरणको अपरिहार्य आधार प्रदान गर्न जारी राख्छ, त्यसरी नै नेटोको एकीकृत सैन्य कमाण्ड संरचनालाई संरक्षण गर्नु आधारभूत रूपमा महत्त्वपूर्ण छ ।

संयुक्त राज्य अमेरिकाले किन युरोपेली सुरक्षा प्रति यति उच्चस्तरको चासो देखायो र नेटोलाई यूरोपमा स्थिर सुरक्षा वातावरणको अपरिहार्य आधारको रूपमा किन प्रस्तुत गर्‍यो भन्‍ने प्रश्नको उत्तर धेरै युरोपेलीहरूले अनुमान गर्ने भन्दा निकै व्यापक छ । नेटोलाई कायम राख्‍ने र यसको दायरा क्षेत्रीयदेखि वैश्विक स्तरमा, र केवल सुरक्षासम्बन्धी मामिलाबाट व्यापक रणनीतिक क्षेत्रहरूतिर विस्तार गर्ने संयुक्त राज्य अमेरिकाको मुख्य उद्देश्य सम्भावित विश्वव्यापी प्रतिद्वन्द्वीहरूको उदय रोक्ने उद्देश्यसहितको योजनाको हिस्सा थियो ।

संयुक्त राज्य अमेरिकाले नेटोलाई कायम राख्‍ने र यसको मूल म्यान्डेट विस्तार गर्नेमा जोड दिनु नयाँ विदेश र सुरक्षा नीतिहरूको प्रतिबिम्ब थियो, जुन एकध्रुवीय विश्वको लागि तयार पारिएको थियो । सोभियत सङ्घको विघटनसँगै, द्विध्रुवीय विश्व व्यवस्थाको अन्त्य भयो र संयुक्त राज्य अमेरिका एकमात्र महाशक्ति रह्‍यो । यस प्रभुत्वकारी स्थिति कायम राख्‍नु अमेरिकी विदेश नीतिको मुख्य लक्ष्य बन्‍न पुग्यो ।

यस उद्देश्य प्राप्त गर्न संयुक्त राज्य अमेरिकाले “दुई व्यापक रणनीतिक लक्ष्यहरू” निर्धारण गर्‍यो, जुन १८ फेब्रुअरी १९९२ को ड्राफ्ट DDPG मा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

हाम्रो पहिलो उद्देश्य नयाँ प्रतिस्पर्धीको पुनरुत्थान रोक्नु हो, चाहे त्यो पूर्व सोभियत सङ्घको क्षेत्र वा अन्यत्र किन नहोस्, जसले पूर्व सोभियत सङ्घले उत्पन्‍न गरेको जस्तो खतरा उत्पन्‍न गर्न सक्छ । यो नयाँ क्षेत्रीय रक्षा रणनीतिका लागि प्रमुख विचार हो र यसले हामीलाई कुनै पनि शत्रुतापूर्ण शक्ति त्यस्तो क्षेत्रमा प्रभुत्व जमाउन नदिने प्रयास गर्न आवश्यक बनाउँछ, जसका स्रोतहरू एकीकृत नियन्त्रण अन्तर्गत विश्वशक्ति सिर्जना गर्न पर्याप्त हुन सक्छन् । यी क्षेत्रहरूमा पश्चिमी युरोप, पूर्वी एसिया, पूर्व सोभियत सङ्घको क्षेत्र, र दक्षिण-पश्चिमी एसिया समावेश छन् ।

यस लक्ष्यलाई प्राप्त गर्नका लागि DDPG ले यी उद्देश्यका तीन अतिरिक्त पक्षहरू तल उल्लेखित रूपमा निर्धारण गरेको छ । उद्देश्यका तीन अतिरिक्त पक्षहरू यसप्रकार छन् :

पहिलो, अमेरिकाले नयाँ व्यवस्था स्थापना र संरक्षण गर्न आवश्यक नेतृत्व देखाउनुपर्छ, जसले सम्भावित प्रतिस्पर्धीहरूलाई विश्वस्त पार्ने वाचा राख्दछ कि तिनीहरूले आफ्नो वैध हित सुरक्षित गर्नका लागि ठूलो भूमिका खेल्ने वा आक्रामक दृष्टिकोण अपनाउन आवश्यक छैन ।

