कसिँदै गइरहेको ‘थुसिडाइड्सको धराप’ : उम्कने कसरी ?
‘युद्धका लागि अभिशप्त: के अमेरिका र चीन थ्युसिडाइड्सको धरापबाट मुक्त हुन सक्छन्?’
 
              
              
              
              
              
              
              
              
              मानव सभ्यताको विभिन्न कालखण्डमा सभ्यताहरुबीच भयानक विनाशकारी द्वन्द्वहरु भएका छन् । ती द्वन्द्वहरुले ठूला ठूला युद्धहरु रचेका छन् र मानव इतिहासका नक्सामा नयाँ नयाँ अध्यायहरु कोरेका छन् ।
ग्राहम एलिसनको पुस्तक Destined for War: Can America and China Escape Thucydides’s Trap (युद्धका लागि अभिशप्त: के अमेरिका र चीन थ्युसिडाइडसको धरापबाट मुक्त हुन सक्छन्?) ले अहिले चलिरहेको दुइ सभ्यताहरु अर्थात् अमेरिकी सभ्यता र चिनिया सभ्यताबीचको द्वन्द्वलाई उधिनपाधिन गर्ने कोशिस गरेको छ ।
लेखकले चीनको तीव्र उदयले अमेरिकी प्रभुत्वको गहिरो संरचनागत आधार हल्लिएको तर्क गर्छन्। उनका अनुसार यो केवल शक्ति सन्तुलनको प्रतिस्पर्धा होइन, यो त सभ्यतामै उर्लिएको नयाँ द्वन्द्व हो । विगतमा यस्ता सभ्यताबीचको द्वन्द्वहरुले मानव इतिहासका हरेक निर्णायक मोडमा रक्तरंजित परिणामहरू जन्माएका छन्।
यस पुस्तकले एउटा युगान्तकारी प्रश्न उठाउँछ – के विश्वका दुई महाशक्ति, उदीयमान चीन र परम्परागत अधिपति अमेरिका सशस्त्र टकरावको नियतिबाट बच्न सक्लान्? लेखकले चीनको तीव्र उदयले अमेरिकी प्रभुत्वको गहिरो संरचनागत आधार हल्लिएको तर्क गर्छन्। उनका अनुसार यो केवल शक्ति सन्तुलनको प्रतिस्पर्धा होइन, यो त सभ्यतामै उर्लिएको नयाँ द्वन्द्व हो । विगतमा यस्ता सभ्यताबीचको द्वन्द्वहरुले मानव इतिहासका हरेक निर्णायक मोडमा रक्तरंजित परिणामहरू जन्माएका छन्। दुवै मुलुकले कठिन, आत्मसंयमी र पीडादायी निर्णयहरू लिन सकेनन् भने युद्धको बाटो अपरिहार्य बन्ने चेतावनी पुस्तकले दिएको छ ।
थ्युसिडाइडसको धराप
पुस्तकको मूल अवधारणा थ्युसिडाइडसको धराप हो । यो अवधारणालाई प्राचीन ग्रीक इतिहासकार थ्युसिडाइडसले Peloponnesian War (पेलोपोनेसियन युद्ध) को वर्णनमा उद्घाटन गरेका थिए। उनले लेखेका थिए, “एथेन्सको उदय र त्यसले स्पार्टामा जगाएको भय नै युद्धको मूल कारण बन्यो।” यस वाक्यमा एउटा कालजयी सत्य लुकेको छ । त्यो हो– जब नयाँ शक्ति उदाउँछ र पुरानो सत्ता उसको उदीयमान उपस्थितिबाट भयभीत हुन्छ, तब इतिहास अनिवार्य रूपमा युद्धको छायाँमा प्रवेश गर्छ।
हार्भर्ड विश्वविद्यालयको Thucydides’s Trap Project ले विगत पाँच सय वर्षको इतिहास खोतलेर यस्तो संरचनागत तनावका सोह्रवटा उदाहरण फेला पारेको छ, जहाँ कुनै उदीयमान राष्ट्रले विद्यमान शक्तिको प्रभुत्वलाई चुनौती दियो। तीमध्ये बाह्रओटा प्रतिस्पर्धा अन्ततः युद्धमा परिणत भए। यस तथ्याङ्कले एउटा गहिरो मनोवैज्ञानिक नियम संकेत गर्छ – शक्ति केवल सैन्य वा आर्थिक मात्र होइन, भय र आत्मसुरक्षाको प्रवृत्तिमा पनि मापन हुन्छ।

