ला हिगुएराको अन्तिम बिहान: क्रान्तिनायक चे ग्वेभाराको विभत्स हत्या

अटल क्रान्तिकारी विचारको प्रतीक चेको ‘अन्तिम विजयसम्म’

१९५० को दशकको अन्त्यमा ल्याटिन अमेरिकाको आकाशमा एउटा नयाँ नाम चम्कियो – अर्नेस्टो “चे” ग्वेभारा। अर्जेन्टिनामा जन्मेका, प्रशिक्षित चिकित्सक, र क्युबाली क्रान्तिका सशक्त योजनाकार चेले फिडेल क्यास्ट्रोसँग काँधमा काँध मिलाएर गुरिल्ला युद्धको माध्यमबाट अमेरिकाद्वारा पालित, पोषित र समर्थित क्युबाका तानाशाह बटिस्टाको शासनसत्तालाई धूलोपीठो पारिदिए । चेले केवल क्युबाको शासन परिवर्तन गर्न प्रत्यक्ष युद्ध मात्र लडेनन्, उनले क्रान्ति कसरी सम्पन्न गरिन्छ भन्ने विचारलाई नयाँ रूप दिए। पुँजीवादी खेमाका नाइके, अमेरिकी साम्राज्यवादको नाकै मुनिबाट देखापरेका यी क्रान्तिनायक र उनका क्रान्तिकारी विचारहरुका कारण चे अमेरिकी साम्राज्यका लागि सबैभन्दा बिझाउने आँखाको कसिङ्गर बन्न पुगे ।

क्युबामा सफल क्रान्तिपछि पनि, चे शासनसत्ताको मदमा रमाएर बस्न रुचाएनन् । उनी क्युबाको मात्रै हैन, समग्र ल्याटिन अमेरिकाको मुक्तिको सपना देख्थे, त्यही सपनामा बाँच्ने गर्थे ।

क्युबामा सफल क्रान्तिपछि पनि, चे शासनसत्ताको मदमा रमाएर बस्न रुचाएनन् । उनी क्युबाको मात्रै हैन, समग्र ल्याटिन अमेरिकाको मुक्तिको सपना देख्थे, त्यही सपनामा बाँच्ने गर्थे । फलत: उनले फिदेल कास्त्रोसँग मिलेर क्युबामा नयाँ शासन निर्माण गरेको केही समयमै उनले फेरि बन्दूक समाते । यस पटक उनले बन्दूक  विश्वव्यापी अन्यायविरुद्धको युद्धका लागि अर्को अभियानको थालनी गर्न समातेका थिए ।

कङ्गोको युद्ध: चे ग्वेभाराको पहिलो पराजय

क्युबाको क्रान्ति समाप्त हुँदा संसारले “चे” नामक एउटा प्रतीक पाएको थियो। उनी जनताको नायक बनेका थिए, एउटा युगको विद्रोहका प्रतीक बनेका थिए, अनि संसारभरिका क्रान्तिकारीहरुका लागि आस्था र प्रेरणाको स्रोत। सन् १९६५ तिर, फिडेल कास्त्रोसँगको सहमति लिँदै उनले संसारका अन्य उत्पीडित  जनताका लागि बन्दुक फेरि उठाउने  निर्णय गरे।  उनको पहिलो गन्तव्य बन्यो  कङ्गो । बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता पाए पनि गृहयुद्धको आगोमा पोलिइरहेको अफ्रिकाको मुटुमा रहेको कङ्गोलाई उनले आफ्नो क्रान्तिको अभियान थाल्ने केन्द्रको रुपमा चयन गरे । उनले लेखेका छन्: “क्युबा अब स्थिर छ। तर क्रान्ति स्थिर हुन हुन्न। जहाँ अन्याय छ, म त्यहीँ छु।”(Che Guevara, Congo Diaries)

कङ्गो उनको कल्पनाभन्दा फरक थियो। जङ्गलमा असंयोजित र असंगठित विद्रोहीहरू, अस्थायी आपूर्ति, र राजनीतिक अविश्वासको माहोल थियो। चेले आफ्नो ध्यान र उर्जा गुरिल्ला युद्धको तयारी र सञ्चालनमा भन्दा बढी सिपाहीहरूलाई अनुशासनमा राख्न खर्च गर्नुपर्‍यो।कबिलाका स्थानीय कमाण्डरहरू मदिरा र धनको मदमा डुबेका थिए।

