ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

एन्ड्रिया लोबो

ट्रम्प प्रशासनद्वारा भेनेजुएलामाथि गरिएको सैन्य उक्साहट गत शुक्रबार पनि जारी रह्यो, जब पेन्टागनले दक्षिणी क्यारिबियनमा अर्को एउटा डुंगा डुबाइएको पुष्टि गर्‍यो र ट्रम्पले सो देशलाई परमाणु अस्त्र प्रयोग गरी “नष्ट गर्ने” धम्की दिए।

रक्षा मन्त्री पिट हेगसेथले एक भिडियो विज्ञप्तिमा गर्वका साथ घोषणा गरे कि सानो डुंगामा सवार चार जना यात्रुहरू मारिएका छन्, जब त्यसमा अनेकौं मिसाइल प्रहार गरिएको थियो । यो आधुनिक राज्य आतंकको एक निर्दयी र सार्वजनिक प्रदर्शन थियो।

यो पछिल्ला केही साताभित्र भएको पाँचौं घटना थियो, जसमा निःशस्त्र डुंगाहरू, जसलाई लागूपदार्थ तस्करहरूको नौका भएको आरोप लगाइएको थियो, पूर्वसूचना बिना नै आक्रमण गरियो। यी आक्रमणहरूमा कम्तीमा २१ जना नागरिक मारिएका छन्। अनुसन्धानहरूले देखाएका छन् कि ती मध्ये धेरैजना, यदि सबै होइन भने, तटीय समुदायका माछा मार्नेहरू वा आप्रवासीहरू थिए, जसले अमेरिकालाई कुनै वास्तविक खतरा पुर्‍याउँदैनथे। न्यु योर्क टाइम्सकी पत्रकार जुली टर्केविट्जले  एक पीडितकी श्रीमतीको बयान उद्धृत गरेकी छिन्, जसका श्रीमान् भेनेजुएलाको पारिया प्रायद्वीपका माछा मार्ने थिए—“उनी एक दिन कामका लागि गएका थिए र कहिल्यै फर्किएनन्।”

हेगसेथले सामाजिक सञ्जाल X (ट्विटर) मार्फत घोषणा गरे, “अमेरिकी जनतामाथिका आक्रमणहरू समाप्त नभएसम्म यी प्रहारहरू जारी रहनेछन्!!!” । जसले अनिश्चितकालीन सैन्य अभियानको संकेत गर्छ।

आइतबार नेभल स्टेशन नर्फकमा बोल्दै, ट्रम्पले नौसेनालाई धन्यवाद दिंदै भने, “हामीले ती कार्टेल आतंककारीहरूलाई पानीमै उडायौं,” र डर लाग्दो स्वरमा थपे, “हामीले अर्को पनि हिजो राति गर्‍यौं यद्यपि उनले सम्भवतः शुक्रबारको आक्रमणलाई गलत रूपमा उल्लेख गरेका थिए।

उनले त्यसपछि युद्धको केन्द्र परिवर्तन गर्दै भने, “अब तिनीहरू समुद्रबाट आउँदैनन् … त्यसैले हामीलाई अब जमिनतर्फ हेर्नुपर्नेछ, किनभने तिनीहरूलाई जमिनबाटै आउन बाध्य पारिनेछ।”

यी डर लाग्दा वक्तव्यहरू मुख्यतः भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई सत्ताच्युत गराउन उक्साउने वा तयारी गर्ने उद्देश्यले दिइएका हुन्। वासिङ्टनले मादुरोलाई “कार्टेल अफ द सन्स” नामक गिरोहको नेता भएको आरोप लगाएको छ — जुन अधिकांश विज्ञहरूका अनुसार अस्तित्वमै छैन। मादुरोलाई सिधै सम्बोधन गर्दै, ट्रम्पले आक्रामक भाषामा भने, “पृथ्वीका हरेक निरंकुश र विरोधीले यो कुरा राम्ररी बुझ्नुपर्छ—अमेरिकालाई शान्तिसंग बस्न देउ, अन्यथा कहिल्यै नदेखिएको आगो र क्रोधका रूपमा ध्वस्त पारिनेछ”  । यो २०१७ मा उत्तर कोरियाविरुद्ध उनले दिएका परमाणु धम्कीको पुनरावृत्ति हो।