इतिहासको पाटो र वर्तमान प्रवृत्तिले देखाउँछ कि युद्धको सम्भावना “हामीले सोचेभन्दा धेरै नजिक” छ। वाशिङ्टन र बेइजिङले अघिल्ला दशकजस्तै प्रतिक्रियात्मक ढंगमा निर्णय लिँदै गए भने, दुवै राष्ट्र “अवश्यम्भावी रूपमा” टकराउनेछन्।
लेखकको मतमा, अमेरिका र चीनबीच युद्ध अनिवार्य छैन। थ्युसिडाइडसले प्रयोग गरेको “अपरिहार्यता” भन्ने शब्दलाई उनी चेतावनीका लागि प्रयोग गरिएको भाषिक घण्टीजस्तो आलंकारिक अतिशयोक्ति (hyperbole) का रूपमा बुझ्छन् । तर इतिहासको पाटो र वर्तमान प्रवृत्तिले देखाउँछ कि युद्धको सम्भावना “हामीले सोचेभन्दा धेरै नजिक” छ। वाशिङ्टन र बेइजिङले अघिल्ला दशकजस्तै प्रतिक्रियात्मक ढंगमा निर्णय लिँदै गए भने, दुवै राष्ट्र “अवश्यम्भावी रूपमा” टकराउनेछन्।
यसैले, पुस्तकले शक्ति संघर्षलाई नियन्त्रण गर्नु भनेको केवल राजनयिक कौशलको कुरा होइन, आत्मबोध र संयमको अभ्यास हो भन्ने दार्शनिक प्रस्ताव अघि सार्छ । लेखकका अनुसार सभ्यताहरूको महान परीक्षा त्यहीँ हुन्छ जहाँ राष्ट्रहरू आफ्नै भय र अभिमानमाथि विजय पाउँछन्। युद्ध टार्न सक्ने एकमात्र बाटो संरचनागत तनावलाई नियन्त्रण गरेर, भयलाई संवादमा रूपान्तरण गरेर, र प्रतिस्पर्धालाई सहअस्तित्वमा पुनर्संरचना गरेर तय गर्न सकिन्छ ।
चीनको उदय: “विश्वको इतिहासमै सबैभन्दा ठूलो खेलाडी”
मानव सभ्यताको इतिहासमा यस्तो तीव्र, भूकम्पीय परिवर्तन शायद कहिल्यै आएको थिएन, जस्तो अहिले चीनको उदयले ल्याएको छ। शताब्दीयौंको निद्राबाट उठेजस्तै चीन अब सचेत भएको छ, र संसार त्यसको जागरणले काँपिरहेको छ। सिंगापुरका दूरदर्शी नेता ली कुआन युले यस परिवर्तनको गहिराइलाई यसरी चित्रित गरेका थिए – “चीनले विश्वसन्तुलनलाई जसरी विस्थापित गर्दैछ, त्यसले संसारलाई नयाँ सन्तुलन खोज्न बाध्य बनाउनेछ। यो कुनै सामान्य शक्ति होइन। यो त विश्व इतिहासकै सबैभन्दा ठूलो खेलाडी हो।”
चीनको आर्थिक रूपान्तरण असाधारण छ, प्रायः अविश्वसनीय जस्तो। सन् १९८० मा चीनको कुल घरेलु उत्पादन (GDP) अमेरिकाको जम्मा ७ प्रतिशत थियो। तर सन् २०१५ सम्म पुग्दा त्यो ६१ प्रतिशतमा पुगेको थियो। विश्वका प्रमुख वित्तीय संस्थाहरूले आर्थिक शक्ति तुलना गर्न प्रयोग गर्ने मानक क्रय शक्ति समता (PPP) का आधारमा चीनले २०१४ मै अमेरिकालाई पछ्याइसकेको थियो। अहिले चीनले विश्व अर्थतन्त्रको करिब १८ प्रतिशत हिस्सा ओगटिरहेको छ। यो प्रवृत्ति यस्तै रह्यो भने, २०४० सम्म अमेरिकाको हिस्सा घटेर ११ प्रतिशत मात्र रहनेछ, जबकि चीनको हिस्सा ३० प्रतिशत नजिक पुग्नेछ।