दोस्रो, गैर-रक्षात्मक क्षेत्रमा, हामीले उन्‍नत औद्योगिक राष्ट्रहरूको हितलाई पर्याप्त ध्यान दिनुपर्छ ताकि तिनीहरूले हाम्रो नेतृत्व चुनौती दिन वा स्थापित राजनीतिक तथा आर्थिक व्यवस्थालाई उल्टाउन खोज्‍न नपाउने बनोस् ।

तेस्रो, हामीले सम्भावित प्रतिस्पर्धीहरूलाई ठूलो क्षेत्रीय वा वैश्विक भूमिका खेल्ने आकाङ्क्षा गर्नबाट पनि रोक्ने यन्त्रहरू कायम राख्‍नुपर्छ । यहाँ प्रभावकारी पुनर्संरचना क्षमता महत्त्वपूर्ण छ, किनकि यसले सङ्केत गर्छ कि सम्भावित प्रतिद्वन्द्वीले छिटो वा सजिलै विश्वमा प्रमुख सैन्य स्थिति प्राप्त गर्न सक्दैन ।

 दोस्रो उद्देश्यलाई व्याख्या गर्दै, DDPG ले भनेको छ :

दोस्रो उद्देश्य भनेको क्षेत्रीय सङ्घर्ष र अस्थिरताका स्रोतहरूलाई यसरी सम्बोधन गर्नु हो कि अन्तर्राष्ट्रिय कानुनप्रति सम्मान बढोस्; अन्तर्राष्ट्रिय हिंसा सीमित होस्; र लोकतान्त्रिक शासन प्रणाली र खुला आर्थिक प्रणालीको प्रसार प्रोत्साहित होस् । यी उद्देश्यहरू विशेष गरी ती क्षेत्रहरूमा भएका द्वन्द्व वा खतरा रोक्न महत्त्वपूर्ण छन्, जसको सुरक्षा अमेरिका लागि महत्त्वपूर्ण छ, चाहे तिनीहरू नजिक (जस्तै लाटिन अमेरिका) हुन् वा जहाँ हामीसँग अन्य राष्ट्रहरूसँग सन्धि वा सुरक्षा प्रतिबद्धताहरू छन् ।

अमेरिका संसारको ‘पुलिस’ बन्‍न सक्दैन, प्रत्येक अन्यायको जिम्मेवारी लिन सक्दैन, तर हामीले ती अन्यायहरूलाई लक्षितरूपमा सम्बोधन गर्ने प्राथमिक जिम्मेवारी राख्‍नेछौं जसले मात्र हाम्रा स्वार्थहरू नभई, हाम्रो सहयोगी वा मित्रहरूको स्वार्थहरूलाई पनि धम्की दिन्छन् वा अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई गम्भीर रूपमा अस्थिर बनाउन सक्छन् ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा, नेटो यसरी संरचित गरिएको थियो कि युरोपेली शक्तिहरूले द्रुतरूपमा प्रमुख सैन्य स्थिति हासिल गर्न सक्दैन थियो, जसले उनीहरूलाई प्रभावकारी रूपमा संयुक्त राज्य अमेरिकासँग अधीनस्थ बनाएको थियो ।

यस अवस्थामा अमेरिकी स्वार्थका विभिन्‍न रूपहरू समावेश हुन सक्छन् : महत्त्वपूर्ण कच्चा पदार्थमा पहुँच, मुख्यरूपमा पर्शियन गल्फको तेल; विनाशकारी हतियार र ब्यालेस्टिक मिसाइलहरूको प्रसार; आतङ्कवाद वा क्षेत्रीय/स्थानीय द्वन्द्वबाट अमेरिकी नागरिकहरूमाथि खतरा; र लागू पदार्थको तस्करीबाट अमेरिकी समाजमा खतरा ।

