इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत

फैसल इद्रुस
बुधबार राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे कि इजरायल र फिलिस्तीनी आन्दोलन हमास दुवैले गाजामा जारी दुई वर्षदेखि चलिरहेको "नरसंहारी युद्ध" अन्त्य गर्ने योजनाको "पहिलो चरण" मा हस्ताक्षर गरेका छन्।
सामाजिक सञ्जाल Truth Social मा लेख्दै ट्रम्पले भने, “यसको अर्थ अब सबै बन्धकहरूलाई चाँडै नै मुक्त गरिनेछ, र इजरायली सेना सहमति भएको सीमासम्म फर्किनेछ। यो दीगो, स्थायी र शाश्वत शान्तिको दिशामा पहिलो कदम हुनेछ। सबै पक्षहरूलाई निष्पक्ष रूपमा व्यवहार गरिनेछ।
आज अरब र मुस्लिम विश्वका लागि, इजरायल, वरपरका राष्ट्रहरू र संयुक्त राज्य अमेरिका सबैका लागि एक महान् दिन हो। हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं, जसले हामीसँग मिलेर यो ऐतिहासिक र अभूतपूर्व घटनालाई सम्भव बनाए।
‘शान्ति स्थापना गर्नेहरू धन्य छन्!’”
केही मिनेटपछि कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले भने, युद्धविराम योजनाको पहिलो चरणका “सबै प्रावधान र कार्यान्वयन संयन्त्रहरू” मा सहमति भएको छ, “जसले युद्धको अन्त्य, इजरायली बन्धक र फिलिस्तीनी कैदीहरूको मुक्ती, र सहयोगी सामग्रीहरूको प्रवेश सुनिश्चित गर्नेछ।” उनले थपे, “विस्तृत विवरण पछि घोषणा गरिनेछ।”
इजरायली सरकारका एक प्रवक्ताका अनुसार बन्धकहरूको मुक्ति शनिबारदेखि नै सुरु हुन सक्नेछ।
हमासले जारी गरेको विज्ञप्तिमा अमेरिकालगायत अन्य ग्यारेन्टर राष्ट्रहरूलाई सम्झौतामा उल्लिखित इजरायली फौजको फिर्तीसहितका सबै प्रावधानहरू कार्यान्वयन गराउने सुनिश्चितता गर्न आग्रह गरिएको छ। मौलिक योजनामा चरणबद्ध रूपमा सेना फिर्ता लैजाने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेखे, “यो इजरायलका लागि एक राम्रो दिन हो।”
“म आफ्ना हृदयका गहिराइबाट राष्ट्रपति ट्रम्प र उनको टोलीलाई धन्यवाद दिन चाहन्छु, जसले हाम्रो बन्धकहरूलाई मुक्त गर्ने यस पवित्र मिशनका लागि सक्रिय भूमिका निभाए।”
नेतन्याहुले थपे कि उनी बिहीबार आफ्नो सरकारको बैठक डाक्नेछन् ताकि सम्झौतामा स्वीकृति दिन सकियोस् र “बन्धकहरूलाई घर फर्काइयोस्।”
बुधबार यसअघि, हमासका वार्ता टोली प्रमुख खलिल अल–हय्याले भनेका थिए कि हमास “जिम्मेवार र गम्भीर परामर्शका लागि” इजिप्टको लाल सागर किनारको शहर शर्म अल–शेखमा आएको हो।
उनका अनुसार, हमासको प्रतिनिधिमण्डल स्पष्ट उद्देश्यसहित आएको थियो – युद्ध अन्त्य गर्ने, इजरायलले गाजाबाट पूर्ण रूपमा फौज फिर्ता गर्ने, र ट्रम्प योजनाअनुसार इजरायली जेलमा रहेका फिलिस्तीनी कैदीहरूको सटहीमा सबै इजरायली बन्धकहरू – जीवित र मृतलाई मुक्त गर्ने।
संयुक्त राष्ट्रसंघमा फिलिस्तीनका उप–राजदूत माजिद बाम्याले यो अवसरलाई सामाजिक सञ्जाल X मा एक शब्दले चिन्हित गरे – “अन्ततः…”
र जब कसैले उनलाई बधाई दिंदै टिप्पणी गरे, उनले जवाफमा लेखे, “मलाई अझै पनि विश्वास गर्न गाह्रो भइरहेको छ।”