ली कुआन यु । तस्विर: https://www.brookings.edu
सिंगापुरका दूरदर्शी नेता ली कुआन युले यस परिवर्तनको गहिराइलाई यसरी चित्रित गरेका थिए – “चीनले विश्वसन्तुलनलाई जसरी विस्थापित गर्दैछ, त्यसले संसारलाई नयाँ सन्तुलन खोज्न बाध्य बनाउनेछ। यो कुनै सामान्य शक्ति होइन। यो त विश्व इतिहासकै सबैभन्दा ठूलो खेलाडी हो।”
चीनको यो गति केवल आँकडाको खेल होइन। यसले संसारको आर्थिक गुरुत्व केन्द्र नै सरेको अनुभूति गराउँछ। २००८ को विश्व आर्थिक मन्दीपछि भएका सम्पूर्ण वृद्धिको ४० प्रतिशत हिस्सा चीनको भूमिभित्रै घटित भएको थियो। आज पनि जब चीन “मन्दी”मा छ, उसको ६–७ प्रतिशत वार्षिक वृद्धि अमेरिकाको २ प्रतिशतभन्दा धेरै माथि छ। संसारले कहिल्यै यति तीव्र र निरन्तर उभार अनुभव गरेको छैन।
चीनले आफ्नो आर्थिक शक्ति केवल समृद्धिका लागि होइन, रणनीतिका लागि पनि प्रयोग गरेको छ। यो जियो–इकोनमिक्स अर्थात् अर्थतन्त्रलाई भू–राजनीतिक अस्त्र बनाउने कला हो । चीन अहिले १३० भन्दा बढी देशहरूको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिसकेको छ, जसमा सम्पूर्ण प्रमुख एशियाली अर्थतन्त्रहरू पनि पर्छन्। उसले आवश्यक परे व्यापारलाई दबाबका हतियारको रूपमा प्रयोग गर्न हिचकिचाउँदैन । उदाहरणको लागि, उसले नर्वेको सालमोन आयात वा फिलिपिन्सका केरा आयातमा आनाकानी गरेर दवाब सिर्जना गर्न सक्छ । यसको सन्देश आर्थिक सम्बन्ध अब राजनीतिक आज्ञापालनको साधन पनि बनिसकेको छ भन्ने हो ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका पश्चिमी संस्थाहरू ले चीनको प्रभाव विस्तारका प्रस्ताव अस्वीकार गरेपछि चीनले आफ्नै वैकल्पिक संरचना निर्माण गर्यो। Asian Infrastructure Investment Bank (AIIB) त्यसको प्रत्यक्ष उदाहरण हो। र त्यसको सबैभन्दा महत्त्वाकांक्षी परियोजना हो – बेल्ट एण्ड रोड परियोजना (One Belt, One Road (OBOR)) । यो १.४ ट्रिलियन डलर बराबरको पूर्व–पश्चिम जोड्ने विशाल पूर्वाधार जाल हो, जसले संसारको भू–रणनीतिक सन्तुलनलाई एशियातर्फ तान्दैछ।

राष्ट्रपति सी चिनफिङ । तस्विर: https://twt-thumbs.washtimes.com/
चीनलाई फेरि महान बनाउने (Make China Great Again) राष्ट्रपति सी चिनफिङको सपनाको गहिराइ केवल अर्थतन्त्रमा होइन; सीको दृष्टिमा, चीनले विज्ञान, रक्षा, प्रविधि र संस्कृति सबै क्षेत्रमा पहिलो हुनुपर्छ । यसले एशियाको रोगी देश भनिने विगतको त्यो ऐतिहासिक “अपमानको शताब्दी” को घाउलाई अन्ततः निको पार्नेछ।
यी सब कुरा राष्ट्रपति सी चिनफिङको चीनलाई फेरि महान बनाउने (Make China Great Again) मूल सपनासँग गाँसिएका छन् । यो चिनिया सपना दुई शताब्दी लक्ष्यहरूसँग जोडिएको थियो – सन् २०२१ सम्म “मध्यम समृद्ध समाज” निर्माण गर्ने (चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी) र सन् २०४९ सम्म “आधुनिक, सम्पन्न, शक्तिशाली” राष्ट्र बन्ने (चीन जनगणतन्त्रको शताब्दी)। यस सपनाको गहिराइ केवल अर्थतन्त्रमा होइन; सीको दृष्टिमा, चीनले विज्ञान, रक्षा, प्रविधि र संस्कृति सबै क्षेत्रमा पहिलो हुनुपर्छ । यसले एशियाको रोगी देश भनिने विगतको त्यो ऐतिहासिक “अपमानको शताब्दी” को घाउलाई अन्ततः निको पार्नेछ।
शक्तिको यो खोजले चीनको सैन्य क्षमतामा चमत्कारिक विस्तार ल्याएको छ। १९८० को दशकको उत्तरार्धदेखि अहिलेसम्म उसको सैन्य क्षमता आठ गुणाले बढेको छ। आज चीनको रक्षा बजेट विश्वमा दोस्रो ठूलो छ। अझ चाखलाग्दो कुरा त के छ भने उसको फौज अब केवल संख्यामा होइन, रणनीतिमा पनि रूपान्तरित हुँदैछ। जहाजविरोधी क्षेप्यास्त्र र उपग्रहविरोधी हतियार (Anti-Access/Area-Denial (A2/AD)) प्रणालीहरू विकास गरेर चीनले आफ्नो आसपासका समुद्री क्षेत्रबाट अमेरिकी नौसेनालाई टाढा धकेल्ने क्षमता हासिल गर्न खोज्दैछ।
यो समग्र घटनाक्रम केवल राष्ट्रको पुनर्जागरण होइन, एक सभ्यताको आत्म–स्मरण हो । त्यो त्यस्तो सपना हो, जुन कहिल्यै मरेको थिएन, केवल निदाएको थियो। आज चीन जागेको छ, उसले विश्वभरि नै प्रतिध्वनित हुने गरी फेरि बोल्न थालेको छ, र संसार त्यसलाई सुन्न बाध्य भएको छ।
इतिहासका पाठहरू
मानव सभ्यता कहिलेकाहीँ आफ्नो अतीतलाई बिर्सन्छ, तर इतिहासले– शक्तिको संसारमा उदीयमान र विद्यमान सत्ताबीचको तनाव कहिल्यै शान्त रहँदैन भन्ने कुरा सधैं सम्झाइरहन्छ । पुस्तक Destined for War ले यही शाश्वत गतिशीलता उजागर गर्न इतिहासका पानाहरू गहिरो गरी स्मरण गराइरहेको छ ।
एथेन्स बनाम स्पार्टा: पहिलो रूपक
थ्युसिडाइडसको पेलोपोनेशियन युद्ध (Peloponnesian War) युद्धको कथा मात्र होइन, सभ्यताहरूको मनोविज्ञानको अध्ययन पनि हो। एथेन्स एउटा स्वतन्त्र, प्रजातान्त्रिक, कला–प्रेमी र विचारशील नगरराज्य थियो। उसको तेजोमय उभारले कठोर, सैनिक अनुशासनमा आधारित स्पार्टाको हृदयमा भय जगायो। जब एथेन्सको आत्मविश्वास बढ्दै गयो, उसले सम्मान, प्रभाव र स्थान माग्न थाल्यो। स्पार्टाले त्यसलाई आफ्नो अभिमानमाथिको प्रहारको रूपमा लियो र विद्यमान शक्ति–सन्तुलन जोगाउने दृढ निश्चय गर्यो।
तर इतिहासको गति केवल उद्देश्यले होइन, सानातिना घटनाले पनि निर्धारित हुन्छ। कोर्साइराको विवाद, मेगारा सम्बन्धी निर्णय जस्ता तत्कालीन संघर्षहरूले ती गहिरा संरचनागत तनावहरूलाई भडकाए। अन्ततः स्पार्टाले युद्ध रोज्यो, किनभने उसलाई “एथेन्सको निरन्तर विस्तार”ले भयभीत तुल्याएको थियो।

