गुलिभर ट्राभल्सका लिलिपुटीयन र नेपाली कम्युनिस्टहरु

केही समययता नेपालको कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा शुरू भएको छ। विभिन्न घटकमा बाँडिएका कम्युनिस्ट पार्टीहरू टुट्ने–फुट्ने–जुट्ने क्रम अभूतपूर्व रूपमा हुन थालेको छ। केही महिनासम्म शान्त पोखरी झैँ जमेर बसेका पार्टीहरूमा यस्तो तरंग फैलिएको देख्दा सबैलाई आश्चर्य लाग्न सक्छ। यस पछाडि रहेका केही कारणहरूलाई यो टिप्पणीमा पहिल्याउने प्रयास गरिनेछ।

केही दिनअघि नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने विषयमा विवाद हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तीन टुक्रामा विभाजित भयो। एकीकृत समाजवादीको संस्थापन पक्ष अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रमा मिसिए। झलनाथ खनाल पनि शुरूमा अनिच्छुक भए पनि पछि यो एकीकरण प्रक्रियामा संलग्न भए। महासचिव घनश्याम भुषाल भने एकीकरणमा नजाने भन्दै पार्टी पुनर्गठन गर्ने प्रक्रियामा लागे। त्यस्तै, यो पार्टीका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतहरू एमालेमा प्रवेश गरेका छन्। उता, माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा र राम कार्कीलगायतले पार्टीबाट अलग हुँदै ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन्। सोही प्रकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको एक हिस्सा माओवादी केन्द्रसँग मिसिएको छ। अन्ततः करिब १० वटा कम्युनिस्ट घटकबीच एकता भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ को गठन भएको छ, जसको नेतृत्व प्रचण्डले गरेका छन्।

नेपालका कम्युनिस्ट पार्टीहरू फुट्नु र जुट्नु कुनै नौलो कुरा होइन। कम्युनिस्ट नियमित अन्तरालमै फुटिरहने गरेका छन्। नेपालमा कम्युनिस्ट पार्टीहरू फुट्नका लागि खासै ठूलो कारण पनि चाहिँदैन। यिनीहरू सारै झिनामसिना कुरामा समेत फुट्न सक्छन्, जसलाई देखेर केटाकेटी समेत हाँस्ने गर्छन्। कहिले पार्टीको नाममा मोटा ‘श’ ठीक कि पातलो ‘स’ ठीक भन्ने विवादमा पार्टी फुट्ने गर्छ, भने कहिले पार्टीको नाममा ‘इ’कार लगाउने कि नलगाउने भन्ने कुरा विवादको विषय बन्छ।

सम्राटका बुढा हजुरबुवाले अण्डा ठूलो भागतिरबाट फुटाउने क्रममा आफ्नै छोराको औँला काटिएपछि, अण्डा फुटाउँदा सानो भागतिरबाट मात्र फुटाउनुपर्ने आदेश जारी गरे। यस नयाँ नियमका कारण लिलिपुटीहरूबीच ठूलो द्वन्द्व सुरु भयो। छ पटक विद्रोह भड्कियो। जसका कारण एक जना सम्राटले आफ्नो ज्यान गुमाए भने अर्काले आफ्नो गद्दी।

नेपालका कम्युनिस्ट पार्टीभित्रका विवाद हेर्दा जोनाथन स्विफ्टको प्रख्यात व्यंग्यात्मक उपन्यास गुलिभर ट्राभेल्स को याद आउने गर्छ। लिलिपुट राज्यभित्र लिलिपुटीयनहरू बीच अण्डा कसरी फुटाउने भन्ने बारे ठूलो विवाद सुरु हुन्छ। परम्परागत रूपमा लिलिपुटियनहरूले अण्डा ठूलो भागतिरबाट फुटाउने गर्थे। तर त्यसबखतका सम्राटका बुढा हजुरबुवाले अण्डा ठूलो भागतिरबाट फुटाउने क्रममा आफ्नै छोराको औँला काटिएपछि, अण्डा फुटाउँदा सानो भागतिरबाट मात्र फुटाउनुपर्ने आदेश जारी गरे। यस नयाँ नियमका कारण लिलिपुटीहरूबीच ठूलो द्वन्द्व सुरु भयो। छ पटक विद्रोह भड्कियो। जसका कारण एक जना सम्राटले आफ्नो ज्यान गुमाए भने अर्काले आफ्नो गद्दी। ठ्याक्कै यही अवस्था अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिन्छ। जुट्नु र फुट्नमा कुनै ठूलो कारणै चाहिँदैन।

