गौहत्या गर्ने ब्राह्मण र श्रेय लिने नेता : उस्तै कथा, फरक समय !

पौराणिक कालको कथा हो । त्यसबेला एकजना चतुर ब्राह्मण थिए। उनलाई फूल र बोटविरुवाहरु  संग अत्यधिक प्रेम थियो। उनले आफ्नो घर वरिपरि सुन्दर बगैंचा लगाएका थिए। जहाँ अनेकौँ प्रजातिका बोटबिरुवाहरू थिए। ती ब्राह्मणले आफ्नो फूलबारीलाई अत्यन्त जतन गरेर हेरविचार गर्थे। त्यहाँ भित्र पस्न मान्छे त के पशुपन्छीलाई समेत दिँदैन थिए। कुनै चरा आएर उनको फूलमा बसे पनि धपाइहाल्थे।

एक दिन एउटा गाई उनको बगैंचामा पस्यो र त्यहाँ रहेका बिरुवाहरूलाई खान थाल्यो। ब्राह्मण त्यो दृश्य देखेर रिसले चूर बने । भनाइ नै छ नि– रिसाएको बेला बाहुनले बेद पढ्दैन ! उनले पनि रिसको झोकमा बुद्धिविवेक गुमाए । आफ्नो बगैंचामा पसेको गाईलाई लौरोले अन्धधुन्ध पिट्दै धपाउन थाले। गाई बुढो र निर्बल थियो। गाई लौरोको निरन्तर प्रहारबाट भुइँमा ढल्यो र त्यहीँ मर्‍यो।

अब ब्राह्मणलाई ठूलो आपत् पर्‍यो। सनातनी मान्यताअनुसार गौहत्या ठूलो अपराध थियो। अझ त्यसमाथि ब्राह्मण भएर गाईलाई मार्नु झन् ठूलो अपराध थियो। ब्राम्हणले गाई मारेको खबर एक कान दुई कान हुदै, पुरै गाउँभरि फैलियो। गाउँलेहरूले उनलाई गौ हत्याको जघन्य अपराध गरेको  आरोप लगाउन थाले। गाउँको प्रधानपञ्चले उनलाई गाई मारेको आरोपमा सजाय सुनाउन तत्पर भए।

ब्राह्मणले गौहत्याको कठोर सजायबाट बच्न एउटा युक्ति लगाउँदै भन्यो— “मेरो हातले गाईमाथि प्रहार गरेको हो, तर मैले स्वेच्छाले केही पनि गर्न सक्दिनँ। मानिसका सबै इन्द्रियहरूको सञ्चालन भगवान् इन्द्रले गर्छन् । उनी नै इन्द्रियहरूका स्वामी हुन्। त्यसैले गाई मार्ने उनै हुन्। म त त्यो माध्यम मात्र हो जसमार्फत भगवान् इन्द्रले आफ्नो कार्य सम्पन्न गरे। त्यसैले जुन कुरा माथि मेरो नियन्त्रण छैन, त्यो कामको लागि मलाई सजाय नदिनुहोस्।” ब्राह्मणको यो तर्कको कुनै जवाफ गाउँलेहरूसँग थिएन। ती ब्राह्मण गौहत्याको अपराधबाट बचे।

यो खबर स्वर्गमा रहेका इन्द्रसम्म पुग्यो। उनले ती ब्राह्मणलाई पाठ पढाउनका लागि एक जना पण्डितको रूप धारण गरेर उसको घरमा पुगे। ब्राह्मणसँग कुरा गर्दै इन्द्र उनको बगैंचामा घुम्न थाले। बगैंचाको प्रशंसा गर्दै इन्द्रले भने— “तपाईंको बगैंचा एकदम सुन्दर छ। यति सुन्दर बगैंचा कसले  बनाएको हो ? अनि यसमा यति सुन्दर मनमोहक फूलहरु चाहिँ कसले लगाएको हो?” ब्राह्मणले खुसी हुँदै जवाफ दिए— “मैले लगाएको हो।”

बगैचा भित्र अलिक अगाडि बढ्दै इन्द्रले सोधे— “यो घाँसको सुन्दर चौर कति राम्रो छ। यो कसले लगाएको हो?” ब्राह्मणले जवाफ दिए— “मैले लगाएको हो।”

इन्द्रले बगैचा भित्रको पोखरी देखेर सोधे— “यस्तो सुन्दर पोखरी कसले बनाएको हो?” ब्राह्मणले खुसी हुँदै जवाफ दिए— “मैले मेरै हातले खनेर बनाएको हो।”

इन्द्रले त्यस बेला एउटा बिरुवाको ठुटो देखाउँदै सोधे— “यो के भएको हो?”
ब्राह्मणले जवाफ दिए— “एउटा दुष्ट गाई भित्र पसेर चरदै थियो। त्यसैले यो बिरुवा खाएको हो।”

इन्द्रले सोधे— “अनि त्यो गाई के भयो?” ब्राह्मणले जवाफ दिए— “गाईलाई लखेट्दा मर्‍यो।”

इन्द्रले भने— “त्यसो भए तपाईंले गाईलाई मार्नुभयो?” ब्राह्मणले जवाफ दिए— “मैले मारेको होईन। हातहरू इन्द्रका अधिकार क्षेत्रमा हुन्छन्। त्यसैले उनैले मारेका हुन्।”