यस धम्कीलाई अझ बलियो पार्दै, पेन्टागनले हालै क्यारिबियन क्षेत्रमा परमाणु वहन क्षमतायुक्त ट्राइडेन्ट क्रूज मिसाइलको परीक्षण गरेको छ, जसले सम्भावित ठूला सैन्य भिडन्तका लागि तयारी तीव्र भइरहेको संकेत गर्दछ।

सम्पूर्ण राष्ट्रलाई प्रत्यक्ष लक्षित गर्ने यो नीति साम्राज्यवादी क्रुरताको गहिराइको संकेत हो, जहाँ सामूहिक हत्या नै नीतिगत साधनका रूपमा सामान्यीकृत गरिएको छ। लाटिन अमेरिकामा करोडौं मानिसको समूल विनाशको सोच अमेरिकी समर्थनमा गाजामा भइरहेका नरसंहार अभियानसँग समानान्तर छ। यस्तो धम्की केवल छुट्टाछुट्टै वक्तव्य होइनन्, बरु अमेरिकी शासक वर्गको वर्चस्वविरुद्धको कुनै पनि प्रतिरोधलाई कुचल्ने उद्देश्यले सञ्चालन गरिएको राज्य–आतंकको बढ्दो संरचनाको अभिन्न हिस्सा हुन्।

यस सैन्य तयारीको अर्थलाई कम आँक्न सकिँदैन। दक्षिण क्यारिबियन अहिले प्रतिस्पर्धी महाशक्तिहरूबीच चलिरहेको विश्व पुनःविभाजनको एउटा संवेदनशील केन्द्र बिन्दु बनेको छ।

ट्रम्प प्रशासन र वाशिङ्टनको द्विदलीय विदेश नीति संस्थापनले भेनेजुएलालाई विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश र लाटिन अमेरिकाभरका विशाल प्राकृतिक स्रोत र श्रमशक्तिलाई एउटा अत्यन्तै महत्वपूर्ण साम्राज्यवादी पुरस्कारका रूपमा हेर्छ, जुन हिटलरले अस्ट्रियामाथि गरेको Anschluss (अधिग्रहण) सँग तुलना गर्न सकिन्छ। यो ट्रम्पको विश्वव्यापी रणनीतिभित्र ईरान, रुस, र विशेषगरी चीनविरुद्ध युद्ध चलाउने योजनाको एक चरणको रूपमा देखिन्छ।

रुसले गत हप्ता भएको आक्रमणको सार्वजनिक रूपमा निन्दा गरेको छ। विदेश मन्त्री सेर्गेई लावरोभले आफ्ना भेनेजुएली समकक्षीसँगको फोन वार्तामा “भेनेजुएलाको नेतृत्व र जनताप्रति पूर्ण समर्थन र एकता” व्यक्त गरेका छन्। चीन—भेनेजुएलाको प्रमुख तेल खरिदकर्ता र ऋणदाताले गत महिनामा अमेरिकाद्वारा गरिएका आक्रमणहरूको विरोध गरिसकेको छ र हालै १ अर्ब अमेरिकी डलरको तेल खानी परियोजना घोषणा गर्दै त्यहाँ गहिरो लगानी विस्तार गरिरहेको छ।

एक अभूतपूर्व घटनामा, ह्वाइट हाउसले गत हप्ता कांग्रेसलाई पठाएको ज्ञापनमा घोषणा गर्‍यो कि संयुक्त राज्य अमेरिका लागु पदार्थ  कार्टेलहरूसँग “गैर-अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व”मा संलग्न छ। यो झुटा–कानुनी घोषणा ट्रम्पको विस्तारित युद्धसत्ता हतियाउने प्रयासको हिस्सा हो, जसले कांग्रेसको अधिकारलाई बेवास्ता गर्दै, आन्तरिक कानून कार्यान्वयन र सैन्य युद्ध–कारबाहीबीचको परम्परागत सीमाना धमिलो पार्छ । जसले Posse Comitatus Act (सेनालाई आन्तरिक मामिलामा प्रयोग गर्न निषेध गर्ने ऐन) को उल्लङ्घन गर्दछ।

यो पछिल्लो कदमले अमेरिकी सहरभित्र र विदेशमा समेत, लागु पदार्थ  तस्करीको नाममा, सैन्य शक्ति प्रयोग गर्ने बाटो खोलिदिएको छ।