१९६५ मा, चे ले क्युबाली “अन्तर्राष्ट्रिय ब्रिगेड”का  लगभग १२० जना सैनिकका साथ गोप्य रूपमा कङ्गो प्रवेश गरे। उनीहरू कङ्गोका विद्रोही नेता लरेन्ट–डेज़िरे कबिला (Laurent-Désiré Kabila) का सहयोगीका रूपमा लड्न आएका थिए। कङ्गोमा त्यतिबेला पाट्रिस लुमुम्बाको हत्या र मोबुतु सेसे सेकोको सैन्य शासनले देशलाई अशान्त बनाएको थियो। चेले यो युद्धलाई साम्राज्यवादविरुद्धको नयाँ मोर्चा ठाने ।

तर कङ्गो उनको कल्पनाभन्दा फरक थियो। जङ्गलमा असंयोजित र असंगठित विद्रोहीहरू, अस्थायी आपूर्ति, र राजनीतिक अविश्वासको माहोल थियो। चेले आफ्नो ध्यान र उर्जा गुरिल्ला युद्धको तयारी र सञ्चालनमा भन्दा बढी सिपाहीहरूलाई अनुशासनमा राख्न खर्च गर्नुपर्‍यो।कबिलाका स्थानीय कमाण्डरहरू मदिरा र धनको मदमा डुबेका थिए। उनीहरूले विदेशी नेतृत्वलाई सन्देहको दृष्टिले हेर्थे। चेले आफ्नो डायरीमा लेखेका छन्: “हामी लडाइँमा होइन, अव्यवस्थासँग लडिरहेका छौं।”

चे ग्वेभाराले आफ्ना डायरीमा लेखेका छन्, “हामीले अफ्रिकामा क्रान्तिको सपना ल्यायौं, तर यहाँका मानिसहरूलाई हाम्रो सपना चाहिँदैन रहेछ।”

बोलिभियाको पहाडजस्तै यहाँ पनि रोग, मच्छर र भोक उनका सिपाहीका शत्रु बने। उनले क्रान्तिको सहयोगका लागि क्युबाबाट कङ्गो पठाइएका हथियारहरू नदीमा फ्याँकिएका देखे, र साथीहरूका मनमा निराशा फैलिएको अनुभव गरे।

कङ्गोमा उनको विपक्षमा माइक होरेको नेतृत्वमा रहेको भाडाका सैनिकहरु रहेको एउटा शक्तिशाली  सेना थियो ।  जसको पक्ष र समर्थनमा उनी लड्न आएका थिए, तिनीहरुकै भाडभैलोका कारण चेको गुरिल्ला समूह माइक होरेको समूहसँग पराजित भए । त्यो पराजय एक पटक हैन, पटक पटक भोग्नुपर्‍यो चे र उनका छापामार समूहले ।

अन्ततः, १९६५ को नोभेम्बरमा, पाँच महिनाको असफल युद्धपछि, चे ग्वेभाराले युद्ध रोक्ने निर्णय गरे। उनले आफ्ना डायरीमा लेखेका छन्, “हामीले अफ्रिकामा क्रान्तिको सपना ल्यायौं, तर यहाँका मानिसहरूलाई हाम्रो सपना चाहिँदैन रहेछ।”

त्यो वाक्यमा केवल दुःख थिएन; त्यहाँ एउटा परिपक्वता पनि थियो। चेको कङ्गो अभियान ‘क्रान्ति निर्यात गर्ने कोशिस’को रुपमा आलोचना भइरहेको थियो । अब आएर चेले पनि बुझ्न थाले – क्रान्ति निर्यात गर्न सकिँदैन, त्यो भित्रबाटै जन्मिनुपर्छ।