फुट्नु नेपालका कम्युनिस्टहरूको स्वाभाविक प्रकृति भए पनि अहिले यस्तो अभूतपूर्व ध्रुवीकरण किन भयो भन्ने प्रश्न उठ्न सक्छ। यसको प्रमुख कारण हो– भदौ २३ र २४ को जेनेरेसन-जी (Gen-Z) विद्रोह। पहिलेदेखि नै शिथिल बन्दै आएका नेपालका कम्युनिस्ट पार्टीहरूबीच जेन–जी विद्रोहले अस्तित्व–रक्षाको चुनौती खडा गर्‍यो। जेन–जी विद्रोहले नेपालका कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरणलाई तीव्र गराउने उत्प्रेरक (catalyst) को काम गर्‍यो। रसायनशास्त्रमा रासायनिक प्रतिक्रियालाई तीव्र बनाउनका लागि अर्को पदार्थ हालिन्छ, जसलाई क्याटालिस्ट  भनिन्छ। यसले रासायनिक प्रतिक्रियालाई तीव्रता दिन्छ। अहिले नेपालका कम्युनिस्ट पार्टीहरूबीच भएको तीव्र ध्रुवीकरणको मुख्य कारण जेन–जी विद्रोह नै हो। जेन–जी विद्रोहले नेपालका परम्परागत पार्टीहरू, खासगरी नेपालका कम्युनिस्ट पार्टीहरूलाई सन्दर्भहीन बनाउने खतरा बढाएको छ। जसका कारण आफ्नो अस्तित्व–रक्षाका लागि कम्युनिस्ट नेताहरू आफ्नो अहम र महत्वाकांक्षालाई पन्छाएर एक हुने प्रक्रियामा लागेका छन्।

राजनीतिक दलहरुको जनताप्रति पूर्णत: अनुत्तरदायी र सत्तालिप्साले ग्रसित व्यवहारका कारण आममानिसमा राजनीति र राजनीतिक दलहरुमा भयानक मोहभङ्गता र वितृष्णाको स्थिति लामो समयदेखि थुप्रिँदै र चुलिँदै गइरहेको छ । यसरी आम जनताबाट पूर्ण रूपमा अलग र काटिएका पार्टीहरू कहिलेसम्म टिक्ने?

आन्दोलन र संघर्ष गरिञ्जेलसम्म जनताको हकहितका सवाल उठाउने नेपालका कम्युनिस्ट पार्टीहरू सत्तामा पुग्ने साथ त्यसलाई बिर्सने गर्छन्। यसको ज्वलन्त उदाहरण २०५२ सालपछिको एमाले र २०६५ सालपछिको माओवादी हो। आम जनताका दैनिक जीवनका समस्यासँग कम्युनिस्ट नेतृत्वलाई कुनै चासो समेत रहेको छैन। भ्रष्टाचार कहिल्यै पनि आन्दोलनको विषय बन्दैन। कृषिप्रधान देशको रूपमा रहेको देशमा किसानका समस्याहरू कम्युनिस्ट पार्टीका एजेन्डा बन्दैनन्। हरेक वर्ष किसानले समयमा रासायनिक मल पाउँदैनन्, तर त्यो कुरालाई लिएर अहिलेसम्म कुनै पनि कम्युनिस्ट पार्टीले गम्भीर ढङ्गले मुद्दालाई उठाएको र त्यसै सवाललाई लिएर परिणाममुखी संघर्ष गर्ने कुरालाई चासो र महत्त्व दिएको पाइन्न। त्यस्तै, लाखौँ मानिस सहकारी पीडित छन् तर उनीहरूको समस्यालाई कुनै पनि कम्युनिस्ट पार्टीले उठाउँदैन। जनजीविकाका समस्याहरु घनीभूत हुँदै जाने तर तिनलाई हल गरेर जनतालाई त्राण दिनेतिरभन्दा सत्तारोहण कसरी गर्ने भन्ने फोहोरी चलखेलमा नेपालका राजनीतिक दलहरु लिप्त हुने गरेका छन् ! राजनीतिक दलहरुको जनताप्रति पूर्णत: अनुत्तरदायी र सत्तालिप्साले ग्रसित व्यवहारका कारण आममानिसमा राजनीति र राजनीतिक दलहरुमा भयानक मोहभङ्गता र वितृष्णाको स्थिति लामो समयदेखि थुप्रिँदै र चुलिँदै गइरहेको छ । यसरी आम जनताबाट पूर्ण रूपमा अलग र काटिएका पार्टीहरू कहिलेसम्म टिक्ने?