DDPG अनुसार, पश्चिमी युरोप ती क्षेत्रहरूमध्ये एक थियो जसले विश्वशक्ति बन्‍ने सम्भावना राख्थ्यो । यो विश्व मञ्चमा प्रतिस्पर्धी बन्‍न सक्थ्यो, ठूलो भूमिकाको खोजी गर्न सक्थ्यो, वा आफ्ना वैध स्वार्थहरू सुरक्षित गर्न अझ दावीपूर्ण दृष्टिकोण अपनाउन सक्थ्यो । वास्तविकतामा, नेटो विघटन हुनबाट रोक्दै, संयुक्त राज्य अमेरिका युरोपको सुरक्षा मात्र गर्दै थिएन; बरु, यसले सम्भावित युरोपेली प्रतिस्पर्धीहरूलाई ठूलो क्षेत्रीय वा वैश्विक भूमिकामा आकाङ्क्षा राख्‍नबाट रोक्ने एक संयन्त्र कायम राखेको थियो ।

सोभियत सङ्घ र वार्सा प्याक्टको पतनसँगै अमेरिकी नेतृत्वको नेटोलाई आधारभूत सुरक्षा संरचनाको रूपमा कायम राख्‍नुको उद्देश्य सम्भावित विश्वव्यापी प्रतिद्वन्द्वीहरूको उदयलाई रोक्नु थियो ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा, नेटो यसरी संरचित गरिएको थियो कि युरोपेली शक्तिहरूले द्रुतरूपमा प्रमुख सैन्य स्थिति हासिल गर्न सक्दैन थियो, जसले उनीहरूलाई प्रभावकारी रूपमा संयुक्त राज्य अमेरिकासँग अधीनस्थ बनाएको थियो । आधिकारिक अमेरिकी दस्तावेजहरूले स्पष्ट रूपमा देखाउँछन् कि वार्सा प्याक्ट र सोभियत सङ्घको विघटनपछि नेटो कायम राख्‍ने प्राथमिक उद्देश्य पश्चिमी युरोपेली गठबन्धनहरूमा अमेरिकी राजनीतिक र सैन्य प्रभुत्व कायम राख्‍नु थियो । संयुक्त राज्य अमेरिकाले युरोपेली सुरक्षा क्षेत्रमा आफ्नो संलग्‍नता विस्तार गर्न चाहन्थ्यो, न कि युरोपेली देशहरूलाई स्वतन्त्र रक्षा प्रणाली विकास गर्न वा भनौँ विश्वव्यापी मामिलामा ठूलो भूमिका निर्वाह गर्न अनुमति दिन । यसरी, नेटो युरोपेली सुरक्षा योजनालाई नियन्त्रण गर्ने उपकरणको रूपमा देखिन थाल्यो ।

सोभियत सङ्घ र वार्सा प्याक्टको पतनसँगै अमेरिकी नेतृत्वको नेटोलाई आधारभूत सुरक्षा संरचनाको रूपमा कायम राख्‍नुको उद्देश्य सम्भावित विश्वव्यापी प्रतिद्वन्द्वीहरूको उदयलाई रोक्नु थियो । संयुक्त राज्य अमेरिकाले पश्चिमी युरोप, पूर्वी एशिया, सोभियत सङ्घका पूर्व क्षेत्रहरू, र दक्षिणपश्चिम एशियाबाट सम्भावित चुनौतीहरूको पूर्वानुमान गरेको थियो ।

नेटोको निरन्तरताको रक्षा गर्नका लागि, संयुक्त राज्य अमेरिकाले पूर्वी युरोप, नेटो क्षेत्र बाहिरको सङ्कट व्यवस्थापन, जातीय द्वन्द्व, आतङ्कवाद, मानवीय हस्तक्षेप, र पूर्व वार्सा प्याक्टका देशहरूसँग साझेदारी पहलहरू समावेश गर्दै विस्तारित युरोपेली सुरक्षा ढाँचा प्रवर्द्धन गर्‍यो । यस रणनीतिले अमेरिकालाई आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न र पश्चिमी युरोप, पूर्वी युरोप, पूर्व/मध्य युरोप, पूर्वी एशिया-प्रशान्त क्षेत्र, मध्यपूर्व, र दक्षिणपश्चिम एशियामा प्रतिद्वन्द्वी शक्तिहरूको उदय रोक्न सक्षम बनायो ।