पेलोपोनेशियन युद्ध — एउटा यस्तो युद्ध जसले सैन्यशक्ति सम्पन्न स्पार्टालाई लोकतान्त्रिक एथेन्सको विरुद्ध उभ्यायो।। तस्विर: https://metallicman.com
एथेन्स एउटा स्वतन्त्र, प्रजातान्त्रिक, कला–प्रेमी र विचारशील नगरराज्य थियो। उसको तेजोमय उभारले कठोर, सैनिक अनुशासनमा आधारित स्पार्टाको हृदयमा भय जगायो।
यो युद्ध केवल भूमि वा समुद्रको नियन्त्रणका लागि थिएन; यो मानव स्वभावका तीन चिरस्थायी प्रेरकहरूले चलाएको थियो – राष्ट्रिय स्वार्थ (national interest), भय (fear), र मर्यादा (honor)। स्वार्थले युद्धलाई तर्क दियो, भयले कल्पनालाई विषालु बनायो, र मर्यादाले अहंकारलाई उक्सायो। तीनै तत्वले मिलेर सभ्यताको विनाशमा रूपान्तरण हुने अवसर पाए।
ब्रिटेन बनाम जर्मनी: आधुनिक समानता
एक शताब्दी अघि ब्रिटेन र जर्मनीबीचको सम्बन्ध पनि त्यस्तै थ्युसिडाइडस–शैलीको धरापमा अड्किएको थियो। ब्रिटेन त्यसबेला विश्वसागरको अधिपति थियो, तर जर्मनी औद्योगिक र सैन्य रूपमा तीव्र गतिमा उदाउँदै गइरहेको थियो। काइजर विल्हेमको नेतृत्वमा जर्मनीले आफ्नो “सूर्य मुनिको स्थान” माग्यो – सम्मान, प्रभाव र स्थानको प्रतीक स्वरूप। एडमिरल टिर्पिट्जको नीतिअनुसार उसले विशाल नौसेना निर्माण गर्यो, जुन ब्रिटिश नौसैनिक वर्चस्वलाई प्रत्यक्ष चुनौती थियो।
त्यसको नतिजा भयावह प्रतिस्पर्धा बन्यो – जहाजमाथि जहाज, शक्ति–माथि शक्ति, गर्वमाथि गर्व। ब्रिटेनले आफ्नो समुद्री सर्वोच्चता जोगाउन र युरोपमा कुनै एक महादेशीय अधिपति जन्मिन नदिने संकल्प गर्यो। त्यसैले उसले फ्रान्स र रसियासँग मिलेर सन्तुलनको नयाँ गठबन्धन बनायो।