सिद्धान्तत: र व्यवहारमा पनि कम्युनिष्ट पार्टी हेपिएका, थिचिएका र शोषणमा परका जनताको पक्षमा आवाज उठाउने पार्टी हो । तर व्यहारमा उनीहरु चुसिखाने वर्गको पार्टीमा रुपान्तरित भएका छन् । आम जनताको नजरमा कम्युनिस्ट पार्टीका नेताहरू र अरू पुँजीवादी वर्गका पार्टीहरू बीच कुनै फरक देखिँदैन। नेपाली कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूको जीवनशैली कुनै फरक छैन। जब जीवनशैली, व्यवहार, आचरण उस्तै हुन्छ भने फगत नाम र झन्डाले मात्र के–कति दिन मान्छेलाई अल्मल्याउन सकिएला?

सिद्धान्तत: र व्यवहारमा पनि कम्युनिष्ट पार्टी हेपिएका, थिचिएका र शोषणमा परका जनताको पक्षमा आवाज उठाउने पार्टी हो । तर व्यहारमा उनीहरु चुसिखाने वर्गको पार्टीमा रुपान्तरित भएका छन् ।

नेपालका मुख्य कम्युनिस्ट पार्टीहरू घिनलाग्दो प्रकारले संसदीय दलदलमा फसेका छन्। संसदमा कसैको पनि बहुमत नपुगेको बेला पार्टीहरू बीच गठबन्धन गरेर सरकार बनाउनु स्वाभाविक नै हो। तर, एउटासँग गठबन्धन गरेर चुनावमा जानु, अनि चुनाव सकिनासाथ अर्को पार्टीसँग मिलेर सरकार बनाउनु, फेरि त्यसलाई भत्काएर पुरानै सहयात्रीसँग मिल्नु—यो कति नैतिक काम हो?

यस्तै कार्यहरूका कारण नेपालका कम्युनिस्ट पार्टीहरू जनतामाझ बदनाम हुँदै गएका छन्। अहिले ‘जेन–जी’ भनिने पुस्ताले आफू होश सम्हालेदेखि नै यस्तै खराब काम देखेका तथा सुनेका हुनाले, राजनीतिक पद्दति र अझ थप कम्युनिस्टप्रति कुनै आकर्षण र सद्भाव विकास गर्ने नै पाएनन्।

नेपालका कम्युनिस्ट पार्टीको अर्को गम्भीर समस्या कार्यकर्ताहरूको अध्ययन र प्रशिक्षणको अभाव पनि हो। अरू पार्टीका कार्यकर्ताहरूले पार्टीको विचार र दर्शन नपढे पनि हुन्छ, तर कम्युनिस्ट पार्टीका कार्यकर्ताले अध्ययन गर्नु अपरिहार्य हुन्छ। विचार र दर्शनप्रति प्रतिबद्धता नभएको कार्यकर्ता लामो समयसम्म कम्युनिस्ट रहन सक्दैन। नेपालका कम्युनिस्ट पार्टीभित्र यसको अभाव देखिन थालेको छ।