यी कारणहरूले गर्दा संयुक्त राज्य अमेरिकाले सोभियत सङ्घ र वार्सा प्याक्टको पतनपछि नेटोको विघटनलाई अवरोध गर्‍यो ।

३. पश्चिमी युरोपेली नेताहरूको नेटो प्रति अपरिपक्व दृष्टिकोण

पश्चिमी युरोपेली नेताहरू आफ्नो स्वतन्त्र सैन्य शक्ति निर्माण गर्ने विषयमा विश्वस्त थिएनन् । वास्तवमा, उनीहरूले आफ्नो सुरक्षा प्रणाली  स्थापना गर्नुको सट्टा नेटोमा भर पर्न रुचाए । सोभियत सङ्घ र यसको ब्लकको पतनले उनीहरूलाई राजनीतिकरूपमा अनिश्चित बनायो, जसले महादेशसम्बन्धी स्वतन्त्र निर्णय लिन कठिन बनायो । उनीहरूले जर्मनी एकीकरणको दीर्घकालीन प्रभाव, पूर्वी युरोपमा सम्भावित अस्थिरता, वा रूसको भविष्यको पूर्वानुमान गर्न सकेनन् ।

उनीहरूको निष्कर्ष यो थियो कि यस्तो परिस्थितिमा अमेरिकी नेतृत्वको नेटो सुरक्षा प्रदान गर्न सक्षम थियो । परिणामस्वरूप, उनीहरूले आफ्नै सैन्य बलको विकासमा ढिलाइ गरे र संयुक्त राज्य अमेरिकाको रणनीतिक योजनाअनुसार नेटोको निरन्तरतालाई प्राथमिकता दिए । युरोपेली नेताहरूका वक्तव्यहरूले यस स्थितिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छन् ।

सन् १९९० को लन्डन घोषणापत्रमाको नेटोसम्बन्धी पश्चिमी युरोपको दृष्टिकोण यसरी व्यक्त गरिएको थियो : “नेटो मित्र राष्ट्रबीच परामर्शको अनिवार्य मञ्च रहन्छ ।” यस वक्तव्यले के देखाउँछ भने युरोपले नेटोलाई अझै अपरिहार्य ठानेको थियो । त्यसैगरे सन् १९९० मा जर्मन चान्सलर हेलेमुट कोहलले भनेका छन् : “युरोपमा अमेरिकी उपस्थिति अत्यावश्यक रहन्छ ।” परम्परागत रूपमा युरोपेली स्वायत्तताको बलियो समर्थक फ्रान्सले पनि नेटो को निरन्तर अस्तित्वलाई समर्थन गर्‍यो । सन् १९९१ मा राष्ट्रपति फ्रान्सोआ मितेराँले स्वीकार गरेका छन् : “सन्धि महादेशको स्थायित्वका लागि आवश्यक छ ।”

फलस्वरूप पृथक युरोपेली रक्षा संरचना स्थापना गर्ने प्रयास अन्ततः त्यागियो । युरोपेली नेताहरूले प्रभावकारी रूपमा सन् १९४९ को वाशिङ्गटन सन्धिअनुसारको गल्ती दोहोर्‍याए, जसले अमेरिकालाई युरोपको सुरक्षा नियन्त्रण गर्न अनुमति दियो ।

४. पूर्वी युरोपेली राष्ट्रहरूको नेटोमा प्रवेश गर्ने इच्छा

सोभियत सङ्घ र यसको ब्लकको विघटन हुनु अगाडि नै पूर्वी युरोपका धेरै राष्ट्रहरू अमेरिकी र पश्चिमी युरोपेली प्रभावमा थिए । चेकोस्लोभाकिया, हङ्गेरी, र पोल्याण्ड यसका प्रमुख उदाहरण हुन् । सोभियत सङ्घको विघटन हुनु पूर्व नै यी देशहरूले आफ्नै भू-भागभित्र अमेरिकी र पश्चिमी नीतिहरूको वाहकको रूपमा काम गरेका थिए ।