आर्चड्युक फ्रान्ज फर्डिनान्डको हत्या । तस्विर: https://i2-prod.mirror.co.uk
तर, १९१४ को जुलाई संकट पैदा भयो । जहाँ आर्चड्युक फ्रान्ज फर्डिनान्डको हत्या त त्यो संकटलाई जन्माएने एउटा सानो चिङ्गारी मात्र थियो – त्यो सानो घटना विश्वयुद्धको स्वरुपमा विस्फोट भयो। किनभने सतह मुनि थ्युसिडाइडसको धराप पहिले नै सक्रिय भइसकेको थियो। जर्मनीले ब्रिटेनसँग प्रतिस्पर्धा गरिरहेको थियो, त्यही समयमा रसिया पनि उदाउँदै थियो। भय, गर्व, र सन्देहको चक्रमा राष्ट्रहरू फसे र विश्वभर महाविनाशकारी महायुद्धको आगो सल्कियो।
यी इतिहासका उदाहरणहरू केवल विगतका अध्याय होइनन्, चेतावनी हुन्। जब सभ्यताहरूले आफ्ना भय र अभिमानको सामना गर्न असफल हुन्छन्, युद्ध केवल सम्भावना रहँदैन – त्यो नियति बन्छ।
उदाउँदो आँधी
आजको विश्व एक अदृश्य आँधीको पूर्वसन्ध्यामा उभिएको छ। यो प्रतिस्पर्धा केवल शक्ति वा अर्थतन्त्रको होइन, सभ्यताहरूको आत्मा र दृष्टिकोणको हो। पश्चिमको स्वतन्त्रतामूलक आत्माभिमान र पूर्वको शान्त अनुशासनका रुपमा दुई भिन्न चेतनाहरू अब एकै क्षितिजमा ठोक्किँदैछन्। यही ठोक्किने कुरालाई लेखकले "सभ्यताहरूको टकराव" भन्छन् । यस टकरावका कारण मान्यताहरू, समयबोध र विश्वदृष्टि नै द्वन्द्वको केन्द्रमा छन्।
अमेरिका आफूलाई मानव सभ्यताको अग्रदूत ठान्छ, जसको जिम्मेवारी हो अँध्यारोमा प्रकाश ल्याउने। तर चीनको आत्मा अर्कै छ। कन्फ्युसियस दर्शनमा आधारित चिनियाँ सभ्यता ‘व्यवस्था’ र ‘श्रृङ्खला’लाई सर्वोच्च मूल्य मान्छ।
अमेरिका आफूलाई सधैं एउटा “मिशनरी राष्ट्र”का रूपमा देख्छ – जसको अस्तित्व स्वतन्त्रता, व्यक्तिगत अधिकार र सार्वभौमिक मूल्यहरूको प्रसारमा अडिएको छ। उसले आफूलाई मानव सभ्यताको अग्रदूत ठान्छ, जसको जिम्मेवारी हो अँध्यारोमा प्रकाश ल्याउने। तर चीनको आत्मा अर्कै छ। कन्फ्युसियस दर्शनमा आधारित चिनियाँ सभ्यता ‘व्यवस्था’ र ‘श्रृङ्खला’लाई सर्वोच्च मूल्य मान्छ। त्यहाँ स्वतन्त्रता भन्दा पनि अनुशासनलाई प्रतिष्ठा दिइन्छ, र समाजको सन्तुलन शीर्षदेखितलको क्रमबद्ध सम्बन्धमा टिकेको हुन्छ।
चिनियाँ पहिचान सदैव केन्द्राभीमुख छ । झोंगगुओ अर्थात् “मध्य साम्राज्य”ले आफूलाई विश्वको केन्द्र मान्छ र बाह्य हस्तक्षेपलाई अस्वीकार गर्छ। अमेरिकाको दृष्टि छोटो छ, ऊ तत्काल समाधान खोज्ने संस्कारमा बाँच्दछ। तर चीन दीर्घकालिक सोचमा विश्वास गर्छ, जसको समय–सीमा दशक वा शताब्दी पनि हुन सक्छ। अमेरिकी रणनीति सीधा र तत्क्षणिक हुन्छ; चिनियाँ सोच वेइची (गो खेल) जस्तै – दीर्घ, संयमित, र साना चालहरूको सूक्ष्म गणितमा आधारित।
तर सभ्यताको यो भिन्नता मात्र सैद्धान्तिक छैन; यसले युद्धको सम्भावित मार्गहरू पनि तय गर्न सक्छ। एक सानो दुर्घटनाले पनि महायुद्धको ढोका खोल्न सक्छ – समुद्रमा जहाज ठोक्किनु (जस्तै USS Cowpens घटना), वा तेस्रो पक्षको उक्साहट (जस्तै जापान र चीनबीच सेनकाकु/डियाओयु टापुमा झडप, वा उत्तर कोरियाको पतनबाट उत्पन्न अराजकता) को घटनाले फेरि जन्मन पायो भने त्यसले महाविनाशकारी युद्धको रुप पनि लिन सक्छ।
इतिहासले देखाएको छ, युद्धहरू सधैं इच्छाबाट होइन, भ्रम, अभिमान, र भयको संयोजनबाट जन्मिन्छन्। आजको युगमा पनि त्यही सम्भावना फेरि देखिँदैछ ।
