जेन कथा: युवती र दुई भिक्षु

दुईजना भिक्षु बजारबाट आफ्नो मठ फर्कँदै थिए। बाटोमा नदी तर्नुपर्थ्यो । उनीहरु नदीको किनारामा पुगे। त्यहाँ एक सुन्दरी युवती उभिएकी थिइन् । उनी नदी तर्न नसकेर त्यसै बसिरहेकी थिइन् ।

युवतीलाई देखेर एकजना भिक्षुले आफ्नो मुन्टो विपरीत दिशामा बटारे ।  उनी चुपचाप नदी तरेर पारी पुगे । पारी पुगेर फर्केर हेर्दा उनी अचम्भित बने ।  किनभने उनका साथी भिक्षुले त नदी तर्न नसकेकी ती युवतीलाई काँधमा बोकेर नदी पार गर्दै थियो।

नदी पार गरिसकेपछि ती युवतीलाई त्यहीँ छाडेर भिक्षुहरु अगाडि बढे ।

बाटोमा दुवै भिक्षुहरु चुपचाप रहे । मठको ढोकामा पुगेपछि पछि दुबै भिक्षु मौन रहेर सँगै यात्रा अघि बढाइरहे। जब उनीहरू मठको ढोकासम्म पुगे, पहिलो भिक्षुले अर्को भिक्षुलाई भने, “तिमीबाट पाप भयो । त्यसरी युवतीलाई बोकेर नदी तार्नु हाम्रो नियमविपरीत थियो। हामी भिक्षुहरूले त कुनै स्त्रीलाई छुने कल्पना पनि गर्न सक्दैनौं ।

त्यो सुनेर दोस्रो भिक्षुले शान्त स्वरमा जवाफ दियो,“ओहो ! तपाईं ती युवतीलाई अझै मनमा बोकेर बस्नु भएको छ ? मैले त अघि नै उनलाई नदीको किनारामै छोडिदिएर बिर्सिसकेंको थिएँ ।’

उनको कुरा सुनेर पहिलो भिक्षु नाजवाफ भयो !