आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
सानो जीवले संकेत गरेको जलवायु संकटको ठूलो चेतावनी
हाजरी जवाफहरुमा सोधिने एउटा रोचक प्रश्न हुने गर्थ्यो– संसारमा लामखुट्टे नपाइने ठाउँहरुमध्येको मुख्य ठाउँ कुन हो ?
त्यसको सर्वमान्य उत्तर हुने गर्थ्यो– आइसल्यान्ड ।
तर अब यो उत्तर गलत साबित हुने भएको छ । अहिलेसम्म संसारमा लामखुट्टे–रहित मानिएका केही स्थानमध्ये एक मानिने आइसल्याण्डमा पनि पहिलो पटक लामखुट्टे भेटिएको छ । यो खबरले विश्वका वैज्ञानिकलाई सोच्न बाध्य बनाएको छ। यो एउटा सानो जीवको खोज मात्र होइन, यो त पृथ्वीको तातो हुँदै गएको जलवायुको एउटा स्पष्ट संकेत हो।
गत अक्टोबर १६, २०२५ मा राजधानी रेयक्याभिक नजिकैको क्षेत्र क्योज (Kjós) मा एक नागरिक–विज्ञानीले तीन वटा लामखुट्टे (दुई पोथी र एक भाले) पत्ता लगाए। वैज्ञानिकहरूले पछि यसको पहिचान Culiseta annulata नामक प्रजातिका रूपमा गरे । यो जुन सामान्यतया युरोप र मध्य एशियाका चिसो, तर स्थिर पानी भएका क्षेत्रमा पाइने लामखुट्टे हो ।
अद्भुत कुरा के भने, आइसल्यान्डको जलवायु यस्तो छ जहाँ दशकौंसम्म लामखुट्टेको लार्भा बाँच्न नै सक्दैन। चिसो तापक्रम, वर्षमा धेरैपटक हुने जम्ने–पग्लिने चक्र, र अस्थिर पानीका कारण लामखुट्टेको जीवनचक्र पूरा हुनै नसक्ने अवस्था रहँदै आएको थियो। तर अब त्यो “सुरक्षित” अवस्था परिवर्तन हुन थालेको छ।
जलवायु परिवर्तन र जीवनचक्रको सन्तुलन
वैज्ञानिकहरूले यो खोजलाई सीधै जलवायु परिवर्तनसँग जोडेर व्याख्या गरिरहेका छन्।
पछिल्ला केही दशकमा आइसल्यान्डको औसत तापमान स्थिर रूपमा बढ्दै गएको छ। वसन्त र शरद ऋतुबीचको जम्ने र पग्लिने समयावधिको चक्र छोटिंदै गएको छ। यसले स्थिर पानी लामो समयसम्म रहिरहने वातावरण सिर्जना गरेको छ । यो भनेको लामखुट्टेका लागि आदर्श र अनुकूल अवस्था हो।
अघिसम्म जोसुकैले पनि ठान्थे, “यहाँ लामखुट्टे आउँदैन, किनकि चिसोले तिनलाई नष्ट गर्छ।” तर अब त्यो प्राकृतिक सुरक्षा कवच कमजोर हुँदै गएको छ। प्रकृति आफैंले जोगाइरहेको सन्तुलन मानवले तातो बनाएको पृथ्वीले भत्काउँदैछ।
साना कीराको सानो चेतावनी
यद्यपि अहिले भेटिएका लामखुट्टेले कुनै खतरनाक रोग बोकेको प्रमाण छैन। वैज्ञानिकहरूका अनुसार Culiseta annulata प्रजाति साधारण रूपमा रोगवाहक होइन। तर यसको उपस्थिति आफैंमा एक संकेत हो — कि अब पूर्व सुरक्षित क्षेत्रहरू पनि जोखिममुक्त छैनन्।
यदि तापक्रम यस्तै बढ्दै गयो भने, भविष्यमा Aedes albopictus (एशियाली टाइगर लामखुट्टे) जस्ता रोगवाहक प्रजातिहरू पनि उत्तरतर्फ सर्दै ल्याइने सम्भावना बढ्न सक्छ। ती प्रजातिहरू डेंगु, चिकुनगुनिया, वा वेस्ट नाइल भाइरसजस्ता रोग फैलाउने क्षमता राख्छन्।
यसले जनस्वास्थ्य विज्ञहरूलाई सावधान बनाएको छ। किनकि अहिले नभए पनि, आगामी दशकमा यस्तो परिवर्तनले नयाँ रोगहरूलाई नयाँ भूभागमा प्रवेश गराउने ढोका खोल्न सक्छ।
फेरिँदै गरेको जैविक नक्सा
लामखुट्टेहरूको वितरण केवल तापक्रममा होइन, पानीको अवस्था, आर्द्रता, र हिउँ–जम्ने समयको सन्तुलनमा निर्भर हुन्छ।जब यी तत्त्वहरुमा बदलाव आएर सन्तुलन बिग्रन्छ, जीवहरू नयाँ ठाउँमा फैलिन थाल्छन्। यो आइसल्यान्डको सीमित घटनामा मात्र होइन, समग्र पृथ्वीमा देखिँदै गएको एउटा परिवर्तन हो — जहाँ प्रजातिहरू आफ्नो पुरानो भौगोलिक सीमाबाट बाहिर सरिरहेका छन्।
यो प्रक्रियाले हामीलाई बुझाउँछ — जलवायु संकटको असर भनेको ग्लेशियर पग्लिनु वा समुद्र बढ्नु मात्र होइन, यो त सजीव जीवनका अदृश्य सन्तुलनहरूमा पैदा हुँदै गरेको गहिरो हलचल पनि हो।
लामखुट्टेले दिएको सन्देश
आइसल्यान्डमा लामखुट्टेको उपस्थिति एउटा सूक्ष्म तर शक्तिशाली चेतावनी हो। यो घटनाले बताउँछ — पृथ्वीको तापमान बढ्दै जाँदा, प्रकृतिका पुराना नियमहरू अब लागू नहुने दिशामा छन्। जुन ठाउँमा लामखुट्टे बाँच्न सक्दैन भन्ने ठानिन्थ्यो, त्यहाँ अब तिनीहरू फस्टाउन थालेका छन्। विज्ञानका दृष्टिले यो केवल एक देशको समाचार होइन; यो ग्रहको नाजुक बन्दै गरेको पारिस्थितिकी सन्तुलनको द्योतक पनि हो । यो घटनाले जलवायु परिवर्तनले अब चरम क्षेत्रहरूलाई पनि अछुतो राखेको छैन भन्ने देखाउँछ ।
पृथ्वीबाहिर जीवन छ कि छैन ?
वर्षामापनको विज्ञान
ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?
वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन
सबै मानिसहरु ताराको धूलोको कण !
लगभग हरेक चीजको सङ्क्षिप्त इतिहास
प्रतिक्रिया