अर्को सम्भावना छ – आर्थिक युद्ध। प्रविधि चोरी, साइबर–हमलाहरूले भरिएको प्रतिस्पर्धा जस्ता घटनाहरुले बिस्तारै सैन्य टकरावको रूप लिन सक्छ। जब शक्ति–मशिनहरू एकपटक गतिमा आउँछन्, तब त्यसलाई कसै गरी पनि रोक्न सकिँदैन। भ्रम र गलत बुझाइको कुहिरो (Fog of war) र उपग्रह नष्ट गर्ने हतियार वा साइबर आक्रमण जस्ता प्रविधिहरु (disruptive technologies) ले नियन्त्रण गुमाउँछन्।
इतिहासले देखाएको छ, युद्धहरू सधैं इच्छाबाट होइन, भ्रम, अभिमान, र भयको संयोजनबाट जन्मिन्छन्। आजको युगमा पनि त्यही सम्भावना फेरि देखिँदैछ । एउटा यस्तो विनाशकारी आँधीको संकेत पैदा भइरहेको छ, जसले दुई राष्ट्र मात्र होइन, मानव सभ्यताको दिशालाई नै परिवर्तन गरिदिन सक्छ।
किन युद्ध अपरिहार्य होइन: शान्तिका बाह्र सूत्रहरू
ध्यानपूर्वक पढियो भने इतिहास केवल रक्तपातको रेकर्ड होइन – चेतनाको मार्गदर्शन पनि हो। यसले हामीलाई उदीयमान र विद्यमान शक्तिबीचको संघर्ष सधैं युद्धमै अन्त्य हुनैपर्छ भन्ने छैन भन्ने पनि देखाउँछ । केही सभ्यताहरूले बुद्धि, संयम र समयमै आत्मबोध गरेर युद्धको बाटोबाट फर्किन सकेका छन्। ती अनुभवहरूले हामीलाई बाह्रवटा मौन तर गहिरा सूत्रहरू दिन्छन् । यी सूत्रहरुले शान्ति सम्भव छ भन्ने आशा जगाउँछ।
१. उच्च सत्ता र साझा स्वीकृति
कहिलेकाहीँ निर्णय गर्न, सन्तुलन कायम गर्न मानिसभन्दा माथि कोही चाहिन्छ । १५औँ शताब्दीमा स्पेन र पोर्चुगलबीचको समुद्री प्रतिस्पर्धा पनि त्यस्तै संकटमा पुगेको थियो। तर उनीहरूले पोपको निर्णायक भूमिकालाई स्वीकार्दै Treaty of Tordesillas मा हस्ताक्षर गरे, र संभावित युद्ध टारियो। जब राष्ट्रहरू अहंकारभन्दा माथि उठेर साझा निर्णयमा विश्वास गर्छन्, शक्ति पनि शान्तिमा रूपान्तरित हुन सक्छ।
२. साझा संरचनामा बाँच्ने शक्ति
१९९० पछि जर्मनी फेरि उदायो, तर यसपटक उसले बन्दुक होइन, संस्था रोज्यो। उसले आफूलाई यूरोपेली संघ (EU) र NATO जस्ता संरचनामा बाँध्यो, जसले उसलाई सैनिक रूपमा सीमित तर आर्थिक र राजनीतिक रूपमा गहिरो प्रभावशाली बनायो। शक्ति कहिलेकाहीँ नियन्त्रणमा राखिँदा नै सन्तुलित रहन्छ।
कहिलेकाहीँ झुक्न पछि नहट्ने विवेकशील नेतृत्वले निर्णयलाई पराजय होइन, बुद्धिमत्ता बनाउँछ।
३. राजनेताको सूझबूझपूर्ण कला
कहिलेकाहीँ झुक्न पछि नहट्ने विवेकशील नेतृत्वले निर्णयलाई पराजय होइन, बुद्धिमत्ता बनाउँछ। २०औँ शताब्दीको प्रारम्भमा बेलायतले उदीयमान अमेरिकासँग टकराव नगरी समझदारी देखायो – भेनेजुएला र अलास्का विवादमा पछि हटेर उसले आफ्नो ध्यान जर्मनीजस्ता नजिकका खतरा तर्फ केन्द्रित गर्यो। यही संयमले पछि “special relationship” को बीउ रोप्यो।
४. समयको सूक्ष्मता
कहिलेकाहीँ मौका केवल एकपटक आउँछ, र त्यसलाई गुमाउँदा पूरा इतिहास बदलिन्छ। अमेरिकाको गृहयुद्धको समयमा ब्रिटेनले हस्तक्षेप गर्न सक्थ्यो, तर गुमायो। त्यसपछि अमेरिकी शक्ति असन्तुलित रूपमा बढ्दै गयो, र ब्रिटेनले कहिल्यै त्यो सन्तुलन फिर्ता ल्याउन सकेन। यसले देखाउँछ इतिहास समयको सानो निर्णयमा टेकेको हुन्छ।
५. संस्कृतिको साझा सूत्र
साझा भाषा, समान परम्परा र समान राजनीतिक मूल्यहरूले टकरावलाई कोमल बनाउँछन्। बेलायत र अमेरिकाबीच साझा संस्कृतिले बेलायतलाई अमेरिकाको उदय सहज रूपमा स्वीकार्न मद्दत गर्यो। सभ्यताहरूले साझा आत्मा खोजे भने सत्ताको संघर्ष पनि संवादमा रूपान्तरण हुन सक्छ।