कङ्गोबाट फर्किंदा, चे कुनै विजयको कथा बोकेका थिएनन्। उनी हवानामा पनि फर्किन सकेनन्। उनी केही समय अज्ञातवासमा रहे । केही समयपछि त हल्ला नै फैलियो– चे मरेका । तर वास्तवमा, उनी मरेका थिएनन्; न त ल्याटिन अमेरिका महाद्वीपमा क्रान्तिको ज्वारभाटा सिर्जना गरेर साम्राज्यवादीहरुको चङ्गुलबाट मुक्त गराउने उनको महत्त्वाकांक्षी सपना–योजना नै मरेको थियो । उनी त असफलताहरुबाट पाठ सिक्दै अर्को युद्धको भीषण तयारीमा  जुटेका थिए र उनको नयाँ गन्तव्य थियो– बोलिभिया।

असफलताको अर्थ

कङ्गोको असफलता चेका लागि युद्ध रणनीतिक हार मात्र थिएन, विचारको पुनर्जन्म थियो। उनले लेखेका छन्:“क्रान्ति कसैको उपहार होइन। त्यसलाई जनताले आफैं जन्माउँछन्।”

उनलाई विश्वास थियो– ल्याटिन अमेरिकाका गाउँहरूमा क्रान्तिको चिङ्गारी बाल्न सकिए, त्यसले सम्पूर्ण महाद्वीपलाई नै जागरूक बनाउनेछ।

यही बुझाइले उनलाई बोलिभियातिर धकेल्यो। उनलाई विश्वास थियो– ल्याटिन अमेरिकाका गाउँहरूमा क्रान्तिको चिङ्गारी बाल्न सकिए, त्यसले सम्पूर्ण महाद्वीपलाई नै जागरूक बनाउनेछ।

तर कङ्गोको जङ्गलमा अनुभवबाट सिकेका गुरिल्ला युद्धका चुनौतीहरु अर्थात् स्थानीय समर्थनको अभाव, भूगोलको चुनौती, र अन्तर्राष्ट्रिय राजनीति – ती सबै बोलिभियामा पनि दोहोरिन सक्ने कुरामा चे ग्वेभारा सचेत थिए । तर उनको स्वभाव पछि हट्ने खालको थिएन । अनुभवबाट पाठ सिक्दै अघि बढ्ने स्वभाव थियो चेको ।

आफैंले रोजेको बाटो

कङ्गोले चे ग्वेभारालाई असफल बनायो, तर उनको क्रान्तिप्रतिको आस्था र विश्वासलाई कमजोर तुल्याउन सकेन । असफलताको अनुभव र पाठहरुले उनलाई झनै परिपक्व र दृढनिश्चयी बनायो । उनको अनुहारमा कठोरता थप्यो, दृष्टिमा दृढता, र मनमा “मृत्यु भन्दा ठूलो कुरा विचार हो” भन्ने कुरा झनै जब्बर रुपमा पलायो ।

उनको डायरीको अन्तिम कङ्गो–प्रविष्टिमा लेखिएको थियो: “हामीले अफ्रिकामा के सिक्यौं? त्यो कि क्रान्ति केवल बन्दुकले होइन, विश्वासले बाँच्दछ।”

त्यसपछि उनले क्युबामा अन्तिम रिपोर्ट बुझाए, फिडेलसँग एकान्त भेट गरे, र नयाँ नामसहित ल्याटिन  अमेरिकातिर लागे। उनको डायरीको अन्तिम कङ्गो–प्रविष्टिमा लेखिएको थियो: “हामीले अफ्रिकामा के सिक्यौं? त्यो कि क्रान्ति केवल बन्दुकले होइन, विश्वासले बाँच्दछ।”

ग्वेभाराले सन् १९६० को दशकको मध्यतिर ल्याटिन अमेरिकाको विभिन्न स्थानहरु फर्जी दस्तावेजहरुका माध्यमबाट गोप्य भ्रमणहरु गरेका थिए । उनका समूहमा प्रतिबद्ध क्रान्तिकारी योद्धाहरु थिए । तिनीहरुमध्ये एक थिइन् तान्या । क्रान्तिकारी चेत, उत्साह र उर्जाले भरिपूर्ण तान्या पूर्वी जर्मनीकी थिइन् । उनले मानवशास्त्रीको भेषमा बोलिभियाको यात्रा गरेर त्यहाँका स्थानीय वामपन्थीहरुसँग सम्पर्क सूत्र जोड्ने काम गरेकी थिइन् । उनले चे र उनका साथीहरुको सेल्टरका लागि बोलिभियाको ग्रामीण इलाका रहेको एउटा फार्म नै किनेका थिए । जनवरी १९६६ देखि त क्युबाली छापामारहरु विभिन्न समय र रुपमा बोलिभियामा जम्मा हुन थाले । स्वयं चे पनि उरुग्वेका एक व्यापारीको रुपमा त्यहाँ पुगेका थिए ।

