गुड बाई लेनिनदेखि ओलीको भ्रमसम्म

हिजो गुन्डुमा केपी ओलीको सम्बोधन सुनेपछि मलाई यही जर्मन फिल्म गुड बाई  लेनिनको याद आउन थालेको छ । ओलीको बोली, विचार र व्यवहारले अझै पनि उनमा आफू सत्तामै  यथावत रहेको भ्रम देखिन्थ्यो। अहिलेसम्म पनि "नेपालको प्रधानमन्त्री शुशिला कार्की होइनन्, म नै हुँ" भन्ने भ्रम केपी ओलीमा रहेको देख्न सकिन्छ।

सन् २००३ मा जर्मनीमा गुड बाई लेनिन भन्ने एउटा कमेडी फिल्म बनेको थियो। यो फिल्म पूर्वी जर्मनीको कम्युनिस्ट शासन पतन र त्यसले पारेको सामाजिक प्रभावका बारेमा थियो।

फिल्मको नायक पूर्वी जर्मनीका एक जना युवा एलेक्स क्रेनरकी आमा क्रिस्टीयान कम्युनिस्ट विचारधाराको कट्टर समर्थक हुन्छिन्। पूर्वी जर्मनीको पतन हुनु भन्दा ठीक केही महिनाअघि क्रिस्टीयानलाई ठूलो हार्ट अट्याक आउँछ र उनी कोमामा पुग्छिन्। आठ महिना पछि उनको होस खुल्छ। त्यसबेलासम्म पूर्वी जर्मनी पतन भई पश्चिम जर्मनीमा विलय भइसकेको हुन्छ।

डाक्टरहरूले छोरालाई चेतावनी दिँदै भनेका हुन्छन् कि आमालाई ठूलो मानसिक आघात लाग्ने कुनै कुरा सुन्न वा देख्न नदिनु, अन्यथा उनको मृत्यु पनि हुन सक्छ। छोरा अलेक्स र उनकी दिदीले आमालाई पूर्वी जर्मनी पतन भएको कुरा थाहा नदिने र यो अझैसम्म जीवित रहेको भान पार्ने निर्णय गर्छन्।

आमाका लागि हरेक दिन पूर्वी जर्मनीका समाचार तिनै पुराना समाचार वाचकहरूले वाचन गरेको भिडियो टेपमा तयार पारेर टिभीमा देखाउने गर्छन्। घरमा तिनै पुराना पूर्वी जर्मनीकालीन फर्निचरले सजाउने गर्छन्। घरका सबै सदस्यहरूले पूर्वी जर्मनीकालीन शैलीका ड्रेस लगाउने गर्छन्। तर यत्रो राजनीतिक परिवर्तन लुकाउन हरेक दिन गाह्रो हुँदै जान्छ।

एक दिन क्रिस्टीयानले छिमेकीको घरमा ठूलो कोकाकोलाको होर्डिङ बोर्ड देख्छिन्। उनले यो के हो भनेर सोध्छिन्। छोराले जवाफ दिन्छन्—कोकाकोला वास्तवमा समाजवादी सिर्जना थियो, यसलाई पूँजीपतिकाले चोरेका हुन्। उनलाई हरेक दिन समाजवादी कालीन उपभोग्य वस्तुहरू खोजेर ल्याउन मुस्किल पर्न थाल्छ। उनले फोहोर फाल्ने कन्टेनरमा पुराना सामानहरू खोज्न थाल्छन्।

एक दिन छोरा निदाइरहेको बेला आमा घरबाट सुटुक्क बाहिर निस्किन्छिन्। उनले बाहिर सडकमा छिमेकीहरूले पूर्वी जर्मनीकालीन फर्निचरहरू फालेको, सडकमा पश्चिमी गाडीहरू दौडिरहेको र हेलिकप्टरले लेनिनको मूर्ति उखेलिरहेको दृश्य देख्छिन्। आत्तिँदै घरमा आएर उनले आफ्नो छोरालाई सोध्छिन्—यो के भएको हो?

छोराले जवाफमा एउटा नक्कली समाचार देखाउँछन्, जसमा भनिएको हुन्छ पश्चिम जर्मनीमा ठूलो आर्थिक संकट परेर त्यहाँबाट भागेका शरणार्थीलाई पूर्वी जर्मनीले शरण दिन थालेको छ। यो झूटलाई धेरै दिन लम्ब्याउन गाह्रो भएकाले छोरा अलेक्सले आफ्नी आमाको दिल नटुट्ने गरी यसलाई अन्त्य गर्ने योजना बनाउँछन्।

उनी एक जना ट्याक्सी ड्राइभरलाई, जो पूर्वी जर्मनीका अन्तरिक्ष यात्री जस्तै देखिन्थे, टिभीमा समाचार पढ्न लगाउँछन्। त्यो समाचारमा भनिन्छ—पूर्वी जर्मनीले आफ्नो सिमाना पश्चिम जर्मनीका लागि स्वेच्छिक रूपमा खुला गर्ने निर्णय गरेको छ। पश्चिमलाई आफ्नो देशमा आउन निमन्त्रण गरेको छ, ताकि उनीहरूले देखून् कि पूर्वी जर्मनी कति शक्तिशाली र दयालु देश हो भनेर। यो समाचार सुनेको दुई दिनपछि क्रिस्टीयानको निधन हुन्छ।

हिजो गुन्डुमा केपी ओलीको सम्बोधन सुनेपछि मलाई यही जर्मन फिल्म गुड बाई  लेनिनको याद आउन थालेको छ । ओलीको बोली, विचार र व्यवहारले अझै पनि उनमा आफू सत्तामै  यथावत रहेको भ्रम देखिन्थ्यो। अहिलेसम्म पनि "नेपालको प्रधानमन्त्री शुशिला कार्की होइनन्, म नै हुँ" भन्ने भ्रम केपी ओलीमा रहेको देख्न सकिन्छ। उनमा रहेको दम्भ अलिकति पनि घटेको पाइएन। भदौ २३ र २४ गते भएको नरसंहार र विनाश प्रति अलिकति पनि खेद र दुख उनमा थिएन। अझै पनि देशको हर्ताकर्ता आफैं रहेको धङधङी ओलीमा देखिन्थ्यो। सायद त्यही भएर होला, अझै पनि सरकार प्रमुखझैँ आदेश र निर्देशन दिइरहेका देखिन्थे।

यस्तो लाग्छ, ओली नजिक रहेका मानिसहरूले पूर्वी जर्मनी पतन हुनु अघि कोमामा पुगेकी बृद्धा क्रिस्टीयानलाई जसरी भ्रमको पर्दामा राखेका थिए, त्यसरी नै उनलाई पनि भ्रमको पर्दाभित्र राखिरहेका छन्। एउटा व्यक्तिलाई भ्रममा राख्न कति मुस्किल हुन्छ भने, एउटा भूतपूर्व शासकलाई भ्रमको मायावी दुनियामा पाल्न त झन् कति मुस्किल होला? ओलीको वरिपरि सत्ताको वैभवको मायावी दुनियाको भ्रम कायम राख्न खोज्ने जमातहरूको दुःख म बुझ्न सक्छु। उनीहरू प्रति मेरो सहानुभूति छ।

यो भ्रमको दुनियाँ यथार्थको कठोरतासामू सिसाजस्तो चकनाचुर हुने नै छ । ढिलोचाँडो मात्र हो। तर त्यस बेला सम्म यो नाटकलाई थेग्न निर्देशक, कलाकार र पटकथाकारहरूलाई निक्कै मुस्किल पर्नेछ।