एउटा हिन्दुले आफ्नो धर्म परिवर्तन गर्‍यो भने उसले आफूलाई असली मुसलमान साबित गर्ने एउटै उपाय भनेको भारी मात्रामा गाईको मासु खानु हो। कम्युनिस्ट पार्टीका नयाँ कार्यकर्ताहरू पनि उस्तै हुन्छन्।

प्रख्यात बंगाली दलित लेखक मनोरंजन व्यापारीले पश्चिम बंगालका कम्युनिस्टहरू बारे एउटा रोचक टिप्पणी गरेका छन्। जुन यस प्रकार छ—

एउटा हिन्दुले आफ्नो धर्म परिवर्तन गर्‍यो भने उसले सबैभन्दा पहिला गाई विरुद्ध जिहाद छेड्छ रे ! उसले अरबी भाषा जानेको हुँदैन, त्यसैले कुरान पढ्न सक्दैन। उसलाई नमाज अदा गर्ने बानी हुँदैन। उसले रोजाको व्रत बस्न सक्दैन, किनकि अभ्यस्त नभएको कारण उसले लामो समयसम्म भोकै रहनुको पीडा सहन सक्दैन। अब उसले आफूलाई असली मुसलमान साबित गर्ने एउटै उपाय भनेको भारी मात्रामा गाईको मासु खानु हो। कम्युनिस्ट पार्टीका नयाँ कार्यकर्ताहरू पनि उस्तै हुन्छन्। उनीहरू पार्टीको कक्षामा सहभागी हुन अनिच्छुक हुन्छन्। उनीहरू द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरूमा आफ्नो दिमाग खपाउन तयार हुँदैनन्। अखबार र म्यागजिन पढ्न उनीहरूलाई कुनै रुचि हुँदैन। मार्क्सवादको सान्दर्भिकता? त्यो के हो? उनीहरूको एउटै काम भनेको कम्युनिस्ट पार्टीका लागि नाराबाजी गर्नु हो, र विपक्षी पार्टी विरुद्ध अझ ठूलो स्वरमा ‘मुर्दाबाद’ को नारा लगाउनु हो। उनीहरूले कम्युनिस्ट पार्टीप्रति आफ्नो निष्ठा पुराना प्रतिबद्ध कार्यकर्ताभन्दा बढी छ भनेर यसरी नै साबित गर्न चाहन्छन्।

वैचारिक चेतनाको धार भुत्ते भइसकेको पार्टी कति दिनसम्म टिक्ला? यी सबै परिदृश्य हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनले पनि पश्चिम बंगालकै जस्तो नियति भोग्ने लक्षण देखिन थालेको छ।

नेपालका कम्युनिस्ट पार्टीको परिदृश्य पनि बंगालको भन्दा खासै फरक देखिंदैन। अधिकांश कार्यकर्ताहरूमा मार्क्स, एंगेल्स, लेनिन र माओलाई पढ्ने र बुझ्ने धैर्यता छैन। इतिहास, समाजविज्ञान र राजनीतिक अर्थशास्त्रका किताबहरु पढ्ने फुर्सद हुदैन। पढ्नु भन्दा बरु आफ्ना नेताका पत्रिका र अनलाइनमा प्रकाशित लेख र टिप्पणीहरूलाई फेसबुकमा लाइक, कमेन्ट र सेयर गर्नमै बढी ध्यान केन्द्रित देखिन्छ। वैचारिक चेतनाको धार भुत्ते भइसकेको पार्टी कति दिनसम्म टिक्ला? यी सबै परिदृश्य हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनले पनि पश्चिम बंगालकै जस्तो नियति भोग्ने लक्षण देखिन थालेको छ। अहिलेको हताशापूर्ण ध्रुवीकरणले यसको पूर्वाभास नेतृत्वलाई भइसकेको संकेत दिन्छ। जसलाई टार्न यो आपतकालीन एकीकरण गरिँदैछ। तर, लामो समयदेखि जरा गाडेर बसेको दीर्घकालीन रोगलाई यस्तो प्राथमिक उपचारले निवारण गर्ने सम्भावना कमै छ।