सेल्टरको रुपमा चयन गरिएको क्षेत्रमा वामपन्थीहरुको पकड थियो । तर चे ग्वेभाराको छापामार युद्धको योजनाले उनीहरुलाई आकर्षित गर्न सकेन । खासगरी, सोभियत संघले चेको यो ‘क्रान्ति निर्यात गर्ने’ योजनामा खासै रुचि देखाएन ।

त्यसबेला बोलिभियामा राष्ट्रपति वेरिएन्टोस थिए । उनी  बोलिभियाका तत्कालीन राष्ट्रपति भिक्टोर पाज एस्तेन्सोरोको शासनसत्तामा उपराष्ट्रपति पद थिए । सैनिक पृष्ठभूमिबाट राजनीतिमा आएका वेरिएन्टोसले एस्तेन्सोरोलाई सैन्य कू मार्फत् अपदस्थ गरेर सन् १९६४ मा बोलिभियाको राष्ट्रपति बनेका थिए । आफू सत्तामा आउनेबित्तिकै उनले थुप्रै लोक रिझ्याइका कदमहरु चालेका थिए । आफूविरुद्ध उठ्न सक्ने विरोधको स्वरलाई मत्थर पार्न उनले बोलिभियामा भूमि सुधारको नीति लागू गरेका थिए । त्यसले गर्दा बहुसंख्यक किसानहरुले जमीनको स्वामित्व तथा स्वशासनको अधिकार हासिल गरेका थिए । तत्कालीन समयमा क्रान्तिका अग्रदस्तामध्यका एक मानिने किसान वर्गमा वेरिएन्टोसका विरुद्ध विद्रोह वा क्रान्ति गर्ने खासै रुचि र उत्साह थिएन ।

यो प्रतिकूल परिस्थितिबीच चे ग्वेभारा ल्याटिन अमेरिकामा क्रान्तिको दावानल सल्काउने उद्देश्य बोकेर बोलिभियाको ला हिगुएरातिर हान्निएका थिए । उनको उद्देश्य र दृढ निश्चय थियो, दक्षिण अमेरिकाभर “क्युबा–शैली” को जनविद्रोह फैलाउने।

बोलिभियाको जंगलमा एकाकी युद्ध

बोलिभियामा रहेको वेरिएन्टोसको सैनिक शासनमा अमेरिकाको प्रभाव गहिरो थियो। स्थानीय जनता थकित र डरले थिचिएका थिए। चे ले ग्रामीण वर्गलाई संगठित गर्न खोजे, तर त्यहाँको भूगोल, भाषा, र राजनीतिक चेतनाले आशातीत सफलता प्राप्त हुन सकेन । यो प्रतिकूलताले स्थानीय जनतासँग उनको समूहलाई अलग्यायो। सोभियत संघ समर्थित बोलिभियाली कम्युनिस्ट पार्टीले चेलाई सहयोग गर्न इन्कार गर्‍यो।

बोलिभियाको विशेष प्रतिक्रान्तिकारी सैन्य दस्ता “सेकेण्ड रेञ्जर ब्याटालियन” लाई अमेरिकन “Green Berets” ले विशेष प्रशिक्षण तथा हातहतियारहरु प्रदान गरिरहेको थियो । अमेरिकी प्रशिक्षित यही ब्याटालियन नै पछि चेको हत्यामा प्रत्यक्ष संलग्न भयो।