यस प्रसङ्गमा, सोभियत सङ्घको पतनपछि यी देशहरूले नेटो सदस्यताको माध्यमबाट सुरक्षा सुनिश्चित गर्न खोज्नु अनपेक्षित थिएन । पोल्याण्ड, चेक, र हङ्गेरीको संसदीय सत्र (१९९२–१९९४) का कागजातहरूले नेटोमा प्रवेश गर्ने व्यापक समर्थन देखाउँछन् । पोल्याण्डका परराष्ट्र मन्त्री स्कुबिशेव्स्कीले १९९२ मा भनेका छन् : “हाम्रो रणनीतिक लक्ष्य नेटोसँग पूर्ण एकीकरण हो ।”

पश्चिमी शक्तिहरूले दाबी गरेका छन् कि पूर्वी यूरोपेली देशहरूको सहभागिताको मागले नेटोको निरन्तरताको औचित्य प्रस्तुत गर्‍यो । तथापि, यो दाबी प्रश्नचिन्हयुक्त छ ।

यी देशहरूको तर्क यो थियो कि यदि रूस पुनः क्षेत्रीय शक्तिको रूपमा उदायो भने यसले उनीहरूलाई आफ्नो प्रभाव क्षेत्रभित्र पुनः समाहित गर्ने प्रयास गर्न सक्छ । त्यसैले गर्दा उनीहरूले नेटोको सुरक्षा ढाँचामा समावेश हुन खोजे ।

पूर्वी यूरोपेली देशहरूको सहभागितको मागको जवाफमा, नेटोले “शान्तिको लागि साझेदारी” (Partnership for Peace) ढाँचा स्थापना गर्‍यो । शान्तिको लागि साझेदारी कागजातले सहभागी राष्ट्रहरूलाई सुरक्षा सहयोग सुनिश्चित गर्दै भनी: “सहभागीहरूले सन्धिसँग सैन्य सहयोग विकास गर्नेछन् ।”

पश्चिमी शक्तिहरूले दाबी गरेका छन् कि पूर्वी यूरोपेली देशहरूको सहभागिताको मागले नेटोको निरन्तरताको औचित्य प्रस्तुत गर्‍यो । तथापि, यो दाबी प्रश्नचिन्हयुक्त छ । पहिल्यै उल्लेख गरेझैँ यी देशका राजनीतिज्ञहरू दशकौंसम्म पश्चिमी हितहरूमा सेवा गर्दै आएका थिए । यस प्रसङ्गमा उनीहरूको एकीकरण नेटोको अस्तित्वको वैध औचित्यको रूपमा प्रयोग हुन सक्दैन । वास्तविकतामा यसले उनीहरूको अघिल्लो गोप्य भूमिकालाई खुलेआम भूमिकामा रूपान्तरण गरेको देखाउँछ ।

५. पश्चिमी राजनीतिक र आर्थिक एकीकरणका लागि उपकरणको रूपमा नेटोको प्रयोग

सन् १९९४ को वाशिङटन सन्धिको मूल उद्देश्य युरोपेली भू-भागको सुरक्षासम्म सीमित थियो । सोभियत सङ्घ र यसको ब्लकको विघटनपछि यो उद्देश्य पुरानो भइसकेको थियो । यद्यपि, अमेरिकी नेतृत्वमा रहेका पश्चिमी शक्तिहरूले कुनै पनि मूल्यमा नेटोको अस्तित्व सुनिश्चित गर्ने प्रतिवद्धता देखाएका थिए । यस उद्देश्य प्राप्त गर्न उनीहरूले नेटोको मिशन युरोपेली भू-भागको रक्षा गर्न मात्र नभई पश्चिमी राजनीतिक र आर्थिक एकीकरणलाई प्रवर्द्धन गर्ने दिशामा विस्तार गरे । परिणामस्वरूप नेटो केवल सैन्य गठबन्धनको रूपमा नभई विश्वव्यापी रूपमा पश्चिमी शैलीका राजनीतिक र आर्थिक सुधारहरूलाई अघि बढाउने, साथै सैन्य संरचनाहरूलाई पुनर्संरचना गर्ने उपकरणको रूपमा प्रस्तुत गरियो ।