योजना
गत हप्ता, ट्रम्पले गाजामा चलिरहेको विनाशकारी दुई वर्षे युद्ध अन्त्य गर्ने आफ्नो विवादास्पद २० बुँदे योजना सार्वजनिक गरेका थिए, जसले मुख्य रूपमा गाजाको अवस्थाबारे इजरायलको दृष्टिकोण र सुरक्षासम्बन्धी चिन्ताहरूलाई प्राथमिकता दिएको छ।
योजनाको पहिलो बुँदामा भनिएको छ: “गाजा एक अतिवादमुक्त, आतंकमुक्त क्षेत्र हुनेछ, जसले छिमेकी मुलुकहरूलाई कुनै खतरा नपुर्याओस्।”
फिलिस्तीन समर्थकहरूले कडा आलोचना गरेको सो प्रस्तावमा ट्रम्पसँगै विगतमा विवादास्पद छविका कारण आलोचना गरिएको पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर गाजाको संक्रमणकालीन समितिमा सदस्यका रूपमा रहनेछन् भनिएको छ।
अमेरिकी अधिकारीहरूले उनीहरू प्रारम्भिक रूपमा युद्धविराम र बन्धक तथा राजनीतिक कैदीहरूको मुक्तिको व्यवस्थापनमा केन्द्रित वार्ता गर्न चाहन्छन् भनी बताएका छन् ।
ट्रम्पले प्रस्तुत गरेको प्रारम्भिक योजनाले एउटा अंतरराष्ट्रीय शान्तिरक्षक सेना (international stabilisation force) गठन गर्ने परिकल्पना गरेको छ, जसले गाजामा शान्ति–रक्षकको रूपमा काम गर्नेछ र प्रविधिज्ञहरू (technocrats) बाट बनेको संक्रमणकालीन अस्थायी सरकार स्थापना गरिनेछ।
योजनामा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि गाजाबाट फिलिस्तीनीहरूको जबरजस्ती विस्थापन गरिने छैन, तर यसले “बोर्ड अफ पीस” (Board of Peace) नामक निकाय गठन गर्ने प्रस्ताव गरेको छ, जसको नेतृत्व ट्रम्प स्वयंले गर्नेछन्। यो प्रस्तावलाई धेरैले औपनिवेशिक प्रयास (colonial venture) भनेर आलोचना गरेका छन्।
युद्ध सुरु भएदेखि हालसम्म २ लाख ३८ हजारभन्दा बढी फिलिस्तीनीहरू मारिएका, घाइते भएका वा बेपत्ता भएका छन्, र गाजाको घर, विद्यालय, विश्वविद्यालय, मस्जिद, चर्च, सार्वजनिक स्थल र स्वास्थ्य केन्द्र लगायत अधिकांश पूर्वाधारहरु सबै ध्वस्त भइसकेका छन्।
नरसंहार अध्ययनका प्रायः सबै विज्ञ र अनुसन्धानकर्ताहरूको मत अनुसार, गाजामा इजरायलले चलाएको युद्धले नरसंहार (genocide) को रूप लिएको छ। अनगिन्ती मानवअधिकार संस्थाहरू र संयुक्त राष्ट्रसंघको एक अनुसन्धान समितिले पनि यही निष्कर्षमा पुगेका छन्।
इजरायली सैनिक गुप्तचर निकायका तथ्याङ्कमा आधारित हालैका रिपोर्टहरूका अनुसार, यो वर्ष मे महिनासम्म गाजामा मारिएका ८० प्रतिशतभन्दा बढी मानिसहरू सामान्य नागरिक (civilians) थिए।
Source: middleeasteye । तस्विर: https://www.aljazeera.com

राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान

राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव

इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह

एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

राजधानीमा एमसीसीबारेको बहस

इजरायलद्वारा अलजजिराका पत्रकारको हत्या

महाभूकम्पले हल्लायो, ज्वालामुखीले थर्कायो !

प्रतिक्रिया