स्थानीय जनताको बलियो समर्थन प्राप्त नहुँदा स्थिति व्यापक रुपमा प्रतिकूल हुँदै गयो । बोलिभियाको जङ्गलमा नयाँ अज्ञात हतियारधारी मानिसहरुको जमघट बढेको खबरले वेरिएन्टोसको सत्ताको कान ठाडो भयो । बोलिभियामा क्युबाली क्रान्तिको निर्यात हुने भयले  त्यसबेला सिआइएले बोलिभियाली सरकारलाई पूरै सहयोग गरिरहेको थियो । बोलिभियाको विशेष प्रतिक्रान्तिकारी सैन्य दस्ता “सेकेण्ड रेञ्जर ब्याटालियन” लाई अमेरिकन “Green Berets” ले विशेष प्रशिक्षण तथा हातहतियारहरु प्रदान गरिरहेको थियो । अमेरिकी प्रशिक्षित यही ब्याटालियन नै पछि चेको हत्यामा प्रत्यक्ष संलग्न भयो।

उक्त बटालियनले बेलाबेलामा बोलिभियाको जङ्गलमा विशेष सैन्य अप्रेशन गर्ने गर्थ्यो । यही क्रममा सन् १९६७ को २३ मार्चमा पनि उक्त सेनाको एक टुकडीले जङ्गलमा घात लगाएर हमला गर्यो । उक्त हमला जङ्गलमा क्रियाशील लागू औषधका व्यापारीहरुविरुद्ध लक्षित गरिएको थियो । तर त्यसको चपेटामा चेको गुरिल्ला दस्ता पर्यो । उनको सानो गुरिल्ला दल, Ejército de Liberación Nacional (ELN), विस्तारै सरकारी घेराबन्दीमा पर्यो । संक्षिप्त भीडन्तमा सात जना मारिए, १४ जना पक्राउ परे भने बाँकी भाग्न सफल भए ।

गिरफ्तारी: अक्टोबर ८, १९६७

बोलिभियाको जङ्गलमा क्युबाबाट आएका छापामारहरु पनि सक्रिय छ भन्ने खबर जङ्गलको आगोसरि फैलियो । त्यसले वेरिएन्टोस सत्ताको कान ठाडो भयो । अब बोलिभियाको सेकेण्ड रेञ्जर ब्याटालियनले आफ्नो अभियानलाई तीब्र पार्यो । जेनतेन भाग्दै बच्दै चे र उनको सानो समूहले आफूलाई जोगाउँदै आएको थियो । बोलिभियाली सैनिकहरुको तारो बनेका चेले स्थानीय तथा बोलिभियाको कम्युनिष्टहरुबाट खासै सहयोग पाएनन् । बरु उल्टै स्थानीय किसान संघले आफ्ना सदस्यहरुलाई हतियारबन्द रुपमा संगठित गरे । उनीहरुले यो काम चेसँग मिलेर बेरिएन्टोसको सैन्य सत्ताविरुद्ध लड्न हैन, बरु उल्टै चेका विरुद्ध सरकारी सेनालाई सहयोग गर्नका लागि गरेका थिए ।

बोलिभियामा पहिल्यै अमेरिकी उपस्थिति थियो । अब चेको नेतृत्वमा बोलिभियाका जङ्गलमा क्युबाली छापामारहरु सक्रिय रहेको खबरले अमेरिकीहरुलाई उद्वेलित तुल्यायो । तुरुन्तै सिआइएको एउटा स्पेशल टास्कफोर्स अत्याधुनिक उपकरण र हातहितयारसहित बोलिभिया आइपुग्यो । त्यस टोलीमा युद्धको विशेष अनुभव भएका ग्रीन बेरेटका मेजर राल्फ शेल्टन पनि समावेश थिए । उनले बोलिभियाली रेन्जरहरुका लागि एउटा विशेष प्रशिक्षण शिविर स्थापना गरेर ६५० जना सैनिकहरुको एउटा विशेष बटालियन बनाए र त्यसलाई प्रशिक्षित गर्न थाले ।