इन्द्रले ब्राह्मणलाई समात्दै भने— “वाह ब्राह्मणराज, बगैचा बनाएको, सुन्दर फूलहरू रोपेको, चौर बनाएको र पोखरीहरू बनाएको श्रेय चाहिँ आफैंले लिने। त्यतिबेला तपाईंलाई इन्द्रको अधिकारक्षेत्रको बारेमा केही याद आउँदैन। गौ–हत्याको कुरा आउँदा त्यो चाहिँ इन्द्रको टाउकोमा थोपर्ने?” यति भन्दै इन्द्र आफ्नो स्वरूपमा प्रकट भए। ब्राह्मणले आफ्नो गल्ती महसुस गर्दै आफुले गरेको अपराधको लागी माफी मागें । उनी दण्ड भोग्न तयार भए।

भर्खरै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ।यसपटकको एनपीएल क्रिकेट राति समेत फ्लड लाइटको उज्यालोमा सञ्चालन गरिदैछ।यो नेपाल क्रिकेटका लागि ठूलो उपलब्धि हो। तर यो फ्लड लाइट जडानको श्रेय लिन हानथाप छ। एमाले अध्यक्ष केपी ओलीका समर्थकहरू यो फ्लड लाइट जडानको श्रेय केपी ओलीलाई दिँदैछन्। उनीहरूलाई फ्लड लाइट उद्घाटन गर्न ऊर्जा मन्त्री कुलमान घिसिङ् गएको पनि पटक्कै मन परेको छैन। ओली समर्थकहरूका अनुसार यो कामको श्रेय केपी ओलीलाई मात्र जान्छ।

केपी ओलीले आफ्नो कार्यकालमा अभूतपूर्व विकास भएको दावी गर्दै आएका छन्। तसर्थ उनले विकासको श्रेय लिन खोज्नु कुनै नौलो कुरा होइन। उनले यस्ता दावीहरु पटक–पटक गर्दै आएका थिए। बिगतमा समेत भूकम्पपछि बनेका धरहरा, रानीपोखरी, रेल र सुरुङ मार्ग बनाएको श्रेय आफूले लिँदै आएका थिए। त्यसबेला उनका समर्थकहरूले केपी ओलीका आलोचकहरुलाई व्यङ्ग्य गर्दै एउटा रोचक नारा पनि लगाउने गर्थे—

भत्काइदेउ धरहरा

पुरिदेउ रानी पोखरी

बन्द गर रेलहरू

ओली याद आउने सबै चिजहरू !

केपी ओली प्रधानमन्त्री भएको बेला भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा करिब ७२ जनाको मृत्यु भएको थियो। जसमध्ये भदौ २३ गते सुरक्षाकर्मीको गोली लागेर दर्जनौँ युवाहरूको मृत्यु भएको थियो। त्यस्तै भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायत अनेकौँ ठाउँमा आगजनी भएको थियो। आफ्नो कार्यकालमा भए गरिएका जस लिनुपर्ने–लिनुनपर्ने (अघिल्ला सरकारहरुकै पालामा शुरु भएर सम्पन्न हुने चरणमा पुगेका कामहरु समेतको) जिम्मा लिन तँछाडमछाड गर्ने केपी ओलीले आफूले सरकारको नेतृत्व गरेको बेला भएको जघन्य हत्याकाण्डको नैतिक–कानुनी जिम्मेवारी लिनु पर्छ कि पर्दैन? उदेक लाग्दो के देखिन्छ भने ओली यो निर्मम हत्याकाण्डको जिम्मेवारीबाट पन्छिन कहिले प्रहरीसँग त्यस्ता हतियार नरहेको, कहिले घुसपैठ भएको र कहिले आफूले गोली चलाउने आदेश नदिएको अनेकौ कुतर्कहरु गरिरहेका हुन्छन्।

राजनीतिमा छलकपटको बाहुल्यता भए पनि यसमा थोरै भए पनि नैतिकताको भूमिका पनि हुने गर्छ। २०३० सालमा सिंहदरबार जल्दा त्यसबेलाका प्रधानमन्त्री कीर्तिनिधि बिष्टले राजीनामा दिएका थिए। जबकि सिंहदरबार जल्नुमा उनको कुनै भूमिका थिएन। उनले केवल नैतिकताको आधारमा राजीनामा दिएका थिए। त्यस्तै २०४४ को दशरथ रंगशाला दुर्घटनामा ९३ जना मानिसको मृत्यु भएको थियो। त्यो घटनाको जिम्मेवारी लिँदै त्यसबेलाका शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर बिष्टले नैतिकताका कारण राजीनामा दिएका थिए। यो दुर्घटनामा उनी जिम्मेवार थिएनन्। उनले पनि नैतिकताको आधारमा राजीनामा दिएका थिए। यी दृष्टान्तले के देखाउँछ भने विगतमा नेपाल अहिले जस्तै नैतिकरूपमा च्युत भएको थिएन। पश्चगामी र निरंकुश शासनसत्ताको पक्षधर रहेका राजनीतिज्ञहरूमा समेत थोरबहुत लोकलाज, भय र नैतिकता थियो।

अहिले जसरी केपी ओली आफ्नो कार्यकालमा भएका राम्रा कामको श्रेय आफैले लिने तर जेन–जी विद्रोहका क्रममा भएको नरसंहारको अपजस पन्छाउने काम गर्दैछन्, त्यसले परापूर्वकालको गौहत्या गर्ने धूर्त ब्राह्मणको सम्झना दिलाउँछ। तर घामजत्तिकै सत्यकुरा के हो भने जतिसुकै धूर्त्याइँ तथा बलमिच्याइँ गरे पनि त्यो लामो समयसम्म टिक्नेवाला छैन।  एक न एक दिन त्यसको पोल अवश्य खुल्ने नै छ। केपी ‌ओलीले इतिहासको कठघरामा उभिएर त्यो बर्बर नरसंहारको जिम्मा बोक्नैपर्नेछ ।