६. एक नयाँ युग – परमाणु युग
मानव इतिहासमा वास्तवमा नयाँ कुरा केही छैन, सिवाय परमाणु अस्त्रको। यसको उपस्थितिले मान्छेलाई भविष्यको झल्को देखाइदिएको छ – जहाँ युद्धले सबैको अन्त्य सुनिश्चित गर्छ। यो ‘crystal ball effect’ हो – जसले नेतालाई आफ्नै विनाशको सम्भावना नजिकबाट देखाउँछ।
७. “MAD” को पागलपन
Mutual Assured Destruction (MAD) – यो विचारले परमाणु राष्ट्रहरूलाई अविभाज्य बनायो। अब अमेरिका, रसिया र चीनको भाग्य एउटै डोरीमा गाँसिएको छ। पूर्ण युद्ध अब केवल पागलपन हो । यसमा कोही पनि विजेता दरिने वाला छैन ।
८. प्रत्यक्ष युद्ध अब विकल्प होइन
शीतयुद्धको महान् शिक्षा यही थियो – परमाणु शक्तिहरूबीचको युद्ध जितेर होइन, नियन्त्रण गरेर रोकिन्छ। अब संघर्षहरू संवाद, दबाब, प्रतिबन्ध, र अप्रत्यक्ष उपायहरूद्वारा सन्तुलित गर्नुपर्ने हुन्छ, बम र गोलीद्वारा होइन।
९. पराजयको जोखिम लिएर रोक्ने कला
विरोधाभास यहीँ छ – परमाणु युद्ध कसैले जित्न सक्दैन, तर रोक्नका लागि दुवै पक्षले हार्ने जोखिम देखाउनै पर्छ। यो “game of chicken” हो – जहाँ साहसको प्रदर्शन नै निरुत्साहको उपाय हुन्छ। शक्ति कहिलेकाहीँ नियन्त्रणमा देखिन्छ, प्रयोगमा होइन ।
१०. आर्थिक परस्परनिर्भरता
अमेरिका र चीन आज यस्तो आर्थिक गाँठोमा बाँधिएका छन् कि कुनै युद्धले दुबैको क्षति मात्रै निम्त्याउँछ । यो अवस्था MAED (Mutual Assured Economic Destruction) हो। यसको अर्थ के हो भने एकले अर्कोको समूल विनाश चाहे पनि, अन्ततः दुबै डुब्नेछन्।
११. गठबन्धनको आकर्षण र खतरा
गठबन्धनहरू कहिलेकाहीँ सुरक्षाको ढाल होइन, विनाशको सिङ्गो यन्त्र बन्छन्। पहिलो विश्वयुद्ध त्यसकै प्रमाण थियो – आपसी प्रतिज्ञाहरूले युरोपका राष्ट्रहरूलाई तेस्रो पक्षका झगडामा तानेर सामूहिक आत्मविनाशतर्फ धकेले।
१२. अन्ततः, आन्तरिक शक्ति नै निर्णायक हुन्छ
र अन्ततः, कुनै राष्ट्रलाई दीर्घकालसम्म टेकेर राख्ने शक्ति बाह्य होइन, आन्तरिक हुन्छ । त्यसको मूल भनेको आर्थिक स्थायित्व, सुशासन, र राष्ट्रिय आत्मा हो। सोभियत संघको पतन त्यसकै प्रमाण हो। जब कुनै प्रणालीले मानिसको आत्मा र स्वतन्त्रता दुबै दमन गर्छ, त्यो आफैं भित्रबाटै ढल्छ।
यी बार्ह सूत्र केवल राजनीतिक सल्लाह होइनन् – सभ्यताको अस्तित्वको मन्त्र हुन्। मानिसले शक्ति होइन, आत्मबोधमा आधारित व्यवस्था खोज्न सके, युद्धको नियतिलाई पनि परिवर्तन गर्न र टार्न सकिन्छ। आखिर, मानव बुद्धि विनाश सिर्जना गर्न सक्षम छ भने, शान्ति पनि त्यही चेतनाबाट जन्मन सक्छ।
यथार्थलाई स्वीकार गर्ने साहस चाहिन्छ। शक्ति सन्तुलनको नयाँ युग सुरु भइसकेको छ, र बुद्धिमानी त्यसमा उदारतापूर्वक समाहित हुनमा छ । त्यसको राम्रो उदाहरण ब्रिटेनले उदाउँदो अमेरिकालाई आत्म–सम्मानसहित स्वीकार गरेको इतिहासको घटना हो।
सन्तुलन अपनाउने चार रणनीतिक बाटोहरु
पुस्तकको निष्कर्षमा अमेरिकाले चीनसँगको सम्बन्ध सन्तुलन गर्न अपनाउन सक्ने चार रणनीतिक बाटो प्रस्तुत गरिएको छ। तर यी केवल नीतिगत विकल्प मात्र होइनन्– यी सभ्यताको दिशा, मानवीय विवेक र विश्व इतिहासको नियतिको सवाल हुन्।
१. समायोजन (Accommodate):