पहिले नै, ट्रम्प प्रशासनले आप्रवासनलाई लागु पदार्थ  कार्टेलहरूको अमेरिकी भूमिमा प्रवेशसँग अविभाज्य जोड्दै, आप्रवासीहरूविरुद्ध दमनकारी प्रहरी–राज्य स्थापनाको औचित्य बनाउन खोजेको थियो । जुन सबै लोकतान्त्रिक अधिकारहरूमाथिको व्यापक आक्रमणको अग्रपंक्ति हो।

डेमोक्र्याटिक पार्टीको प्रतिक्रिया निकै कमजोर रह्यो। उनीहरूको आलोचना मुख्यतः कांग्रेसको अनुमोदन नलिइएको विषयमा सीमित रह्यो, जबकि उनीहरूले “लागु पदार्थ विरुद्धको युद्ध” विस्तारको समर्थन गरे। सेनाको सशस्त्र सेवा समितिका शीर्ष डेमोक्र्याट सदस्य ज्याक रिडले स्पष्ट रूपमा लागु पदार्थ  कार्टेलविरुद्धको युद्धलाई पश्चिमी गोलार्धमा अमेरिकी वर्चस्व पुनर्स्थापना गर्ने हिंसात्मक बहानाका रूपमा समर्थन गरे। 

स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज सेन्टर (CSIS) का सैन्य विश्लेषकहरूका अनुसार, भेनेजुएलामाथि भू–आक्रमण गर्नका लागि कम्तीमा पनि ५०,००० सैनिक आवश्यक पर्नेछ । जुन अहिले दक्षिण क्यारिबियन क्षेत्रमा तैनाथ करिब ५,००० अमेरिकी सैनिकभन्दा निकै धेरै हो। यद्यपि, हालको नौसेना र वायुसेनाका स्रोतहरूले तीव्र सैन्य विस्तारका लागि आवश्यक रणनीतिक ढाँचा उपलब्ध गराइरहेका छन्।
CSIS का विज्ञहरूले लेखेका छन्, “आजका दिनसम्म तैनाथ स्रोतहरूका साथ, अमेरिकी सेनाले समुद्रपार सुरक्षित क्षेत्रबाट भेनेजुएलामाथि हवाई वा मिसाइल आक्रमण सञ्चालन गर्न सक्छ । यद्यपि यसले हिन्द–प्रशान्त क्षेत्रका स्रोतहरूलाई यता सार्नुपर्ने हुन्छ।”

यी तैनाथीहरू, जसको लागत दैनिक सयौँ मिलियन अमेरिकी डलर बराबर पर्छ—अब ती शक्तिहरू प्रयोग गर्नैपर्ने अनिवार्य गतिशीलता सिर्जना गरिरहेका छन्। वाशिङ्टन एक्जामिनरद्वारा उद्धृत अमेरिकी अधिकारीहरूका अनुसार, उक्त क्षेत्रको खर्चिलो सैन्य तयारीले अहिले नै बन्दरगाह वा हवाई स्थलजस्ता मुख्य रणनीतिक ठेगानाहरू कब्जा गर्न पर्याप्त क्षमता प्रदान गरेको छ।

ब्राजिलमाथि हालै लगाइएको ५० प्रतिशतको दण्डात्मक कर, जसले ट्रम्पका सहयोगी बोल्सोनारोमाथिको असफल सैनिक विद्रोहपछिको सजायलाई साथ दिएको छ—यससँगै जोडिँदा, यो अभियान अमेरिकी साम्राज्यवादद्वारा लाटिन अमेरिकामाथि पुनः नियन्त्रण स्थापनाका लागि गरिएको पूर्ण–स्तरीय आक्रमण हो, जसले फासीवादी दमनको तयारी संकेत गर्दछ।

ट्रम्पले कांग्रेसलाई पठाएको ज्ञापनले अमेरिकी महादेशभरका श्रमिक वर्गविरुद्ध, संयुक्त राज्य अमेरिकासहित, युद्धको घोषणा प्रस्तुत गर्छ। यस आक्रमणले सम्पूर्ण अमेरिकामा श्रमिकहरूको ऐक्यबद्धता सुदृढ गर्न, सबै पुँजीवादी वर्ग, तिनका राजनीतिक ठेकेदार र ट्रेड युनियनका नौकरशाही विरुद्ध इन्टरनेसनल वर्कर्स एलायन्स अफ र्याङ्क एण्ड फाइल कमिटिज (International Workers Alliance of Rank-and-File Committees) मार्फत एक क्रान्तिकारी संघर्ष आवश्यक भएको स्पष्ट पार्दछ।

Source: https://www.wsws.org