यता आफ्ना सोचाइका विपरीत स्थानीय कम्युनिष्ट तथा जनताहरुको चिसो प्रतिक्रियाले हतप्रभ बनेका, बोलिभियाली सेनाबाट लुक्दै भागेका चेका गुरिल्ला दस्ता अलग थलग भयो ।  गुरिल्ला युद्धमा समावेश क्युबाबाहिरका लडाकाहरु भाग्दै गइरहेका थिए । त्यसमाथि थप कतिपयको भीडन्तमा परी मृत्यु समेत भइसकेको थियो । अक्टोबर ८, १९६७ को बिहान लुक्दै, छिप्दै र भाग्दै गरेका चे ग्वेभारा र उनका सीमित साथीहरुको बोलिभियाको प्रतिक्रान्तिकारी सैन्य दस्तासँग बोलिभियाको केब्राडा डेल युरो नामक खोँचमा भीषण भिडन्त भयो। स्थानीय भूगोलबारे राम्रो जानकारी नरहेका उनीहरुको समूहले विश्वास गरी बाटो देखाउन लगेका रोजास नाम गरेका एक किसानले विश्वासघात गरेर उनीहरुलाई सैन्य भएको इलाकातिर लगेका थिए । उनीहरुको खोजीमा बोलिभियाका क्याप्टेन गैरी प्राडोको नेतृत्वमा खटिएका बोलिभियाको रेन्जरहरुको टुकडीसँगको उक्त लडाइँ केही घण्टा चल्यो। साथीहरुसँग छिन्नभिन्न भएका र सीमित साथीहरुका साथमा रहेका चे भीडन्तमा घाइते भए ।  चेको बन्दुक काम नलाग्ने भइसकेको थियो।उनका साथमा गोली रित्तिएको पेस्तोल पनि फेला परेको थियो । उनका चार जना साथीहरु मारिइसकेका थिए भने केही साथीहरु पक्राउ परिसकेका थिए ।  फलत: उनलाई बोलिभियाली सेनाले पक्राउ गर्‍यो र ला हिगुएरा गाउँको विद्यालयमा बन्दी बनाएर राख्यो।

साथीहरुसँग छिन्नभिन्न भएका र सीमित साथीहरुका साथमा रहेका चे भीडन्तमा घाइते भए ।  चेको बन्दुक काम नलाग्ने भइसकेको थियो।

साक्षीहरूका अनुसार,  पक्राउ पर्दाको बखत चेको अनुहार थकित तर आँखा शान्त र दृढ थियो । उनले बोलिभियाली सैनिकहरूसँग सम्मानपूर्वक कुरा गरेका थिए, र आफ्ना साथिहरूलाई ढाढस दिन खोजेका थिए।

चेको सोचाइमा उनलाई मारिने छैन बरु उनीहरुविरुद्ध मुद्दा चलाइने छ। चे त्यो प्रतिकूल परिस्थितिलाई पनि क्रान्तिको पक्षमा उपयोग गरेर विश्वभरिका जनतालाई थाहा दिलाउन चाहन्थे ।

चे हत्याको त्यो आदेश: “उनी बाँच्नु हुँदैन”

भोलिपल्ट बिहान, अक्टोबर ९ मा, बोलिभियाली सैन्य अधिकारीहरूबीच के गर्ने भन्नेबारे छलफल भयो। चे ग्वेभारालाई जीवितै राजधानी लैजाने कि त्यहीँ मारेर भीडन्तको रुपमा प्रचार गर्ने भन्नेबारे व्यापक बहस भएको थियो । चे पक्राउ परेपछि बोलिभियाली सेनाका लेफ्टिनेन्ट कर्नेल सेलिक पनि घटनास्थलमा पुगेका थिए ।  उनले चेलाई १७–१८ वटा मात्र घरहरु रहेको नजिकको गाउँमा लैजान आदेश दिए । त्यहाँ उनलाई एउटा स्थानीय स्कूलको कोठामा कडा पहरा दिएर राखियो । पक्राउ परेका उनका अन्य साथीहरुलाई पनि नजिकैको अर्को भवनमा राखिएको थियो ।

बिहान साढे सात बेज फेलिक्स रोड्रिगेज (Felix Rodríguez), सेनाका कर्णेल जेटेनो अनायाहरु हेलिकोप्टरमा ला हिगुएर आइपुगे । सिआइएका फिल्ड एजेन्टहरू पनि त्यहीँ उपस्थित थिए। अमेरिकी रिपोर्टहरूका अनुसार, रोड्रिगेजले बारम्बार जोड दिँदै भनेका थिए, “हामी उनलाई जीवित राख्न सक्दैनौं।” सोहीअनुसार नै अन्तत: बोलिभियाली उच्च कमाण्डले चे ग्वेभारालाई हत्या गर्ने ‘आदेश’ जारी गर्‍यो।