नर्थ एटलान्टिक सन्धि (Article 10) ले भन्‍छ : “कुनै पनि युरोपेली राज्य … उत्तर एटलान्टिक क्षेत्रको सुरक्षामा योगदान गर्न सक्षम भएमा आमन्त्रित गर्न सकिन्छ ।” यसले नेटो सदस्यताका लागि मुख्य शर्त राज्यको उत्तर एटलान्टिक क्षेत्रको सुरक्षामा योगदान गर्न तयार हुनुपर्ने सङ्केत गर्दछ ।

तर सन् १९९१ पछि यो शर्तलाई अझ व्यापकरूपमा व्याख्या गरिएको थियो, जसमा सैन्य योगदानसँगै राजनीतिक सुधारहरू पनि समावेश गरियो । यसले देखाउँछ कि नेटोको मिशन युरोपको सुरक्षा सीमाभन्दा बाहिर फैलिएको थियो र यसमा राजनीतिक तथा आर्थिक सुधारहरू र पश्चिमी नीतिसँगको मेलसम्बन्ध समावेश गरिएको थियो ।

नयाँ सदस्यताका आवश्यक शर्तहरू – पश्चिमी शैलीका राजनीतिक र आर्थिक सुधारहरू अनिवार्य गर्ने  – ले संयुक्त राज्य अमेरिकाको विश्वव्यापी राजनीतिक र आर्थिक प्रणालीहरूमा नियन्त्रण कायम राख्‍ने व्यापक रणनीतिक लक्ष्य प्रतिबिम्बित गर्छ । अमेरिकी दृष्टिकोणअनुसार, यी सुधारहरू नअपनाए वा लागू नगरे त्यो देशहरूलाई गैर-लोकतान्त्रिक र सम्भावित रूपमा दबावकारी (coercive) ठानिन्थ्यो ।

दोस्रो विश्वयुद्धपछि युरोपेली देशहरूले आर्थिक र सैनिकरूपमा संयुक्त राज्य अमेरिकासँग समन्वय गरेको बुझ्न सकिन्छ तर यसले उनीहरूको दीर्घकालीन र अनिश्चितकालीन अमेरिकामाथिको निर्भरता न्यायसङ्गत बनाउँदैन ।

पश्चिमी शैलीका सुधारहरूको अर्को महत्त्वपूर्ण पक्ष पनि नजरअन्दाज गर्नु हुँदैन: नेटोको विकास केवल सुरक्षा केन्द्रित सङ्गठनबाट राजनीतिक र संस्थागत इन्जिनमा परिणत हुनु स्पष्टरूपमा पूर्वी युरोपेली राष्ट्रहरूलाई पश्चिमी प्रभाव क्षेत्रमा सहज रूपमा समाहित गराउनको लागि डिजाइन गरिएको थियो ।

६. युरोपेली शक्तिहरूले रणनीतिक त्रुटि गरे

बेलायत, फ्रान्स, जर्मनी र अन्य नेटो सदस्यहरूले सोभियत सङ्घ र यसको ब्लकको विघटनपछि नेटोलाई भङ्ग गर्नुपर्थ्यो । इतिहासले उनीहरूलाई यो अवसर बिना कुनै प्रयास वा लगानीमा उपलब्ध गराएको थियो । दोस्रो विश्वयुद्धपछि युरोपेली देशहरूले आर्थिक र सैनिकरूपमा संयुक्त राज्य अमेरिकासँग समन्वय गरेको बुझ्न सकिन्छ तर यसले उनीहरूको दीर्घकालीन र अनिश्चितकालीन अमेरिकामाथिको निर्भरता न्यायसङ्गत बनाउँदैन ।

नतिजास्वरूप, युरोपले आफ्नो स्वतन्त्र पहिचान, सम्भावित शक्ति, र दशकौंको ऐतिहासिक विकासको ठूलो हिस्सा गुमाएको छ । यस अवधिमा, युरोपका राजनीतिक र सुरक्षा मामिलाहरू पूर्ण रूपमा अमेरिकाबाट स्वतन्त्ररूपमा विश्लेषण गर्न सकिँदैन ।