सबैभन्दा पहिले, यथार्थलाई स्वीकार गर्ने साहस चाहिन्छ। शक्ति सन्तुलनको नयाँ युग सुरु भइसकेको छ, र बुद्धिमानी त्यसमा उदारतापूर्वक समाहित हुनमा छ । त्यसको राम्रो उदाहरण ब्रिटेनले उदाउँदो अमेरिकालाई आत्म–सम्मानसहित स्वीकार गरेको इतिहासको घटना हो। यथार्थसँग समझौता गर्नु आत्मसमर्पण होइन; यो बुद्धिमत्तापूर्ण दुरदृष्टिको संकेत हो। शक्ति भन्दा दीर्घ अस्तित्व रोज्नेले नै इतिहासलाई साथ पाउँछ।
२. कमजोर पार्ने वा विघटन गर्ने (Undermine):
दोस्रो बाटो हो–छायामा हिँड्ने बाटो।त्यो भनेको गोप्य वा प्रकट रुपमा साइबर आक्रमण, विचारधारात्मक चुनौती, वा ताइवान र तिब्बतजस्ता संवेदनशील क्षेत्रहरूमा अस्थिरता जस्ता साधनमार्फत् एक राज्यलाई भित्रैदेखि भाँच्ने प्रयास हो । यो बाटो प्रलोभनपूर्ण त छ, तर विषादले भरिएको पनि । किनकि अरु राष्ट्रलाई भत्काउने कोसिस गरिन्छ भने त्यसको छायाले आफूलाई पनि पगाल्न थाल्छ भन्ने कुराको हेक्का राखिनु जरुरी छ।
३. दीर्घ शान्तिको सम्झौता (Negotiate a Long Peace):
तेस्रो विकल्प, यथार्थवादी सन्तुलनको हो । त्यसको राम्रो उदाहरण सन् १९७० को दशकमा अमेरिका र सोभियत संघबीच ‘देताँ’ अर्थात् तनाव कम गर्ने सम्झौता हो । त्यसले महायुद्धको सम्भावनालाई टारिदिएको थियो । ठीक त्यसरी नै अर्को पुस्ता सम्मका लागि सीमित प्रतिस्पर्धा र पारस्परिक संयमको सम्झौता सम्भव छ। दक्षिण चिनियाँ सागरजस्ता विवादित भूभागहरूलाई अस्थायी रूपमा ‘फ्रिज’ गरेर दुवै राष्ट्रले दीर्घ शान्तिको संरचना निर्माण गर्न सक्छन्। यस्तो शान्ति केवल युद्धको अनुपस्थितिमा होइन, विवेकको उपस्थितिमा टिक्ने हो।
संसार अहिले चार ‘महाखतरा’हरूको छायामा बाँचेको छ: आणविक विनाश, आणविक अराजकता, विश्वव्यापी आतंकवाद, र जलवायु संकट।
४. सम्बन्धलाई पुनर्परिभाषित गर्ने (Redefine the Relationship):
चौथो र सम्भवतः सबैभन्दा गहिरो बाटो–सम्बन्धको अर्थ नै बदल्ने। संसार अहिले चार ‘महाखतरा’हरूको छायामा बाँचेको छ: आणविक विनाश, आणविक अराजकता, विश्वव्यापी आतंकवाद, र जलवायु संकट। यी खतरा कुनै एक राष्ट्रका होइनन्– यी मानवताको साझा भाग्य हुन्। यहाँ अमेरिकाको र चीनको हित एकै थलोमा आइपर्छ। जहाँ प्रतिस्पर्धा होइन, सहकार्य अपरिहार्य हुन्छ।
अन्ततः, थुसिडाइड्सको धरापबाट उम्किन नेतृत्वकर्ताले केही बोध गर्नैपर्छ–वास्तवमै ‘महत्त्वपूर्ण हित’ के हुन्, चीनको उद्देश्य के हो, र यो शक्ति–परिवर्तनको गहिराइलाई अब देखावटी गरेर (let’s pretend) टार्न सकिँदैन। साँचो चुनौती बाहिर होइन, भित्र छ। त्यो भनेको आफ्नो शासन, समाज र आत्मा सुधार्ने नै हो ।
नियतिले तासका पत्ताहरू बाँड्छ। तर खेल त मानवले नै खेल्ने हो। अनि कहिलेकाहीँ पत्तालाई होइन, खेल्ने तरिकालाई इतिहासले सम्झन्छ।
 
            त्यो अग्निकाण्ड
 
            बर्तोल्त ब्रेख्त: बीसौं शताब्दीका महान कवि-नाटककार
 
            पुनर्जागरण र त्यसका प्रभाव
 
            वी. एस. अच्युतानंदन: एक अथक योद्धा
 
            नेपाली जनआन्दोलन एक समीक्षा
 
            ट्रोत्स्कीको 'स्थायी क्रान्ति' बारे एक विमर्श
 
            मार्क्सको आर्थिक अस्त्र 'पूँजी' - एक विश्लेषणात्मक अध्ययन
 
             
                             
                   
                   
                   
                   
                  
प्रतिक्रिया