मारियो टेरान: गोली चलाउने हात

युद्धका नियम अनुसार पक्राउ परेका व्यक्तिलाई युद्धबन्दीको रुपमा व्यवहार गरिन्छ र उसको जीवन रक्षा गर्ने गरिन्छ । तर चे ग्वेभाराको नामले त्रसित र आतंकित अमेरिकी तथा बोलिभियाली सरकारले उनको हत्या गर्ने कायरतापूर्ण बाटो रोजे । गोली हान्ने जिम्मा दिइयो सर्गेन्ट मारियो टेरान सालाजारलाई। उनले पछि स्वीकार गरेका थिए, “त्यसबेला म निक्कै डराएको थिएँ। म चेलाई गोली हान्न चाहँदिनथें। तर आदेश थियो।” चेको हत्या हुनुभन्दा केही समयअघि बोलिभियाली सैनिकहरूले उनलाई सोधेका थिए: "के तपाईं आफ्नो अमरत्वको बारेमा सोचिराख्नु भएको छ?" चेले जवाफ दिए–"होइन, म क्रान्तिको अमरताको बारेमा सोचिरहेको छु।

करिब १० बजे रोड्रिगेजको फोन बज्यो । त्यसमा भनिएको थियो– ‘हाइकमानले अपरेशन ५०० र ६०० लाई कार्यान्वयन गर्ने टुङ्गो गरेको छ ।’ त्यहाँ ५०० को अर्थ चे ग्वेभारा र ६०० को अर्थ मार्ने आदेश थियो ।

चे गर्जिए,  “गोली हान, कायर। मलाई थाहा छ तिमीहरुले मलाई मार्दैछौ । तर याद गरे तिमीहरुले एउटा मानिसलाई मार्दैछौ।” मारियो टेरानले M2 कार्बाइन उठाए, र ९ बजेतिर गोली चलाए। चेको शरीर ढल्यो, तर आँखाहरू खुला रहे।

आफ्नो हत्या हुने चालमालले चेलाई विचलित बनाएन । जब उनलाई गोली हानेर हत्या गर्ने तरखर भइरहेको थियो, उनको भीडन्तमा हत्या भएको खबर रेडियोले फुकेर देशव्यापी भइसकेको थियो । आफ्नो हत्या गरिनु सुनिश्चित भएपछि चे गर्जिए,  “गोली हान, कायर। मलाई थाहा छ तिमीहरुले मलाई मार्दैछौ । तर याद गरे तिमीहरुले एउटा मानिसलाई मार्दैछौ।” मारियो टेरानले M2 कार्बाइन उठाए, र ९ बजेतिर गोली चलाए। चेको शरीर ढल्यो, तर आँखाहरू खुला रहे। उनको शरीरमा आठ वटा गोली दागिएको थियो ।

प्रचार र प्रमाण

सेनाले तुरुन्तै घोषणा गर्‍यो – “चे ग्वेभारा युद्धमा मरे।” तर पछि सार्वजनिक भएका सिआइएका गोप्य दस्तावेजले देखायो,  उनलाई कायरतापूर्वक सफाया गरिएको थियो, उनको मृत्यु लडाइँमा भएको थिएन ।

निम्न कागजातहरूले यो तथ्य पुष्टि गर्छन्:

  • CIA Field Report, Oct 9, 1967: “Capture of Ernesto ‘Che’ Guevara by Bolivian Second Rangers.” (nsarchive.gwu.edu)
  • Top Secret Memorandum to President Lyndon B. Johnson: चे को हत्या राजनीतिक रूपमा “Cold War success” का रूपमा रिपोर्ट गरिएको। (nsarchive.gwu.edu)

मृत्युपछि अमरता

हत्यापछि उनको शव भेलग्रान्डे ल्याइयो। भेलग्रान्डेमा उनको शव ल्याउनेका लागि शलाई हेलिकोप्टरमा राख्नअघि एक क्याथोलिक पादरीले ‘मृत्यु संस्कारको पाठ पढेर आशीर्वाद दिएका थिए । यो एउटा क्रूर विडम्बना नै मान्नुपर्छ–एक क्रान्तिकारी वामपन्थी नायकको अन्तिम यात्रामा इसाइ पादरी सहभागी थिए ।