निष्कर्ष

वार्सा प्याक्टको विघटन र सोभियत सङ्घको पतनपछि नेटोको स्थायित्व रणनीतिक, राजनीतिक र संस्थागत कारणहरूको मिश्रणले सुनिश्चित गर्‍यो, जसमा मुख्यरूपमा संयुक्त राज्य अमेरिकाको भूमिका निर्णायक थियो । नेटो निर्माणको प्रारम्भिक उद्देश्य – सोभियत विस्तारलाई रोक्नु – समाप्त भइसकेको थियो तर यो सङ्गठन भङ्ग नभई पुनः परिभाषित, विस्तार र बहुआयामिक विश्व सुरक्षा उपकरणमा परिणत भयो ।

संयुक्त राज्य अमेरिकाका सन् १९९० को दशकको शुरुका रक्षा र विदेश नीतिका दस्तावेजहरूले देखाउँछन् कि नेटो कायम राख्‍ने प्राथमिक उद्देश्य युरोप र विश्वमा अमेरिकी नेतृत्व कायम राख्‍नु र सम्भावित क्षेत्रीय वा वैश्विक प्रतिस्पर्धीहरूको उदय रोक्नु थियो । नेटोको एकीकृत सैनिक संरचना कायम राख्‍नु, युरोपमा बलहरू तैनाथ गर्नु र सुरक्षा सहयोगको विस्तृत ढाँचा प्रवर्द्धन गर्नुको माध्यमबाट अमेरिका युरोपेली रक्षा क्षमताहरूलाई आफ्नै रणनीतिक उद्देश्य अन्तर्गत राख्‍न सक्षम भयो र पूर्वी युरोप, सोभियत सङ्घका पूर्व क्षेत्रहरू, र अन्य प्रमुख क्षेत्रहरूमा प्रभाव विस्तार गर्‍यो ।

नेटो केवल सुरक्षा सङ्गठनमा सीमित नभएर अमेरिकी प्रभुत्व कायम राख्‍ने, युरोपेली राजनीतिक र सैन्य संरचनालाई आकार दिने र विश्वव्यापी शक्ति प्रक्षेपण गर्ने उपकरणमा परिणत भयो ।

साथै, संयुक्त राज्य अमेरिकाले नेटोलाई राजनीतिक र आर्थिक एकीकरणको उपकरणको रूपमा प्रयोग गर्‍यो, पश्चिमी शैलीका सुधारहरू प्रवर्द्धन गर्दै उदाउँदो लोकतान्त्रिक राज्यहरूलाई पश्चिमी नीतिसँग मेल गराउन सुनिश्चित गर्‍यो । पूर्वी युरोपेली राज्यहरूले सम्भावित रूसी पुनरुत्थानको खतराबाट सुरक्षा सुनिश्चित गर्न नेटो सदस्यता सहज रूपमा स्वीकार गरे ।

त्यसैगरी, तत्कालीन पश्चिमी युरोपेली शक्तिहरू, स्वतन्त्र सैन्य संरचनाहरू बिना र अस्थिरताको समयमा, नेटोमा निर्भर हुने निर्णयमा पुगे, जसले रणनीतिक पहल संयुक्त राज्य अमेरिकासँग हस्तान्तरण गर्‍यो । परिणामस्वरूप, नेटो केवल सुरक्षा सङ्गठनमा सीमित नभएर अमेरिकी प्रभुत्व कायम राख्‍ने, युरोपेली राजनीतिक र सैन्य संरचनालाई आकार दिने र विश्वव्यापी शक्ति प्रक्षेपण गर्ने उपकरणमा परिणत भयो ।

शीतयुद्धपछिको समयमा स्वतन्त्र सुरक्षा संरचना निर्माण गर्ने अवसर गुमाउँदा, युरोपेली राष्ट्रहरूले अनायासै नेटोलाई अमेरिकी रणनीतिक प्रभुत्वको स्थायी साधनको रूपमा सुदृढ पारे, जसले महादेशको राजनीतिक र सुरक्षा परिदृश्यलाई एक्काइसौं शताब्दीसम्म आकार दियो ।

२०८२ मङ्सिर

Image: https://msk.kprf.ru/

योगेन्द्र ढकाल

योगेन्द्र ढकाल अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत हुन् ।