 सेनाले पत्रकारहरूलाई बोलायो, ताकि उनी मारिएका फोटोहरू संसारभर फैलियोस्।  चे मारिएको साबित गर्नको लागि उनको हातको औंला काटिए । त्यो अर्जेन्टिनाको पुलिसमा रहेको उनको हातको छापसँग रुजु गरी मारिएको साबित गर्न गरिएको थियो । खुला आँखासहितको चेको फोटोहरु संसारभरि व्यापक भए । मरेर पनि उनी चेतनाको प्रतीक बने।

खुला आँखासहितका चेका ती अन्तिम फोटोहरूले विश्वभरिकै क्रान्तिकारीहरुलाई शोकाकूल त बनायो तर साथसाथै त्यसले उनीहरुलाई विचारको लडाइँ निरन्तर राख्न प्रेरणा पनि प्रदान गर्‍यो । हाँसीहाँसी मृत्यु अङ्गालेका चे विश्वभरिका क्रान्तिकारीहरुका लागि प्रेरणाका स्रोत बने ।

कायरहरुले युद्धबन्दी चेको कायरतापूर्वक हत्या गरेर उनको शरीरको त अन्त्य गर्यो तर उनको विचारलाई मार्न सकेन । खुला आँखासहितका चेका ती अन्तिम फोटोहरूले विश्वभरिकै क्रान्तिकारीहरुलाई शोकाकूल त बनायो तर साथसाथै त्यसले उनीहरुलाई विचारको लडाइँ निरन्तर राख्न प्रेरणा पनि प्रदान गर्‍यो । हाँसीहाँसी मृत्यु अङ्गालेका चे विश्वभरिका क्रान्तिकारीहरुका लागि प्रेरणाका स्रोत बने । उनका शवलाई गोप्य रुपमा गाडियो । करिब ३० वर्षपछि, १९९७ मा उनको शवको अवशेष भेटिएपछि क्युबाको सान्ता क्लारा मा विशेष राजकीय सम्मानका साथ पुनः अन्त्येष्टि गरियो।

चेका हत्यारा मारियो टेरानले बाँकी जीवन एकान्तमा बिताए। उनले २००७ मा भने, “त्यो मेरो जीवनको सबैभन्दा कालो दिन थियो।”

चे पछि क्रान्ति

चे ग्वेभाराको अन्त्य केवल एक मानिसको मृत्यु थिएन; त्यो शीतयुद्धको एउटा रणनीतिक विजय थियो। अमेरिकाले लातिन अमेरिकामा मार्क्सवादी आन्दोलनहरूको सम्भावनालाई रोक्ने सफल प्रयासको रूपमा हेऱ्यो। तर त्यो क्षणिक विजय थियो । जिउँदो छँदै क्रान्ति नायकका छवि बनाइसकेका चे ग्वेभारा मृत्युपछि झनै चर्चित र प्रसिद्ध भए । चे अटल क्रान्तिकारी विचारको प्रतीक बने–  “Hasta la victoria siempre” अर्थात् अन्तिम विजयसम्म।

चे ग्वेभाराको नाम, उनको अनुहार, र उनको आदर्श आज पनि विद्रोह, समानता, र साहसको पर्याय बनेर अजर अमर भएको छ । आज उनी विश्वभरिकै न्याय र समानताप्रेमीहरुका लागि अजस्र प्रेरणाको स्रोत बनेका छन् ।

सन्दर्भ स्रोतहरू:

  1. CIA Declassified Archives – National Security Archive, George Washington University, 2011 Release.
  2. Newsweek Magazine, October 2017 – “How Did Che Die? CIA Helped Bolivia Kill Marxist Revolutionary.”
  3. U.S. Foreign Relations Documents (1964–68, Vol. 31) – Department of State, Office of the Historian.
  4. New Indian Express, March 11, 2022 – “The Soldier Who Killed Che Guevara Dies in Bolivia.”
  5. BBC Latin America Features, 2017 – “The Last Hours of Che Guevara.” 
  6. https://alternathistory.ru/smert-komandante-poslednij-pohod-che-gevary/
  7.